मकवानपुर । बागमती प्रदेश प्रहरी प्रमुख र प्रदेश अन्तर्गतका प्रहरी प्रमुखबीच कार्यसम्पादन सम्झौता भएकाे छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माले प्रदेश अन्तर्गतका प्रहरी प्रमुखहरुसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेका हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा बिहीबार आयोजित एक कार्यक्रमका बीच प्रत्यक्ष एवं भर्चुअल माध्यमबाट आर्थिक वर्ष २०८०।०८१ को कार्य सम्पादन सम्झौता भएकाे हाे । चालु आर्थिक वर्षको लागि प्रदेश अन्तर्गतका १० वटा जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, नेपाल प्रहरी विशेष सुरक्षा गण, बागमती प्रदेश प्रहरी गण गरी १४ वटा कार्यालयका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिएकाे हाे ।
कार्यसम्पादन अन्तर्गत जिल्ला प्रहरी कार्यालयको लागि ४० वटा, बागमती प्रदेश प्रहरी तालिम केन्द्र र ट्राफिकको लागि १८ र प्रहरी गणहरुको लागि १९ वटा वार्षिक कार्यसम्पादन क्रियाकलापहरु समावेश गरी सम्झौता गरिएकाे हाे । कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रे सहित बागमती प्रदेश प्रहरी कार्यालय मातहत प्रहरी प्रमुखहरुले प्रस्तुतिकरण गरेका थिए ।
सोही अवसरमा उपस्थित कार्यालय प्रमुख सहित मातहतका इलाका प्रहरी काकार्यालयसँग भर्चुअल माध्यमबाट प्रदेश प्रहरी प्रमुख शर्माले प्रहरीको प्रमुख कार्य अपराध अनुसन्धान, गस्ती व्यबस्थापन, विशेष योजना, ट्राफिक व्यवस्थापन, वार्षिक कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने र चाडपर्व लक्षित सुरक्षा योजना बनाई प्रहरी परिचालन गर्ने लगायतको आवश्यक निर्देशन दिएकाे प्रहरी नायव उपरीक्षक सूचना अधिकारी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
मकवानपुर । मकवानपुरकाे बकैया गाउँपालिकास्थित बकैया खोलाले बगाएर बेपत्ता भएका एक जना मंगलबार मृत अवस्थामा फेला परेको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय निजगढ बाराको समन्वयमा बेपत्ता माझीको खोजतलास गर्ने क्रममा मंगलबार खोलाकाे किनारमा शव फेला परेको हाे। बकैया गाउँपालिका–६ स्थित जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आएका रौतहट चन्द्रपुर–२ जुडिबेलाका माझी २१ भदौमा बकैया–६ जुनाइस्थित खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएका थिए ।
इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले माझीकाे शव प्रादेशिक अस्पताल कलैया बारा पठाइएकोमा पोष्टमार्टम पछि आफन्तकाे जिम्मा लगाइएकाे मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
मकवानपुर । मकवानपुर प्रहरीले लागुओैषध चरेशसहित २ जनालाई नियन्त्रणमा लिएकाे छ । १४ किलाे चरेशसहित धादिङ गजुरी गाउँपालिका-८ का ४२ वर्षीय केदार तामाङ र ३६ वर्षीय सुकमान तामाङलाई नियन्त्रणमा लिइएकाे हाे ।
प्रहरी चौकी रातोमाटेकाे प्रहरी टोलीले शुक्रबार हेटाैंडा-१५ रातोमाटे चेकपोष्टमा हेटौडाबाट पथलैयातर्फ जादैं गरेको ना ७ ख ६०६१ नम्बरको बसलाई जाँच गर्दा बसमा सवार केदार र सुकमानकाे साथबाट उक्त परिमाणकाे चरेश फेला पारी नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
प्रहरीका अनुसार लागुऔषध चरेशसहित नियन्त्रणमा लिइएका उनीहरुलाई मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी हिरासतमै राखेर अनुसन्धान भइरहेकाे छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ थानाभर्याङमा म्याजिक भ्यानले मोटरसाइकललाई ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ ।
