मकवानपुर । मकवानपुरका २९ सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा समावेश भएका छन् । मकवानपुरमा २७ वटा विद्यालयमा शैक्षिक सुधारका लागि आइसीटी ल्याब व्यवस्थापन , १ विद्यालयमा प्राविधिक ल्याब व्यवस्थापन र १ विद्यालयलाई भवन निर्माण गर्न अनुदान दिने भएको हो ।
हेटाैडा उपमहानगरपालिको प्रगति मावि, महेन्द्र किरण मावि, महेन्द्र मावि, जनजागृति मावि, बालबोध मावि, ज्योति मावि, अमर मावि र अरनिको माविलाई आइसिटी ल्याब स्थापना गर्न सरकारले अनुदान दिने भएको हाे । यी सबै विद्यालयले आइसीटी ल्याब स्थापनाकाे लागि ६ लाख ५० हजार रुपियाँका दरले रकम पाउने छन् । यसैगरि,उपमहानगरपालिका भित्रकै आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रले चार कोठे भवन निर्माणका लागि ३६ लाख रुपैयाँ अनुदान पाउने भएको छ ।
यसैगरि जिल्लाको कैलाश गाउँपालिकाको एकमात्र कालिका मावि, इन्द्रसरोवर गाउँपालिकाको पञ्चकन्या मावि, मनहरीको एकमात्र युवावर्ष आधारभूत विद्यालय छनौट भएका छन् । यसैगरी, बागमती गाउँपालिकाको देवकी मावि, सूर्य मावि र जनता माविले आइसीटी ल्याब बनाउन अनुदान पाउने भएका छन् । आइसीटी ल्याबकै लागि बकैया गाउँपालिकाको कर्मप्राप्ति मावि, महेन्द्र मावि, बुद्ध मावि, बाघभैरव मावि, कालिका मावि, कालीदेवी मावि छनौट भएका छन् । यसैगरि,थाहा नगरपालिकाको बागेश्वरी मावि, सुनौला मावि, इन्द्रायणी मावि, स्वच्छन्दभैरव माविले आइसीटी ल्याबकाे लागि अनुदान रकम पाउने छन् ।
मकवानपुरगढी गाउँपालिकाको बंशगोपाल माविले प्राविधिक ल्याब बनाउन १० लाख अनुदान रकम पाउने भएको छ ।यस्तै, मकवानपुरगढीकै जनक मावि र भीमफेदी गाउँपालिकाको लेकाली बसीफाँटले आइसीटी ल्याबकाे लागि अनुदान पाउने छन् । शैक्षिक सुधारका लागि जिल्लाको विकट राक्सिराङ गाउँपालिकाको कुनैपनि विद्यालय छनोटमा परेको छैन् ।
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयानुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका चार हजार १ सय ५७ सामुदायिक विद्यालय छनोट गर्दा मकवानपुरका २९ विद्यालय परेका हुन् ।
शिक्षा मन्त्रालयका अनुसार छनोट भएका विद्यालयमध्ये ९ सय ७६ विद्यालयमा ४ कोठे भवन, ९ सय ६६ विद्यालयमा २ कोठे भवन निर्माण गरिनेछ । यस्तै, २ हजार १ सय ६ विद्यालयमा आइसीटी ल्याब व्यवस्थापन, ८८ मा प्राविधिक ल्याब र २१ नयाँ प्राविधिक शिक्षालय निर्माण गरिनेछ । चार कोठे भवन निर्माणका लागि प्रति विद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख, आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार रकम उपलब्ध ग गराइनेछ ।
नयाँ प्राविधिक शिक्षालयका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई जम्मा ७० करोड ५९ लाख ६ हजार, प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि ८८ विद्यालयलाई ८८ करोड रकम छुट्याइएको छ । साथै, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुटेका १४ विद्यालयका लागि ३३ करोड ६० लाख रकम उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति शैक्षिक सुधारका लागि ७ अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ । विद्यालय छनोट गरी बाँकी १ अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षा मन्त्रालयले जनाएकाे छ । देशका ७३७ स्थानीय तहबाट १३ हजार ४ सय ७३ विद्यालयले प्रस्ताव पठाएका थिए । जसमा ७ हजार ९ सय ८६ विद्यालयले भवन निर्माण, ४ हजार २ सय ३५ विद्यालयले आईसीटी ल्याब, १ सय १७ विद्यालय नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १ सय ८८ र घेराबार खेल मैदानमा ९ सय ४७ विद्यालयले आवेदन दिएका थिए । निवेदन दिन बाँकी रहेका पालिकाहरुलाई समेत सम्बोधन गरिने मन्त्रालयले जानकारी दिएकाे छ ।
