मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले विद्यार्थीबिच हास्यव्यङ्ग्य प्रतियोगिता गरेकाे छ । शनिबार हेटौंडामा सिस्नुपानीकाे स्थापना दिवसमा आयोजित प्रतियोगितामा नवोदय शिशु सदन प्रथम भएकाे छ ।
मकवानपुर जिल्लाभित्रका कक्षा १२ सम्मका विद्यार्थीहरूबिचको हास्यव्यङ्ग्य प्रहसन प्रतियोगितामा नवोदय शिशु सदन प्रथम भएको हो । नवोदयले प्रथम हुँदै १५ हजार रुपैयाँ राशी पुरस्कार प्राप्त गर्यो । प्रतियोगितामा जनप्रिय मावि दोस्रो हुँदा १० हजार राशीकाे पुरस्कार प्राप्त गरेकाे हाे । यस्तै ७ हजार राशिसहित बुद्ध माविले तृतीय पुरस्कार तथा ४ हजार राशिसहित शारदा माविले प्रोत्साहन पुरस्कार प्राप्त गरेको छ ।
हास्यव्यङ्ग्यका विविध प्रस्तुति र प्रतियोगिता गर्दै आएको सिस्नुपानीले नवपुस्ताको कलाकार पहिचान गर्दै आगामी कार्यक्रमहरूमा नवपुस्तालाई समावेश गर्ने र हास्यव्यङ्ग्य कलाकारिताप्रति रूची जगाउने उद्देश्यका लागि सो कार्यक्रम आयोजना गरिएको अध्यक्ष संप्रस पौडेलले बताए ।
सिस्रुपानी नेपाल मकवानपुरको आयोजना र हेटौंडा उपमहानगरपालिकाको प्रवर्धनमा आयोजित प्रतियोगितामा मकवानपुर जिल्लाभित्र अध्ययनरत कक्षा १२ सम्मका विद्यार्थीहरू सहभागी भएका थिए । सहभागी विद्यार्थीहरूलाई २ चरणमा छनोट गरिएको, अङ्क निर्धारण गर्दा विषयवस्तु, हास्य र व्यङ्ग्यका विधि तथा शैली, अभिनय, समय व्यवस्थापनजस्ता क्षेत्रमा विशेष ध्यान दिइएको निर्णायक मण्डलका संयोजक उज्ज्वल शर्मा भण्डारीले बताए ।
प्रतियोगितामा सामाजिक, राजनीतिक, आर्थिक तथा प्रशासनिक वेथितिलगायतका समसामयिक विषयहरूमाथि विद्यार्थीहरूले हास्यव्यङ्ग्य प्रस्तुति दिएका थिए ।
हास्यव्यङ्ग्य स्रष्टा लुइटेल र न्यौपाने सम्मानित
कार्यक्रममा सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष तथा फित्कौली अनलाइनका प्रधान सम्पादक नरनाथ लुइँटेललाई २५ हजार रूपैयाँ राशीको गणेश पौडेल हास्यव्यङ्ग्य सम्मान २०८२ बाट सम्मान गरिएको छ ।
युवा हास्यव्यङ्ग्यकार सीता न्यौपानेलाई संस्थाले २० हजार राशिको आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८२ बाट सम्मान गरेको छ । उनले महिला सशक्तिकरणका साथसाथै युवाहरूमा अध्ययनको आवश्यकता रहेको विषयवस्तु राख्दै हास्यव्यङ्ग्य प्रस्तुत गरेकी थिइन् ।
मकवानपुर । जिल्लास्तरीय शिक्षक भलिबलको उपाधि हेटौंडा–५ स्थित जीएस निकेतनले हात पारेकाे छ । मकवानपुरगढी–५ स्थित शारदा माध्यमिक विद्यालयलाई पाखा लगाउँदै छैठौं संस्करणकाे उपाधी जीएसले जितेको हो ।
