झरनाद्वारा १० स्रष्टालाई एकै मञ्चमा सम्मान
Tags: No Comments
बकैया । झरना साहित्यिक परिवार मकवानपुरले सातौं बकैया-कला साहित्य महोत्सव-२०८२ मा विभिन्न विधाका १० जनालाई सम्मान गरेको छ ।
झरनाले ३२३ औं साहित्य शृङ्खला एवम् ३३ औं वार्षिक उत्सवका अवसरमा बुधबार १० जनालाई एकै मन्चमा पुरस्कारसहित सम्मान गरेको हाे ।
झरनाले साहित्यमा योगदान गरेबापत प्रदान गरिने नगद २१ हजार १ सय २१ रुपैयाँ राशि सहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८२ बाट पाँचथरका रमेश शुभेच्छुकलाई सम्मानित गरेको छ । बकैयाका साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
यसैगरी जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत प्रदान गरिदै आएकाे नगद १५ हजार ५ सय ५५ राशिको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८२ बाट मकवानपुरका साहित्यकार डा. निमेष निखिल सम्मानित भएका छन् । साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा उक्त सम्मान स्थापना गरेका हुन् ।
यस्तै साहित्यमा योगदान गरेका युवा साहित्यकारलाई प्रदान गरिने नगद ८ हजार ५ सय रुपैयाँ राशिको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८२ बाट नेपालगञ्जकी ऋचा लुइटेल सम्मानित भएकी छिन् । साहित्यसेवी अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
यस्तै मकवानपुरका महिला साहित्यकारलाई प्रदान गरिने नगद ७ हजार ७ सय ७७ राशिको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०८२ बाट मकवानपुरकी एस आर मन्जरी सम्मानित भएकी छिन् । साहित्यसेवी राजन दङ्गालले आफ्नी छोरीको स्मृतिमा उक्त सम्मान स्थापना गरेका हुन् ।
यसैगरी मकवानपुरको साहित्यकाे सेवा गरे वापत प्रदान गरिदै नगद ७ हजार ७ सय ७७ रुपैंया राशिकाे सञ्जीवन-बुटी साहित्य सम्मान–२०८२ बाट मकवानपुरका डा. अर्पण पराजुली सम्मानित भएका छन् । उक्त सम्मान साहित्यसेवी तुलसी गिरीले स्थापना गरेका हुन् ।
यस्तै संस्थाको गतिविधि प्रचार प्रसारमा सहयोग तथा पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानको कदरवापत प्रदान गरिदैं आएकाे नगद ११ हजार १ सय ११ रुपैंयाको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८२ बाट मकवानपुरका पत्रकार दीपक अधिकारी सम्मानित भएका छन् । गोकर्ण गौतमको परिवारद्वारा उक्त सम्मान स्थापना गरेका हुन् ।
बकैयाका नवप्रतिभाको सम्मान गर्ने उदेश्यले स्थापना भएकाे नगर ५ हजार ५ सय ५५ रुपैयाँ राशिको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८२ बाट बकैया ३ स्थित बुद्धमावि हात्तीसुढेकी मोनिका नेगी सम्मानित भएकी छिन् । बकैयाका चन्द्रकुमार राईले उक्त सम्मान स्थापना गरेका हुन् ।
बकैयामा रही कला क्षेत्रकाे माध्यमबाट योगदान गरेवापत प्रदान गरिदै आएकाे नगद ७ हजार ७ सय ७७ रुपैयाँ राशिकाे खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८२ बाट मकवानपुरका सूर्य सन्यासी सम्मानित भएका छन् । बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आफ्ना पिताको नाममा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
