मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहनगरपालिका वडा नम्बर १७ मा रहेकाे बालबोध माध्यमिक विद्यालयकाे ६७ औँ अभिभावक भेला भएकाे छ । जिल्लाको दोस्रो पुरानो विद्यालय विद्यालय बालबोधकाे शनिबार ६७ औँ अभिभावक भेला सकिएकाे हाे ।
हेटौंडा १७ भुलभुलेस्थित विद्यालय परिसरमा भएकाे अभिभावक भेला शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्दै कार्यक्रम समापन गरिएकाे हाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप अर्यालले आगामी वर्षका लागि विद्यालयको शैक्षिक तथा भौतिक विकासको योजना प्रस्तुत गरेका थिए । अध्यक्ष अर्यालले विद्यालयमा संचालन भइरहेको अंग्रेजी माध्यमलाई व्यवस्थित गर्न नियुक्त गरिएका नीजि शिक्षक तथा कर्मचारीहरुको लागि शिक्षक कार्यविधि बनाई लागू गर्नका लागि व्यवस्थापन समितिलाई अधिकार दिन प्रस्ताव गरेका थिए ।
विद्यालयले हाल शैक्षिक गतिविधिलाई व्यवस्थित गर्न अक्षय कोष स्थापनाकाे लागि विभिन्न व्यक्ति तथा संघसंस्थाबाट सहयोग संकलन समेत गरिरहेको छ । अक्षयकोषलाई थप व्यवस्थित गर्नका लागि पूर्व विद्यार्थीहरुको संगठन बनाई अघि बढ्ने योजना रहेको अध्यक्ष अर्यालले बताए । भेलामा प्रधानाध्यापक दीपकलाल श्रेष्ठले प्रस्तुत गरेकाे विद्यालयको वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
२३ माघ २००८ मा स्थापित विद्यालयमा बाल विकासदेखि कक्षा १२ सम्म ५ सय ३ विद्यार्थी अध्ययनरत रहेका छन् ।
मकवानपुर । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर जिल्ला शिक्षाका साथै स्वास्थ्यको समेत हवका रुपमा विकास भईरहेको बताएका छन् । शैक्षिक सहयोग अक्षयकोष नेपाल मकवानपुरको पाँचौं वार्षिक साधारणसभामा बोल्दै पौडेेले जिल्लामा स्वास्थ्य र शिक्षा सम्बन्धी पाँचवटा विश्वविद्यालय नै सञ्चालनमा रहेको बताए ।
‘मकवानपुर जिल्ला बिस्तारै शैक्षिक र स्वास्थ्यको हवका रुपमा विकास भईरहेको छ’ उनले भने । पौडेलले हेटौंडामा वन विज्ञान विश्व विद्यालय, कृषि विश्व विद्यालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी विश्व विद्यालय (थाहा नगरपालिका, चित्लाङ्) सञ्चालनमा आइसकेको र मकवानपुर विश्वविद्यालय (प्रदेश विश्व विद्यालय) सञ्चालनको क्रममा रहेको बताए । अबको १५ दिन पछि मकवानपुर क्याम्पस प्रदेश विश्वविद्यालयका रुपमा सञ्चालनमा आउने उनले जानकारी दिए ।
साधारणसभाका प्रमुख अतिथि पौडेलले पबित्र उदेश्यका साथ स्थापना भएको कोषलाई अगाडी बडाउन सबैले सहकार्य गर्नुपर्ने बताए । शिक्षाको अवसरबाट कोहि पनि बञ्चित हुन नपरोस भन्ने पबित्र उदेश्य संस्थाको रहेकोले यसमा सबैको सहकार्य हुन जरुरी रहेको उनकाे भनाई थियाे । ‘मकवानपुर जिल्लामा आवश्यक्ताका आधारमा संस्था स्थापना भएकाले यसलाई जिवन्त बनाउँदै थप सुदृढ बनाउन सबैको प्रयास र प्रयत्न आवश्यक रहेको छ’ उनले भने ।
मकवानपुर जिल्लामा शिक्षाको अवसरबाट बञ्चित विपन्न, अनाथ, विभिन्न कारणले अभिभावक गुमाएका, विस्थापित एवम् जोखिममा रहेका बालबालिकाका लागि संस्थाले महत्वपूर्ण भूमिका खेलेकोमा उनले प्रशंसा समेत गरे । बिद्यार्थीलाई छात्रवृतिसंगै अभिभावकलाई पढाई प्रति प्रेरणाको खाँचो रहेकाे औल्याउँदै त्यस तर्फ ध्यान दिन जरुरी रहेकेा उनले बताए ।

९ जनालाई छात्रवृति प्रदान
साधारण सभाका अवसरमा संस्थाले मकवानपुर जिल्लाका कक्षा १० देखि १२ सम्मका ९ जना बिद्यार्थीहरुलाई छात्रबृति समेत प्रदान गरेको छ । संस्थाले कक्षा ११ र १२ का ६ जनालाई जनही १० हजारका दरले र कक्षा ९ र १० का ३ जनालाई ८ हजारका दरले छात्रबृति प्रदान गरेको थियो ।
महेन्द्र किरण मावि मनहरीमा कक्षा १२ मा अध्यनरत अजय प्रजा, सुस्मिता बोटे, सपना घलान, भूमिका विष्ट, सितास घिमिरे र प्रगति मावि हेटौंडा–९, मा कक्षा ११ मा अध्यनरत विपन खनाललाई नगद १० हजार छात्रवृत्ति प्रदान गरिएकाे हाे । यसैगरी रोटरी मावि मनहरीमा कक्षा १० मा अध्यनरत मिठुकुमारी कोइरला र कक्षा ९ मा अध्यनरत सौगात गोले तथा जनक मावि बकैयामा कक्षा ९ मा अध्यनरत सलिना माझीलाई जनही नगद ८ हजारका दरले छात्रवृति प्रदान गरिएकाे छ ।
