मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर बगाउँदा १ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।
सोमबार रातिदेखि परेको अबिरल वर्षाको कारण मंगलबार साउन २३ गते बिहान ४ बजेको पहिरोले घर बगाउँदा ७ जना पुरिएको र एक जनालाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
पहिरोमा परी घाइते सन्त माया स्यांतानलाई स्थानीयले उद्दार गरी स्थानिय स्वास्थ्य सस्थामा लगेकोमा उपचारको क्रममा बिहान ८:३० बजे मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
पहिरोमा परी बागमती गाउँपालिका-५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनकी २२ वर्षीया छोरी शिला पहरी , ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती ४ वर्षीय मिलन पहरी, साढे १ वर्षकी नातिनी दिब्या पहरी र सिन्धुली हरिहरपुर गाउँपालिका-१ कोकटीका अन्दाजी १६/१७ वर्षका पासाङ घिसिङ (पाहुना) बेपत्ता भएका छन् ।
बेपत्ता भएका ६ जनाको खोजीकार्य जारी रहेको कार्कीले बताए । काभ्रे जिल्लाको खानीखोला गाउँपालिका–५ स्थायी घर भएका अकलबहादुर स्याङतान मकवनपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा बस्दै आएको प्रहरीले जनाएको छ ।
मकवानपुर । २ दिनदेखि परेको निरन्तर वर्षाले हेटौंडाबाट काठमाडौ जाने २ वटा सडक अवरुद्ध भएको छ ।
प्रहरी चौकी भैंसे,मकवानपुरका अनुसार गएराती ८ बजे पहिरो जाँदा मकवानपुर भिमफेदी गाउँपालिका २ ज्यालटार स्थित हेटौडा-भैसे-भिमफेदी-कुलेखानी-काठमाडौ सडकखण्ड अवरुद्ध भएको छ ।
यसैगरी मकवानपुर बकैया गाउँपालिका वडा ११ लामराङ स्थित कान्ती लोकपथ सडक खण्डमा पनि गएरातीको पहिरोले बाटो अवरुद्ध भएको छ ।
दुबै स्थानको जोखिमपूर्ण पहिरो भएकोले सडक विभाग संगको समन्वयमा आज बिहानबाट मात्रै बाटोको अवरोध हटाउन प्रयास थालिने मकवानपुर जिल्लाका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषधसहित ५ जनालाई नियन्त्रणमा लिएकाे छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टमा सवारी जाँचकाे क्रममा १ हजार ५ सय एम्पुल लागुऔषध सहित १ जना तथा ९ किलाे गाँजा सहित ४ जनालाई नियन्त्रणमा लिएकाे हाे ।
प्रहरीले १ हजार ५ सय एम्पुल विभिन्न लागुऔषधसहित पर्सा धाेविनी गाउँपालिकाका २२ वर्षीय साकिर खानलाई नियन्णमा लिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ हाे । विहीबार राती ११ बजेर ३० मिनेटको समयमा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बा प्र ०३–००१ ख २३९८ नम्बरको यात्रु बाहक बसलाई जाँच गर्दा बसको डिक्कीमा चामलकाे बाेरामुनी लुकाई ल्याएकाे लागुऔषध प्रहरीले फेला पारेकाे हाे ।
उक्त बसका सहचालक साकिरले डाईजेपाम ५ सय एम्पुल, नुफिन ५ सय एम्पुल र फेनार्गन ४ सय ९८ एम्पुल चामलकाे बाेलामुनी लुकाइ ल्याएकाे अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी मकवानपुर प्रहरीले लागु औषध गाँजासहित ४ जनलाई नियन्त्रणमा लिएकाे छ । साउन १७ गते प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी बरिष्ठ नायव निरीक्षक मन्जु कुमारी रानासहितकाे प्रहरीले टोलीले हेटौडा १५ रातोमाटे सडकखण्डमा नारायणघाटबाट बीरगंजतर्फ जादै गरेको ना ८ ख ७३४६ नम्बरको बस जाँच गर्दा लागु औषध गाँजा ९ किलाे १ सय ५० ग्राम फेला पारेकाे थियाे ।
बसका यात्रु पर्सा पटेर्वा सुगौली गांउपालिका १ का ३१ वर्षीय धनराज गिरी, भारत सितामडी मसल ६ का १९ वर्षीय दिपक यादव, धनुषा महेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय रवि कुमार महरा र मकवानपुर राक्सीराङ ३ का ४५ वर्षीय बुदेलाल डिम्डुङले बाेकेकाे झोलाबाट उक्त परिमाणकाे गाँजा फेला परेकाे हाे ।
१ हजार ४ सय ९८ एम्पुल लागुऔषधसहित बसका सहचालक खान तथा ९ किलाे १ सय ५० ग्राम गाँजा सहित गिरी यादव महरा र डिम्डुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
मकवानपुर । चोरी भएकाे सुनचाँदीकाे गहन किनेको आरोपमा हेटौडाकाे १ सुनचाँदी पसलका सञ्चालक पक्राउ परेका छन् । मकवानपुर प्रहरीले हेटौंडा २ कान्तिराजपथ स्थित पूर्ण शाक्य एण्ड सन्स सुनचाँदी पसलका सञ्चालक प्रतीक शाक्यलाई चोरीकाे गहना किनेकाे आराेपमा पक्राउ गरेकाे हाे ।
शाक्य गत साउन ११ गते पसलबाटै पक्राउ परेका हुन् भने शाक्यसहित गरगहना चाेरी गरी बिक्री गर्ने दिनेश नेपालीलाई समेत प्रहरीले पक्राउ गरेकाे छ । चाेरीका सुनचाँदी गहना बिक्री गर्ने हेटौंडा-६ स्थित चुच्चेखोलाका ३४ वर्षीय नेपालीलाई घरबाटै पक्राउ गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
हेटौंडा-१७, चुनडाँडास्थित प्रमिला कार्कीको घरबाट नेपालीले सुनको तिलहरी, जुली दुई थान, चाँदीको बाला, औंठी, लकेट चोरी गरेका गरेका थिए । दिनेशले बिल सहित चोरी गरेको गरगहना शाक्यको पसलमा बिक्री गरेका थिए । पक्राउ परेका शाक्य र नेपाली दुवैलाई चोरीको आरोपमा मुद्दा लगाउने गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले लागु औषध गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएकाे छ । हेटौडा १५ राताेमाटेबाट ६ किलाे ५ सय ग्राम गाँजा सहित सिन्धली हरिहरपुर ३ का बुद्ध बहादुर भाेलन र हरिहरपुर २ का लाल बहादुर तामाङ नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
साउन १८ गते विहीबार साँझ ५ बजे हेटौडा १५ रातोमाटेस्थित प्रहरीचौकीका प्रहरी टोलीले पूर्व पश्चिम सडक खण्डमा हेटौडाबाट बिरगंज तर्फ जादै गरेको बा.४ ख २१९१ नम्बरकाे बस जाँच गर्दा उक्त परिणामकाे लागु औषध फेला परेकाे मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए । बसमा सवार भाेलन र तामाङलाई गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकाे कार्कीले जानकारी दिए ।