शनिबार हेटौंडा ४ स्थित हुप्रचौरकाे काेर्टमा भएको प्रतियोगिताको फाइनलमा खेलमा जीएस निकेतन (ज्ञानदीप शिक्षा निकेतन) ले ३–२ को सेटमा उपाधि कब्जा गरेको हो । फाइनल खेलको पहिलो सेट २५–१८ ले शारदाले जितेकाे थयो भने दोस्रो र तेस्रो सेट क्रमशः २४–२६ र १९–२५ ले जीसले आफ्नो पक्षमा पारेकाे थियो ।२५–१६ ले चौथो सेट जित्दै शारदा मावि पाँचौं सेटकाे लागि दबाब दिएकाे भए पनि जीएसले १५-८ ले पराजीत गर्दै उपाधी रक्षा गरेकाे हाे ।
प्रतियोगिताका उपाधि विजेता जीएस निकेतनले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्दा उपविजेता शारदा माविले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र ट्रफीमा चित्त बुझायो । गत वर्ष भएको पाँचौं संस्करणमा जीएसलाई हराएर शारदाले उपाधि जितेको थियो ।
शनिबार बिहान भएकाे सेमीफाइनल खेलमा राक्सिराङको सूर्योदय माविलाई पराजित गर्दै शारदा मावि फाइनल प्रवेश गरेको थियो । यसैगरी जीएसले पनि राक्सिराङकै प्रजा जागृति माध्यमिक विद्यालयलाई पराजित गर्दै फाइनल प्रवेश थियो । सेमिफाइनलमा पराजित दुवै विद्यालयले सान्त्वना स्वरुप ५–५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यसैगरी प्रतियोगितामा व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी जीएसका अमृत मिश्र भए । उनले ३ हजार रुपैयाँ प्राप्त गरे । यसैगरी उत्कृष्ट सेटर जीएसकै विनोद श्रेष्ठ र उत्कृष्ट स्पाइकर शारदा माविका आशिष घलान घोषित हुँदै जनही २–२ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को व्यवस्थापन जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता भएको हो ।
आँचलमा शर्माको नेतृत्व
Tags: No Comments
मकवानपुर । महिला साहित्यकारहरूको साझा संस्था आँचल साहित्य कला पुञ्जको अध्यक्षमा निरा शर्मा चयन भएकी छिन् । शर्मा निवर्तमान कार्यसमितिमा उपाध्यक्ष थिइन् । शुक्रबार सम्पन्न अधिवेशनले शर्मालाई निर्विरोध अध्यक्षमा चयन गरेको निर्वाचन मण्डल संयोजक पुर्णकला घिमिरेले बताइन् ।
पुञ्जको उपाध्यक्षमा भवानी तिमल्सिना, सचिब एलिजा पुडासैनी, सहसचिव सरिता दाहाल, कोषाध्यक्ष संझना अधिकारी रहेका छन् । यसैगरी सदस्यहरूमा रजनी पौडेल, अनु रोक्का, सिर्जना पौडेल र गोपिनी गौतम चयन भएका छन् ।
आगामी दिनमा संस्थापक तथा पुर्व अध्यक्ष स्वर्गीय अप्सरा तिम्सेनाको सम्मानमा स्मृति ग्रन्थ, आंचल परिचय ग्रन्थ प्रकाशन तथा महिला साहित्यको क्षेत्रमा सिर्जनशील कार्यलाई प्राथमिकता दिने नवनिर्वाचित अध्यक्ष शर्माले बताइन् ।
आर सी रिजाललाई आँचलको अभिनन्दन

आँचल साहित्य कला पुञ्ज मकवानपुरले हास्य ब्याङ्ग्य साहित्यकार आर सी रिजाललाई अभिनन्दन गरेको छ । मकवानपुरमा रहेर राष्ट्रिय स्तरमा हास्यब्याङ्ग्य क्षेत्रमा सशक्त योगदान गरेका रिजाललाई शुक्रबार हेटौंडामा अभिनन्दन गरिएको हो ।
