मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नम्बर १८ घर आगलागी हुँदा जलेर नष्ट भएकाे छ । हेटौडा -१८ हर्नामाडी भोर्ले आँपखोलामा १ घर जलेर नष्ट भएकाे हाे । हेटौंडा–१८, भोर्लेस्थित जंगबहादुर गुरुङको घर आगलागीले जलेर नष्ट भएको छ ।
शुक्रबार दिउँसो साढे ३ बजेको समयमा घर नजिकैको बाँसको झाङमा लगाएको आगो सल्किएर गुरुङको पराल राखिराखेको दुई तल्ले काठको घर आगले नष्ट भएको छ हेटौडा १८ नम्बर वडा सदस्य योगराज खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार आगलागी भएकाे घर आवासका लागि प्रयोग नगरिएको हुनाले मानवीय क्षति भने भएकाे छैन् ।
आगलागी स्थानीय युवा र हेटौंडा उपमहानगरपालिकाको बारुणयन्त्रले करिब १ घण्टामा नियन्त्रणमा लिएकाे बताइएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषधसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । मकवानपुरकाे छुट्टाछुट्टै स्थानबाट २ जना भारतीय नागरिक सहित अन्य ३ जनालाई लागुऔषाधसहित प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे छ ।
हेटौंडा–१ स्थित चौकीटोलबाट प्रहरीले लागुऔषध वनरेक्स २ सय ४० बोतल (प्रति बोतल १ सय एमएल), डाइजेपाम १३ बट्टा (प्रति बट्टा ५० एम्पुल), नोरफिन ६ बट्ट (प्रति बट्टा १ सय एम्पुल), फेनारगन १ सय २० पत्ता (प्रति पत्ता ५ एम्पुल) सहित २ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । बिहिबार विशेष सूचनाको आधारमा वीरगंजबाट काठमाडौं जादै गरेको भारतीय प्लेट नम्बर भएको बोलेरो गाडीलाई हेटौंडा–१ चौकीटोलमा प्रहरीले जाँच गर्दा बोलेरो चालक भारतको सिवान जिल्ला पन्चायत–५ का २६ वर्षीय अमित कुमार र गाडीमा सवार सोहि स्थानका २३ वर्षीय अनिल कुमारलाई उक्त परिमाणकाे लागुऔषधसहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी लागुऔषध नाईट्राभेटसहित ३ जनालाई हेटौंडा उपमहानरगपालिका वडा नम्बर १५ चुरियामाई मन्दिरस्थितबाट मकवानपुर प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिहिबार वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ह १३७२ नम्बरको अटोलाई सुरक्षाजाँच गर्दा अटोमा लुकाई छिपाई ल्याएको लागुऔषध नाईट्राभेट २ सय ९९ ट्यावलेट फेला पारि ३ जनालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा कन्चनपुर जिल्ला भिमदत्त नगरपालिका–१८, भगतपुर घर भई हाल नवलपरासी गैंडाकोट नगरपालिका–१ ब्रिटिशक्याम्प रोड बस्ने २७ वर्षीय सन्तोष सिंह, अटोमा सवार चितवन जिल्ला भरतपुर महानगरपालिका–२ क्षेत्रपुर बस्ने बर्ष ३५ वर्षीय ईश्वर श्रेष्ठ र अटोमा सवार सोहि ठाँउका ३४ वर्षीय रमेश घले रहेको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित नियन्त्रणमा लिइएका ५ जनालाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौडा उपमहानगरपालिकाकाे छ्ट्टाछ्ट्टै स्थानबाट लागू औषध गाँजा सहित ६ जनालाई नियन्त्रणमा लिएकाे छ । हेटौडकाे राताेमाटे थानाभर्याङ्ग र नेवपारपानी क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।
