मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकाे एक सामुदायिक वनमा बोरामा हालेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव भेटिएको छ।
हेटौंडा १५, सेल्फी रोडस्थित सामुदायिक वनमा शुक्रबार दिउँसो एक जनाकाे शव फेला परेकाे मकवानपुर प्रहरीले जनाएकाे छ । शुक्रबार दिउँसो स्थानीयवासी च्याउ टिप्न जंगल पुगेका बेला सेतो बोरामा बाँधेर खाल्डोमा फालिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबरपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बोराभित्र अन्दाजी ३० देखि ३२ वर्ष उमेरकाे महिलाको शव फेला परेको हो। मृतकको नाम, थर र ठेगाना भने अहिलेसम्म खुल्न सकेको छैन। घटनास्थल सुरक्षित राखेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली पनि परिचालन गरिएको बताइएकाे छ ।
उक्त शव हेटौंडा अस्पतालमा ल्याइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा मनहरी खोलाले बगाउँदा एक जना चेपाङ युवा बेपत्ता भएका छन् ।
खोलले बगाएको अर्का एक जना भने तैरिएर सकुशल बाहिरिन सफल भएका छन् ।
कैलाश गाउँपालिका–४, सिसैटाका ३२ वर्षीय अशोक प्रजा बेपत्ता भएका हुन् । उनीसँगै रहेका २५ वर्षीय प्रकाश तामाङ खोलाबाट सकुशल निस्कन सफल भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ३० साउनको राति करिब ११ बजेको समयमा कालिकाटारबाट देउतीसतर्फ आफ्नो घर फर्किने क्रममा उनीहरूलाई मनहरी खोलाले बगाएको थियो ।
घटनाबारे साउन २१ गते बिहान मात्र प्रहरी चौकी भार्तामा जानकारी प्राप्त भएकोमा प्रहरी चौकी चैनपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीसँगको समन्वयमा बेपत्ता प्रजाको खोजी कार्य तीव्र पारेको हो ।
मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका २ स्थित तिलटारमा ट्रक पल्टिँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ ९ बस्ने ३६ वर्षीय अर्जुन कार्की रहेका छन् ।
बुधबार बिहान तिलटारस्थित त्रिभुवन राजपथबाट तरकारी बोकेको डिब्बा ट्रक १ सय मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुरको पालुङ तर्फबाट बिरगंजको लागि तरकारी लिई आउदै गरेको मधेश प्रदेश ०३-००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक चण्डी खोलामा खस्दा २ जना घाइते भएका थिए ।
दुर्घटनामा ट्रक चालक मकवानपुर राक्सिराङ ९ बस्ने २३ वर्षीय रन्जित कार्की र चालकका काका नाता पर्ने अर्जुन कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घाइते दुबै जनालाई हेटौंडा अस्पताल ल्याइएकोमा अर्जुनलाई डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
बर्षा र हुस्सुको कारण ओरालो बाटोमा चिप्लिएर ट्रक अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका १० स्थित आरआरएस थकाली रोधी घरमा वेटरको रुपमा काम गर्ने किशोरीकाे मृत्यु भएकाे छ ।
चितवन भरतपुर महानगरपालिका–११ की १७ वर्षीया अनिशा बिक शनिबार बिहान ६ बजेको समयमा डेरामा अचेत अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । अचेत अवस्थामा भेटिएकी अनिशालाई हेटौंडा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीको नेतृत्वकाे अनुसन्धान टोलीले घटनाकाे थप अनुसन्धान गरिरहेकाे छ ।
सामाजिक सद्भाव कायम राखौं, द्वन्द्वबाट समाधान संभव छैन
सुनसरीको कप्तानगन्ज घटनालाई लिएरमा भएको दुई समुदायबीचको भडपको असर अन्य जिल्लामा पर्न थालेको छ । सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ।
बिहीबार दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। मृतकको सनाखत भएको छैन। प्रदर्शनकारीले मृतकको सडकमै राखेर प्रदर्शन गरिरहेका छन्। उनीहरूले सुरक्षाकर्मीलाई शव उठाउन दिएका छैनन्। प्रहरीले भने गोली नचलाएको दाबी गरेको छ। प्रहरीले हवाई फायर र टियर ग्यास मात्रै प्रयोग गरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालको भनाइ छ।
सिरहामा दुई पक्षबीच झडप हुँदा दुई जना घाइते भएका छन् भने जनकपुरमा पनि कर्फ्यू जारी गरिएको छ । सिराहामा स्थिति अशान्त बनेसँगै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । प्रदर्शनका क्रममा झडप हुने स्थिति आएपछि सुरक्षाकर्मीले हवाई फायर गरेको थियो ।
कर्फ्यु आदेश जारी भए पनि प्रदर्शन जारी छ । आगजनी र तोडफोड हुन थालेपछि प्रहरीले गोली चलाएको छ । प्रदर्शनका क्रममा दुई जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल पुर्याइएको छ ।
आजै प्रदर्शनकारीले एक मोटरसाइकल ग्यारेजका मोटरसाइकल निकालेर आगजनीसमेत गरेका थिए । आगजनीका कारण ११ वटा मोटरसाइकल नष्ट भएको प्रहरीले जनाएको छ ।
यता प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिकासबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगराईन नगरपालिका क्षेत्रका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको बताए ।