मकवानपुर । रमाइलो हाइकिङ रुटको खोजिमा हुनुहुन्छ ? गर्मीको समयमा चिसोको मज्जा लिँदै अत्यधिक रमाइलो पदयात्राको रोजाई बन्न सक्छ मकवानपुरको थाहा नगर । संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडाको समदुरीमा रहेको थाहानगर । यहाँ खुलेका पदमार्गमा एक पटक अनुभव लिनुस्, जीवनमा फेरी आउँ आउँ पक्कै लाग्ने छ ।
उत्तरी मकवानपुरको पर्यटकीय नगरी थाहा नगरमा यतिबेला गर्मी छैन । चिसो सिरेटो चल्छ । तापक्रम २० देखि २७ को बिचमा छ । सुन्दर पर्यटकीय क्षेत्रको कारण छुट्टै परिचय बनाएको मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका रमणीय, प्राकृतिक र सहासिक पदयात्रा गन्तब्यको रुपमा पनि परिचित हुन थालेको छ ।
नेपालको पहिलो राजमार्ग त्रिभुवन राजपथ (बाईरोड)संग जोडिएको थाहानगरमा हालसम्म खुलेका ७ वटा पदमार्ग र त्यहाँ आउने पदयात्रीहरुका कारण थाहा नगर पर्यटकीय गन्तब्यको रुपमा विकसित हँुदैं गएको स्थानीय युवा कृषक निरोज प्रधानले बताए ।
थाहा नगरको ७ वटै पर्यटकीय पदमार्गका परिकल्पना थाहा नगरका युवा फोटोपत्रकार गणेश विष्टले गरेका हुन् । पर्यटकीय क्षेत्रहरुमा घुम्न, विभिन्न धार्मिक, सास्कृतिक, ऐतिहाँसिक, कृषि, रमणीय वातावरण र स्थानीय जीवनशैलीको फोटो खिचेर त्यसको प्रचारप्रसार गर्न सक्रिय बिष्ट फुर्सद हुनेबित्तिकै थाहानगरको विभिन्न स्थानहरुको अध्ययन, अवलोकन र प्रवद्र्धनमा पुगिहाल्छन् ।
विष्टलाई स्थानीय युवाकृषक निरोज प्रधान, युवाव्यवसायी श्रीराम कार्की, युवाउद्यमी माधव कार्की, अनिता विष्ट, नरहरि पौडेलले साथ दिएका छन् । त्यसोत थाहा नगरपालिकाका स्थानीयहरुले पदमार्गमा आउने पर्यटकहरुलाई गर्ने स्वागत सत्कारका कारण पनि पदयात्रीहरु थाहानगरका पदमार्गहरुमा पदयात्रा गर्न उत्साहित भएको युवा उद्यमी माधव कार्कीले बताए ।
पछिल्ले समयमा गणेश बिष्टलगायत युवाहरुले परिकल्पना गरेको रुट हो “टिष्टुङ–पालुङ” पदमार्ग । यहाँ काठमाडौ ह्याप्पी हाइकरका ३२ जना र स्थानीय ८ जना समेत ४० जना पदयात्रीको टोलीले पदयात्रा गरे । करिव १७ किलोमिटर लामो पदयात्रामा पदयात्रीहरु प्राकृतिक मनोरमताको साथै गाउँले जीवनशैली बुझ्दै, रमाउँदै, गाउँ, जंगल, पाखा, सिम, चौर छिचोल्दै अग्ला डाँडा उक्लदै, ओर्लर्दै यात्रा गरे । यो पदयात्रा रुटको प्रमुख विशेषता नै गाउँको वस्ती, जंगलको अवलोन, खुला चौर, उकाली र ओरायी हो ।
पदयात्राको क्रममा भेटिने खुकुरी पार्क, खेल मैदान, मुस्कान झरना, नर्बेढुङ्गे, चिया बगान, दमार, कुईभिर, नाँगेचुली असाध्यै रमाइलो र अदभूत रमणीय क्षेत्रहरु हुन् । टिष्टुङबाट पालुङ निस्कने यो पदमार्गको ठाउँ ठाउँमा भेटिने डाँडाकाँडाले प्रकृतिक भ्यूटावरको अनुभुति दिन्छ ।
यो रुटमा तामाङ जनजातिको बाहुल्यता रहेको छ । टिष्टुङको नर्बेचोकबाट सुरुहुने यात्रा भाँङखोरियामा पुगेर पालुङसंग भेट हुन्छ । सोल्टुहुँदै फाँटबजारको होमस्टे पुगेर स्थानीयपनको आभास पदयात्रीहरुले गर्न पाउँछन् । होमस्टेमा पुग्दा ‘टिष्टुङ–पालुङ’को पदयात्रा त सकिन्छ तर ‘पालुङ–आग्रा’ पदमार्गको अर्को ढोका खुल्छ । फाँटबजारको यो होमस्टे क्षेत्र ‘पालुङ–आग्रा’ पदयात्राको बेसक्याम्प पनि हो । होमस्टेमा बास बसेर विहान पालुङगढी, गोरखनाथ, पाण्डुकेश्वर, शंखमुल त्रिवेणीधामलगायत क्षेत्रको भ्रमण गर्न पनि सकिन्छ ।
