मकवानपुर । मकवानपुर जिल्लामा म्यादी प्रहरीमा १ हजार ४ सय ७३ जना छनौट भएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि मकवानपुर उक्त संख्यामा म्यादी प्रहरी भर्नाको लागि छनौट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत चैत १५ गतेदेखि २१ गतेसम्म संचालित शारीरिक तन्दुरुस्ती, स्वास्थ्य परीक्षण, लिखित परीक्षा तथा अन्तर्वार्ताबाट सफल भएका १ हजार ४ सय ७३ जना परिक्षार्थीहरुको नामावली सार्वजनिक गरेको हो । म्यादी प्रहरीको लागि ३ हजार ७ सय ३७ जनाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आवेदन दिएका थिए । आवेदक मध्ये २ हजार ५ सय ९६ जना पुरुष तथा १ हजार १ सय ४१ जना महिलाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ सय ९५ जनाको नाम बैकल्पिकमा निकालेको छ । छनौट भएका उम्मेदवारहरुले नियुक्ति पत्रको लागि सक्कल नागरिकता र सक्कल प्रवेश पत्रसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सम्पर्ककाे लागि सूचना गरिएको छ । म्यादी प्रहरीमा छनौट भएकाहरुलाई चैत २४ गते र २५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म नियुक्ति दिइने भएकाे छ ।
यस्तै, म्यादी प्रहरीको तालिमको लागि पुरुषलाई ट्रयाक सुट वा गेम ड्रेस र महिलाको हकमा कुर्ता सुरुवाल वा गेम ड्रेस अनिवार्य गरिएको छ । म्यादी प्रहरीहरुको चैत २८ गतेबाट तालिम सुरु हुनेछ ।
यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीद्वारा बिद्यालमा तोडफोड,पीडितलाई सुरक्षा चुनौती
Tags: No Comments
मकवानपुर/ पुर्वीमकवानपुर एउटा बिद्यालयमा बिद्यार्थीहरूले तोडफोड गरेर क्षति पुर्याएका छन् ।
आफूहरूमाथि शिक्षकहरूले यौन दुर्व्यवहार गरेको भन्दै मकवानपुर जिल्ला बागमती गाउँपालिका वडा नम्बर ८ मा रहेको जनता माविका बिद्यार्थीहरू तोडफोडमा उत्रेका हुन् । घटना सार्बजनिक भएपछि आफूहरूमाथी सुरक्षा चुनौती भएको पीडितहरूले बताएका छन् ।
जनता माबिका शिक्षकहरू रुद्रबहादुर विक, हेमबहादुर विक र लोकबहादुर विकले फापरबारी-३ का छात्राहरूलाई लामो समयदेखि लगातार यौन दुर्व्यवहार गरेको भन्दै बिद्यालय प्रशासनसमक्ष निवेदन दिएका थिए । निवेदनपछि बिद्यालय प्रशासनले राखेको छलफलमा आफूहरूलाई चित्त नबुझेपछि तोडफोड गरेको छात्राहरूले बताएका छन् ।
बिद्यालयका ३ जना शिक्षकले कक्षाकोठामा रहँदा गलत नियतले संबेदनसिल अंगहरूमा छुने, अपशब्द बोल्ने गरेको बिरुद्व कक्षा ९, १० र ११ मा अध्ययनरत छात्राहरूको आरोप छ । सरहरूको कक्षामा बेन्चको छेउमा समेत बस्न डरमर्दो हुने गरेको छात्राहरूको भनाई छ।
अफूहरूलाई शिक्षकहरू व्यवहार असह्य भएपछि छात्राहरूले १४ चैतमा शिक्षक रुद्रबहादुर विक, हेमबहादुर विक र लोकबहादुर विकविरुद्ध विद्यालयमा निवेदन दिएका थिए।
निवेदनपछि छलफल गर्न मंगलबार विद्यालय परिसरमा बैठक बसेको थियो। बैठकमा भएको छलफलमा चित्त नबुझेको भन्दै विद्यार्थीहरूले विद्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेका प्रधानाध्यापक बसन्त राईले जानकारी दिए।
तोडफोड पछि विद्यालयमा सुरक्षा दिइरहेको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुंगेलीका अनुसार शिक्षकहरू बिदामा रहेकाले पक्राउ गर्न सकिएको छैन । यसबारे जिल्ला प्रहरी कार्यालय मकवानपुर सहीत जिल्लाका अधिकारकर्मी संघसंस्थामा उजुरी प्राप्त भएको बताईएको छ ।
मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले विद्यालयमा तोडफोड भएको खबर आएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी परिचालन गरिएको बताए।
तोडफोडबाट १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रध्यानाध्यापक राईले बताए । आफूहरूलाई नियमितरूपमा दुर्व्यवहार भएपछि आन्दोलनमा उत्रेर बिद्रोह गर्नु परेको विद्यार्थीहरूले बताएका छन् । घटनाबारे आज कार्यालयमा जानकारी प्राप्त भएको र यसबारे अनुसन्धान भइरहेको सिविन बाल हेल्पलाईन मकवानपुरले जनाएको छ । घटनाबारे मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको जिल्ला सन्जालले पनि आफ्नो ध्यानाकर्षण भएको र घटनाबारे भोलि स्थलगत रूपमा अनुसन्धानको काम सुरू गर्ने बताएको छ ।