यसैगरी वार्षिकोत्वका अवसरमा संस्थाका सचिव बद्रीबहादुर पाठक र पत्रका बिश्वराम अधिकारी (विवश) लाई संस्थाको विकासमा योगदान पुर्याएकाे भन्दै सम्मानित गरिएकाे छ ।
साधारणसभामा संस्थाका सचिव बद्री पाठक र कोषध्यक्ष रामकृष्ण थापाले प्रस्तुत गरेकाे प्रतिवेदन पारित गरिएकाे थियाे । संस्थाको अक्षयकोषमा हालसम्म करीब १६ लाख रुपैयाँ रहेकाे बताइएकाे छ । हालसम्म आजिवन सदस्य ८० जना, विशिष्ट सदस्य १० जना, साधारण सदस्य १७ जना र संस्थागत सदस्य २४ जना गरि कुल १ सय ३१ जना संस्थामा आवद्ध रहेकाे पाठकले जानकारी दिए ।
संस्थाका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएकाे साधारण सभामा संविधानसभा सदस्य अनन्त पौडेल, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीलगायतकाे सहभागिता थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको बालजागृति बोडिङ सेकेन्डरी स्कुलको लगानीमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । स्कुलमा अध्ययन गरेका विद्यार्थीले तयार गरेकाे ‘हे ज्ञान कि देवी’ गीतकाे म्यूजिक भिडियो शनिबार सार्वजनिक गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका २ नम्वर वडाध्यक्ष विष्णुगोपाल महर्जनले उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । म्युजिक भिडियाे सार्वजनिक गर्दै महर्जनले बालजागृति स्कुल नगरभित्रकै पहिलो विद्यालय बनाउन आग्रह गरे । ‘हेटौंडाका १९ वटा वडामा रहेका मध्ये बालजागृति स्कुल अरु संस्थागत विद्यालयभन्दा अगाडि रहेको छ’ उनले भने –‘संस्थागत विद्यालयमा बालजागृति पहिलो बालमैत्री विद्यालय घोषणा भएको छ ।’ शैक्षिक उन्नयनको लागि २ नम्वर वडाले स्कुललाई सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले बालजागृति विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त कार्यलाई पनि जोड दिँदै आइरहेको बताए । विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले सोच र कलाको विकास गर्ने उद्देश्यले म्युजिक भिडियो सार्वजनिक गरेको बताए । ‘अहिलेका बालबालिका एटम बम हुन् । छोएकी पड्किहाल्छन्’ उनले भने ‘बालबालिकालाई सही दिशातर्फ लैजानको लागि अभिभावकले पनि मार्ग निर्देशन गर्नु पर्दछ ।’ विद्यार्थीको हितमा विद्यालयले नौलो कार्यक्रमहरू सञ्चालन गरिरहेको उनको भनाइ रहेको थियो । विद्यार्थीलाई एकाग्र बनाउने काम म्यूजिक भिडियोले खेल्ने विद्यालयका सहायक प्रिन्सिपल अमूल श्रेष्ठले बताए ।
मकवानपुरका गायिका सुनिता बुर्लाकोटी र गायक कृष्णगोपाल सिंहले गीत गाएर सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए । स्कुलका १, २ र ३ कक्षामा अध्ययनरत विद्यार्थीले कार्यक्रममा बालगीत पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका २ नम्वर वडा सदस्य इन्द्र प्रसाद रिजाल, हेटौंडा उपमहानगरपालिका शिक्षा अधिकृत रमेश बिडारी, पिएम संगीत सेन्टरका सञ्चालक प्रवेन्द्र महर्जन, संगीतकार पूर्णविक्रम अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकाले प्राथमिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरेका छ । कार्यसम्पादन सम्झौताकाे आधारमा प्रोत्साहन रकम समेत उपलब्ध गराइने भएको छ ।
पालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका प्रधानाध्यापकहरुसँग बिहीबार गाउँपालिकाले कार्यसम्पादन सम्झौता गरेको हो । कार्यसम्पादन सम्झौता संगै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिकस्तर सुधार गर्न प्राथमिक तहका विद्यालयबाटै सुधारका लागि पालिकाले प्रोत्साहन कार्यक्रम अघि बढाएको हो ।
विद्यालयले विभिन्न १५ वटा बुँदाहरुमा स्वमुल्याङ्कन गरी पठाएको विवरणको आधारमा प्रोत्साहन रकम वितरण गरिने गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए । ‘विशेषगरी विद्यार्थीको शैक्षिक उपलब्धीलाई प्राथमिकतामा राखेर १५ वटा बुँदा तयार पारेका छौँ, कालाखेतीले भने ‘उहाँहरुको स्वमुल्याङ्कन प्रतिशतका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउँछौँ ।’
