मकवानपुर ।मकवानपुर प्रहरीले सुन व्यवसायीलाई अपहरण गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । असोज १० गते आइतबार बिहान ९ बजेकाे समयमा हेटौंडा–१० बासुदेव मार्गमा जे.एस. सुनचाँदी पसल सञ्चालन गर्दै आएका अन्दाजी ४० बर्षीय जितेन्द्र बिश्वकर्मालाई अपहरण गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ घर भई सुनचाँदी पसल सञ्चालन गर्दै आएका बिश्वकर्मालाई अपहरण गरेकाे आराेपमा हेटौंडा–१० का ३९ बर्षीय बिनोदलाल श्रेष्ठ, ३० बर्षीय अनिल लामा, हेटौंडा–५ का ३२ बर्षीय बुद्ध लामा र हेटौंडा–२ का २७ बर्षीय आदेश लामा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
बा २० च ८९६० नम्बरको सेतो कारमा आएका अपरिचित व्यक्तिहरुले विश्वकर्मालाई अपहरण गरी लगेको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा हेटौंडा–५ स्थित मकवानपुर रिकभरिङ समूहको कार्यालय अगाडीबाट उनीहरुलाई असाेज १० गते आइतबार विहान ११ः४० बजेकाे समयमा नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता रिमालले जानकारी दिए ।
अपहरणमा परेका विश्वकर्मालाई अपहरणुक्त गरी उक्त कार्यमा संलग्न रहेका ४ जना माथी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी जनाएको छ ।
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ । प्रशासनले विशेष गरी दसैँ, तिहार र छठलाई लक्षित गरी चाडपर्व सुरक्षा योजना ल्याएको हाे ।
नेपालीहरूको प्रमुख चाडपर्वको समयमा जिल्लाभित्र भरपर्दो शान्ति सुव्यवस्था कायम राख्न र कोभिड-१९ को सन्दर्भमा जनस्वास्थ्यका दृष्टिकोणले सुरक्षित रहँदै चाडपर्वहरू मनाउनु पर्ने बाध्यतात्मक परिस्थिति समेतलाई दृष्टिगत गर्दै सुरक्षा याेजना ल्याइएकाे जिल्ला प्रशासन कार्यालयले शुक्रकार प्रेस विज्ञप्ति जारी गरी जनाएकाे हाे । योजनाको कार्यान्वयनबाट सम्पूर्ण क्षेत्रमा सुरक्षित एवं भयरहीत वातावरणको प्रत्याभूती एवं जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्दै, गराउँदै हर्षोल्लासका साथ चाडपर्वहरू मनाउने तथा यात्रुहरुलाई एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न सहज वातावरणको सिर्जना हुने विश्ववास समेत प्रशासन कार्यालयले लिइएको छ ।
चाडपर्व लक्षित सुरक्षा योजनामा सार्वजनिक यातायातका साधनहरूमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रुहरू राख्न रोक लगाउनेदेखि चाडपर्वको समयमा यात्रुवाहक सवारी साधनहरूलाई बढी भाडा असुल्न नदिन सादा पोसाकमा प्रहरी परिचालन गर्ने योजना समेटिएका छन् । साथै सवारी साधनले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा तत्काल कानुनी दायरामा ल्याउने योजना जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको छ ।
लोक मार्गमा हुनसक्ने दुर्घटना, चक्काजाम, बन्दलाई मध्यनजर गर्दै निर्वाधरूपमा सवारीसाधन सञ्चालन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली २४ सैं घण्टा स्टेण्डवाई राखिने छ भने यात्रुहरूलाई आवतजावतका क्रममा ठगिन तथा विभिन्न किसिमका हैरानी खेप्न नदिन हेटौडा उपमहानगरपालिका एरियाको बसपार्क र चौकीटोल सुमो काउन्टरमा ट्राफिक सहितको चार्ड पर्व लक्षित नागरिक सहायता कक्ष स्थापना गरी यात्रुहरूलाई आवश्यक सहयोग गर्ने योजना रहेको छ ।