शुक्रबार बेलुका पूर्व पश्चिम राजमार्ग अन्तर्गत थानाभर्याङ राप्तिपुल नजिकै नवलपुरबाट हेटौडा बजार तर्फ आउदै गरेको ना १५ प ४१५७ नम्बरको मोटरसाइकललाई हेटौडा बजारबाट नवलपुर तर्फ जादै गरेको बागमती प्रदेश ०३-००१ज ०२५७ नम्बरको म्याजिकले ठक्कर दिएको थियो ।म्याजिकको ठक्करबाट मोटरसाइकल चालक हेटौडा – ११ थानाभर्याङ बस्ने २६ वर्षीय श्रीराम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
म्याजिकको ठक्करबाट टाउको र खुट्टामा चोट लागि घाईते भएका श्रीरामको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। माेटरसाइकललाई ठक्कर दिए लगत्ते उक्त म्याजिक ना १ ज ८१३१ नम्बरको म्याजिकमा समेत ठोक्किएको प्रहरीले जनाएको छ। उक्त घटनामा अन्य सबै सकुशल रहेको र दुई वटै म्याजिक, चालक र माेटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक संघीय संसदबाट पारित भएकाेमा १८ वर्ष अघिदेखि अवरुद्ध नेपालको सङ्क्रमणकालीन न्यायमा आशा पलाएको जनाइएकाे छ ।
१९ भदौ मा विज्ञप्ति प्रकाशन गरी उक्त विधेयक ३० साउन २०८१ मा प्रतिनिधि सभा र ६ भदौ २०८१ मा राष्ट्रिय सभाबाट पारित १३ भदौमा राष्ट्रपतिबाट प्रमाणिकरण भएसँगै १८ वर्ष अघिदेखि अवरुद्ध नेपालको सङ्क्रमणकालीन न्यायको विषयमा आशा पलाएको इन्सेकले जनाइएकाे छ ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा विगत १८ वर्षदेखि सत्तासीन र प्रतिपक्षको गृहकार्यको अभावमा अलमली रहेकाे सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित भएसँगै सङ्क्रमणकालीन न्याय सफल कार्यान्वयका लागि निरन्तर निगरानी आवश्यक भएको उल्लेख छ ।
न्यायिक प्रकृयाको लामो चरण पार गर्न अझै केही महत्वपूर्ण कार्य सम्पादन गर्न बाँकी रहेको भन्दै विज्ञप्तिमा विधेयक राजनीतिक दलहरूबिच सर्वस्वीकार्य बनाउन भएको समझदारीको पीडक व्यक्ति वा समूहले प्रकृयाको फाइदा नलिओस् भन्नका लागि सरोकार र निगरानीको निरन्तरताको खाँचो औँल्याइएको हो । विज्ञप्तिमा आयोगको गठन वा आयुक्तहरूको चयन, कार्यविधि र सरकारबाट अपेक्षित आर्थिक–प्रशासनिक सहयोगजस्ता विषयहरूमा अबका दिनमा हामी सूक्ष्म तरिकाले अध्ययन र सराेकार रहिरहने जनाइएको छ ।
साथै विज्ञप्तिमा सङ्क्रमणकालीन न्याय निरूपणका सन्दर्भमा सत्य निरूपण आयोगमा रहेका ६३ हजार र बेपत्ता आयोगमा रहेका ३ हजार उजुरीको निरूपण गर्न सर्वस्वीकार्य मानव अधिकार, राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय कानुनका विज्ञ व्यक्तिहरू आवश्यक हुनेहुँदा पदाधिकारीको छनौट द्वन्द्वकालको कहाली र पीडा बारेमा चिन्तन गरेका व्यक्तित्वको प्रतिनिधित्व आवश्यक रहेकाे उल्लेख छ ।
विज्ञप्तिमा विगतमा आयोगका पदाधिकारीहरू राजनीतिक दलका निकटताका आधारमा मात्र सिफारिस गरिएकाे, विषयका बारेमा कम जानकार भएका तथा पदीय जिम्मेवारी बहन गर्न नसक्दा आजसम्म सङ्क्रमणकालीन न्याय प्रकृया लम्बिने एउटा उल्लेखनीय कारण आयोगका सदस्य चयनमा देखिएको समस्यालाई समेत औँल्याइएको छ ।
बेपत्ता पारिएका व्यक्तिका परिवारजनले बेपत्ता पारिएका व्यक्तिको अवस्थाबारे जान्न पाउने अधिकार र हत्या गरिएका व्यक्तिका परिवार वा अङ्गभङ्ग भएका, यौनहिंसामा परेका, विस्थापित बनाइएका मानिसहरूले ‘आफूमाथि किन अपराध भयो’ ? भन्ने जानकारी पाउने अधिकार पनि पीडितलाई भएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।