सम्झौतामा उल्लेख भएअनुसार प्रधानाध्यापकले वार्षिक शैक्षिक कार्ययोजना तथा कार्यतालिका निर्माण गर्नुपर्नेछ । साथै विद्यालय सुधार योजना निर्माण गर्नुपर्ने, प्रत्येक आर्थिक वर्षको लेखा परिक्षण र सामाजिक परिक्षण गर्नुपर्ने, सबै शिक्षकसँग शिक्षण सुधार करार गर्नुपर्ने, विद्यार्थी शिक्षक विवरण इएमआइएसमा भर्नुपर्ने, विद्यालयको समग्र नतिजा विश्लेषण गर्नुपर्नेलगायत कार्यका आधारमा कार्यसम्पादन अंक प्राप्त हुनेछ ।
त्यसैगरी प्रधानअध्यापकको विद्यालयमा उपस्थिती, शिक्षक विद्यार्थीको आचारसंहिता तयार र विद्यार्थीको आन्तरिक मुल्यांकनका आधारमा पनि कार्यसम्पादन अंक प्राप्त गर्ने सामाजिक विकास समितिका संयोजक अनन्तप्रकाश अर्यालले जानकारी दिए ।
गाउँपालिकाले तयार पारेको कार्यसम्पादन मुल्याङ्कन अनुसार ० देखि ४० प्रतिशत प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापकले कुनै पनि रकम नपाउने उल्लेख गरिएको छ । यस्तै ४० देखि ६० प्रतिशतलाई २० हजार रुपैयाँ, ६० देखि ८० प्रतिशतलाई २२ हजार र ८० देखि १०० प्रतिशत कार्यसम्पादन अंक प्राप्त गर्ने प्रधानाध्यापकलाई २४ हजार प्रोत्साहन रकम उपलब्ध गराइने शिक्षा शाखा प्रमुख प्रदिप पराजुलीले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष कालाखेती र प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको रोहबरमा शिक्षा शाखा प्रमुख पराजुली र सम्बन्धित विद्यालयका प्रधानाध्यापकबीच कार्यसम्पादन सम्झौता भएको हो । यसअघि पनि गाउँपालिकाले शैक्षिक सुधारका लागि भन्दै प्राथमिक तहका विद्यालयका प्रधानाध्यापकहरुको सरुवा गरेको थियो ।
मकवानपुर । आज विहीबारबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा सुरु हुदैछ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८ सय ६ विद्यालयका २ लाख ५० हजार ७ सय ७२ छात्रा, २ लाख ५३ हजार ६ सय२७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुँदै छन् ।
कूल परीक्षार्थीमध्ये ५ सय ६ विद्यालयका १५ हजार ७ सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फ रहेको बोर्डले जनाएको छ । त्यसैगरी परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुँदै छन् ।
त्यस्तै जापानबाट २३ जना सहभागी हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय एसइईका अनुसार जापानमा रहेको एभरेष्ट स्कूलको एउटा परीक्षा केन्द्रबाट १५ छात्रा र ८ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् । जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने भएको छ ।
यसैगरी परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ, मुस्ताङमा एक-एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौँमा १ सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
मकवानपुरबाट २६ केन्द्रमा ६ हजारले एसइई दिदै
मकवानपुर जिल्लामा यस बर्ष २६ वटा केन्द्रबाट ६ हजार विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई ) मा सहभागी हुदैछन्।
जिल्लामा नियमित तर्फ ५ हजार ७ सय ५०, प्राविधिक धार तर्फ २ सय ६४ जना विद्यार्थी सहभागी हुनेछन् भने एक्जाम्टेड तर्फ १ सय ४९ जना सहभागी हुनेछन् । नियमित, प्राविधिक तर्फ र एक्जाम्टेड गरी ६ हजार १ सय ७१ जना विद्यार्थी एसइई परीक्षामा सामेल हुने शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरले जनाएको छ ।
एसइई परीक्षाका लागि मकवानपुरका १० स्थानीय तह मध्ये ९ स्थानीय तहका २६ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ। सामुदायिक तर्फ १ सय र संस्थागत तर्फ ३६ विद्यालय गरी १ सय ३६ विद्यालयका विद्यार्थी एसइई परीक्षामा सामेल हुदै छन् ।
गत वर्ष २५ परीक्षा केन्द्र रहेकोमा प्रजा जागृति मावि राक्सिराङमा नयाँ केन्द्र थप गरिएको हो। मकवानपुरको कैलाश बाहेक सबै पालिकामा एसईई परीक्षा केन्द्र निर्धारण गरिएको इकाइले जनाएको छ ।