यस्तै मर्मत गर्नुपर्ने सडकहरू समयमा नै मर्मत गर्न पालिकाहरूलाई अनुरोध गर्नुका साथै जिल्लास्थित राष्ट्रिय सडक एवं आफ्नो अधिकार क्षेत्रभित्रका सडकहरू समयमा नै मर्मत गर्न सडक डिभिजन कार्यालय, मकवानपुरलाई अनुरोध गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले सार्वजनिक सवारी साधनहरूको टिकट सर्वसुलभ रूपमा उपलब्ध हुने व्यवस्था मिलाउने, अवैध चिज वस्तुको ओसारपसार नियन्त्रण गर्ने तथा त्यस प्रकारका वस्तुहरू ओसारपसार हुनसक्ने नाकाहरूमा विशेष निगरानी राख्ने जनाएको छ ।
जिल्लाको प्रवेश नाका तथा मुख्य–मुख्य चेक प्वाइन्टहरूमा कडाइका साथ चेकजाँचको व्यवस्था मिलाउनेदेखि राजमार्गमा सार्वजनिक यातायातका सवारी साधनहरू एवं यात्रुहरूलाई भरपर्दो सुरक्षा प्रदान गर्न जिल्ला प्रहरी कार्यालय, मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल, नं. १४ गण, मकवानपुरले संयुक्त रूपमा गस्ती गर्नुका साथै रातको समयमा समेत गस्तीको व्यवस्था मिलाउने योजना रहेको छ ।
प्रशासन कार्यालयले बजारमा खाद्यान्न, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक उपभोग्य वस्तुहरूको आपूर्ति र विक्री वितरणलाई सहज बनाई राख्न सरोकारवालाहरूसँग नियमित समन्वय गर्ने जनाएको छ ।
बजारमा कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्य वृद्धि जस्ता क्रियाकलापलाई नियन्त्रण गर्ने र कानुन विपरीतका क्रियाकलाप गर्नेलाई कानुनी दायरामा ल्याउने,घरेलु मदिरा उत्पादन तथा बेचबिखनमा रोक लगाउने र जुवा तास, कौडा खेल्ने लगायतका गैर कानुनी क्रियाकलापहरू नियन्त्रण गर्ने प्रशासनको भनाई छ ।
चाडबाडका बेला प्रयोग गरिने पटका, आतिशबाजी लगायतका विस्फोटक पदार्थको आयात, ओसार पसार, विक्री वितरण एवं प्रयोगलाई नियन्त्रण गरिनेछ भने जिल्ला प्रहरी कार्यालय, मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल, मकवानपुरले बजार इलाकामा थप पिकेट डिउटी तथा निरन्तर गस्ती पट्रोलिङको व्यवस्था मिलाइने छ ।
राजमार्ग छेउछाउका होटेलहरूको नियमित अनुगमन गरी दूषित खाद्य पदार्थको विक्री वितरण एवं अधिक मूल्य लिने कार्यलाई नियन्त्रण गर्ने योजना पनि मकवानपुर प्रशासनले अघि सारेको छ ।
यसैगरी मठ मन्दिर लगायत अन्य धार्मिक स्थलहरूमा जनस्वास्थ्यका मापदण्ड अवलम्बन गरी भिडभाड नहुने सुनिश्चितता गरी सहज वातावरणमा पूजाआजा गर्ने व्यवस्था सम्बन्धित पक्षले मिलाउने जनाउँदै धार्मिक स्थानहरूमा भिडभाडको समयमा गरगहना लुटपाट तथा चोरी हुने कार्यलाई नियन्त्रण गर्ने भनेको छ ।
कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सबै प्रकारका मेला, महोत्सव, साङ्गीतिक कार्यक्रम, चिट्ठा विक्री वितरण एवं खोल्ने कार्यमा पूर्ण रूपमा रोक लगाउने तथा तिहारको अवसरमा खेलिने देउसी भैलोलाई व्यवस्थित गर्न समय निर्धारण गरिने भएको छ ।
चाडपर्वको मौका छोपी तस्करी, निषेधित पदार्थ ओसारपसार, दुर्व्यसनी लगायतका अवैध एवं गैर कानुनी क्रियाकलापहरू नियन्त्रण गर्न विशेष योजना अघि सारेको जनाउँदै चाडपर्वको मौकाको फाइदा उठाउँदै हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन, ओसारपसार लगायतका अन्य क्रियाकलापहरू नियन्त्रण गर्ने प्रशासनको भनाई छ ।
मकवानपुर । प्रहरी सहायक निरीक्षक (असई) नविन बिक्रम थापा भदाै महिनाकाे उत्कृष्ट प्रहरी भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाभरिबाट उत्कृष्ट काम गर्ने १ जना प्रहरीलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै आएकाेमा भदाै महिनाकाे उत्कृष्ट प्रहरी थापा भएका हुन् । थापा प्रहरी चौकी सुनाचुरीमा कार्यरत छन्।
