मकवानपुर । मकवानपुर जिल्लाकाे मनहरी गाउँपालिकामा आँखा शिविर सञ्चालन गरिएकाे छ । मनहरीकाे वडा नम्बर २ मा शनिबार ८ नं वडामा आइतबार आँखा शिविर सञ्चालन भएको हो ।
मनहरी गाउँपालिकाले आयोजना गरेकाे शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेकाे थियाे । शनिबार मनहरीकाे २ नम्बर वडामा सञ्चालन गरिएकाे आँखा शिविरमा २ सय ३३ जनाले सेवा लिएका थिए । सेवा लिएकाहरुमध्ये २४ जनामा मोतिविन्दु देखा परेको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिए ।
यस्तै आइतबार ८ नम्बर वडामा सञ्चालन भएकाे शिविरमा आयोजीत शिविरमा २ सय ३१ जनाले सेवा लिएको दाहालले बताए । उनीहरुमध्ये १५ जनामा मोतिविन्दु देखा परेको छ । मोतिविन्दुको समस्या देखिएकाहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यकृया गरिने उनले बताए ।
चैत ६ गते २ नम्बर वडाका २४ जना र चैत ७ गते ८ नम्बर वडाका १५ जनाको माेतिविन्दुकाे शल्यक्रियाका लागि आँखा अस्पताल लैजाने तयारी गरिएको छ दाहालले जानकारी दिए । दाहालका अनुसार आगामी दिनमा सबै वडाहरुमा आँखा शिविर सञ्चालन गरिने छ ।
मकवानपुर / नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल हेटौडा उपमहानगरपालिका कमिटीको नयाँ कार्यसमिति गठन भएको छ।
हेटौडामा आयोजित राष्ट्रिय युवा संघ नेपाल हेटौडा उपमहानगरपालिका कमिटीको युवा भेलाले अनिल काफ्लेको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति घोषणा गरेको छ।
उपाध्यक्षमा गोविन्द नेगी, सचिवमा अर्जुनप्रसाद दुलाल, उपसचिवहरूमा सचिन राई र मनीषा राई तथा कोषाध्यक्षमा बिज्ञान नेपाल चयन भएका छन्।
राष्ट्रिय युवा संघ हेटौडा उपमहानगरपालिका कमिटीका निवर्तमान अध्यक्ष एवं मकवानपुर संयोजक राजेश नगरकोटीको सभाध्यक्षता तथा राष्ट्रिय युवा संघ केन्द्रिय कमिटिका उपाध्यक्ष महाराज गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटि लेखा आयोग संयोजक सन्तोष चौलागाईं, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य एवं मकवानपुर इन्चार्ज लक्ष्मण उप्रेती लगायतको आतिथ्यता रहेको थियो।
मकवानपुर । मकवानपुरकाे कुलेखानीमा मोटरसाइकल दुर्घटना हुँदा १ जना घाइते भएका छन् । शनिबार कुलेखानी – सिस्नेरी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २, सिमखोलामा मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका प्युठ गम्भीर घाइते भएका हुन्।
हेटौंडाबाट काठमाडाैं जाँदै गरेको लु ३४ प ३६०४ नम्वरको माेटरसाइकल दुर्घटना हुँदा चितवनको खैरेनी नगरपालिका वडा नम्वर १ घर भई दाङ रङसिंह दलमा कार्यरत नेपाली सेनाका प्युठ २९ वर्षीय यज्ञबहादुर मगर घाइते भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार घाइते मगरलाई उपचारको लागि काठमाडौंस्थित छाउनी अस्पताल पठाइएको तथा घटनाको अनुसन्धान भइरहेको छ।
मकवानपुर । मकवानपुरबाट विभिन्न देशमा राेजगारीकाे क्रममा पुगेका १९३ जनाकाे मृत्यु भएकाे छ । याे तथ्याङ्क आव २०६५-६६ देखि २०८०-०८१ सम्मकाे हाे । यसैगरी आ व २०७०-७१ देखि २०८०-०८१ सम्म ६२ जना बिरामी र अंगभंग भएका छन् ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सुरक्षित वैदेशीक राेजगारी सम्बन्धि पत्रकारहरुसँग अन्तरक्रियामा याे जानकारी गराएकाे हाे । हेटाैडा उपमहानगरपालिकाकाे आयाेजनामा शुक्रबार कार्यक्रम गरिएकाे थियाे ।
वैदेशिक राेजगारीकाे माेहसँगै असुरक्षा पनि बढेकाे छ । त्यसैले आफू जान लागेकाे देशकाे बारेमा राम्राेसँग बुझेर, पुरा कागजपत्र बनाएर मात्रै अघी बढ्ने नगरेकाे कारण समस्या हुने गरेकाे कार्यक्रममा छलफल गरिएकाे थियाे ।
यस्ताे छ बागमती प्रदेशबाट विदेश जानेहरुकाे तथ्याङ्क

राेजगारीकाे सिलसिलामा विभिन्न समस्यामा परेकाहरुलाई सहयाेग र समन्वयकारी भूमिका निर्वाह गर्दै आएकाे यस परियाेजना अन्तरगत भएका प्रगतिबारे जानकारी गराइएकाे थियाे ।