मकवानपुर । हेटाैंडाका २ विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरिएकाे छ । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयले आफ्नाे वडामा रहेका २ विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको हाे ।
वडा कार्यालयले ज्ञानदा माध्यमिक विद्यालय र संस्कृत वेद विद्यालयका विद्यार्थीलाई मंगलबार सहयोग स्वरुप पोशाक र शैक्षिक सामग्री वितरण गरेकाे छ । करिव २ लाख २६ हजार रुपैयाँको स्वेटर, पोशाक, जुत्ता र १ लाख रुपैयाँको शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष कितापसिं लामाले जानकारी दिए । यसैगरी शैक्षिक सत्र २०७७ अन्तर्गत ज्ञानदा माविले नेपाल सरकारबाट प्राप्त गरेको ४४ हजार रुपैयाँको छात्रवृत्ति वितरण गरेको छ । ईसिडिदेखि कक्षा १० सम्मका कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको छ ।
वडा अध्यक्ष लामाको सभाध्यक्षता तथा विद्यालयका पूर्व अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्रप्रसाद नेपाल, वडा सदस्य धर्म बस्नेत, साधना श्रेष्ठ, उमा सुनुवार र प्रधानाध्यापक रमेश सुवेदी लगायत शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।
मकवानपुर । हेटाैंडा स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा कफी हाउस कार्यक्रम सञ्चालन भएको छ । गत वर्षझैँ यस वर्ष पनि कफी हाउस कार्यक्रम सञ्चालन गरिएकाे हो । बुधबार कक्षा ७, ८ र ९ काे सेक्सन ‘ए’ समूहमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका पुस्तक कफी हाउस कार्यक्रममार्फत विमोचन गरी त्यस पुस्तकबाट एउटा सिर्जना आफ्नो अभिभावकमाझ प्रस्तुत गरेका थिए ।
विद्यालयले फरक–फरक समयमा कार्यक्रम आयोजना गरिएको छ । विद्यार्थीको सिर्जनशील क्षमता, तार्किक क्षमता, कल्पनाशक्ति, नेतृत्व विकास तथा व्यक्तित्व विकास पुर्याउने विश्वासका साथ विद्यालयले विगत ५ वर्षदेखि कफी हाउस कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रममा कक्षा ७ सेक्सन ए को कफी हाउस कार्यक्रममा प्रमुख अतिथि रहेका सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले साहित्य क्षेत्रमा कलम चलाएर दाम नकमाए पनि नाम भने पक्कै कमाइने बताएका छन् । ‘लेख्नु पनि वृद्धि विकासको पाटो हो ।’ उनले भने –‘लेखेर नै महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेलले साहित्य जगतमा आफ्नो प्रभुत्व जमाउन सफल हुनुभएको हो । लेख्ने बानीको जति विकास हुन्छ त्यति नै लेखाइमा निखारता आउने गर्दछ ।’

किताब पढ्दा धेरै कुरा सिक्ने भएकाले गर्दा विद्यार्थीलाई विद्यालयको कोर्षसँगै बाहिरी किताब किनिदिन उनले अभिभावकसँग आग्रह गरे । भाषा, साहित्यलाई अभिन्न पाटोको रुपमा अगाडि बढाइरहेको नवोदय विद्यालयले कफी हाउस कार्यक्रममार्फत विद्यार्थीहरुलाई आफ्नो पेरिफेरिमा रही रचना तयार पारी प्रस्तुत गर्ने अवसर प्रदान गरेकोमा उनले विद्यालयको प्रशंसा व्यक्त गरे ।