पदयात्रामा अत्यन्तै रुची भएका ह्याप्पी हाइकरका टिम लिडर राजाराम फुयाँलले थाहा नगरका पदमार्गहरु मध्ये ‘टिष्टुङ–पालुङ’ पदमार्ग उत्कृष्ट भएको र पर्यटन प्रवद्र्धका लागि यस रुटले भविष्य बोकेको बताए । गाउँले परिवेशमा मौसम अनुसारको फलफूल र कन्दमुल खाँदै यात्रा गर्दा आनन्दित तुल्याएको फुयाँलको प्रतिक्रिया छ ।
थाहा नगरका युवा फोटो पत्रकार गणेश विष्टले परिकल्पना गरेका पदमार्गहरुमा बिभिन्न क्षेत्रहरुबाट दुईहजार बढी पर्यटकहरुले यात्रा गरिसकेका छन् । संघीय राजधानी काठमाडौंको भिडभाड र कोलाहलबाट मुक्तभई थकान मेट्न र प्रदेश राजधानी हेटौंडा लगायत तराई क्षेत्रका अत्याधिक गर्मीबाट शितलताको महशुश गर्नको लागि पनि थाहानगरका पदमार्गहरु उपयुक्त गन्तव्य भएको पदयात्रीहरु बताउँछन् ।
यस्ता पदमार्ग लगायत पर्यटकीय क्षेत्रको विकासकालागि स्थानीय सरकारले बिशेष योजना सहित व्यवस्थित र प्रवद्र्धन गर्नुपर्ने फोटो पत्रकार विष्टको सुझाव छ । “मैले आफ्नो गाउँ भनेर राम्रो भनेको हैन, यो ठाउँ साच्चै संसार लोभ्याउने छ” विष्ट भन्छन् “एक पटक यहाँ पदयात्रा गरेको मान्छे आफ्नो अरु साथीहरु लिएर जरुर आउँछ ।” रमाइलोमा लागि मात्रै नभई हाइकिङले मानव जीवनमा धेरै कुराको सिकाइ र ज्ञान दिने विष्ट बताउँछन् ।
पत्रकार राजकुमार केसीकाे सहयाेगमा
मकवानपुर । मकवानपुरको हेटौंडामा शनिबार स्क्रयाबल (शब्दको खेल) खेलाइने भएकाे छ । बालजागृति अङ्ग्रेजी सेकेण्डरी स्कुलले स्क्र्याबल क्लबसँगको सहकार्यमा असार १५ गते शनिबार शब्दकाे खेल प्रतियाेगिता आयोजना गर्ने भएकाे शुक्रबार विद्याललये पत्रकार भेटघाट गरी जानकारी दिएकाे हाे ।
शब्दकाे खेल खेलाइने प्रतियोगितामा विद्यार्थीहरुले खेलकुदको साथसाथै अङ्ग्रेजी शब्दभण्डार बढाउन र भाषा सीप विकास समेत गर्ने छन् । स्क्र्याबल अर्थात ‘शब्दको खेल’ खेलाईनेछ ।कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका, बकैया र मनहरी गाउँपालिकाका करिब ५० विद्यालयका २५० विद्यार्थीहरू सहभागी हुने अपेक्षा गरिएको छ। ‘कार्यक्रममा ५० वटा विद्यालयका दुई सय ५० विद्यार्थीहरुको सहभागिता रहन्छ’ बालजागृतिका प्रिन्सिपल सुवेदीले भने ‘पाँच जना विद्यार्थीलाई सम्मान पनि गर्नेछौ ।’
कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरू समावेश हुने प्रतियाेगितामा प्रत्येक विद्यालयबाट तीन जना विद्यार्थी र एक जना शिक्षक सहभागी हुन पाउने प्रिन्सिपल सुबेदीले बताए । स्क्र्याबल क्लबका मकवानपुर संयोजक बिबश जंग थापाले स्क्रयाबलको महत्त्व र यसअघिका प्रतियोगिता समेतकाे जानकारी गराएका थिए । उनका अनुसार यसअघि मकवानपुरमा १३ वटा विद्यालयको सहभागितामा जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरिएको थियो। स्क्रायबल खेलले अङ्ग्रेजी शब्दभण्डार बढाउन सहयोग पुर्याउने हुँदा खेलले विद्यार्थीको अङ्ग्रेजी भाषा सीप विकासका हुने उनले बताए ।
विद्यार्थीको माग बढ्दो रहेकाले स्क्रयावलबारे अभिमूखीकरण कार्यक्रम गरिन लागेको थापा बताउँछन् । कार्यक्रमलाई क्लबका केन्द्रीय सदस्य भोजराज सुवेदीले संयोजन गरेकाे छन् । कार्यक्रममा स्क्र्याबलका नियम र रणनीतिहरू सिकाउने अन्तरक्रियात्मक कार्यशाला र अभ्यास सत्रहरू समावेश गरिने सुवेदीले जानकारी दिए ।
