मकवानपुर । बागमती प्रदेशमा यस वर्षको विपद्बाट ३३ हजार ३ सय ७१ घरधुरी प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ । मनसुनका कारण प्रदेशमा १ लाख ४५ हजार नागरिक विभिन्न विपद्का घटनाबाट प्रभावित हुने अनुमान गरिएको हो ।
बागमती प्रदेशका विभिन्न जिल्लाहरु बाढी, पहिरो र चट्याङको उच्च जोखिममा रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्रदेशको राजनधानी रहेको जिल्ला मकवानपुर जिल्लासँगै, रसुवा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, धादिङ, नुवाकोट, ललितपुर पहिरोको उच्च जोखिममा रहेका छन् । चितवन, सिन्धुलीसहित उपत्यकाको काठमाडौमा बाढीको उच्च जोखिम रहेको छ । भूक्षय र पहिरोको दृष्टिकोणले मकवानपुर उच्च जोखिममा रहेको छ ।
भुकम्पपछि भौगर्भिक सुचना प्रणालीवाट गरिएको अध्ययन अनुसार मकवानपुरमा साना ठुला गरेर एक हजार ६३ वटा पहिरो रहेको छ । भूक्षय र पहिरोको दृष्टिकोणले जिल्लाको कुल भूभागमध्ये खहरे र पहिरोबाट १५ हजार ६ सय ६० हेक्टर अर्थात् ६ दशमलव ४९ प्रतिशत जमिनमात्र सुरक्षित रहेको छ ।
७४ हजार एक सय ३२ हेक्टर जमिन अर्थात कुल जमिनको ३० दशमलव ७३ प्रतिशत जमिन खहरे र वाढीपहिरोवाट सधै जोखिममा छ भने जिल्लाको ६३ प्रतिशत जमिन अर्थात् ५१ हजार हेक्टर भुभाग भूक्षयका कारणले उच्च जोखिममा रहेको छ । अवैज्ञानिक खेती प्रणाली, भुमिको सही उपयोग तथा व्यवस्थापन गर्न नसक्दा मकवानपुर प्राकृतिक प्रकोपको रुपमा पहिरो र भूक्षयको जोखिममा रहेको बागमती प्रदेशको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
भूक्षय र पहिरोको जोखिमको हिसाबले मकवानपुर देशमै सोलुखुम्बुपछि दोस्रो नम्वरमा पर्छ । भुसंरक्षणका महत्वपुर्ण उपाय अवलम्बन नगरिएकाले मकवानपुरको ठुलो क्षेत्र पहिरोको उच्च जोखिममा रहेको हो । भौगर्भिक सुचना प्रणालीबाट अध्ययनपश्चात मकवानपुरमा एक हेक्टर क्षेत्रफल भन्दा सानो पहिरोको संख्या सात सय ५१ रहेका छन् भने एकदेखि २ हेक्टर भित्रका पहिरो एक सय ५६ वटा, दुईदेखि तीन हेक्टर सम्म क्षेत्रफल भएको पहिरोको संख्या ६१ वटा रहेको छ ।
तीन हेक्टरदेखि दश हेक्टरसम्म क्षेत्रफल ओगटेको पहिरो ८५ वटा रहेका छन् । ५ हेक्टरभन्दा माथि क्षेत्रफल भएका ४८ वटा पहिरो संवेदनशील रहेको छ । जिल्लाको कुल भूभागको ४८ दशमलव ७५ प्रतिशत क्षेत्रफल चुरे क्षेत्रले ओगटेको छ ।
प्रदेशमा सुनकोशी, भोटेकोशी, त्रिशूली, राप्ती, बागमती, अन्य सानाठूला गरी ३३ वटा नदी छन् । नदी र मुख्य जलाधारबाट उत्पन्न बाढी तथा डुबानका घटना हुने गरेको विगतको तथ्याङ्कले देखाएको छ । विगतका वर्षमा नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर र काभ्रेपलान्चोकमा सबैभन्दा बढी भूक्षय र पहिरोका घटना भएकोमा नुवाकोट जिल्लामा सबैभन्दा बढी क्षति भएको थियो ।
