मकवानपुर । मकवानपुर प्रहरीले ३ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । मकवानपुर जिल्ला अदालतको २०६८ फागुन २९ गतेको फैसलाबाट लागु औषध हिरोइन मुद्दामा कैद ताेकिएकाे व्यक्ति गत माघ ४ गते पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
मकवानपुर जिल्ला अदालतले लागु औषध हिरोइन मुद्दामा १० महिना १७ दिन कैद तोकी फरार रहेका प्रतिवादी हेटाैडा उपमहानगरपालिका १ का वर्ष २९ का सुदिप भन्ने सुजित लामालाई हेटाैडा १ स्थित चौकीटोलबाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि मकवानपुर जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए।
यसै गरी मकवानपुर जिल्ला अदालतको २०७३ साउन २५ गतेको फैसलाले लागु औषध मुद्दामा २ महिना कैद र २ हजार जरीवाना तोकिएकाेमा फरार रहेका प्रतिवादी हेटाैडा उपमहानगरपालिका १० बस्ने बर्ष २२ को युनिक लामालाई माघ ६ गते मंगलबार हेटाैडा ४ बजार क्षेत्रबाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि मकवानपुर जिल्ला अदालत पठाउने कार्य भइरहेको रानाले बताए।
यस्तै ज्यान मार्ने उद्योगमा फरार अभियुक्त मकवानपुर मनहरी गाँउपालिका ४ मसिने बस्ने वर्ष २० को गोबिन्द तितुङलाई पक्राउ गरी मकवानपुर जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशबाट थुनामा राख्न कारागार कार्यालय भिमफेदी पठाउने कार्य भइरहेको रानाले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले पुस महिनाको सर्बोत्कृष्ट प्रहरी ईलाका प्रहरी कार्यालय, बाह्रबिसे सिन्धुपाल्चोकमा कार्यरत प्रहरी निरीक्षक देबेन्द्र बहादुर शाहलाइ घोषणा गरेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवंम् थप हौसला प्रदान गर्ने उद्देश्यले पुष महिनाको महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको हो ।
विभिन्न मितिमा घटना घटाई फरार रहेका १६ जना अभियुक्तलाई पुष महिनामा पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको तथा ईलाका प्रहरी कार्यालय बाह्रबिसेको कार्यालय माथिबाट आएको पहिरो स्थानीय निकाय र स्थानीय ब्यक्तिहरुको समन्वय र सहकार्यमा हटाई पहिरो प्रभावित क्षेत्रमा रिटेन्सनवाल र कार्यालयको कम्पाउण्डमा मेशिनरीवाल निर्माण कार्य लगायतका कार्यहरुमा उल्लेखनीय भूमिका निर्वाह गरेकोले उचित मुल्यांकन गर्दै प्रहरी निरीक्षक शाह लाई छनौट समितिले पुस महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मिरा चौधरीले बताइन् ।
प्रहरी निरीक्षक शाह सहित पौष महिनामा उत्कृष्ट कार्य गर्ने १४ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन । अन्य १३ प्रहरी जना आआफ्नो कार्यालयको महिनाको उत्कृष्ट प्रहरी घोषणा भएका हुन ।
अनिल पराजुली/कतार
रोजगारीका लागि कतार आएका नेपाली श्रमिकहरु संग दूतावासले श्रमिक सुरक्षा एवं सचेतनामूलक अन्तक्रिया गरेको छ । नेपाली राजदूतावास दोहा कतारको भवनमा आयोजना भएको अन्तक्रिया कार्यक्रममा श्रमिकहरुको हक हित र सुरक्षा बारे छलफल भएको हो ।
कतारको दोहा स्थित अल डल्ला कन्ट्रयाक्टिङ कम्पनीमा कार्यरत ३० जना नेपाली महिला श्रमिक संग श्रमिक सुरक्षा बारे छलफल गरिएको थियो । वैदेशिक रोजगारीका सिलसिलामा कतार आउनु अघि र आए पश्चात यहाँको कानुन अनुसार गर्न हुने र गर्न नहुने कामहरुको बारेमा दूतावासले श्रमिक महिलाहरुलाई जानकारी दिएको थियो ।