मकवानपुरबाट बालजागृति विद्यालयका छात्र प्रसिद्ध तिमिल्सिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्क्रयाबल प्रतियोगितामा सहभागिता समेत जनाइसकेका छन् ।
मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाकाे भिन्दाभिन्दै ठाँउबाट ३ सय ३० किलाे लागूऔषध गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएकाे छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ सामरी पुल नजिकैबाट १७५ किलाे गाँजासहित १ जना र हेटौडा उपमहानगरपालिका १५ रातोमाटेबाट १५५ किलाे गाँजा सहित २ जनालाई नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार भिमफेदीबाट १७५ किलो गाँजासहित हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने बर्ष ५१ को पुर्ण बहादुर रुम्बालाई नियन्त्रणमा लिइएकाे हाे भने हेटौडा १५ बाट १५५ किलाे गाँजासहित चितवन राप्ती नगरपालिका–२ गड्यौली बस्ने बर्ष ३६ को सुनिल मुक्तान र राप्ती–१ लोथर बस्ने बर्ष २० को अनिल भन्ने धन बहादुर स्याङतानलाई नियन्त्रणमा लिइएकाे हाे ।
भीमफेदी १ मा बा.३ ख ४६१ नम्बरको मिनी ट्रकमा गाँजा लुकाई छिपाई ल्याएको छ भन्ने सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी चेक गर्दा ट्रकको पछाडी पट्टी मुनी फल्स बटम बनाई लुकाई छिपाई राखेको अबस्थामा गाँजा १७५ किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी टोलीले ट्रक र ट्रक चालक रुम्बालाई उक्त गाँजासहित नियन्त्रणमा लिएको हो । सो बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी चितवनबाट पथलैयातर्फ जादै गरेको ना.५ ख १११८ नम्बरको डिब्बा ट्रकलाई हेटौडा १५ रातोमाटेमा चेक हुटमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा १६ पोकामा १५५ किलो गाँजा बरामद भएकाे प्रहरीले जानकारी दिएकाे छ । प्रहरीले ट्रकसहित ट्रक चालक मुक्तान र ट्रकमा सवार स्याङ्तानलाई उक्त परिमाणकाे गाँजासहित नियन्त्रणमा लिइएकाे हाे ।
मकवानपुर । मकवानपुरमा एक साताकाे अवधीमा जंगली च्याउ खाँदा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असार ३ गतेदेखि १० गतेसम्मको अवधीमा जंगली च्याउ खाँदा ३ जनाको मृत्यु भएको हुन् ।
प्रहरीका अनुसार उक्त अवधीमा जंगली च्याउ खाएर १६ जना बिरामी परेका छन् । बिरामी मध्ये ४ जना गम्भीर भई उपचाररत छन् भने ४ जना सामान्य बिरामी र ८ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । मकवानपुर प्रहरीका अनुसार जंगली च्याउ सेवन गर्दा गत असार ८ मा कैलाश गाउँपालिका–८ का ४ बर्षीय दिपेश लामा, असार ९ गते कैलाश–९ की निरुमाया रुम्बा र राक्सिराङ–७ दुगुवाङका बल बहादुर प्रजाको मृत्यु भएको हो ।
असार ३ गते राती ७ बजे कैलाश–९ नामटार बस्ने बिनोद लामा लगायत परिवारका सदस्यले जंगली च्याउ खाँदा निजको छोरा दिपेश लामा बिरामी परेका थिए । च्याउ खाएर बिरामी भएका दिपेशको उपचारका लागि असार ४ गते हेटौंडा अस्पताल ल्याइएकाे थियाे ।उनलाई थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज लगिएकाे थियाे । उपचार पश्चात असार ८ गते अस्पतालबाट घरतर्फ ल्याउने क्रममा उनकाे मृत्यु भएको हो ।
यस्तै असार ३ गते राती ७ बजे कैलाश–९, नामटारकी २५ बर्षीया निरुमाया रुम्बा जंगली च्याउ खाँदा बिरामी भएकी थिइन् । बिरामी अवस्थामा असार ४ गते हेटौँडा अस्पताल ल्याइएकोमा थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज लगिएकाे थियो । उनको उपचारको क्रममा असार १० गते मृत्यु भएको हो । आर्थिक अभावका कार चितवन मेडिकल कलेजमा उपचार गर्न असार ९ गते दिउँसो ३ बजेको रुम्बाको आफन्तले हेटौँडा अस्पताल फिर्ता ल्याएका थिए ।