यसैगरी छन्द कवितामा योगदान गरेवापत प्रदान गरिदै आएकाे नगद ९ हजार ९ रुपैयाँ राशिकाे ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवि खनाल साहित्य सम्मान–२०८२ बाट भैरहवाकी सिर्जना खनाल सम्मानित भएकी छिन् । जर्नादन खनालले आफ्ना मातापिताको नाममा उक्त पुरस्कार स्थापना गरेका हुन् ।
यस वर्ष स्थापना भएकाे ‘कुलकुमारी झलकनाथ लोक साहित्य सम्मान-२०८२’ बाट साहित्यकार एवं लोकगायक बझाङका नन्दकृष्ण जोशी सम्मानित भएका छन् । आफ्ना मातापिताको सम्मानमा झरना साहित्यिक परिवार मकवानपुरका संरक्षक उद्धव सापकोटा तथा भरत सापकोटाद्वारा स्थापित नगद ११ हजार १११ राशिकाे उक्त सम्मान लोक गीतसंगीतमा सेवा गरेबापत जोशीलाई प्रदान गरिएको हो ।
झरना साहित्यिक परिवारले फागुन ५ र ६ फागुनमा महेन्द्र मावि, बकैयामा ३२३ औं साहित्य शृङ्खला एवम् ३३ औं वार्षिक उत्सव र महाेत्सव कार्यक्रम गरेको झरनाकी अध्यक्ष गायत्री रुपाखेतीले जानकारी दिइन् । उनका अनुसार महाेत्सवमा पुरस्कार समर्पण, चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्यहरू, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई ७ प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन, नवसर्जक रचना वाचनलगायतको कार्यक्रम भएको हो ।
कार्यक्रममा झरनाको ४० औ अंक लोकार्पण समेत गरिएको थियो । यसैगरी झरनाका निवर्तमान अध्यक्ष विश्वनाथ सन्जेललाई विद्यावारधी उपाधी प्राप्त गरेकोले सम्म्मानित गरिएको थियो ।
२०७६ सालबाट साहित्यिक महाेत्सव गर्दै आएको झरनाको ३३ औं वार्षिक उत्सव तथा बकैया कला साहित्य महोत्सव बकैया ४ स्थित महेन्द्र माविकाे सहकार्य तथा बकैया गाउँपालिकाकाे सहयोगमा भएकाे हाे ।
मकवानपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन मिति १५ दिन मात्र बाँकी रहदा उम्मेदवारहरूले घरदैलो बलियी र प्रभावकारी बनाउन जोडबल गर्दै आएका छन् ।
पछिल्ला दिन उम्मेदवारहरू मतदाताको घरदैलोमा केन्द्रित भएका छन् । नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर –१ को उम्मेदवार रहेका रामेश्वर राना पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् ।
बुधवार बिहान ७ बजेदेखि नै रानाले हेटौंडा उपमहानगरपालिका –१४ नम्वर वडाबाट घरदैलो शुरु गरेका रानाले मतदाताको घरदैलोमा पुग्दै आफ्ना र पार्टीका एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् ।
२०६४ सालको संविधानसभा निर्वाचनपछि प्रत्यक्ष चुनावी प्रतिस्पर्धाबाट केही समय टाढा रहेका राना करिब १८ वर्षपछि पुनः प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन् ।
स्वच्छ छवि, संयमित स्वभाव र शालीन राजनीतिक शैलीका कारण उनले स्थानीय राजनीतिमा फरक पहिचान बनाएका छन् । यही कारणले पनि उनले मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन् ।
मकवानपुर–१ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाका १५ वडा, बकैया, बागमती गाउँपालिका तथा मकवानपुरगढी गाउँपालिकाका ४ वडा समेटिएका छन् ।
