मकवानपुर । स्व बुद्ध रत्न शाक्य स्मृति विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा आधुनिक राष्ट्रिय माविका कर्ण यादव प्रथम भएका छन् । जेसीआई हेटौंडा लेडी जेसीज सप्ताह २०२१ अन्तर्गत दोस्रो दिन विहीबार भएकाे वक्तृत्वकला प्रतियोगितामा आधुनिक माविकै रिसि यादव द्वितिय र चन्द्रोदय माविकी आश्र्या जर्गा मगर तृतिय भएका छन् ।
परिवर्तनको लागि उठ्नुस् र मानव विकासका लागि नेतृत्वको अभ्यास भन्ने विषय रहेकाे प्रतियोगितामा ६ वटा विद्यालयका १४ जना प्रतियोगीहरुको सहभागीता रहेको थियो । जनसाहित्यिक मञ्च नेपालको केन्द्रीय सचिवालय सदस्य मसान उपासक र साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानले प्रतियाेगिताकाे निर्णयक रहेका थिए । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ सहित जेसीज सप्ताह २०२१ समापन समारोह अन्तिम दिन पुरस्कृत गरिने छ ।
यसैगरी विहीबार नै महिला उद्योमशीलता सम्बन्धि तालिम भएको छ । तालिममा १५ जना सहभागी रहेको थियो । दोस्रो दिनमै हेटौंडा १ स्थित चौकीटोलमा स्वागत बोर्ड समेत स्थापना गरिएको छ । जेसीआई हेटौंडा लेडीका अध्यक्ष प्रतिमा श्रेष्ठको सभाध्यक्षता तथा जेसीआई हेटौंडा लेडी २०२१ का बोर्ड सल्लाहकार शुक्रराज जोशीको प्रमुख अतिथ्यता रहेको थियो । प्रतियोगिता स्वास्तिका बानियाँको संयोजकत्वमा भएको थियो । मूल कार्यक्रम संयोजक कविता पौडेल, सह मूल कार्यक्रम संयोजक डिलमाया घर्ती र लेडीकै पूर्व अध्यक्ष रश्मि बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
नगरस्तरिय अन्तर विद्यालय (आधारभूत) तहको वक्तृत्वकला प्रतियाेगिता

यसै गरी बालअधिकारको सुनिश्चितताको लागि विद्यालयको भूमिका विषयमा नगरस्तरिय अन्तर विद्यालय (आधारभूत) तहको वक्तृत्वकला प्रतियोगिता छ । हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाको आयोजनना तथा महिला तथा बालबालिका महाशाखाको समन्वयमा कार्यक्रम भएको थियो ।
वक्तृत्वकला प्रतियोगितामा नवोदय शिसु सदनकी दर्शना सापकोटा प्रथम भएकी छिन् । द्वितिय जीएस निकेतन माविकी पूर्वजा न्यौपाने र तृतिय फेमकोल एकेडेमीकी एन्जिला मोक्तान भएका छन् । यसैगरी सान्त्वना बालजागृति बोर्डिङकी रेनिशा सापकोटा र प्रोत्साहनमा बालबोध माविकी आदित्या ढकाल भएका छन् । क्रमशः प्रथम, द्वितिय, तृतिय, सान्त्वनालाई स्टेशनरी सामाग्री र ब्याक सहित पुरस्कृत भएको छ । प्रोत्साहन पुरस्कारबाट छनौट भएकी ढकाललाई स्टेशनरी सामाग्री सहित पुरस्कृत गरको छ ।
प्रतियोगीहरुले बालअधिकार भनेको के हो ? बालबालिकाको स्थिति र यसमा विद्यालयको भूमिकाबारे आ–आफ्न धारणा राखेका थिए । १० वटा सामुदायिक र ८ वटा संस्थागत गरी १८ वटा विद्यालयका ३५ जना प्रतियोगिहरुको सहभागिता रहेको थियो । प्रतियाेगिताकाे निर्णयकमा ज्योति न्यौपाने, सिएम रिमाल, निर्जन अर्याल र माधव प्रसाद गौतमको भूमिका रहेको थियो ।
