मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर ६ काे वडा अध्यक्षमा नेपाली कांग्रेसका साेमबहादुर घलान निर्वाचित भएका छन् । भीमफेदी ६ को आइतबार सम्पन्न मतगणना अनुसार कांग्रेसका घलान निर्वाचित भएकाे निर्वाचन अधिकृतको कार्यालय भीमफेदीले जनाएको छ ।
घलान ६ सय ८९ मतसहित वडाध्यक्षमा निर्वाचित हुदाँ वडाध्यक्षकै उम्मेदवार नेकपा एमालेका सिताराम थापा मगरले ५ सय १७ मत प्राप्त गरेका छन् । थापा २०७४ सालको चुनावमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
भीमफेदीमा हालसम्म ६ वटा वडाको मत परिणाम सम्पन्न भएको छ । जसमा वडा नम्वर १ मा गठबन्धनले जित हात पारेको छ भने २, ४ र ५ मा नेकपा एमालेले नेतृत्व लिएको छ । वडा नम्वर ३ मा भने माओवादी केन्द्रमा उम्मेदवार विजयी भएका छन् । हाल वडा नम्वर ७ र ८ को मतगणना जारी रहेको निर्वाचन अधिकृत रुद्रहरी भण्डारीले जानकारी दिए ।
मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर ५ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार काशिराम जहार सिं लामा विजयी भएका छन् । भीमफेदी ५ मा आइतबार सम्पन्न मतगणना अनुसार एमालेका लामा ७ सय ७४ मत सहित निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय भीमफेदीले जानकारी दिएकाे छ ।
यस्तै, वडाध्यक्षकै उम्मेदवार माओवादीका उम्मेदवार प्रदिपबहादुर वाईवाले ५ सय ९० मत प्राप्त गरेका थिए । उक्त वडामा १ हजार ४ सय ७८ मत खसेको थियो । वडा सदस्य सबै नेकपा एमालेबाट उम्मेदवार बनेका रिता कुमारी आले, सुमित्रा बिश्वकर्मा, बद्रिप्रसाद पौडेल र लालबहादुर स्याङ्तान विजयी भएका छन् ।
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नंबर ३ को वडा अध्यक्षमा हिरेन्द्र कुमार रायमाझी विजयी भएका छन् । नेकपा माओवादी र नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका रायमाझी ७५९ मत प्राप्त गर्दै विजयी भएका हुन ।
केहि अघि सम्पन्न मतगणनाको नतिजा अनुसार उनका प्रतिस्पधी नेकपा एमालेका उम्मेदवार सुजन कुमार रायमाझी ५७० मत ल्याएका छन् ।
यसैगरि,राष्ट्रिय जनमोर्चाका दिनेश विष्टले ४६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमोद केसीले ३४ मत ल्याएका छन् ।
मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नंबर ३ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार प्रताप भोम्जन विजयी भएका छन् । ५ दलीय गठबन्धनलाई पराजित गर्दै भाेम्जन विजयी भएका हुन् ।
एमालेका भोम्जनले १ हजार १ सय ७६ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्ण प्रसाद पुरीले ६ सय ७९ मत प्राप्त गरे ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ मा नेपाली कांग्रेस विजयी भएकाे छ । बकैया ११ का वडा अध्यक्षका उम्मेदवार कांग्रेसका गाेपाल बहादुर नेसुर विजयी भएका हुन्।
कांग्रेसका उम्मेदवार नेसुरले ७ सय ६० मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका राम बहादुर घलानले ३ सय २३ मत प्राप्त गरेका छन्। साथै उक्त वडामा सदस्य पदमा कांग्रेसका सबै उम्मेदवार निर्वाचित भएका छन् । यो सँगै कांग्रेसले बकैयामा विजयी सुरुवात गरेको छ। नेसुरको यो दोस्रो कार्यकाल हो ।