४० वडा रहेको यस निर्वाचन क्षेत्रमा १३ राजनीतिक दलका १३ तथा १० स्वतन्त्र गरी कूल २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका–१९ सान्नानटारमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिदा १ जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो पूर्व–पश्चिम राजमार्गको हेटौंडा मनहरी सडक खण्ड अन्तर सान्नानटारमा मनहरीबाट हेटौडा आउँदै गरेको लु.३४ प ४६७५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१ ख ११७९ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक रुपन्देही जिल्लाका २८ वर्षीय जगदीश थारु घाइते भएकोमा उपचारको क्रममा हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा घाइते मोटरसाइकलको पछाडि सवार दाङ जिल्लाको राप्ती–६ का २२ वर्षीय आदित्य चौधरीको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
ट्रिपर चालक हेटौंडा–१५ भोर्लेका २६ वर्षीय रोहित तामाङलाई नियन्त्रण लिइएको तथा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
निर्वाचनमा बालअधिकार संरक्षणमा संवेदनशील हुन अनुरोध
Tags: No Comments
मकवानपुर । बागमती प्रदेश उपसभामुख अप्सरा चापागाईंले बालअधिकार हनन हुन नदिने गरी काम गर्न अनुरोध गरेकी छिन् ।
उपसभामुख चापागाईंले निर्वाचनको सन्दर्भमा आचार संहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै बालबालिकाको सवालमा सबै राजनीति दल र उम्मेदवार संवेदनशील हुनुपर्ने बताइन् ।
फागुन २१ को चुनाव मात्र नभई नियमित रूपमा बाल संरक्षणका विषयमा ध्यान दिन आवश्यक रहेको बताइन् ।
निर्वाचनका सन्दर्भमा बालअधिकार संरक्षणका लागि सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम हेटौंडामा उनले यस्तो बताएकी हुन् ।
इन्सेक, सिजप र हिमाली नवीन समाजको संयुक्त आयोजना तथा चाइल्ड नेटवर्कको सहयोगमा निर्वाचनमा बालबालिकाको दुरुपयोग गर्न नहुने बारे अन्तर्किय गरिएको थियोे ।
इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा निर्वाचनमा बालअधिकार संरक्षणका लागि सरोकारवालाको भूमिकाबारे बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष तिलोत्तम पौडेलले प्रस्तुतीकरण दिएका थिए । उनले विद्यमान कानुनी व्यवस्था, बालअधिकार, निर्वाचन आचारसंहिता २०८२ अन्तर्गत पालना गर्नुपर्ने आचरण, बालबालिका स्वयंको भूमिका, अभिभावक, निर्वाचन आयोग, राजनीतिक दल तथा उम्मेदवारको जिम्मेवारीबारे छलफल गरिएको थियो ।
राजनीतिक दलका प्रतिनिधिहरूले बालअधिकार संरक्षणमा प्रतिबद्धता जनाए। उनीहरूले यस्ता कार्यक्रम निर्वाचन लक्षित मात्र नभई अन्य समयमा पनि सञ्चालन गरिनुपर्नेमा बताए ।
यसैबीच, हेटौंडा–११ स्थित सुधारगृहमा क्षमताभन्दा बढी बाल कैदी राखिएको विषयमा समेत सहभागीहरूले ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामा,नेपाली कांग्रेस जिल्ला प्रवक्ता अर्जुन चौलागाईं, नेकपा एमाले सचिव सीता विष्ट, नेपाल कम्युनिस्ट पार्टी जिल्ला सदस्य प्रलाद लामिछाने, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, पत्रकार महासंघ जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, निर्वाचन कार्यालयका तारा प्रसाद आचार्य, सिविन प्रबन्धक झबिन्द्र ज्ञावली, ‘बालिका दुलही होइनन्’ अभियानका अध्यक्ष प्रकाश खतिवडा, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष कमल कुमार विश्वकर्मा, मुख्य न्यायाधिवक्ता कार्यालयका सह–न्यायाधिवक्ता राजेन्द्रमणि पौडेल, हिमाली नवीन समाजका कार्यकारी निर्देशक रिजा महर्जन केबि राना,मुख्यमन्त्री कार्यालयका कानुन अधिकृत विनोद अमात्यलगायत मानवअधिकारकर्मीहरूले बालअधिकारको संरक्षणका लागि प्रतिबद्धता व्यक्त गर्दै सरोकारवालाको भुमिका बारे मन्तव्य राखेका थिए।
