मकवानपुर । हेटाैँडाकाे संस्थागत विद्यालय ज्ञानदीप शिक्षा (जी. एस.) निकेतन माविले मंगलबार ‘भर्चुअल अभिभावक भेला तथा साँस्कृतिक कार्यक्रम’ गरेकाे छ । विद्यालयले २१ औ स्थापना दिवसकाे अवसरमा अभिभावक भेला तथा साँस्कृतिक कार्यक्रम गरेकाे हाे ।
विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव तथा विद्यालयका प्रिन्सिपल ईश्वरप्रसाद लामिछानेकाे अध्यक्षता एवम् विद्यालयकाे मातृसंस्था ज्ञानदीप बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष जिधराज ढकालकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थागत विद्यालय अभिभावक सङ्घ मकवानपुरकी अध्यक्ष रमिला सापकाेटा, शिक्षक-अभिभावक सङ्घका अध्यक्ष प्रकाश बानियाँकाे विशिष्ट आतिथ्य रहेकाे थियाे ।
शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थी गरी करिब ४५० काे सङ्ख्यामा सम्पन्न उक्त कार्यक्रममा अभिभावकहरूले मन्तव्य राख्नुका साथै विद्यार्थीहरूकाे तर्फबाट गायन, नृत्य तथा साहित्यिक रचना प्रस्तुत गरिएकाे विद्यालयका सहायक प्रिन्सिपल तथा अतिरिक्त क्रियाकलाप प्रमुख दीपक गाैतमले जानकारी दिए ।
विद्यालयका प्रिन्सिपल ईश्वरप्रसाद लामिछानेले विद्यालय व्यवस्थापन समितिकाे तर्फबाट शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रतिकूल समयमा पनि अनलाइन कक्षामा ९० प्रतिशतभन्दा बढी विद्यार्थीलाई प्रभावकारी अनलाइन कक्षा सञ्चालन गर्न सकिएकाे जनाकारी दिए । लामिछानेले विद्यालयले खेलकुद, कलासाहित्यलगायत विविध क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल हुनु, १ तला भवन निर्माण गर्नु, कक्षा-४,५ र ६ मा १/१ वटा थप सेक्सनसहित करिब १ सय जना थप विद्यार्थी भर्ना गर्नु, शिक्षकलाई सहुलियत किस्ताबन्दीमा संस्थाकाे समेत लगानीमा ल्यापटप उपलब्ध गराउने क्रमकाे थालनी हुनु, सरस्वती मन्दिर स्थापना हुनु, विद्यालयसम्म आउने बाटाेका लागि जग्गा खरिद गरिनु लगायतकाे कार्य प्रगति प्रस्तुत गरेका छन् ।
उनले विद्यार्थीकाे सुविधाका लागि थप एक थान बस थप गर्ने प्रकृया अघि बढ्नु, कम्प्युटर प्रयाेगशाला मर्मत सम्भार गरिनु, बाल उद्यान निर्माण कार्य अघि बढ्नुजस्ता कार्यलाई उपलब्धिकाे रूपमा उल्लेख गर्दै शैक्षिक सत्र २०७९ देखि लागू हुने गरी १०+२ कार्यक्रम सञ्चालन गर्ने, प्रशासनिक जनशक्ति थप गरी विद्यालयकाे प्रशासनिक कार्यक्रममा थप प्रभावकारिता ल्याउने, प्रविधिमैत्री/बालमैत्री कक्षाकाेठाकाे विकास गर्ने याेजनामा विद्यालय रहेकाे जानकारी दिP ।

कार्यक्रममा बाेल्दै संस्थागत विद्यालय अभिभावक सङ्घ मकवानपुरकी अध्यक्ष रमिला सापकाेटाले कम शुल्कमा स्तरीय शिक्षा प्रदान गर्न जीएस निकेतन सफल भएकाे भन्दै विद्यालयकाे मुक्तकण्ठले प्रशंसा गरेकी छन् । शिक्षक अभिभावक सङ्घका अध्यक्ष तथा अन्य अभिभावकहरूले प्रतिकूल समयमा पनि जीएसले सञ्चालन गरेकाे अनलाइन कक्षालगायत अभिभावक-विद्यार्थी- शिक्षक अन्तरक्रिया कार्यक्रमकाे सापकाेटाले खुलेर प्रशंसा गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि सञ्चालक समिति अध्यक्ष जिधराज ढकालले विद्यालय स्थापना