प्रतियोगीतामा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको सभाध्यक्षता तथा महिला तथा बालबालिका महाशाखाका अधिकृत जगन्नाथ सापकोटाको प्रमूख अतिथ्यता थियो ।
मकवानपुर । नागरिक समाज मन्च मकवानपुरले जिल्लाको २ वटा बिद्यालयको अनुगमन गरेको छ । सोमवार नागरिक समाज मञ्च मकवानपुरले पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत शिक्षामा नागरिक निगरानी कार्यक्रममा मनहरी गाउँपालिका १ मकरीमा रहेको बाल जीवन ज्योती मावि र हेटौंडा उपमहानगरपालिका १३ स्थित महेन्द्र माविको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा शैक्षिक अवस्था धेरै नाजुक रहेको पाइएको टोलिले बताएको छ । मकरी स्थित बालजीवन ज्योतीमा पिउने पानी र शौचालयकै अभाव हुंदा विद्यार्थी मारमा परेको प्रधानध्यापक एकराज गौतमले बताए । विद्यालयमा ५ सय ४६ विद्यार्थी रहेकामा जम्मा २ वटा शौचालय विद्यालयमा रहेकोको छ । जसमा विद्यार्थीहरूको लामो लाइन लाग्ने गरेको छ । साथै विद्यालयमा पिउने पानीको समेत समस्या रहेको उनले बताए ।
दातृ निकायले बनाएको ८ कोठे बिद्यालय भवन, शौचालय बिद्यालयलाई हस्तान्तरण नहुदा समस्या भनेको शिक्षक ओमप्रकाश सापकोटाले बताए । बिद्यालय भवन निर्माण सम्पन्न हुनै लाग्दा सुरूभएको आन्तरिक समस्याले संरचना हस्तान्तरण भएको छैन । जसको कारण विद्यार्थीहरु जिर्ण र जोखिमयुक्त भवनमै पठनपाठन गर्न बाध्य छन् ।

मनहरी गाउँपालिका देश कै पहिलो बालमैत्री स्थानीय शासन लागू भएको गाउँपालिका हो । जहाँ बालबालिकालाई सामान्य बाल अधिकारको सवाल पनि जानकारी नभएको अनुगमनका क्रममा पाईएको बालकल्याण समाज मकवानपुरका प्रमुख तथा नागरिक समाज मंचका सदस्य प्रकाश खतिवडाले बताए । अनुगमनका क्रममा देखिएका कमजोरीलाई सम्बन्धित निकायमा खबरदारी गर्ने मन्चकी अध्यक्ष रमिला सापकोटाले बताइन् ।
टोलीले सोमबार नै हेटौंडा १३ को महेन्द्र माविमा पनि अनुगमन गरेको थियो । बिद्यालयको भौतिक प्रगतिसंगै शैक्षिक प्रगतिलाई बढाउन स्थानीय अभिभावकलाई सचेतना कार्यक्रम आवश्यक भएको महेन्द्र माविका प्रध्यानाध्यापक विष्णु श्रेष्ठले बताए ।
नागरिक समाज मञ्चले विद्यार्थी अनुपातमा कक्षागत शिक्षक दरबन्दी कम भएको, विद्यालयमा कोभिडको समयमा नियमित विद्यालय संचानल हुन नसकेको, विद्यालयको आर्थिक अवस्था कमजोर रहेको शैक्षिक गुणस्तरमा समेत असर पर्ने गरेको, विद्यालयमा भवनलगायत विज्ञान प्रयोगशालाको कमि, पुस्तकालयको उचित प्रयोग हुन नसकेको लगायत समस्या रहेको पाईएको मन्चका सदस्य तथा सामूदायी वन उपभोक्ता महासंघका अध्यक्ष साधुराम चौलागाईंले बताए ।