कार्यक्रममा कतारका लागि नेपाली राजदूत डा. नारद नाथ भारद्वाजले विभिन्न पेशा, व्यवसायमा आवद्ध भएर कतारमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूले स्थानीय संस्कृति, धर्म र प्रचलित कानूनमा रहेर काम गर्न आग्रह गरेका थिए । उनले कतारमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई कतार सकारले कोभिड–१९ को संक्रमण रोक्न कतार सरकारद्वारा अवलम्बन गरिएका सुरक्षा र सतर्कताका अपनाउन समेत आग्रह गरेका छन् । उनले सबैले थप सजग र सुरक्षित हुनुपर्ने विषयलाई समेत जोड दिए ।

राजदूतावासले जारी गर्ने राहदानी र ट्राभल डकुमेन्ट लगायत कन्सुलर सेवाका बारेमा समेत श्रमिकहरुलाई जानकारी दिइएको थियो भने दूतावासले यस विषयमा सहभागीहरूले उठान गरेका विविध प्रश्नहरूको जवाफ दिएको थियो । सचेतना कार्यक्रममको उदेश्यबारे द्वितीय सचिव भुवन भट्ट, श्रमसँग सम्वन्धित बिषयमा श्रम काउन्सेलर कृष्णप्रसाद खनाल, राहदानी तथा ट्राभल डकुमेन्ट सम्बन्धी सेवाको वारेमा द्वितीय सचिव श्रृचा भट्टराईले श्रमिक महिलाहरुलाई जानकारी दिएका थिए ।
द्वितीय सचिव प्रवीण भट्टराईले संचालन गरेको कार्यक्रममा सहभागीहरुले उठाएका जिज्ञासाहरूको नियोग उपप्रमुख लक्ष्मण खनालले जबाफ दिएका थिए । कार्यक्रममा राजदूतावासका कूटनीतिक र स्थानीय कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।
हाल कतारमा करिव ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेका छन् ।
तस्विर सौजन्यः नेपाली राजदूतावास दोहा कतार
मकवानपुर / प्लान नेपालको आर्थिक सहयोग तथा राडो नेपालको सामाजिक सहजिकरणमा सञ्चालित समावेशी सुरक्षित विद्यालय प्रवर्द्धन कार्यक्रमको अनुगमन गरिएको छ ।
जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिका नगर शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमाल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि उद्वब दाहाल, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष सरिता दाहाललगायतको उपस्थितीमा कार्यक्रम लागु भएका विद्यालयहरुमा मंगलबार अनुगमन गरिएको हो । हेटौंडा उपमहानगरपालिका–१२ पान्तले स्थित बुद्ध माध्यमिक विद्यालय, हेटौंडा उपमहानगरपालिका–१४ बदेलधाप स्थित सुप्रभात आधारभूत विद्यालय र हेटौंडा उपहमानगरपालिका–५ स्थित बालज्योती माध्यमिक विद्यालयमा अनुगमन गरिएको हो ।
अनुगमन कार्यक्रममा बुद्धमाविका प्रध्यानाध्यापक किसन थापाले समावेशि सुरक्षित विद्यालय प्रवर्द्धन कार्ययक्रम अन्तरगत लागु भएका कार्यक्रमले विद्यार्थीहरुको सिकाइ उपलब्धीमा सकारात्मक सुधार आएको बताए । विद्यालयमा प्रशोधित शुद्ध पानीको व्यवस्था गर्न समस्या भइरहेकोमा संस्थाले युरोगार्डको व्यवस्था गरेपछि विद्यार्थी, शिक्षकहरु गरी झण्डै ८ सयजना लाभान्वित भएको प्रध्यानाध्यापक थापाले बताए ।

बुद्धमाविमा विद्यार्थी तथा शिक्षकको लागि शैक्षिक भ्रमण, अतितिक्त क्रियाकलाप, सरसफाइको सामग्री, छात्राहरुको लागि महिनावारी भएको समयमा आराम गर्ने कक्षाको व्यवस्थापनमा सहयोग गरिएको कार्यक्रम संयोजक राजु राउतले बताए ।
यसैगरी सुप्रभात आधारभुत विद्यालय प्रध्यानाध्याकप सीता तिवारीले संस्थाको सहयोगपछि विद्यालयको भौतिक तथा सामाजिक पाटोमा धेरै प्रगति भएको बताइन् ।
विद्यालयमा बाल क्लब गठन, नेतृत्व विकास, भुकम्पबाट बच्ने सीप सिकाई, सुरक्षित स्थानको छनौट जस्ता काम गरिएको तिवारीले बताइन् । यसैगरी विद्यालयमा बिद्युत जडान, खानेपानी, ह्वाइट बोर्डको व्यवस्था, सिलिङ फ्यानको व्यवस्थामा संस्थाले सहयोग गरेपछि विद्यालयको आकर्षण नै बढेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर मोक्तानले बताए ।

विद्यालयमा कक्षा १ देखि ८ सम्म गरी १ सय १३ जना विद्यार्थी रहेका छन् । पाँचजना महिला शिक्षक मात्रै रहेको यो विद्यालयमा तामाङ समुदायको मात्रै बालबालिकाहरु अध्ययनरत छन् ।