आँचल साहित्य कला पुञ्ज मकवानपुरको पाँचौं अधिवेशन एवम् चौधौ साधारण सभा तथा पारिजात स्मृति दिवसको सन्दर्भ पारेर रिजाललाई सम्मान गरेको पुञ्जले जनाएको छ । साहित्यप्रेमीहरू मुक्ति गोबिन्द बैद्य र हरिबंश भेटवालद्वारा रिजाललाई अभिनन्दन गरिएको हो । कार्यक्रममा साहित्यकारहरूले रचना वाचन समेत गरेका थिए । पुञ्जको अध्यक्ष भावना सापकोटाको अध्यक्षतामा कार्यक्रम भएको हो ।
मकवानपुर । चेपाङ बाहुल्य क्षेत्र समेटेर २ वटा गाउँपालिका बनाउन माग गरिएकाे छ । बागमती प्रदेशकाे चितवन र धादिङका हाल कायम पालिकाका चेपाङ बाहुल्य क्षेत्र समेटेर झारालाङ र रोराङ गाउँपालिका बनाउन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।
चेपाङ समुदायको पहिचान संरक्षण हुनेगरी धादिङ र चितवनका क्षेत्रहरुलाई समेटर २ स्थानीय तह पुनर्संरचना गर्नुपर्ने मागसहित नेपाल चेपाङ संघ केन्द्रीय कार्यकारिणी समितिले मुख्यमन्त्री बानियाँलाई बुधबार ध्यानाकर्षणपत्र बुझाएको हो । चितवनको इच्छाकामना गाउँपालिकाको वडा नम्बर–१ र २, कालिका नगरपालिकाका वडा नम्बर–१० र ११ तथा राप्ती नगरपालिकाका वडा नम्बर १०, ११, १२ र १३ लाई समेटेर झोरालाङ गाउँपालिका बनाउन माग गरिएको छ ।
त्यस्तै, प्रस्ताव गरिए अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिका–१, २, ६, ८, ९ र १० तथा गजुरी गाउँपालिकाका वडा नम्बर ३ र ४ लाई समेटेर रोराङ गाउँपालिका बनाउन संघले आग्रह गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका अन्य गाउँपालिका वा नगरपालिकामा गाभिने अवस्था आएमा हालको चेपाङ भाषामा रहेको नाम राक्सिराङ नै यथावत राख्नुपर्ने माग पनि उनीहरुले गरेका छन् ।
यसका साथै नेपालको संविधान २०७२ को धारा ५६ को उपधारा (५) बमोजिम चेपाङ समुदायको आर्थिक, सामाजिक तथा साँस्कृतिक संरक्षणका लागि चितवन, मकवानपुर, धादिङ र गोरखा जिल्लाका चेपाङ बाहुल्य क्षेत्रमा चेपाङ संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले चेपाङ समुदायको विशेष पर्वका अवसरमा सार्वजनिक बिदा दिँदै आएको स्मरण गराउँदै स्थानीय तहसँग समन्वय गरेर चेपाङ समुदायकाे हितमा प्रदेश सरकारले आवश्यक काम गर्ने बताए ।
२०७८ सालको जनगणनाअनुसार नेपालमा चेपाङ समुदायको कुल जनसंख्या ८४ हजार ३ सय ६४ रहेको छ । तीमध्ये पुरुष ४२ हजार ७ सय ५८ र महिला ४१ हजार ६०६ जना रहेको छ। चेपाङहरु झापादेखि कञ्चनपुरसम्मका ३१ जिल्लामा रहेपनि सबैभन्दा धेरै चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ र लमजुङमा बस्छन्। यसमध्ये करिब ८० प्रतिशत बागमती प्रदेशमा बसोबास गर्छन् ।
वि.सं. २०३४ सालमा तत्कालीन राजा विरेन्द्रको निर्देशन दिएपछि उनीहरूको आफ्नो जातीय नाम चेपाङलाई प्रजा भन्न समेत थालिएकाे हाे भने प्रजा विकास कार्यक्रममा मार्फत समेत चेपाङ समुदायकाे लागि काम भएका छन् ।

