मकवानपुर । असोज तेस्राे साता परेकाे अविरल वर्षापछिकाे विपदमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार साँझ विवरण अद्यावधिक गर्दै मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको जनाएको हो ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार पहिरोमा परी इलाममा ३७, पाँचथर र काभ्रेमा एक/एक जना गरी ३९ काे मृत्यु भएकाे छ । यस्तै बाढीबाट पाँचथर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर र रौतहटमा एक/एक जना गरी ६ जनाकाे मृत्यु भएकाे छ ।
चट्याङबाट दुई र अविरल वर्षाले उदयपुरमा एक जनाको ज्यान गएको हाे । यसैगरी हालसम्म छ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बाढीमा परेर रसुवामा चार र इलाममा एक तथा पहिरोमा परेर इलाममा एक जना रहेका छन् । विपद्जन्य घटनामा हालसम्म २८ जना घाइते भएका छन् । घाइते हुनेमा पहिरोमा परेर इलाममा १०, पाँचथरमा दुई, ललितपुरमा दुई, भोजपुरमा तीन, खोटाङमा तीन, उदयपुर, मकवानपुर, ताप्लेजुङ, धनकुटा र बारामा एक/एक जना रहेका छन् ।
यस्तै, अविरल वर्षाका कारण घाइते हुनेमा धनकुटा र बारामा एक/एक तथा बाढीबाट खोटाङमा एक जना घाइते भएका छन् । सार्वजनिक विवरणअनुसार हालसम्म १८ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
मकवानपुर । अविरल वर्षाका कारण अवरुद्ध हेटौंडा काठमाडौं जोड्ने सिस्नेरी-दक्षिणकाली सडकखण्ड सञ्चालनमा आएको छ। उक्त सडक खण्ड संघीय राजधानी काठमाडौंलाई प्रदेश राजधानी हेटौंड जोड्ने वैकल्पिक मुख्य मार्गहरूमध्ये एक हो ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी बजार नजिक डोडारे खोलले सडकको केहि भाग कटान गरेपछि अवरुद्ध उक्त सडक मर्मतपछि सोमबारबाट सञ्चालनमा आएको हो । यस्तै सोही सडक खण्ड अन्तर्गत दक्षिणकाली मन्दिर नजिकै गएको पहिरो पनि पन्छाइएको प्रहरीले जनाएको छ ।
डोडारे खोलाले बगाएको सडक दुई दिन लगाएर मर्मत गरिएको प्रहरी कार्यलयले जनाएको छ । उक्त सडक सञ्चालनमा आएपछि काठमाडौं जाने सवारी साधनलाई सो मार्ग हुँदै पठाउन थालिएको छ । अब हेटौंडाबाट काठमाडौं जानकाे लागि पुर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ, कुलेखानी – फाखेल – फर्पिङ तथा कुलेखानी – सिस्नेरी – दक्षिणकाली – फर्पिङ सडकमार्ग सञ्चालन भएका थिए ।
कान्तिलोकपथ अझै अबरुद्ध
हेटौंडा – ठिंगन – भट्टेडाँडा – सातदोबाटो जाने कान्तिलोकपथ अझै अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार कान्तिलोकपथ अन्तर्गत भीमफेदी वडा नम्बर ८ वगुवा खोलानजिक खसेको ठूलो पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ ।
उक्त स्थानमा डोजर परिचालन गरी माटो र ढुंगा हटाउने काम भइरहेको तथा सोमबार अबेरसम्म सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताइएकाे छ ।
मकवानपुर । अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। विशेष गरी मधेसदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरूमा पानी परिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले २० असोजसम्म पानी पर्ने अधिक सम्भावना अनुमान गरिएको छ । हाल बङ्गालको खाडीबाट आएको मनसुनी वायुको प्रभावले देशभर वर्षा भइरहेको हो। भारतको बिहार र उत्तर प्रदेश हुँदै नेपालमा प्रवेश गरेको बादलको बाहिरी घेराले पनि वर्षा गराइरहेको छ। मौसमविद्हरूले अर्को मौसमी प्रणाली पनि नेपाल प्रवेश गर्ने संकेत देखिएको बताएका छन्। उक्त प्रणालीले केही क्षेत्रमा अत्यधिक वर्षा गराउने सम्भावना रहेको उल्लेख गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानमा, साथै लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुने अनुमान छ। त्यस्तै, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ।
शनिबार (आज) राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा, साथै मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ । पानी पार्ने बादल लुम्बिनीको पूर्वी भागदेखि कोशी प्रदेशसम्म फैलिएको छ । भारी वर्षा गराउने बादल नेपालको दक्षिणी भागमा बढी केन्द्रित छ। विशेष गरी हेटौडादेखि ललितपुर र आसपासका क्षेत्रमा मध्यम वर्षा जारी रहने पूर्वानुमान गरिएको छ।
मकवानपुर । छिमेकी देश चिनको तिब्बत क्षेत्रमा परेको वर्षापछी भोटेकोशी नदीमा एक्कासी आएको बाढीले मुख्यतः बागमती प्रदेशको रसुवा जिल्लामा मानवीय तथा भौतिक क्षति भएपछी बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सबैलाई सचेत रहन र सहयोग गर्न अपिल गर्नु भएको छ ।
भोटेकोशी नदिमा बेपत्तामध्ये केहीको शव फेला परेको खबर छ । बेपत्ता, निधन र भौतिक संरचनाको अपूरणिय क्षतीको खबरले आफू स्तब्ध भएको उल्लेख गर्नुहुदै प्रदेश प्रमुख देवकोटाले यस्तो अपिल गर्नु भएको हो । सोमबार राती चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीले नेपाल चीन जोड्ने मितेरी पुल, रसुवा भन्सार कार्यालय, भन्सार यार्डमा रहेका सवारी साधन, जलविद्युत परियोजनामा क्षति र सडक बगाएको जानकारी प्राप्त भएको छ ।
‘यो विपदको समयमा पीडित प्रभावितलाई सहायता गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सरकारी तथा गैरसरकारी संघसंस्थाहरु, रेड्क्रसलगायत परोपकारी निकायहरुलाई उद्धारमा जुट्न र तयारी अवस्थामा रहन समेत विशेष अनुरोध गर्दछु’ उहाँले सार्वजनिक गर्नु भएको अपिलमा भनिएको छ ।
‘यो दु:खद घडीमा आ आफ्नो तर्फबाट विपत् प्रतिकार्यमा जुट्न सबैमा आह्वान गर्दछु । उद्दार र राहत कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित निकायहरूलाई हार्दिक आग्रह गर्दछु’ उहाँले भन्नु भएको छ ।
नेपालको विभिन्न जिल्लाहरुमा अहिले पनि वर्षा जारी भइरहेको छ । मौसम पुर्वानुमान अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहने र बागमती प्रदेशलगायतमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।
विपदबाट बच्नको लागि आफू सचेत रहन र अरुलाई सहायता गर्न सबैमा उहाँले अनुरोध गर्नु भएको हो । यस्तो जोखिमको बेला नदी तटीय क्षेत्रमा बसोबास नगर्न, बाढीले बगाएर ल्याएको काठ, दाउरा बटुल्न नजान र अरु गएमा समेत रोकेर संभावित जोखिम कम गर्न प्रदेश प्रमुखले सबैमा अनुरोध गर्नु भएकाे छ ।
मकवानपुर । देशको कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
बुधबार दिउँसो देशभर साधरणतया बदलीदेखि पूर्णयता बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
यसैगरी बुधबार राति देशभर साधरण बदलीदेखि पूर्णयता बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
वर्षाको कारण सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।