मकवानपुर । मकवानपुरका दुई ठुला विद्यार्थी संगठनहरुल पछिल्लो समय मकवानपुरका निजी विद्यालय र कलेजले अनलाईन कक्षाका नाममा विद्यार्थीहरुसंग चर्को शुल्क असुलेको भन्दै आउँदो असोज १५ गतेदेखि आन्दोलन गर्ने भएका छन् ।
सोमबार हेटौंडामा सत्तारुढ नेकपा निकट अनेरास्ववियू र नेपाली कांग्रेस निकट नेविसंघले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन । विद्यार्थी संगठनहरुले गत भदौ २९ गते हेटौंडा उपमहानगरपालिका र जिल्ला शिक्षा समन्वय ईकाइ हेटौंडालाई र असोज ७ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ध्यानाकर्षण पत्र बुझाएका थिए । हालको अवस्थाको मध्यनजर गर्दै पत्र बुझाएता पनि बेवास्ता गरेको भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको बताए ।
संघर्षका कार्यक्रम सार्वजनिक गर्दै अनेरास्ववियू मकवानपुरका संयोजक किशन घिसिङले कुनै पनि शैक्षिक संस्थाले अनलाईन कक्षाको नाममा चर्को शुल्क उठाउनु अवैधानिक भएको बताए । उनले सरकारी नीति विपरित स्कुल तथा कलेजहरुले विद्यार्थी तथा अभिभावकहरुलाई शुल्क तिर्न बाध्य पारेको बताए ।
विद्यार्थी संगठनहरुले सार्वजनिक गरिएको संघर्षका कार्यक्रम अनुसार असोज १५ गते विहान ११ बजेदेखि १२ बजेसम्म हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखा घेराऊ गर्ने, असोज १६ गते ११ बजेदेखि १२ बजेसम्म हेटौंडा उपमहानगरपालिकाको गेटमा कालोपट्टि बाधेर धर्ना दिने, असोज १८ गते सम्पुर्ण शैक्षिक संस्थाको लेखा शाखामा ताला लगाउने र असोज १९ गते हेटौंडाको बुद्धचोकमा संर्घषका कार्यक्रमकाबारे प्ले कार्डसहित सचेतनामुलक प्रदर्शन गर्ने लगायतका कार्यक्रम रहेको नेविसंघ मकवानपुरका सभापति राजु खतिवडाले जानकारी दिए ।

मकवानपुर । काेभिड १९ काे कारण लगाइएकाे लकडाउनले रोकिएका परीक्षा लोक सेवा आयोगले संचालन गर्ने भएकाे छ । आयाेगले शुक्रबार नयाँ तालिका सार्वजनिक गरेर परीक्षा संचालनकाे जानकारी दिएकाे हाे ।
आयोगले शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो । त्यसै गरी न्याय सेवातर्फका अधिकृत पदकाे सवै पत्र,व्यवस्थापिका संसदतर्फ (आन्तरिक प्रतिस्पर्धा)को पहिलो पत्रको परीक्षापरराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा संचालन हुने गरी सूचना प्रकाशित भएकाे आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जनाकारी दिए । उक्त पदहरूकाे परीक्षा कार्तिक महिनामा संचालन हुने सूचनामा उल्लेख गरिएकाे छ ।
यस्तै नायब सुब्बा पदको द्वितीय तृतीय पत्रको परीक्षा मंसिरमा हुने गरी परीक्षाा तालिका सार्वजनिक भएकाे छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा भने मंसिर १२ गते हुने आयोगले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको स्थगित अन्तर्वार्ता तथा कम्प्युटर सीप परीक्षण भने असोज अन्तिम साता हुने छ ।
‘कोरोना संक्रमणको विशेष अवस्थामा परीक्षा सन्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड आयोगबाट स्वीकृत भएपछि सोही बमोजिम परीक्षा सञ्चालनको प्रबन्ध मिलाइएकाे छ’ आयोगका सूचना अधिकारी सुवेदीले भने ‘तो0किएको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा लिइने छ ।’ यसअघि अन्तिम समयमा ‘विशेष कारण’ देखाउँदै आयोगले परीक्षा रद्द गरेको थियो ।
हेर्नुहाेस परीक्षा तालिका
बाल दिवसको अवसरमा मकवानपुरमा चित्रकला र वक्तृत्वकला प्रतियोगित
Tags: No Comments