निर्वाचनमा बाल अधिकार संरक्षणमा दलका नेताले प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए।
मकवानपुर । प्रतिनिधि सभाको लागि फागुन २१ गते निर्वाचन तोकिएको छ । देशै भर चुनावी चहलपहल बढी रहेको छ । उम्मेदवारहरु चुनावी अभियानमा आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । मकवानपुरको दुबै क्षेत्रमा चुनावी अभियानमा उम्मेदवारहरु स्थानीयस्तरमा भेटघाटमा व्यस्त छन् ।
निर्वाचन २०८२ अन्तरगत रहेर केही दिन मकवानपुरको दुबै क्षेत्रका उम्मेदवारहरुको परिचय प्रस्तुत गर्दैछौ ।
विजय गौतम (नेपाल कम्युनिष्ट पार्टी) नेकपा
मकवानपुर-१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट विजय गौतमले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् । काभ्रेमा जन्मिएका मकवानपुरको बकैया गाउँपालिका स्थायी घर भएका ४० वर्षीय गौतम विद्यार्थी राजनीतिबाट मुलधारकाे राजनीतिमा आएका हुन् ।
- विद्यार्थी राजनीतिमा आफूलाई प्रमाणित गर्दै छोटो समयमै पार्टी जिम्मेवारी पाउँदै मूलधारको राजनीतिमा स्थापित भएका हुन् उनी । उनको राजनीतिक यात्रा आन्दोलनको पृष्ठभूमिबाट अघि बढ्दै तत्कालीन नेकपा माओवादी पार्टीको केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्जको भूमिकामा पुगेका उनी जिल्लामा पार्टी संगठन सुदृढीकरण र राजनीतिक व्यवस्थापनमा सक्रिय रहेका छन् ।
- युवा उमेरमै केन्द्रीय जिम्मेवारी पाएका गौतम पार्टी संगठन, कार्यकर्ता समन्वय र स्थानीय मुद्दामा सक्रिय भूमिकाका कारण मकवानपुरमा परिचित छन् । विशेषत: सुशासनको पक्षमा उनले आवाज उठाउँदै आएका छन् ।
- गौतमले नीति निर्माण र प्रशासनिक कामको प्रत्यक्ष अनुभव पनि हासिल गरेका छन् । नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहँदा उनको सचिवालयमा रहेर काम गरेको अनुभवले उनलाई राज्य सञ्चालन, सुरक्षा संयन्त्र र प्रशासनिक प्रक्रियाबारे व्यावहारिक ज्ञान दिएको छ । यही अनुभवलाई संसदीय अभ्यास र नीति निर्माणमा उपयोग गर्ने बताउँदै आएका छन् ।
- त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गरेका गौतम युवामैत्री राजनीति र परिवर्तनमुखी एजेन्डा उठाएका छन् । विकास र सुशासनलाई आफ्नो मूल राजनीतिक एजेन्डा बनाएका छन् ।
“म पहिलोपटक आएको हुँ, राम्रो गर्न आएको हुँ । तपाईंहरूले दिनुभएको भरोसा मन, वचन र कर्मले टुट्न दिने छैन’ गौतम भन्छन् ‘जति काम गर्छु, शिर उचो हुने गरी गर्छु । तपाईंहरूबाट टाढाको होइन फोन गर्दा भेटिने, ढोका ढकढक गर्दा निस्किने प्रतिनिधि बनेर काम गर्छु ।’
‘हाम्रो पुस्ता त जसोतसो गुज्रियो, तर हाम्रो अर्को पुस्ता पासपोर्ट च्यापेर विदेश जान बाध्य नहोस् भन्ने मेरो लडाइँ हो’ उनले भने। व्यवस्था बद्लियो, अब हाम्रो आँगन, हाम्रो बस्ती, हाम्रो जीवन बदलिनुपर्ने उनले बताए ।
मकवानपुर क्षेत्र नम्बर १ मा गौतमसहित स्वतन्त्र १० तथा दलका १३ जना निर्वाचनमा उम्मेदवार छन् ।