बागमती प्रदेशमा विपद्का घटनामा एक वर्षको अवधिमा ६३ जनाले ज्यान गुमाएका छन् । २०८० जेठ महिनादेखि देखि २०८१ जेठ २७ गतेसम्म प्रदेशमा भएको विपद् सम्बन्धी विभिन्न ८३८ विपद्का घटनामा ६३ जनाको मृत्यु भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विपद्का घटनामा परेर १७७ जना घाइते भएका छन् भने ३ जना बेपत्ता भएका छन् । एक वर्षको अवधिमा भएको विपद्को घटनामा करिब ५१ करोडको क्षति भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार विपद्का घटनाले १७८ पूर्वाधारको क्षति भएको छ भने ६३१ पशुचौपाया मृत्यु भएको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा प्रदेशमा ४९७ आगलागीका घटना भएका छन् भने १२३ स्थानमा वन डढेलो, १०८ पहिरो, ४२ जनावर आतङ्क, १६ भारी वर्षा भएको छ । बाढी १२, हुरी बतास ११, अन्य गैर प्राकृतिक विपद् ३, सर्पदंश ३, हिमपहिरो ३ र भूकम्प एक पटक गएको मन्त्रालयको तथ्याङ्क रहेको छ ।
मन्त्रालयले विपद् व्यवस्थापनका लागि ३ वटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन गरेको छ भने मनसुन जन्य विपद् प्रतिकार्य योजना तयार पारिरहेको सूचना अधिकारी रविता कार्कीले बताइन् । विषयगत मन्त्रालय र निकाय तथा जिल्ला स्थित कार्यालयबाट विपद् व्यवस्थापनका योजना र सुझावहरू सहित कार्यान्वयनमा अघि बढ्ने सरकारको तयारी रहेको उनको भनाई छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठका अनुसार विपद् व्यवस्थापनका लागि मन्त्रालयले संघीय र स्थानीय तहसंगको समन्वयमा विपद् प्रभावित नागरिकको पुनर्स्थापना काम अघि बढाइएको छ । विपद् न्यूनीकरणका लागि प्रदेशका तीन स्थानमा विपद् सामग्री भण्डारणको निमित्त गोदाम घर स्थापना गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए । मकवानपुरको हेटौडा, नुवाकोट र काभ्रेको गोदाम घरमा विपद् उद्धार सामग्रीहरू पुर्याउने कार्य भईरहेको छ ।
बागमती प्रदेश सरकारको विपद् कोषमा १४ करोड ५४ लाख रुपैया मौज्दात रहेको छ । यसअघि जिल्ला जिल्लामा नै १० लाख रुपैयाका दरले विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि रकम पठाइएको छ । विपद् व्यवस्थापन तथा प्रतिकार्य कार्यमा भएको खर्चका आधारमा जिल्लाहरूलाई थप रकम पठाइएको सूचना अधिकारी कार्कीले बताइन् ।
विपद् व्यवस्थापन कार्यमा भएको खर्च अनुसार रकम अपुग भएको खण्डमा जिल्लाबाट माग हुने र सोही अनुसार मन्त्रालयले बजेट पठाउने गरेको उनको भनाई छ ।
ईकान्तिपुरबाट साभार
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ रमनटारमा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी मध्यबिन्दु नगरपालिका–१४ बस्ने बर्ष ४७ को दिल बहादुर टन्डन क्षेत्री रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरीबाट चितवनतर्फ जादै गरेको ना.७ ख ८४४९ नम्बरको टिपरले हेटौंडाबाट चितवनतर्फ जादै गरेको बा.प्र.०२–०३० प १६३१ नम्बरकोे स्कुटरलाई मंगलबार ठक्कर दिएको थियो । टिपरको ठक्करबाट स्कुटर चालक दिल बहादुर घाइते भएका थिए ।
घाउते उनलाई पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टिफर चालक नवलपरासी मध्यबिन्दु नगरपालिका–१० अरुणखोला बस्ने बर्ष ४० को बिर बहादुर कुमाललाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयामा ग्याँस बुलेट गाडीमा मोटर साइकल ठोक्किदाँ एक जनाको मृत्यु भएको छ ।