मकवानपुर/‘विपदमा बाल अधिकारको सुनिश्चितता ः हामी सबैको साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आज विविध कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइएको छ । हेटौंडा उपमहानगरपालिका बालअधिकार समितिको निर्णय अनुरुप हेटौंडामा अन्तर बालगृहहरु बिच चित्रकला प्रतियोगिता गरिएको छ । कोभिड–१९ ले बालबालिकामा पारेको असरका विषयमा प्रतियोगिता गरिएको नगर बाल अधिकार समिति सदस्य झबिन्द्र ज्ञवालीले बताए ।
हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा सिविन नेपाल र बालगृहहरुको सञ्जाल (सिनेट) मकवानपुरको समन्वयमा प्रतियोगित गरिएको हो । मकवानपुरका १० वटा बालगृहहरु, नारी संरक्षण केन्द्र हेटौंडा ४, एस्थर बेन्जामिन मेमोरियल फाउनण्डेसन हेटौंडा ४, हाम्रो घर हेटौंडा ५, आशिषमय बालगृह हेटौंडा ९, मामाघर नेपाल हेटौंडा ११, अनाथ अपाङ् बाल पुनस्र्थापना केन्द्र हेटौंडा १४, आशा नेपाल हेटौंडा ४, ज्योतिको घर नेपाल हेटौंडा १६, नेपाल बाल संगठन भिमफेदी शान्त घर हेटौंडा ११ मा रहदै आएकाहरु मध्येबाट १९ जना बालबालिकाहरुले प्रतियोगितमा सहभागिता जनाएका थिए । प्रतियोगितामा नारी संरक्षण केन्द्रकी मार्था प्रजा प्रथम, नेपाल बाल संगठन भिमफेदीका राजु थापा मगर द्धितीय र मामाघर नेपाल मकवानपुरका सुमन अछामी तृतीय भएको प्रतियोगिताका प्रमुख निर्णायक सूर्य नारायण श्रेष्ठले जानकारी दिए ।
बिजेताहरु र सहभागी बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप सिविन मकवानपुरले पुरस्कारको व्यवस्थापन गरिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख महिला विकास अधिकृत विष्णु कुमारी लामिछानेले बताइन् । दुई चरणमा सम्पन्न चित्रकला प्रतियोगितामा प्रथम चरणमा सबै बालगृहहरुले आआफ्नो बालगृहमा रहेका सबै बालबालिकाहरु बिच आन्तरिक प्रतिस्पर्धा गराइ त्यस मध्ये २ उत्कृष्ट चित्रलाई छनोट गरी दोस्रो चरणमा १० वटै बालगृहका ती उत्कृष्ट चित्रहरु बिच प्रतिस्पर्धा भई अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।
त्यस्तै बकैया गाउँपालिका वडा नं. ५ कर्मचुलीमा पनि किशोरीहरुको पहलमा बालबालिकाहरु बिच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “बालबालिकाको बाल अधिकार” भन्ने विषयमा आयोजित प्रतियोगिता गन्तव्य किशोरी समूहको आयोजना र सिविन मकवानपुरको सहयोगमा भएको गन्तव्य किशोरकिशोरी सशक्तिकरण केन्द्रकी सहजकर्ता सुनिता मोक्तानले बताइन् । किशोरी समूह अध्यक्ष मन्दिरा दोङको सभाध्यक्षतामा सम्पन्न प्रतियोगितामा ११ जना बालबालिकाहरुको सहभागिता रहेको समूहकी सचिव नेहा लामाले बताइन् । प्रतियोगितामा विजयी हुनेहरुमा बिनिता लकाई प्रथम, आशिका दोङ द्धितीय र सृष्टि मगर तृतीय भएका भएका थिए ।
मकवानपुर/ बागमती प्रदेश सरकारलाई प्रदेश शिक्षा नीति २०७७ का सम्बन्धमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) ले सुझाव बुझाएको छ । शिक्षा नीतिको मस्यौदा बनाई नागरिकस्तरबाट सुझाव मागिरहेको अवस्थामा एनसीईले ४ पेजको सुझाव बुझाएको हो ।
एनसीई बागमती प्रदेश समन्वय समितिद्वारा भाद्र १८ गते अनलाइन माध्यममार्फत् गरिएको नागरिक छलफलबाट संकलित सबै सुझावलाई प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्लेलाई हस्तान्तरण गरिएको थियो ।
एनसीई बागमतीका संयोजक प्रकाश खतिवडा र मकवानपुर संयोजक बुद्ध लामाको नेतृत्वमा पुगेको टोलीले नीति र कार्यनीतिमा थप्नुपर्ने वा स्पष्ट हुनुपर्ने प्रावधानहरुलाई बुझाएको थियो ।