हाल कक्षाको अभावले समस्या भएको भए पनि आगामी बैशाखभन्दा अवागै भवन हस्तान्तरण गर्ने तयारी भएको हेटौंडा उपमहानगरपालिका वडा १३ स्थित महेन्द्रउच्च माध्यमिक बिद्यालयका सहायक प्रध्यानाध्यापक अमरनिधी उप्रेतीले बताए । ६ सय ५० जना छात्रा सहीत ९ सय ८० जना विद्यार्थी संङ्ख्या रहेको स्कुलमा पिउने पानीको भने समस्या रहेको श्रेष्ठले बताए ।
हाल अंग्रेजी माध्यममा नै चासो बढ्ने गरेकोले स्कुलमा अंग्रेजी माध्यको पढाई सुरू गरिएको तर पढाउने शिक्षक निजि स्रोतबाट राख्नुपर्ने भएकोले आर्थिक भार परेको श्रेष्ठले बताए ।
अनुगमनमा नागरिक समाज मकवानपुरको संयोजक रमिला सापकोटा,सदस्यहरू बुद्ध लामा, साधुराम चौलागाईं, प्रकाश खतिवडा, डेक नेपालका कार्यक्रम संयोजक मानबहादुर वाईवा र संचारकर्मी सहितको उपस्थिति रहेको थियो ।


मकवानपुर । मनहरी गाउँपालिकाको हाडीखोलामा रहेको पशुपतिनाथ माविमा अध्ययन गर्ने बालबालिकालाई शैक्षिक सामग्री सहयाेग गरिएकाे छ । ललितपुर गोदावरीकी प्रजिता घिमिरेले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई शैक्षिक सामग्री सहयाेग गरेकी हुन् ।
ललितपुर गोदावरीकी स्थायी बासिन्दा घिमिरेले जन्मदिनको अवसर पारेर विद्यालयलाई १ हजार थान कपी, पेन्सिल, डटपेनलगायत शैक्षिक सामाग्री प्रदान गरेकी हुन् । प्रजिताको आमाले अध्ययन गरेको पशुपतिनाथ माविलाई शैक्षिक सामाग्री सहयोग गर्न उनीहरु मनहरी गाउँपालिका हाडिखाेला आएका थिए ।
विद्यालयका १ सय ९० जना बालबालिकालाई जनही ५ थान कपी, सोही बराबरको पेन्सिल र डटपेन वितरण गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले जानकारी दिए । विव्यस अध्यक्ष गौतमले जन्मदिनमा केक काटेर अनावश्यक खर्च गर्ने परम्परालाई तोड्दै बिपन्न बालबालिकालाई सहयोग गरेको भन्दै प्रजिता र उनको परिबारलाई धन्यबाद दिएका थिए । आगामी दिनमा पनि यस प्रकारको सहयोगलाई निरन्तरता दिन विद्यालय परिबारले अपेक्षा गरेको अध्यक्ष गौतमले बताए ।
केहीदिन अघि मनहरी–४ का वडासचिव बिदुर पाठकले पनि आफ्नो जन्मदिनको अवसरमा विद्यालयका ३ जना बालबालिकालाई १० हजार रुपैयाँ सहयोग गरेको थिए । विद्यालयले जन्मदिनमा गर्ने खर्च कटौती गरी विद्यालयको कोषमा रकम जम्मा गर्न पनि सुरु गरेको अध्यक्ष गौतमले जानकारी दिएका छन् । हालसम्म कोषमा २५ हजार रुपैयाँ जम्मा भइसकेको छ ।
मनहरी–४ का वडाअध्यक्ष ध्रुब खड्काको प्रमुख आतिथ्यतामा बालबालिकालाई शैक्षिक सामग्री बितरण गरिएको हो ।
मकवानपुर । नेपाल शिक्षक संघ मकवानपुरले चियापान तथा सम्मान कार्यक्रम गरेकाे छ । सघ शुभ दीपावली,नेपाल सम्बत एवं छठ पर्वको अवसरमा चियापान,शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रम गरेकेा हाे।