चितवनबाट हेटौँडा आउँदै गरेको एएस-२५ डिसी ०२१२ नम्बरको बुलेट गाडीमा विपरित दिशाबाट आएको ग ७ प २३०४ नम्बरको मोटरसाइकल ठोक्किदाँ मोटरसाइकलमा सवार पोखरा उपमहानगरपालिका ११ फुलबारी बस्ने ३३ वर्षका निर्मला अधिकारीको हेटौँडा स्थित सिएमसी चुरेहिल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
मोटरसाइकल चालक सोही स्थान बस्ने वर्ष ३१ का सुवास गुरुङको सिएमसी चुरेहिल हस्पिटलमा उपचार भइरहेको छ । ग्याँस बुलेट चालक भारतको विहार राज्य पटियार थाना सदियान सुदमी बस्ने ३७ वर्षका मनीन्द्र कुमार दास र ग्याँस बुलेटलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव डिएसपी लक्ष्मी भण्डारीले बताए ।
आफ्नो अगाडी नम्बर नखुलेको सेतो हाइलक्सले अचानक ब्रेक लगाउँदा सोही गाडीमा ठक्कर दिई बुलेट गाडीमा पुगेको घाइते मोटरसाइकल चालक गुरुङले प्रहरीलाई बताएको प्रवक्ता भण्डारीले जानकारी दिए ।
माननीय मुख्यमन्त्री ज्यू
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडा
ध्यानाकर्षण सम्बन्धमा
बागमति प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको र सरकार कार्यक्रम कार्यान्वयनकाे लागि बजेटको तयारिमा लागिरहदा सरकारले सबै वर्ग समुदायको उत्थानको लागि कार्यक्रम र बजेट ल्याउला भन्ने हाम्रो विश्वास रहेको छ ।
तर बागमती प्रदेश सरकारले भखरै सार्वजनिक गरेको नीति कार्यक्रम र सरकारको बजेटीङको तयारी देख्दा हामी सरकारसंग विश्वत हुन सकिरहेका छैनौ । केहि समय अघिदेखि नै बागमती प्रदेश सरकार अपाङ्गता समुदायप्रति निर्मम बन्दै गइरहेको तितो यथार्थ र तथ्य हामीमाझ छर्लङ्ग छ ।
प्रदेश निजामती ऐनमा अपाङ्गता भएका व्यत्तिहरुलाई दिइदै आएको आरक्ष घटाउने हालसम्म पनि अपाङ्गता सम्बन्धी नीति र कुनै कानुन निर्माण गरेकाे छैन । बेसाहारा र अनाथ अपाङ्गता भएका व्यत्तिहरुको पुनर्स्थापनाको लागि निर्माण गरिएको पुनर्स्थापन ग्रृह सरकारले नै कब्जा गरेर दादागरि देखाउनाले यो सरकार अपाङ्गता समुदाय प्रति गम्भिर छैन भन्ने हाम्रो ठम्याई रहन गएको छ । अब पनि सरकारले यसैगरी हेपाहा प्रवृत्ति देखाइ रहेमा हामी बागमती प्रदेशका अपाङ्गता भएका व्यत्तिहरु आन्दोलन गर्न बाध्य हुनेछौं ।
स्मरण रहोस् ठिक एकसाल अघि सुदुर पश्चिम सरकारले बजेट र कार्यक्रममा अपाङ्गता समुदायलाई उपेक्षा गर्दा यस प्रदेशका अपाङ्गता भएका व्यत्तिहरुले सरकार विरुद्ध गरेको आन्दोलनबाट सरकारलाई के कति नाफा घाटा भयो ? कतिको मुल्य चुकाउनु पर्यो भन्ने कुरा समकक्षीसंग बुझ्नु होला । यस प्रदेशमा त्यस किसिमको वातावरण सिर्जना हुन नदिनु होला ।
यदी आन्दोलनमा हाेमिनु पर्यो भने त्यो आन्दोलन सरकारलाइ निकै महंगो सावित हुनेछ ।
अश्बिन लम्साल अपाङ्गता अधिकारकर्मी
मकवानपुर । मकवानपुरमा रुखकाे हाँगाले लागेर एक जनाकाे मृत्यु भएकाे छ ।
मंगलबार बिहान आएको हावाहुरीका कारण रुखकाे हाँगाले लागेर मकवानपुरकाे मनहरी गाउँपालिका-२ स्थित ट्याङ्की दमारका राम बहादुर गोलेकाे मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार २२ वर्षीय गोले आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा आएको हावाहुरीका कारण रुखको हाँगा भाँचिएर लाग्दा घटनास्थलमै उनकाे मृत्यु भएको हो।