यसैगरी अनुगमन कार्यक्रममा बालज्योती माविका प्रध्यानाध्यपक भरतप्रसाद अर्यालले पनि संस्थाको सहयोगपछि विद्यालयको समाजिक तथा भौतिक क्षेत्रमा धेरै सुधार आएको बताए । बालज्योति माविमा छात्रामैत्री शौचालय निर्माण, शुद्ध पानीको व्यवस्थापन, प्राथमिक उपचारको लागि आवश्यक सामग्री, अतिरिक्त क्रियाकलापमा सहयोग गरिएको थियो ।
१८ जना दृष्टि विहिन छात्रछात्राहरु समेत अध्ययनरत यो विद्यालयमा दृष्टि विहिनहरुको अध्ययनमा सहयोग आवश्यक भएको राडो नेपालका सामाजिक सहजकर्ता राजु लम्सालले बताए । अनुगमन कार्यक्रममा सहभागी जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख पुडासैनी, नगर शिक्षा विकास महाशाखा प्रमुख रिमाल,जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि दाहाललगायतले विद्यालयको आवश्यकतालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकारबाट प्रदान गरीने सहयोग र गैरसरकारी संस्थाहरुले गर्ने सहयोगमा आपसी समन्वय भएका दोहोरापना नहुने र उपलब्धी प्रभावकारी हुने बताए ।
आगामी दिनमा विद्यालय र विद्यार्थीहरुको आवश्यकतालाई सम्बोधन गर्ने गरी काम गर्दा स्थानीय तहका जनप्रतिनिधिहरुसँग अनिवार्य रुपमा समन्वय गर्न पनि अनुगमनमा सहभागीहरुले सुझाव दिएका थिए । ३ वर्षको लागि सञ्चालित समावेशि सुरक्षित विद्यालय प्रवर्द्धन कार्यक्रम जनवरीको अन्त्यमा सकिदै छ । स्रोत केन्द्रले ताेकेको विद्यालयमा विद्यालयको आवश्यकता अनुसार काम गरिएको कार्यक्रमका सामाजिक सहजकर्ता लम्सालले बताए ।
मकवानपुर/मकवानपुरका अगुवा महिलाहरुले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशील सिंह राठौरलाई बिदाई गरेका छन् ।
मकवानपुर जिल्लामा प्रहरी प्रमुखको रुपमा रहेका राठौर जिल्लाबाट सरुवा भएर जानलाग्दा अगुवा महिलाहरुले जिल्लामा रहेर काम गर्दा आफूहरुसँग भएको समन्वयप्रति हार्दिकता जनाउँदै बिदाइ कार्यक्रम गरिएको भीमफेदी गाउँपालिका उपाध्यक्ष तथा अखिल नेपाल महिला संघ मकवानपुर अध्यक्ष पार्बती रानाले बताइन् । महिला तथा बालबालिकाकाे केसमा प्रहरी प्रमुख राठाैरले गरेकाे समन्वय प्रति रानाले खुसि व्यक्त गरिन् । बिदाइ कार्यक्रम प्रहरी प्रमुख राठौरले मकवानपुरमा रहँदा सबै पक्षको सहयोगको कारण नै प्रहरी सफल हुने बताए । आफ्नो कार्यकालमा महिला र बालबालिकामाथि ठुलाठुला अपरधिक घटना भएको र त्यस्ता घटनाका आरोपिलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई सकारात्मक सहयोग मिलेको उनले बताए ।
यसैगरी गाँजा फडानी, महिला बालबालिका माथिको हिंसा न्यूनीकरण गर्ने कार्यमा सहयोग मिलेको उनले बताए । “म आएपछि मात्रै ९१ जना युवा गाजाको कारण जेल पुग्न परेको छ, गांजाको कारण युवालाई जेल पु-याउने कि,गाजा नष्ट गर्ने” उनले भने “राजनीति तहका व्यक्ति गाजा नलगाउने कुरामा कन्भिन्स हुनुपर्छ ।”
कार्यक्रम जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर अध्यक्ष कल्पना श्रेष्ठले सहकारीहरु चोरीको आतंकमा रहेको बताउँदै सुरक्षा मजबुत बनाउन पर्ने बताइन् । कार्यक्रममा हेटौंडा–१० को जनप्रतिनिधि साधना श्रेष्ठले बसपार्क क्षेत्रमा सुरक्षा व्यवस्था अझै कडा हुनुपर्ने बताइन् ।

यसैगरी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले नेपाल प्रहरी संगठन सधैं कानुन संगत कदमको लागि लडिरहेको बताए । कार्यक्रममा शिक्षक संगठनका प्रतिनिधिहरु, स्थानीय टोल विकास संस्थाका प्रतिनिधिहरु, वडा सदस्यहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका सालिकराम पुडासैनी,सञ्चारकर्मीहरुले उपस्थिती रहेको थियो ।