दिवसकाे सन्दर्भमा भर्चुअल कार्यक्रम गरिएकाले उत्कृष्ट शिक्षक, कर्मचारी, अभिभावक तथा विभिन्न विधा एवम् क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत तथा सम्मानित गर्न नसकिएकाे र उपयुक्त समयमा सम्मानित गरिने तथा विद्यालय व्यवस्थापन समितिका तर्फबाट प्रिन्सिपलले प्रस्तुत गरेकाे प्रतिवेदनकाे मर्म, भावना तथा अभिभावक अन्तरक्रिया कार्यक्रमका क्रममा आएका महत्त्वपूर्ण सल्लाह सुझावलाई सञ्चालक समितिकाे तर्फबाट तदारुकताका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गगरे ।
स्थापना दिवसकाे सन्दर्भ पारेर माघ १५, १६ र १७ गते भर्चुअल रूपमै तहगत अभिभावक अन्तरक्रिया सम्पन्न गरी काेभिड-१९ काे तेस्राे लहरका कारण भाैतिक उपस्थितिमा अभिभावक दिवस आयाेजना गर्न नसकिएकाले भर्चुअल रूपमै भए पनि स्थापना दिवस सफलतापूर्वक सम्पन्न गरिएकाे प्रिन्सिपल लामिछाने जानकारी दिए ।

मकवानपुर । मनहरी गाउँपालिकाको पशुपतिनाथ माविका ५ जना विद्यार्थीलाई शुक्रबार शैक्षिक सामग्री प्रदान गरिएकाे छ । सिविन नेपाल, बाल हेल्पलाईन मकवानपुरले आर्थिक अवस्था कमजोर भएका र बालश्रमको जोखिममा पर्न सक्ने विद्यार्थीलाई लक्षित गरी शैक्षिक सामग्री विद्यालयलाई प्रदान गरेकाे हाे ।
विद्यार्थीलाई उपलब्ध गराइएको शैक्षिक सामग्रीमा कपि, कलम, झोला, विद्यालय पोशाक, स्वेटर, क्यालकुलेटरलगायत रहेका छन् । सिविनबाट प्राप्त शैक्षिक सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले बालबालिकालाई हस्तान्तरण गरेका हुन् ।
सामग्री हस्तान्तरण गर्दै अध्यक्ष गाैतमले अभिभावकबिहिन विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिले नै अभिभावकत्व ग्रहण गरी बालबालिकाको अध्ययन कार्यलाई निरन्तर अगाडि बढाउन सहयोग गर्ने बताए। विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले विभिन्न सहयोगी संस्थासँग समन्वय गरेर विद्यार्थीको अध्ययन कार्यलाई निरन्तरता दिन सहयोग गरिने बताए ।
कार्यक्रममा विद्यालयका शिक्षक ईश्वर रिाजल, सिबिन बाल हेल्पलाईनकी सहजकर्ता सुस्मिता बस्नेतलगायतको सहभागिता रहेको थियो ।

मकवानपुर । विद्यार्थीको लेखन क्षमता बृद्धि विस्तार गर्ने उद्देश्यका साथ हेटौंडा–४ स्थित नवोदय शिशु सदन सेकेण्डरी स्कुलले ३ दिने कथा लेखन कार्यशाला सुरु गरेको छ । काठमाडौं पब्लिकेशनसँगको समन्वयमा विद्यालयले कक्षा ४ देखि ८ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी कार्यशाला सुरु गरेको हो ।
विद्यालयका निर्देशक दिपेश जोशीको सभाध्यक्षता तथा सर्जक संजाल मकवानपुरका संयोजक एवम् साहित्यकार निमेश निखिलको प्रमुख आतिथ्यतामा बुधबार कार्यशालाको उद्घाटन गरिएको हो । साहित्यमार्फत् विद्यार्थीलाई समाज रुपान्तरणको कार्यमा अग्रसर हुन प्रेरणा दिने उदेश्यका साथ कार्यशाला सुरु गरिएको विद्यालयले जनाएको छ ।