चैत १८ गते हेटौडा १५ स्थित प्रहरी चौकी राताेमाटेले सडकखण्डमा हेटौडाबाट राताेमाटे जादै गरेकाे ना ७ ख ६८३९ नम्बरकाे ट्रक टेलरलाई चेकजाच गर्दा २ किलो ९ सय ग्राम लागुऔषध गाँजा बरामद गरेकाे छ । ट्रक चालक हेटौडा ८ बस्ने ३४ वर्षिय सुजन कुमार श्रेष्ठ र ट्रकमा सवार हेटौडा ७ का ३१ वर्षिय सन्ताेष श्रेष्ठलाई उक्त परिमाणकाे गाँजा र ट्रक सहित नियन्त्रयमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
यस्तै चैत १७ गते अस्थायी प्रहरी पोष्ट हेटौडा ११ थानाभर्याङबाट खटिएकाे प्रहरी टाेलीले थानाभर्याङबाट सिमलटारतर्फ जादै गरेकाे ना ३१ प ६९५६ नम्बरकाे माेटरसाइकललाई चेकजाँच गर्दा माेटरसाइकल चालक सुबाेध बानिया र पछाडी सवार संजय विककाे साथबाट ४ सय १३ ग्राम लागुऔषध गाँजा फेला पारी नियन्त्रणमा दिएकाे हाे । हेटौडा १८ का २१ वर्षिय बानिया र हेटौडा ११ का २६ वर्षिय विकलाई उक्त परिमाणकाे गाँजा र मोटर साइकल सहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जनाकारी दिए ।
यसैगरी चैत १६ गते इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएकाे गस्तीले हेटौडा १९ गुम्बाचाेक स्थित हेटौडा नारायणगढ सडकखण्डकाे गुम्बाचाेकमा प्रदेश ३-०३-००१ ह १८९ नम्बरकाे अटो चेकजाँच गर्दा २ किलाे ५ सय ग्राम लागू औषध गाजाँ फेला पारेकाे हाे । उक्त परिमाणकाे गाँजा सहित अटो चालक हेटौडा १९ बस्ने २२ वर्षिय सुशील थाेकर र अटोमा सवार हेटौडा १९ कै २३ वर्षिय सुशील गाेलेलाई नियन्त्रणमा लिइएकाे घिमिरेले बताए ।
पक्राउ परेका ६ जना तथा सवारी साधन समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकेा मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर । नाम बुद्धीरानी चेपाङ । उमेर ११४ वर्ष । ठेगाना मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका –७ छगुङ । कटुसले बारीएकाे सानाे कटेराे उनकाे घर ।
आफ्नाे आँगनमा आएपुगेका गाउँपालिका अध्यक्षलाई नियालेर हेरीन् । गाउँपालिका अध्यक्षसँगै आएकाहरुले उहाँ हाम्राे गाउँपालिकाकाे अध्यक्ष राजकुमार मल्ल भनेपछी हात जाेडेर नमस्कार गरिन बुद्धीरानीले । बुद्धरानी आँखा, राम्ररी देख्दीनन् । कान पनि उस्ताे स्पष्ट सुन्न सक्दिनन् । गरिबी र विपन्नता उनकाे अभिश्रप बन्याे । सन्तान नभएपछि सौतेनी नातिनी ज्वाईंको सहारामा बाँचिरहेकी छन् उनी । चेपाङ भाषामा बाहेक अन्य भाषामा कुराकानी गर्न नजान्ने बुद्धरानी ओछ्यानमै थलिएको लामो समय भइसक्यो । आफ्ना सन्तान नभएपछि उनी बिगत १५ वर्षदेखि सौताकी नातिनी ज्वाईं जतनलालको सहारामा जीवन कटाइरहेकी छन् ।