विद्यार्थीहरुको पठन संस्कृतिको विकास गर्ने तथा भाषिक सिपको विकास गराउने मूल उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नवोदय शिशु सदन विद्यालयका नेपाली विषयका सुपरिवेक्षक सिएम रिमालले जानकारी दिए । यसैगरी, कक्षा ८ कको कफी हाउस कार्यक्रमका प्रमुख अतिथि हेटौंडा क्याम्पसका प्राध्यापक तथा साहित्यकार मनोज पोखरेलले कफी हाउस कार्यक्रममा विद्यार्थीले प्रस्तुत गरेको रचना तारिफयोग्य रहेको बताए । उनले विद्यार्थीले किताबी ज्ञानलाई मात्र नभई सिर्जनात्मक र व्यवहारिक शिक्षालाई पनि जोड दिनुपर्ने बताए ।
मकवानपुर । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा मकवानपुरले आइतबार स्टेशनरी तथा खेलकुद सामग्री सहयाेग गरेको छ । महासंघ स्थापना दिवसमा मनहरी –४ चिसापानीमा रहेको चेपाङ प्राविका विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयाेग गरिएको हो ।
महासंघ स्थापना दिवस, श्रीपञ्चमी तथा राष्ट्रिय पुस्तक दिवसको अवसरमा चेपाङ प्राविका १ सय ५४ जना विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयाेग गरिएको अध्यक्ष विज्ञान रिमालले जानकारी दिए । रिमालका अनुसार विद्यालयका शिशु कक्षादेखि ५ कक्षासम्म अध्ययनरत् विद्यार्थीलाई करिब १ लाख २५ हजार रुपैयाँ बराबरको शैक्षिक र खेलकुद सामग्री प्रदान गरिएका हो ।
महासंघ केन्द्रीय सहकोषाध्यक्ष किरणवावु न्यौपाने तथा केन्द्रीय सदस्य वासु न्यौपानेले विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपाने तथा विद्यार्थीहरुलाई उक्त सामग्री हस्तान्तरण गरको थिए । कार्यक्रममा महासंघ पूर्वअध्यक्ष प्रेमलाल श्रेष्ठ, उपाध्यक्ष पुष्कल न्यौपाने, सहसचिव अर्चना कार्की, सदस्य जमुनाकुमारी रुपाखेती, प्रल्हाद हुमागाईं, विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । हेटाैंडामा अन्तर्राष्ट्रियस्तरको मन्टेश्वरी कक्षा संचालन हुने भएकाे छ । हेटौंडा–१० मा अवस्थित तुलसी मेहर मेमोरियल विद्यालय तथा नारायणी कलेजले अन्तर्राष्ट्रियस्तरको मन्टेश्वरी कक्षा संचालन गर्न लागेकाे हाे ।
आगामी शैक्षिक सत्रबाट अन्तरराष्ट्रियस्तरको मन्टेश्वरी कक्षा सञ्चालनमा हुने शुक्रबार पत्रकार संमेलन गर्दै जनाकारी गराइएकाे हाे । सार्क एजुकेशन नेटवर्क प्रालिद्वारा सञ्चालनमा रहेको यस विद्यालयले मन्टेश्वरी कक्षा सञ्चालन गर्न माघ २३ गते आइतबार श्रीपञ्चमी (सरस्वती पूजा) को दिनदेखि अक्षराम्भ कार्यक्रमसमेत सुरु गर्ने भएको पत्रकार सम्मेलनमा प्रिन्सिपल रघुनाथ खरालले जानकारी दिए ।
विद्यालयले सरस्वती पूजाको दिन भर्ना हुने विद्यार्थीलाई विशेष छुट दिने समेत जनाएको छ । विद्यार्थीलाई उनीहरुको इच्छा अनुसार आधुनिक शैलीबाट पढाइने प्रिन्सिपल खरालले दावी गरेका छन् । विद्यालयको सीईओ लक्ष्मण बस्नेले विद्यालयको भावी योजनाको विषयमा जानकारी गराएका थिए ।
विद्यालयले यसअघि बिबिएसमा अध्ययन गर्ने विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम लन्च गरेको थियो । निर्देशक किशन बास्तोलाले भने ‘पढ्दै कमाउँदै कार्यक्रमको लक्ष्य भनेको विद्यार्थीलाई कम्तिमा पनि आफ्नो पढाइ खर्च जुटाउन सक्ने बनाउनु हो ।’ ‘बिबिएस अध्ययन पुरा गर्दासम्म उनीहरुलाई दक्ष जनशक्तिको रुपमा विकास गर्छौँ । यो अभियानले विद्यार्थीलाई अध्ययनपश्चात के रोजगारी गर्ने होला भन्ने चिन्ता हुँदैन ।’ उनले भने ।
विद्यालयले विद्यार्थीको चौतर्फी विकासको लागि विभिन्न अतिरिक्त क्रियाकलाप संचालनमा समेत चासो दिँदै आएको छ ।