थापाले लागुऔषध मुद्दामा फरार अभियुक्तलाई पक्राउ,अपहरण गरी भारत लगिएका दुई युवालाई सकुशल उद्धार,लागुऔषध गाँजासहित मानिस पक्राउ गर्न भूमिका निर्वाह गरेको,जवरजस्ती करणी मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको, ओसारपसार नियन्त्रणमा उत्कृष्ट कामगरी आम जनताको गुनासोलाई प्रभावकारी ढङ्गबाट समाधान गर्न सफल रहेको लगायतकाे कार्यकाे मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाभरिबाट प्रहरी सहायक निरीक्षक थापालाई भदौं महिनाको उत्कृष्ट प्रहरी घोषण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरद्वारा जारी पत्रमा उत्कृष्ट कार्य बापत उत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले सरकारी कागज छाप दस्तखत किर्ते तथा डाँका मुद्दाका फरार प्रतिवादी २ जना पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सरकारी कागज छाप किर्ते मुद्दाका फरार प्रतिवादी हेटाैडा १७ का रामलाल मानन्धर र डाँका मुद्दाका फरार प्रतिवादी हेटाैडा ९ का दिप सागर मिजार रहेका छन् ।
मकवानपुर जिल्ला अदालतको २०७० साल जेठ २३ गतेको फैसलाले सरकारी कागज छाप दस्तखत किर्ते मुद्दामा १ बर्ष ५ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी मानन्धरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले असाेज ७ गते विहीबार साविक हटिया गा.बि.स. वडा नं. ३ हाल हेटाैडा १७ स्थितबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
यसैगरी मकवानपुर जिल्ला अदालतको २०७७ साल फागुन ५ गतेको फैसलाले डाँका मुद्दामा ३ महिना ४ दिन कैद र २० हजार रूपैया जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी मिजारलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले असाेज ७ गते विहीबार हेटाैडा ९ बाट पक्राउ गरिएकाे कमवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाईआवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत मकवानपुर उपस्थित गराईएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध अफिम जस्तो देखिने बस्तु २ किलो १ सय ग्रामसहित १ जनालाई प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिकाका राजन मोक्तान रहेका छन् ।
शुक्रबार बिहान ९ बजेको समयमा भीमफेदी गाउँपालिकाको भैंसेस्थित प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा कैलाश-२ का २१ वर्षीय मुक्तानलाई सुरक्षाजाँच गर्ने क्रममा लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित भैंसे बजारबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका राजनलाई प्रहरीले हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैगरी मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिकमा ३ हजार गाजाँकाे बिरूवा नष्ट गरेकाे छ । असाेज ८ गते शुक्रबार ३:४५ बजेको समयमा प्रहरी चौकी चैनपुर राक्सिराङबाट प्रहरी सहायक निरीक्षक दिपकराज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले उक्त परिणामकाे लागु औषध गाँजाकाे बिरूवा नष्ट गरेकाे हाे ।

राक्सिराङ वडा नं. ३ झिल्किनीबाट पलासे तर्फ गई रहेको नम्वर नखुलेको मोटरसाइकलमा रहेका व्यक्तिले गस्ती प्रहरी टोलिलाई देखि मोटरसाइकलमा ल्याएको २ वटा सेतो बोरा फालि भागेको थिए । प्रहरी टाेलीले उक्त बोरा खोली हेर्दा बोरा भित्र करिब ३ हजार वटा लागुऔषध गाँजाको बिरुवा फेला पारी नष्ट गरिएको मकवानपुर प्रहरीले जनाएकाे छ । उक्त बिरुवा ल्याउने ब्यक्तीको खोजतलाश गर्ने कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।