उनको पाखो बारीमा हुने उब्जनीले ३ महिना पनि खान पुग्दैन । बारीको उब्जनीबाट खान नपुग्दा बुद्धरानीका नातिनी ज्वाईं जतनलालले ज्याला मजदुरी गरी कमाएर मुस्किलले सासुआमासहित ९ जनाको परिवार पाल्दै आएका छन् । गरिबी र विपन्नताको चपेटामा झण्डै सवा सताब्दी कटाइसकेकी उनै बुद्धरानी र उनको परिवारलाई भेट्न गाउँपालिका अध्यक्षसहितको टोली समस्या बुझ्न घरमा आइपुगेका थगिए । गाउँपालिकाका अध्यक्ष आउँदै गरेको थाहा पाएर जतनलालले आफ्नी सासुआमालाई कटुसले बारिएको कटेरोबाट उठाएर टिनको छानोयुक्त घरतिर सारे ।
फिजिसिएन डाक्टरसहितको टोलीद्धारा स्वास्थ्य जाँच गरी आवश्यक औषधि र पोषण सामाग्रीसमेत पाएपछि बुद्धरानीका मुजा परेका गालामा खुसीका धर्साहरु देखिए । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले ओड्ने कम्मल, फलफूलसहित विभिन्न प्रकारका पोषण सामाग्री हातमा राखिदिँदा बुद्धरानीले खुसीका आँसु झार्दै चेपाङ भाषाबाटै भनिन् ‘मैले यति धेरै कुरा पाएँ अब तिमीलाई म के दिउँ त ?’ जवाफमा मल्लले हास्दै भने–‘तपाईले केही दिनु पर्दैन आमा, आशीर्वाद दिए पुग्छ ।’ चेपाङ र नेपाली भाषाबाट भइरहेको संवादमा दोभाषेको भूमिकामा थिए ७ नम्बर वडाध्यक्ष रामबहादुर प्रजा ।
नागरिकता विहीन उनले सामाजिक सुरक्षा भक्ता पाएकी छैनन् । नागरिकता नभएकै कारण ज्येष्ठ नागरिक भत्तासमेत नपाएकी बुद्धरानीलाई गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले अब आफ्नै तलब भत्ताबाट मासिक २ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दै तत्काल २ हजार रुपैयाँसमेत हातमा थमाए ।
गाउँमै नागरिकताको टोली ल्याएर बुद्धरानीसहित नागरिकताबिहीनको नागरिकता बनाई भत्ता दिलाइदिने प्रतिवद्धतासमेत जनाए । कटुसको झुप्रोमा राख्ने गरेको थाहा पाएका गाउँपालिका अध्यक्ष मल्लले सासु आमालाई राम्रो स्याहार सुसार र हेरचाह गर्न उनका नातिनी ज्वाईंलाई सम्झाए । नियमित मासिक २ हजार रुपैयाँसहित आवश्यक खाद्यान्न र कपडाहरु नियमित उपलब्ध गराउने प्रतिवद्धता पनि उनले जनाए ।
बुद्धरानी जस्तै ज्येष्ठ नागरिकको समस्या सुन्ने र उनीहरुको स्वास्थ्य र पोषणमा ध्यान दिँदै घरमै डाक्टर बोकेर पुग्ने, बिरामी असक्तलाई घरमै स्वास्थ्य तथा अन्य सेवा दिनुका साथै गाउँटोलमै स्थानीय तहले दिने सेवाहरु लिएर जाने अभियान सञ्चालन गरेको राक्सिराङ गाउँपालिकाले आम गाउँबासीबाट स्याबासी पाइरहेको छ । एकीकृत घुम्ती शिविरमार्फत गाउँटोलमै सेवा दिन राक्सिराङ ६ र ७ नम्बर वडामा पुगेको गाउँपालिकाको टोलीले एक दर्जन ज्येष्ठ नागरिकलाई भेटघाट गरी उनीहरुको स्वास्थ्य उपचारसमेत गरेको छ ।
शिविरमार्फत ज्येष्ठ नागरिक भेटघाट, स्वास्थ्य परीक्षण र औषधि वितरण, पोषण सामाग्री वितरण, स्वास्थ्य जाँचसहित कृषि पशुपंक्षीका सेवा प्रदान गरिएको थियो । ‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ गाउँबासीमा सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यले गाउँपालिकाले गाउँटोलमै पुगी सेवा सञ्चालन गरिरहेको छ ।