बालबालिकाहरुमा लेखनशैलीको विकास गराउने र उनीहरुको क्षमतालाई समाज रुपान्तरणका लागि प्रयोग गर्न प्रेरित गर्ने परिकल्पनाका साथ विद्यालयले सो कार्यक्रम अघि सारेको हो । कार्यशालाले साहित्य, कला क्षेत्रको विकासमासमेत थप प्रेरणा प्रदान गर्ने विद्यालयले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निखिलले कार्यशालाले विद्यार्थीको प्रतिभा बाहिर ल्याउन अग्रणी भूमिका खेल्ने बताए । उनले नवोदयले साहित्य र कला क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको र अन्य विद्यालयहरुले पनि यसलाई अनुशरण गर्दै आवश्यक कदम चाल्नुपर्ने सुझाव दिए । बालबालिकाहरुले पनि सिकेका कुरालाई व्यवहारमा उतारेर समाज परिवर्तनका लागि भूमिका निर्वाह गर्नुपर्ने निखिलले बताए ।
बाल साहित्य लेखक अनुराधा शर्माले ३ दिनसम्म कार्यशालाकोे सहजिकरण गर्ने छिन् । कार्यशाला समापन भएपछि विद्यार्थीको सामुहिक उपन्यास प्रकाशन गर्ने उद्देश्य रहेकोे कार्यक्रम संयोजक सिएम रिमालले जानकारी दिएका छन् । कार्यशालामा २० जना बालबालिकाको सहभागिता रहनेसमेत उनले बताए । नवोदयले बालबालिकाको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ यसअघि पनि विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, हटियामा रहेकाे जनप्रिय मावि प्राविधिक शिक्षालयका शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ । संघीय सरकार शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट नमूना विद्यालय कार्यक्रमअन्तर्गत प्राप्त ल्यापटप विद्यालयका पूर्णकालिन ३१ जना शिक्षकलाई हस्तान्तरण गरिएको हो ।
बुधबार बिहान एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाले शिक्षकलाई ल्यापटप हस्तान्तरण गरेका हुन् । नमूना विद्यालयका लागि प्राप्त हुने ५० लाख रुपैयाँ अनुदान रकममध्ये १७ लाख रुपैयाँ लागतमा ३१ थान ल्यापटप खरिद गरिएको विद्यालयका प्रधानाध्यापक नमराज अर्यालले जानकारी दिए ।
कार्यक्रममा वडाध्यक्ष कोइरालाले वडा कार्यालयको तर्फबाट विद्यालयलाई स्रोतसाधन उपलब्ध गराउने, विद्यार्थीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश खतिवडा, शिक्षक अभिभावक संघका सदस्यको पनि सहभागिता रहेको थियो ।
मकवानपुर । नेपाल इंग्लिस ल्याङ्ग्वेज टिचर्स एशोसिएसन (नेल्टा) मकवानपुरको अध्यक्षमा संगम चौलागाई सर्वसम्मत चयन भएका छन् । चौलागाई पुनः अध्यक्षमा चयन भएसँगै नेल्टाको ११ औं जिल्ला अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ ।
नेल्टा मकवानपुरको उपाध्यक्षमा उत्तम अर्याल, सचिवमा सञ्जय कुमार बस्नेत, कोषाध्यक्षमा रोशनी पौडेल तथा सहसचिवमा सुरेश रेग्मी चयन भएका छन् । यसैगरी सदस्यहरुमा भानुभक्त पाठक, छविलाल बिकल, दीपक अधिकारी, सरस्वती अधिकारी, विवश थापा, रुपचन्द्र गोपाली, कृष्णप्रसाद पौडेल र रामप्रसाद सापकोटा रहेका छन् ।
कार्यक्रममा नेल्टाका बरिष्ठ उपाध्यक्ष प्रा. डा. लक्ष्मण ज्ञवाली, नेल्टा केन्द्रीय समितिका कोषाध्यक्ष अशोक सापकोटा, शिक्षा विकास तथा समन्वय ईकाइ मकवानपुरका प्रमुख दीनानाथ गौतम, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकर प्रसाद उपाध्याय, नेल्टा बागमती प्रदेश समितिका महासचिव किशोर पराजुलीको पनि आतिथ्य रहेको थियो ।
नेल्टा मकवानपुरका अध्यक्ष संगम चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्य रहेको थियो ।