शिक्षक संघ मकवानपुर अध्यक्ष राम कुमार अधिकारीको सभाध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। प्रमुख अतिथि उपाध्याय ‘डिना’ले समाज परिवर्तनमा शिक्षकहरूको योगदान महत्वपूर्ण रहेको तथा शिक्षकले गरेको त्यागलाई सम्मान गर्नुपर्ने बताइन् ।
कार्यक्रममा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न विद्यालयमा कार्यरत तथा सेवा निवृत्त भएका शिक्षकहरूलाई सम्मान गरिएको छ। शिक्षक संघ मकवानपुरले शिक्षकहरू प्रमोद विडारी,राजेश घिमिरे,गोविन्द पोखरेल,नरहरीनन्द उप्रेती,पुष्कर केसी, गंगनदेव चौरसीया,सन्तविर पाख्रिन,मिरा गोर्खाली,सुभद्रा पाण्डे, ईन्द्रबहादुर गोले, सरस्वती शिवाकोटी, सुनिता भट्टराई, रमेश सुवेदी, अरूण कुमार सिंह, सारदा दाहाल न्यौपाने,कृष्ण माया लटौला मदन लामिछाने, ज्ञानु पौडेल, शंकर पराजुली, अप्सरा देवकोटा, राजेश्वर देवकोटा, विभा झा, गंगा चिमोरिया, राजेन्द्र बर्तौला, रंजन कठायत लगायत ५० जना शिक्षकहरूलाई सम्मान गरेकाे हाे ।
कार्यक्रममा नेपाल शिक्षक संघ बागमती प्रदेश वरिष्ठ उपाध्यक्ष दिपकलाल खतिवडा,बागमती प्रदेश सदस्य स्वेता कोइराला, नेपाली कांग्रेस मकवानपुर शिक्षा विभाग प्रमुख कृष्ण प्रसाद दाहाल, हेटौंडा -६ नम्बर वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई,लेखक संघ मकवानपुर अध्यक्ष छवि अनित्य, शिक्षक संघ मकवानपुर उपाध्यक्ष गणेश प्रसाद हुमागाई, सचिव टिका प्रसाद दाहाल लगायतकाले दीपावली,नेपाल सम्वत,छठ पर्वको शुभकामना सहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा शिक्षक संघ मकवानपुरका प्रदेश,संघिय कार्य समिति तथा स्थानीय तह अन्तर्गतको विभिन्न पदमा रहेका शिक्षकहरूको सहभागी रहेको थियो।
मकवानपुर । नेकपा एमालेकाे भातृ संगठन अनेरास्ववियुले मकवानपुर बहुमुखी क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएकाे छ । अनेरास्ववियुले मकवानपुर बहुमुखी क्याम्पस कमिटिले स्नातक तह चौथो वर्षको छात्रावृत्तिमा क्याम्पसले अनियमिता गरेको भन्दै विज्ञप्ती प्रकाशित गरी प्रमुख उपाध्यायलाई ध्यानाकर्षण गराउँदै पत्र बुझाएकाे हाे ।
नियम विपरीत छात्रावृत्तिमा विद्यार्थीको नामावली प्रकाशन भएको भन्दै ध्यानाकर्षण गरेको कमिटी संयाेजक आशिष रौनिहारले जानकारी दिए । नियम अनुसार २४ घण्टाभित्र छात्रावृत्तिमा विद्यार्थीको नामावली सच्चाउन अल्टिमेटम दिएको छ ।
यस समयभित्र काम कारबाही अगाडि नबढाए अनेरास्ववियुले कडा कदम चल्नुका साथै संघर्षको समयमा हुने सम्पूर्ण क्षति क्याम्पस प्रशासनले नै जिम्मेवार लिनुपर्ने कमिटि संयोजक रौनिहारद्वारा हस्ताक्षर गरिएकाे विज्ञप्तिमा भनिएकाे छ ।
