मकवानपुर । बागमती प्रदेशसभामा आज मंगलबार बस्दै छ । दिउँसो २ बजे बस्ने प्रदेश सभामा ५ वटा प्रतिवेदन पेश हुने भएको छ ।
बैठकमा मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/०७८ को बार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् । बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको बार्षिक प्रतिवेदन पेश गर्नेछन् ।
यसैगरी आजकै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मटेलले आर्थिक सर्वेक्षण २०७८/७९ पेश गर्नेछन् । बागमती प्रदेश सरकारले भोलि बजेट सार्वजनिक गर्दैछ । भोली १ असारको अपरान्ह ४ बजे प्रदेश सभा बैठकमा बजेट पेश हुने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेको छ ।
बागमती प्रदेश सभाले १९ गतेमा आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम पास गरेको थियो । उक्त नीति तथा कार्यक्रमलाई पुरापुर सम्बोधन गर्ने गरी बजेट ल्याइने तयारी भएको प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताए ।
मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचनका लागि उम्मेदवारले साेमबार मनोनयन दर्ता भएको छ । यस अघी प्रकाशित जिसस निर्वाचन तालिका अनुसार सोमबार हेटौंडा २ मा रहेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख, उपप्रमुख र सदस्य पदका लागि १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
९ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख तथा उप- प्रमुख र ७ जना सदस्य रहने प्रावधान रहेको छ । प्रमुख पदमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानले मनोनयन दर्ता गराएका छन् । घलान स्थानीय तह सदस्य निर्वाचन, २०७९ बाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष निर्वाचित भएका थिए । त्यस्तै प्रमुख पदमा नेकपा एमालेबाट इन्द्रसरोवर गाउँपालिकाका बुद्धिराम डिम्डुङले मनोनयन गराएका छन् । डिम्डुङ स्थानीय तह सदस्य निर्वाचन, २०७९ बाट इन्द्रसराेवर ३ काे वडा सदस्यमा निर्वाचित भएका हुन् ।
उप–प्रमुख पदमा भने गठबन्धनको तर्फका नेपाली कांग्रेसबाट मनहरी गाउँपालिकाका सानुकाजी लुइँटेलले मनोनयन गराएका छन् । सो पदमा उनले मात्रै मनोनयन गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लुइँटेल स्थानीय तह सदस्य निर्वाचन, २०७९ बाट मनहरी गाउँपालिका ३ काे वडा सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै जिसस सदस्यमा ३ जना महिला रहने प्रावधान भएकाेमा ४ जनाले मनोनयन दर्ता गराए छन् । उक्त पदका लागि निर्वाचन हुने भएको छ । महिला सदस्य पदमा नेपाली कांग्रेसबाट क्रमशः तारा ढुंगाना, विष्णुमाया थपलिया, सुमित्रा थिङ र नेकपा एमालेकी बिनाकुमारी थिङ लामाले उम्मेदवारी दिएका हुन् ।
त्यस्तै दलित तथा अल्पसंख्यक सदस्यतर्फ नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारले मात्रै उम्मेदवारी दर्ता गराएकी छिन् । अन्य खुल्ला सदस्यहरुमा नेकपा एकीकृत समाजवादीबाट विरेन्द्र कुमार लामा, नेकपा माओवादी केन्द्रका सुवर्ण गोपाली माओवादीकै खड्गबहादुर पुलामी र एमालेका तोयानाथ तिमल्सिनाले उम्मेदवारी दिएका हुन् । खुल्ला सदस्य ३ जना हुने व्यवस्था भएपनि ४ जनाको उम्मेदवारी परेकोले सो पदमा पनि निर्वाचन हुने भएको हो ।
भोलि ३१ गते मनोनयन दर्ता गराएका उम्मेदवारमाथि दावी विरोधको समय रहेको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार भोलि नै मनोनयन पत्रको जाँच र उजुरी परेमा त्यसउपर निर्णय गरिने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, कसैले उम्मेदवारी फिर्ता लिन चाहेमा लिन सकिने र नलिएको अवस्थामा अन्तिम नामावली प्रकाशन हुनेछ । असार १ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने र २ गते मतदान हुने कार्यसूचि रहेको जनाइएको छ ।