मन्त्रालयका सचिव काफ्लेले सुझाव पत्रका लागि धन्यवाद व्यक्त गर्दै विभिन्न जिल्लामा शिक्षाका क्षेत्रमा काम गरेको जानकारी गराउँदै शिक्षा नीतिलाई समयसापेक्ष, जनमैत्री बनाउन भूमिका खेल्ने बताएका थिए । प्रदेशको शिक्षा नीतिमा विद्यार्थीलाई प्रयोगात्मक र अतिरिक्त क्रियाकलापमा संलग्न गराउने पाठ्यक्रम हुनुपर्ने, तामाङ भाषाको बाहुल्य रहेकाले पढाइको माध्यम भाषा तामाङ पनि हुनुपर्ने, प्रदेश छिमेकी चीनसँग जोडिएकाले चिनियाँ भाषा सिकाएर सीमापार व्यापार गर्न सक्ने लक्ष्य लिनुपर्ने सुझाव पत्रमा उल्लेख छ ।
त्यस्तै, नीतिमा विद्यालय र विश्वविद्यालयसम्बन्धी व्यवस्था एकै ठाउँमा राखिएकाले छुट्टाछुट्टै शीर्षकमा राखी प्रदेशले गर्ने काम प्रष्ट राख्नुपर्ने, विद्यालय स्थानीय तहको अधिकारक्षेत्रमा परेकाले प्रदेशले समन्वय र सहयोग गर्ने शब्दहरु हुनुपर्ने, पाठ्यक्रम जसले प्रयोग गर्ने हो, उसैले निर्माण गर्न सक्ने बनाउनुपर्ने, प्राविधिक तथा व्यवसायिक शिक्षामा छात्राको सहभागिता बढाउन छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिईएको छ ।
मकवानपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) राष्ट्रिय समिति, प्रकाशन विभागकाे आयाेजनामा “संस्थागत विद्यालय : श्रम र सराेकार” विषयक दुई दिवसीय राष्ट्रव्यापी भर्चुअल कवि गाेष्ठी सम्पन्न भएकाे छ ।
गत भदाै १३ र २० गते दुई दिन आयाेजित कवि गाेष्ठीमा सात वटै प्रदेशबाट संस्थागत विद्यालयमा कार्यरत ५० जना शिक्षक-कर्मचारीले आआफ्ना पेसागत समस्या तथा इस्टुका माध्यमबाट आफूहरूले गरिरहेकाे सङ्घर्षबारे हाइकु, मुक्तक, गजल, गीत, कविता आदि विविध विधाका रचना वाचन गरेका थिए । भदाै १३ प्रदेश न. १,२ र वाग्मती प्रदेश विशेष साथै भदाै २० गते गण्डकी, प्रदेश न. ५, कर्णाली तथा सुदूरपश्चिम प्रदेश विशेष कार्यक्रम गरिएकाे थियाे ।
कार्यक्रममा हरेक प्रदेशबाट अतिथि कविहरूलाई समेत निम्त्याएर प्रत्येक कविका दुई दुई वटा कवितासमेत प्रस्तुत गरिएकाे थियाे । अतिथि कविहरूमा प्रदेश न. १ बाट वीरेन्द्र थाेक्लिहाङ, २ बाट रेणु गुप्ता, वाग्मती प्रदेशबाट पुरुषाेत्तम आचार्य, गण्डकी प्रदेशबाट प्राञ्जल, प्रदेश नम्बर ५ बाट छविलाल काेपिला, कर्णाली प्रदेशबाट सीता यरी र सुदूरपश्चिम प्रदेशबाट साेझाे गाउँलेलाई आमन्त्रण गरिएकाे थियाे ।

संस्थागत विद्यालयकाे शैक्षिक गुणस्तर एवम् पेसागत सुरक्षामा पक्षमा वकालत गर्दै आइरहेकाे संगठन “इस्टु” मा आबद्ध भई पेसागत अधिकारबारे आवाज बुलन्द गर्न उत्प्रेरित गर्ने तथा निकट भविष्यमा प्रकाशन गर्न लागिएकाे स्मारिकामा रचना प्रकाशन गर्ने उद्देश्यले यस किसिमकाे रचनात्मक कार्यक्रमकाे आयाेजना गरिएकाे कार्यक्रम संयाेजक इस्टु राष्ट्रिय समिति सचिव एवम् प्रकाशन विभाग प्रमुख दीपक गाैतमले जानकारी दिए ।
प्रकाशन विभाग प्रमुख गाैतमकाे अध्यक्षता एवम् इस्टु राष्ट्रिय समिति अध्यक्ष हाेमकुमार थापाकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा इस्टु का प्रमुख संरक्षक मुकुन्द गाैतम, प्रमुख सल्लाहकार इन्द्रराज भट्टराई, उपाध्यक्ष एवम् सङ्गठन विभाग प्रमुख देवीदत्त पाैडेल, उपाध्यक्ष एवम् तालिम विभाग प्रमुख अमल राई, महिला विभाग इन्चार्ज अञ्जु गाैतम, महासचिव भाेलानाथ चालिसे, सचिव एवम् महिला विभाग संयाेजक सरिता निराैला लगायतले समीक्षात्मक मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमकाे सहजीकरण राष्ट्रिय समिति सदस्य एवम् प्रकाशन विभाग सहसंयाेजक ध्रुव पाैडेलले गरेका थिए। भर्चुअल माध्यम (जुम) बाट भएकाे उक्त कार्यक्रममा इस्टु राष्ट्रिय समिति, प्रदेश समिति तथा सम्पूर्ण जिल्ला समितिका पदाधिकारी, सदस्य एवम् देशभरबाट शिक्षक-कर्मचारीकाे उपस्थिति रहेकाे थियाे ।