असर ९ गते बिहान ६ बजे राक्सिराङ–७, दुगुवाङका बल बहादुर प्रजाले जङगलबाट ल्याएको जङगली च्याउ पकाएर खादा एकै परिवारका ५ जना मानिसहरु बिरामी भएका थिए । च्याउ खाएर बिरामी भएका उनीहरुको उपचारका लागि भरतपुर सरकारी अस्पतालमा पुर्याइएको थियो । उपचारको क्रममा ५५ बर्षीय बल बहादुर प्रजाको साँझ ६ः३५ बजेको समयमा मृत्यु भएको थियो ।
च्याउ सेवनबाट १६ जना बिरामी
राक्सिराङ–७ को घटनामा एकै परिवारका ४ जना गम्भीर बिरामी छन् । प्रहरी अनुसार जंगली च्याउ खाएर मृत्यु भएका बल बहादुर प्रजाकी श्रीमति ४५ बर्षीया जालिमाया प्रजा, छोरी १५ बर्षीया रेन्जु प्रजा र ८ बर्षीया सविना प्रजा र छोरा १० बर्षीय सुशल प्रजा बिरामी परेको प्रहरीले जनाएको छ । च्याउ खाएर बिरामी भएका उनीहरुको अवस्था गम्भीर रहेको राक्सिराङ गाउँपालिकाका स्वास्थ्यकर्मी विजय कापरीले जानकारी दिनुभएको छ । उनीहरुको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै असार ७ गते राती ९ः३० बजे मकवानपुरगढी गाउँपालिका–६, सानुसल्ले र मकवानपुरगढी–५ कालीवनमा जंगली च्याउ (गोब्रे च्याउ) खाँदा ८ जना बिरामी भएका थिए । च्याउ खाँदा मकवानपुरगढी–६, सानुसल्लेका ३२ बर्षीय सानु कान्छा पाख्रिन, २८ बर्षीया सुविता पाख्रिन, ५ बर्षीय सुशान्त पाख्रिन, ११ बर्षीय सोनिया पाख्रिन, ४६ बर्षीय श्याम पाख्रिन, ४३ बर्षीय एलिजा पाख्रिन बिरामी परेका छन् । च्याउ खाँदा मकवानपुरगढी–५, कालीवनका ६ बर्षीय समिर थिङ, १२ बर्षीया सानुकान्छी भुलुन बिरामी परेका थिए । उनीहरुको हेटौँडा अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरिएको छ ।
असार १० गते बिहान ११ बजेको समयमा राक्सिराङ–८, लाचेको जंगलबाट ल्याइएको च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी परेका थिए । च्याउ खाँदा राक्सिराङ–८ का २१ बर्षीय भुवल प्रजा, भुवलकी श्रीमती २१ बर्षीया रतिमाया प्रजा, छोरा ३ बर्षीय समिक प्रजा र भाइ १८ बर्षीय पूर्ण प्रजा बिरामी परेका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । जङगली च्याउ खाँदा मकवानपुरकाे राक्सिराङमा ४ जना बिरामी भएका छन् । सोमबार राक्सिराङ गाउँपालिका ८ लाचे बस्ने २१ वर्षीय भवुल प्रजाले जंगली च्याउ ल्याई पकाएर खाँदा एकै परिवारका ४ जना बिरामी भएका हुन् ।
जंगली च्याउ खाँदा भवुलसहित निजको श्रीमती २१ वर्षीय रतिमाँया प्रजा, ३ वर्षीय छाेरा समिक प्रजा,
१८ वर्षीय भाई पूर्ण प्रजा बिरामी भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार उनीहरुलाई उपचारको लागि चितवनकाे भरतपुर स्थित सरकारी अस्पताल पठाइएकाे छ ।
यस अघि राक्सिराङ गाउँपालिका वडा नम्वर ७, दगुवाङमा जंगली च्याउ खाँदा पाँच जना बिरामी भएकोमा १ जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे थियाे ।
असार ९ गते आइतबार स्थानीय बल बहादुर प्रजा, उनको ४५ वर्षीय श्रीमती जालिमाया प्रजा, १५ वर्षीय छोरी रेन्जु प्रजा, ८ वर्षीय सविना प्रजा र १० वर्षीय छोरा सुशल प्रजा जंगली च्याउ खाँदा बिरामी भएकाेमा बल बहादुरकाे उपचारकाे क्रममा मृत्यु भएकाे थियाे ।
…..र यो पनि