एकीकृत शिविरमार्फत घरघरमै पुगी बिरामी जाँचदेखि योजना अनुगमन र स्थलगत रुपमै भुक्तानीसम्मका सेवा प्रदान गरिरहेको छ । राक्सिराङ ७ स्थित जुरेथुममा एमबिबिएस डाक्टरसहितको स्वास्थ्य सेवा र निशुल्क औषधि वितरणका साथ स्थानीयलाई तरकारीका बिउ वितरण, पशुका रोगविरुद्धको औषधिसमेत निशुल्क उपलब्ध गराइएको थियो ।
खरको छानोमुक्त अभियान सञ्चालन गरेको गाउँपालिकाले खरको छाना भएका परिवारलाई घरमै पुगी जस्तापातासमेत वितरण गरेको थियो । बिजुली बत्तीको पहुँच पुगिनसकेको राक्सिराङ ७ का २३ परिवारलाई मंगलबार नै गाउँपालिकाले सोलार प्यानलको सेटसमेत गाउँपालिकाले प्रदान गरेको छ । ६ नम्बर वडामा महिला उद्यमशीलता तालिम सञ्चालन गर्नको लागि गाउँमा नै ६ थान सिलाई मेसिनसमेत पु¥याइएको थियो ।
जुरेथुममा आयोजित स्वास्थ्य शिविरमा गर्भवतीको भिडियो एक्सरे सेवादेखि क्षयरोग परीक्षणको लागि खकारको नमूना संकलनसमेत गरिएको राक्सिराङ अस्पतालका सिनियर अहेब यमप्रसाद गौतमले जानकारी दिए । एकीकृत शिविरमै व्यवसाय दर्ता, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण, गरिब घरपरिवार परिचयपत्र वितरणसमेत गरिएको थियो । यसअघि ४ र ९ नम्बर वडामा छुट्टाछुट्टै शिविर सञ्चालन गरिसकेको गाउँपालिकाले वडा नम्बर १ र २ का लागि राक्सिराङ १ दुङ्गुमा चैत २२ गतेलाई एकीकृत शिविरको कार्यक्रम तय गरेको छ । ३ र ५ नम्बर वडाका नागरिकलाई चैत १८ गते घरघर पुगी सेवा दिने कार्यक्रम तय गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
गाउँगाउँमा सिंहदरबार भन्ने भनाइलाई चरितार्थ पार्नकाे लागि पनि गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्षहरुले स्थानीयवासीहरुकाे समस्यामा मल्हम पट्टी गर्नु उनीहरुकाे दायित्व हाे । स्थानीय गैरसरकारी संस्थाहरुकाे समन्वयमा समेत बेला बेलामा विभिन्न सचेतानामुलक, शैक्षिक कार्यक्रम गर्ने गरिएकाे अध्यक्ष मल्लले बताए ।
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
चैत १५ गते बुधबार बिहान ४ बजेको समयमा बा २५ प १९०८ नम्बरको मोटरसाइकलले धरान हेटौंडा सडक खण्डको बागमती ८ साततलेमा बकैया ८ खजुरीदमारका ५० वर्षीय दिल बहादुर स्याङ्तानलाई ठक्कर दिदा घाइते भएका थिए । फापरवारीबाट हेटौंडा जादै गरेको उक्त मोटरसाइकलको ठक्करबाट घाइते स्याङ्तानलाई उपचारको लागि हेटौंडा अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय फापरवारीका प्रहरी बरिस्ठ नायब निरीक्षक बिदुरचन्द्र अधिकारीले जानकारी दिए ।
घाइते स्याङ्तानलाई बिहान ६:१० बजे हेटौंडा अस्पताल ल्याउदा डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोटरसाइकल चालक सम्पर्कमा नरहेको तर मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भइरहेको छ ।