विभिन्न समस्यामा पर्दा मनाेसामाजिक समस्यामा समेत पर्दै आएकाहरु पनि सामीबाट परामर्श दिने गरिएकाे छ । यसैगरी परियाेजना अन्तरग सञ्चालित वित्तिय साक्षरता कार्यक्रमबारे समेत जानकारी गराइएकाे थियाे ।
कार्यक्रममा हेल्भिटास नेपालकाे कार्यक्रम अधिकृत उमा पाैडेल, सामी परियाेजना संयाेजक अञ्जिता थापामगर, सामाजिक परिचालक अधिकृत प्रतिक्षा खड्का, मनाेविमर्शकर्ता प्रतिक्षा भट्टराई, सूचना तथा परामर्शकर्ता पार्वती बिककाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरकाे अग्रणी साहित्य संस्था साहित्य सङ्गम मकवानपुरले ७ जना सर्जकलाई सम्मान गर्ने भएको छ । सङ्गमद्वारा स्थापित विभिन्न सम्मान तथा पुरस्कारहरू मध्येबाट वि.सं. २०८० मा प्रदान गरिने सम्मानहरूका लागि सम्मान छनौट समितिले गरेको सिफारिसलाई कार्यसमितिले अनुमोदन गरेको हो ।
तत्कालीन जिल्ला विकास समिति मकवानपुर र साहित्य सङ्गम मकवानपुरद्वारा ‘मकवानपुर साहित्यश्री सम्मान २०८०’ बाट ईन्द्रजित शर्मा चौलागाईं सम्मानित हुने छन् । शर्मा हास्य तथा टेलिश्रृङ्खलामा अभिनयमा सक्रिय छन् । सम्मानकाे राशी १५ हजार ५ सय ५५ रहेकाे छ ।
यसै गरी १५ हजार ५ सय ५५ रुपैया राशिको ‘भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८०’ बाट धनकुटाकी स्रष्टा कल्पना काफ्ले सम्मानित हुनु हुने भएकाे छ । सो सम्मान साहित्य सर्जक विशाल अधिकारी आशुतोषले स्थापना गरेका हुन् । यस्तै १० हजार राशिको ‘विनोद-सुनिता सुवेदी साहित्य सम्मान २०८०’ बाट ललितपुरका स्रष्टा श्रीराम पाण्डे सम्मानित हुने भएका छन् । उक्त सम्मान बालजागृति इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुल हेटाैडा २ का प्रिन्सिपल विनोद सुवेदी तथा शिक्षक सुनिता सुवेदीले स्थापना गरेका हुन् ।
‘सुभद्रादेवी-मदन मुडवरी स्मृति सम्मान २०८०’ बाट मकवानपुरका स्रष्टा विश्वनाथ सञ्जेल सम्मानित हुने भएका छन् । १० हजार रुपैया राशिको उक्त सम्मान हेटौँडाका (हाल अमेरिका निवासी) दीपक मुडवरीले स्थापना गरेका हुन् । यसैगरी हेटौंडाका देवप्रसाद श्रेष्ठले स्थापना गरेकाे १० हजार रुपैया राशिको ‘मङ्गलादेवी श्रेष्ठ नारी स्मृति सम्मान २०८०’ बाट मकवानपुरकी स्रष्टा भावना सापकोटा सम्मानित हुने भएकी छिन् । सापकाेटा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष हुन् ।
यस्तै १० हजार राशिको ‘मुक्ति-तारा सम्मान २०८०’ बाट मकवानपुरका स्रष्टा सानुभाइ विश्वकर्मा सम्मानित हुने भएका छन् । उक्त सम्मान हेटौंडाका साहित्यसेवी मुक्तिगोविन्द वैद्य र तारादेवी वैद्यले स्थापना गरेका हुन् । हेटौंडाका साहित्यिक स्रष्टा, अधिवक्ता ऋषि केबी र शिक्षक पूण्यशिला श्रेष्ठले स्थापना गरेकाे १० हजार राशिको ‘रामहरि-देवु सम्मान २०८०’ बाट मकवानपुरका स्रष्टा किशन पौडेल सम्मानित हुने भएका छन् । पौडेल लघुकथा चौतारी मकवानपुरका अध्यक्ष हुन्।
आगामी चैत्र १० गते हेटौडामा एक कार्यक्रमबीच उक्त सम्मान समर्पण गरिने सङ्गमका सचिव मनोज पोखरेलले जानकारी दिए ।
२५ हजार राशिको निबन्ध पुरस्कार घोषणा
साहित्य सङ्गम मकवानपुरका संस्थापक केशव श्रेष्ठ ‘ज्योति’ द्वारा स्थापित साहित्य सङ्गम मकवानपुर कृति सम्मान २०७९ संस्थाको कार्यविधिअनुरुप प्रदान गरिने भएकाे छ । २५ हजार १ रुपैयाँ राशिको सो सम्मानकाेलागि सर्वोत्कृष्ट कृति छनौटकाे दर्ता आह्वान गरिएको संगम अध्यक्ष डीबी बर्तौलाले बताए ।
उक्त सम्मानकाे लागि २०७९ बैशाखदेखि चैत्र मसान्तसम्म प्रकाशन भएको निबन्ध विधाका मौलिक सङ्ग्रह पुरस्कार छनौट समितिलाई उपलब्ध गराउनु पर्ने तथा कृति अन्य कुनै पनि राष्ट्रिय पुरस्कारका लागि छनोट नभएको हुनुपर्ने बर्तौलाले जानकारी दिए । आगमी चैत्र २० गतेभित्र पुस्तक, श्रष्टाको नाम, ठेगाना, सम्पर्क नम्बर, प्रकाशित मिति समेत उल्लेख गरी छनोट समितिसमक्ष उपलब्ध गराउनु पर्ने उनले बताए ।
