मकवानपुर । हेटौंडातर्फ आउँदै गरेको सुमोमा सवार एक जना यात्रुको मृत्यु भएको छ । शनिबार काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ज ७९५८ नम्बरको सुमोका यात्रु बारा कोहल्वी नगरपालिका ६ पर्सौना बस्ने ६० बर्षीय द्वारिका चौधरीकाे मृत्यु भएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएकाे छ ।
प्रहरीका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.६ चिसापानी गढीमा रोकेपछि खाजा खान होटलतर्फ जाने क्रममा चौधरी बेहोस भएर लडेका थिए । उनलाई स्थानीय मेडिकलमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि उक्त सुमोमै हेटौंडा अस्पतालमा ल्याईएको थियो । चौधरीकाे उपचारकै क्रममा शनिबार नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषधसहित १ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएकाे छ । लागुऔषध ओनरेक्ससहित भारत मोतिहारी जिल्लाका १७ वर्षीय आरके यादवलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार बिहान हेटौडा १० बसपार्कमा वीरगञ्जबाट हेटौंडा हुँदै नारायणगढतर्फ जाँदै गरेको ना ७ ख ३५०९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार यादवको साथबाट ६० पिस ओनरेक्स लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । शरीरमा टेपले टाँसेर ल्याएको उक्त लागुऔषध यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धानका भइरहेकाे प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी स्थानीय तह शहीद स्मृती गोल्डकपमा न्यूराेड टिम (एनआरटी) सेमिफाइनल प्रवेश गरेकाे छ । शनिबार भएकाे प्रतियाेगिताकाे पहिलाे क्वाटरफाइनलमा एनआरटीले लिग विजेता चर्च ब्याइच युनाइटेडलाई ट्राइबेकर ४–३ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएकाे हाे ।
हेटौंडा–६ स्थित गौरीटाार रंगशालामा भएको टाइब्रेकरमा विजयी टोली एनआरटीको लागि अभिषेक लिम्बु, जय गुरुङ, प्रिसो र विवेक गुरुङले गोल गरेका थिए । एनआरटीका मोहित गुरुङको प्रहार विपक्षीका गोलरक्षक रेम्बो चौधरीले बचाए । चर्च व्वाइजको तर्फबाट निरज कार्की, बिकु राई, कमल श्रेष्ठकाे प्रहारले जाली चुमेकाे थियाे । चर्च व्वाइजका विदेशी खेलाडी बाउण्डोमाको प्रहार गाेलपोष्ट बाहिर गएकाे थियाे भने लक्षु थापाको प्रहार एनआरटीका गोलरक्षक प्रिसोले राेके ।
चर्च व्वाइजको तर्फबाट खेलको ५४ औं मिनेटमा राजेश परियार र ७६ औं मिनेटमा मार्टिनले गोल गरेका थिए । दुई गोलले पछाडि परेको एनआरटीले खेलकाे ९० औं मिनेटमा असाेक थापाले १ गोल गर्दै लयमा फर्किएकाे थियाे । यस्तै निर्धारित समयकाे खेलमा थपिएकाे ४ मिनेट अतिरिक्त समयको अन्तिम मिनेटमा विदेशी खेलाडी ग्लोरीले १ गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो । पहिलो हाफ गोलरहित बराबरी भएकाे खेलको दाेस्रो हाफमा दुवै टोलीबाट २–२ गाेलकाे बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएकाे थियाे ।
यसैगरी, आइतबार आयोजक टाेली रिगल हेटौडा मकवानपुर र बागमती क्लब सर्लाही बीच प्रतिस्पर्धा हुनेछ । प्रतियाेगिताकाे उद्घाटन खेलमा बागमतीले भुटानको पारो फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेका थियाे । आगामी माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले दश लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन्। यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५/२५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।
मकवानपुर जिल्ला फुटबल संघकाे आयोजनामा बागमती प्रदेश खेलकुद विकास परिषद्, सामाजिक विकास मन्त्रालय, हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा प्रतियोगिता भएकाे हाे । प्रतियाेगितामा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको छ । पाँचौँ संस्करणको उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लबले याे संस्करणमा सहभागिता जनाएकाे छैन ।
मकवानपुर । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामति मकवानपुर जिल्ला कार्यसमितिले शनिबार ओम वृद्धाश्रमलाई नगदसहित फलफुल सहयाेग गरेकाे छ ।
संगठनको १६ औं स्थापना दिवसको अवसरमा हेटौंडा–२ स्थित ओम वृद्धाश्रमलाई १० हजार नगद र फलफुल हस्तान्तरण गरेको छ । संगठन मकवानपुर जिल्ला अध्यक्ष बसन्त कुमार सिटौलासहितको समूह आश्रममै पुगेर सहयाेग गरेका हुन् ।
महासङ्ग केन्द्रीय सदस्य बसन्तराज गौतम, बागमती प्रदेश उपाध्यक्ष राजु अर्याल, जयराम रायमाझी, बिश्वेश्वर यादब, जयराम पुलामी, आश्रम अध्यक्ष सिद्दिलाल श्रेष्टलगायतकाे सहायोग हस्तान्तरण कार्यक्रममा सहभागिता रहेको थियो।
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले वडास्तरमै सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण गरेपछि ज्येष्ठ नागरिक खुशी भएका छन् । ८ वटा वडा रहेकाे गढी गाउँपालिकाले माघ ४ गतेबाट वडास्तरमै सासु भत्ता वितरण थालेकाे हाे ।
गाउँपालिकाकाे वडा नम्बर – ८ मा गत माघ ४ गते र वडा नम्बर- १ मा विहीबार वडा स्तरबाट भत्ता वितरणको काम भएकाे गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए । वडा नम्बर १ मा घुम्ति शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष स्याङ्तान र वडा अध्यक्ष आईत सिह लोले वडास्तरमै सासु भत्ता वितरण गरेसँगै जेष्ठ नागरिकमा उत्साह छाएकाे छ ।
गाउँपालिकाको केन्द्रमा रहेकाे बैंकसम्म आवतजावत गर्न जेष्ठ तथा अशक्त नागरिकलाई समस्या भएपछि भौगोलिक रुपमा टाढा र बिकट रहेकाे गाउँपालिकाकाे वडास्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरी लाभग्राहीलाई सेवा दिने सुरुवात गरिएकाे स्याङ्तानले जानकारी दिए । वडा नम्बर १ मा भएकाे सासु भत्ता वितरण मार्फत १ सय ८३ जना लाभग्राहीहरुले भत्ता रकम बुझेको पञ्जिकरण शाखा प्रमुख रघुनाथ हुमागाईले बताए ।वडामा २ सय ३ जना सासु भत्ताकाे रकम पाउने लाभग्राही रहेकाे हुमागाईंले जानकारी दिए ।
गाउँपालिका अन्तरगतका विकट र दुर्गममा रहेकाले वडाहरुलाई प्राथिमकतामा राखेर वडाबाटै भत्ता वितरण गर्न लागेकोमा २०८० साल भित्रै सबै वडा स्तरबाट वितरण गरिने योजना रहेकाे हुमागाँईले बताए ।