मकवानपुरमा १ उपमहानगरपालिका, १ नगरापलिका र ८ वटा गाउँपालिका रहेका छन् । कानून अनुसार सबै पालिकाको प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको लागि मतदान गर्न पाउनेछन् । स्थानीय तह सदस्य निर्वाचन,२०७९ बाट निर्वाचित जनप्रतिनिधिहरु मध्ये पालिका प्रमुख र उप प्रमुखमा कांग्रेसको ९, माओवादी केन्द्रको ७, नेकपा एमालेको ३ र एकीकृत समाजवादीको १ जना मतदाता रहेका छन् ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागु औषध गाँजा ९६ किलो ८४० ग्राम सहति अटो र ३ जना मानिस पक्राउ गरेको छ ।
मकवानपुरको अस्थाई प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरी टोलीले मकवानपुर जिल्लाको भिमफेदी गाँउपालिका वडा ९ चुनिया भित्री सडकमा घैराङगबाट चुनिया बजारतर्फ आउदै गरेको ना २ ह ३५३६ नंम्बरको अटोलाई चेक गर्दा गाँजा फेला परेको हो ।
अटो चालक मकवानपुर भिमफेदी गाउँपालिका २ रिठ्ठेपानी बस्ने ३० वर्षिय अभिषेक लामासंगै सोही ओमा रहेका कैलाश गाउँपालिका ९ घैराङग बस्ने ३७ वर्षको ज्ञान बहादुर गोले र कैलाश गाउँपालिका १० बस्ने बर्ष ४९ को चन्द्र लामालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक रामचन्दा घिमिरेले बताए । लागुऔषध गाँजा र अटो सहित नियन्त्रणमा लिईएकाहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
मकवानपुर । मकवानपुरको हेटौंडामा बसको ठक्करबाट अटो चालकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटे नजिक हेटौंडाबाट बारा जिल्लाको पथलैया जाँदै गरेको प्रदेश २–०३–००१ ख ०२४२ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना. २ अ ६४ नम्बरको अटोलाई ठक्कर दिँदा बाराको रतनपुर घर भएका २६ वर्षीय मिलन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाईते भएका सुनारको हेटौंडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरि अटोमा सवार हेटौंडा-१२ का ३५ वर्षीय सुवास सुनार घाईते भएको र उनको उपचार भईरहेको छ । अटोलाई ठक्कर दिने बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यता ३ दिन अघि भारतीय बुलेटको ठक्करले हेटौंडाको ९ को बाबुछोरीको मृत्यु भएपछि आजसम्म स्थानीयले बाटो अबरुद्ध गरिराखेका छन् ।
मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडामा आज भएको चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उपाधि बिभागिय टिम त्रिभुवन आर्मीले हात पारेको छ ।
साबिक बिजेता आर्मीले हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनल खेलमा घरेलु टोली एफसी विजय युथलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
उपाधिसँगै आर्मीले १५ लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता बनेको घरेलु टिम एफसी विजय युथले १० लाख रुपैयाँ पाएको छ ।
चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै घरेलु टिम एफसी विजय युथका क्याप्टेन अशोक बरालले बुलेट बाइक पाएका छन् । फाइनल खेलमा उपविजेता बनेको एफसी विजय युथका बराल ए डिभिजन क्लबमा व्यावसायिक फुटबल खेलाडी हुन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीका लागि बुलेट बाइकको प्रायोजन हेटौंडा स्कूल अफ म्यानेजमेन्टले गरेको हो । यसअघि तेस्रो संस्करणमा पनि हेटौंडा स्कूल अफ म्यानेजमेन्टले नै बुलेट बाइकको प्रयोजन गरेको थियो । तेस्रो संस्करणमा मकवानपुरकै अमीर श्रेष्ठले बुलेट बाइक पाएका थिए ।
यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका बिकेश कुथु घोषित भए । उत्कृष्ट मिडफिल्डरमा आर्मीका विवेक बस्नेत, स्ट्राइकरमा आर्मीकै दिनेश हेम्जन र प्रशिक्षकमा आर्मीका नवीन न्यौपाने घोषित भए । विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाएका छन् ।
प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । मकवानपुरका १० वटै स्थानीय तहको लगानीमा प्रतियोगिता भएको हो ।