मकवानपुर । मकवानपुरका दुग्ध उत्पादक किसानले बक्यौता रकम आगामी असार मसान्त सम्म पाउने भएका छन् । किसानसँग उघारोमा दुध खरिद गरेर भुक्तानी नदिएका निजी डेरी उद्योगलाई असार मसान्त भित्र रकम भुक्तानी गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन दिएकाे छ ।
दुग्ध उत्पादक किसानको भुक्तानी नदिएका मकवानपुरका ११ वटा डेरी उद्योग सहित किसानका प्रतिनिधी समेत जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएकाे छलफल पछि किसानकाे बक्यौता रकम असार सम्म तिर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार प्रशासनको सभाहलमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, सुरक्षा निकायका प्रमुख, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि कँडेल, जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष नारायणप्रसाद देवकोटा, डेरी उद्योगका सञ्चालक एवम् व्यवस्थापकसंग छलफल गरिएको हो ।
प्रजिअ बसन्त अधिकारीले डेरी उद्योग सञ्चालकहरुलाई संघसँग भएको सहमति अनुसार नै भुक्तानी दिन निर्देशन दिए । किसानले लामो समयदेखि उधारोमा बिक्री गरेको दुधको मुल्य नपाएको गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सर्बपक्षीय छलफल राखेको हो ।
मकवानपुरमा संचालित ११ उद्योग वटा डेरी उद्योगबाट किसानले २०७८ सालदेखि १४ करोड ३५ लाख ६३ हजार भुक्तानी पाउन बाँकी छ । यसअघि जिल्ला दुग्ध उत्पादक सहकारी संघले पनि किसानको भुक्तानी रोक्ने डेरी उद्योगहरुसँग छलफल गरेको थियो । बक्यौता रकम प्रत्येक महिना जम्मा गर्दै जाने र ६५ प्रतिशत बक्यौता यहि असार मसान्त सम्म भुक्तानी गर्ने भएकाे छ । बाँकी रहेको रकम असोज मसान्त सम्ममा पूर्ण रुपमा भुक्तानी गरि सक्ने प्रतिवद्धता उद्योगले जनाएका थिए ।
हेटौंडा ९ मा रहेको शुभ डेरीले सबैभन्दा धेरै ६ करोड ७० लाख भुक्तानी दिन बाँकी छ भने गायत्री डेरीले ४ करोड ४९ लाख भुक्तान दिन बाँकी छ । त्यसैगरी भुटनदेवी डेरी फर्मले २२ लाख ३३ हजार, अनुश्री सप्लायर्सले १९ लाख ७५ हजार, कविता डेरीले १२ लाख ४२ हजार, पवित्र मिल्कले ४ करोड ६ लाख, स्यार्सेकालिका डेरीले १ करोड ६ लाख, पिज्जा कटरले ७ लाख २३ हजार, नारायणी मिल्कले १० लाख ३२ हजार, एस।के।डेरीले २५ लाख २८ हजार र कल्पवृक्ष डेरीले ६५ लाख ५७ हजार भुक्तानी गर्न बाँकी छ । जिल्ला उत्पादक सहकारी संघसंग मकवानपुरमा ११ हजार किसान आबद्ध छन् भने ४२ डेरी उद्योगसँग जिल्ला संघले कारोबार गर्दै आएको छ ।
उद्योगीहरुलाई प्रबर्धन गर्न सरकार तयार रहेको बताउँदै प्रजिअ अधिकारीले किसानहरुको समस्सामा गम्भीर बनिदिन उद्योगीहरुलाई आग्रह गरे । छलफलको क्रममा उद्योगीहरुले बटर चिज लगायतका दुग्धजन्य पदार्थ लामो समयसम्म स्टकमै रहने र यसको बजारीकरणमा देखिएको समस्याको कारण भुक्तानीमा कठिनाई भएको गुनासो गरेका थिए ।