स्थानीय शिक्षक र स्थानीय विद्यार्थी भएकोले पनि उजुरीपछि उनीहरूले सुरक्षित रहन डर भएको बताए । “हामीलाई समर्थन गर्दै दुर्व्यवहार विरुद्धमा आवाज उठाउने अरू साथीहरू र सरहरूलाई पनि गाउँमा बस्न डरमर्दो भो” एक छात्राले भनिन् “हामीले गलत कदमलाई गलत भनेका हौ, ति सरहरूलाई कारवाही होस् ।”
जनता माबि हेटौंडाबाट ६५ किमी पुर्वमा पर्दछ ।
मकवानपुर । बिकासको पुर्वाधार अन्तरगत अनिवार्य मानिने विद्युतीय सेवाको धेरै अपेक्षा गरे उनीहरूले । उनीहरू अर्थात मकवानपुर जिल्लाको बिकट राक्सिराङ्ग गाउँपालिका, यसै पालिकाको बिकट वडा ९ का चेपाङहरूले ।
राक्सिराङ गाउँपालिका–९ पार्सिबाङ रुन्चेबुङमा पहिलोपटक बत्ती पुगेको छ तर विद्युतीय लाइन हैन । अति सिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिका–९ को पार्सिबाङ रुन्चेबाङमा मुख्य लाइन अझै जडान हुन नसक्दा पेल्ट्रिक सेटमार्फत बिजुली पुर्याइएकाे हाे ।
बिजुली नभएकोले त्यहाँका चेपाङहरु सल्लाको दियालो बालेर घरलाई उज्यालो पार्ने गर्थे । गाउँमा बत्ती बाल्न पेन्ट्रिक सेट उद्घाटन भएसँगै त्यहाँका चेपाङको घरको अध्यारो हटेको छ । सामुदायिक सशक्तीकरण तथा सामाजिक न्याय सञ्जाल र गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीयको श्रमदानमा बनेको पेन्ट्रिक सेट उक्त स्थानमा सञ्चालनमा ल्याईएको छ । ४ किलोवाट क्षमताको पेन्ट्रिक सेट (हाइड्रोपावर) सञ्चालनमा आएसँगै स्थानीय चेपाङ हर्षित भएका छन् ।
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार गाउँमा अहिलेसम्म विद्युत प्राधिकरणमार्फत बिजुली बत्ती पुगेको छैन । गाउँपालिकाको केहि स्थानमा यस्तै पेन्ट्रिक सेट सञ्चालन गरेर बत्ती बालिएको छ भने कतिपय स्थानका चेपाङ समुदाय अझैपनि अध्यारोमा नै बस्न बाध्य छन् । अध्यक्ष मल्लले गाउँपालिका भरिमा करिव २० वटा पेन्ट्रिक सेट सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार सो पेन्ट्रिक सेटबाट केहि वडाका घरधुरीलाई बत्ती पुगेको भएपनि अझै केहि वडा अध्यरोमा नै बस्न बाध्य छन् ।
कुल २३ लाखमा जडान भई सञ्चालनमा आएको पेन्ट्रिक सेटको लागि सामुदायिक सशक्तीकरण तथा सामाजिक न्याय सञ्जालले १३ लाख सहयोग गरेको थियो भने गाउँपालिकाले ६ लाख रुपैयाँ खर्चिएको छ । बाँकी ४ लाख रुपैयाँ बराबरको स्थानीय बासिन्दाले श्रमदान गरे । २०७७ सालको पुसबाट सुरु भएको निर्माण कार्य १६ महिनामा सम्पन्न भएर सञ्चालनमा आएको सञ्जालका कार्यकारी निर्देशक प्रविन्द्र शाक्यले जानकारी दिए ।
राक्सिराङ-९ का वडाध्यक्ष रामकुमार बाल्पा थिङकाे अध्यक्षतामा भएकाे पेल्ट्रिक सेट उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैला, ८ नम्बर वडाध्यक्ष रामकृष्ण प्रजा, नेपाली कांग्रेस राक्सिराङ सभापति विरेन्द्र जिम्बा, मानव अधिकार सञ्जाल मकवानपुरकी माया लामा, हिमराइट्स मकवानपुरकी कार्यक्रम संयाेजक कुमारी वाइबालगायतकाकाे आतिथ्यता रहेकाे थियाे ।
गाउँमा बत्ति पुगेपछि आफूहरूको दैनिकीमा सहजता आउने भन्दै चेपाङहरूले खुसी ब्यक्त गरेको गाउंपालिका अध्यक्ष मल्लले बताए ।
मकवानपुर । मकवानपुरको भीमफेदीमा १ जनाकाे झुण्डिएर मृत्यु भएकाे छ । मकवानपुर प्रहरीका अनुसार भीमफेदी गाउँपालिका ६ की २१ वर्षीय सपिता गाेले झुण्डिएकाे अवस्थामा मृत फेला परेको हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार गोले आइतबार साँझ आफ्नै घरको दक्षिणतर्फ रहेको बारीको दुधिलोको रुखमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थमा मृत फेला परेकी हुन् ।
मकवानपुर/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले ट्रकमा ९० किलो लागुऔषध गाँजा ओसार्दै गरेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले मकवानपुर मनहरी गाउँपालिका ६ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डबाट ट्रक सहित व्यक्ति नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्त प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार चितवन जिल्लाबाट मकवानपुर मनहरी तर्फ आउदै गरेको BR-25GA3092 नम्बरको भारतिय ट्रकलाई नियन्त्रणमा लिएको हो ।
उक्त ट्रकको क्याविनको भागमा फल्स बटम बनाई गाँजा लुकाई ल्याएको फेला परेको रिमालले बताए । ट्रकका चालक भारत मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षिय असगर अलिलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।