मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नं. ११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुरको थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपाली मृत अवश्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६ः१५ बजेकाे समयमा गोपाली मृत अवस्थामा फेला परेका थिए । घटनास्थल वरपर रगत देखिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा थप प्रहरी टोली खटाइएको थियो ।
थप अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहितको टोलीसमेत घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ । घटना राति करिब १२ बजेतिर भएको प्रारम्भिक अनुमान छ। घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मकवानपुर । मकवानपुर प्रहरीले डिल्लीबजार कारागारबाट फरार कैदी बन्दीलाई हेटौंडाबाट पक्राउ गरेकाे छ । जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार एक जना कैदी बन्दीलाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको हाे।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ का सीबी लामा भन्ने चन्द्रबहादुर तामाङ रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । उनी कान्तिपुर सहकारी ठगी मुद्दामा कैद भुक्तान गरिरहेका बेला २०८२ साल भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएकाे प्रहरीले जनाएकाे छ ।
खोजतलासका क्रममा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले २०८३ साउन ५ गते हेटौंडा उपमहानगरपालिका–९ बाट उनलाई पक्राउ गरेकाे हो। पक्राउ परेका तामाङलाई कारागार कार्यालय भीमफेदी पठाइएको बताइएकाे छ ।
मकवानपुर । काठमाडौंबाट हराएका राम बहादुर बलायर एक साताभन्दा बढी भएपनि अझै फेला परेका छैनन् ।
डोटी केआइसिंह गाउँपालिकाको वडा नम्बर ६ सलेनाका बलायर काठमाडौंकाे काँडाघारीस्थित पुरानो फोर्स पार्कमा छोरा दीपकको डेरावाट बिहानै चिया पिउन भन्दै निस्किएका थिए । असार २६ गतेबाट सम्पर्क विहिन भएका हुन् ।
उनको खोजी कार्यमा जुटेको परिवारले पछिल्लो समय मकवानपुरको हेटौडासम्म पुगेको तथ्य पत्ता लगाए पनि हेटौडा बसपार्कवाट भने उनी कता हिँडेका छन् भन्ने कुरा पत्ता लाग्न सकेको छैन । उनको परिवारले हेटौडाबासी दाजुभाइ दिदिवहिनी,पत्रकार, प्रहरी प्रशासन, व्यापारी कर्मचारी, जनप्रतिनिधी लगायत सवैमा खोजीकार्यमा सहयोगका लागि अपिल गरेको छ ।
बोल्न र सुन्न नसक्ने ५० बर्षिय बलायर पहिलो पटक काठमाडौं घुम्न गएका थिए । उनलाई काठमाडौं स्थानबारे कुनै जानकारी छैन । असार ३२ गते भने उनी भिमफेदीवाट मकवानपुर हेटौडा जाने बा ३ ख २२९९ नम्बरको बसमा चढेको सिसिटिभिमा देखिएको छ । कालो टोपी, हल्का निलो टिसर्ट, कालो ट्राउजर तथा कालो जुत्ता लगाएर चिया पिउन निस्केका उनी हेटौडाको बसमा चढ्दा भने ढाकाटोपी, कालोसेतो रेखा भएको सर्ट, पिठ्यूँमा कालो झोला, हातमा कालो छाता बोकेका छन् ।
‘भिमफेदीमा एक जना महिलाले अलपत्र अवस्थामा भेटिएका बुवालाई खाना र लुगा दिनु भएको रहेछ’ छोरा दिपकले निरास हुँदै भने–‘त्यसपछि उहाँ बसमा चढेपछि डोटी पुग्न सकिन्छ भन्ने सोचेर हेटौडाको बस चढ्नु भएको रहेछ ।’ बसचालकसंगको सोधपुछमा उनी ५० रुपैयाँ भाडा तिरेर हेटौडा बसपार्कमा ओर्लिएको दीपकले बताए ।
हेटौडाको बसपार्कमा सिसिटिभि जडान गरेको भए स्थानीयले खोजी कार्यमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । उनलाई कसैले देखेमा वा भेटिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन तथा परिवारलाई ९७०७६३१२४६ वा ९७०७६३१२४८ नम्बरमा सम्पर्क गराइदिन परिवारले अनुरोध गरेको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका–६ स्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ ।
शनिबार दिउँसो साथीहरूसँग पौडी खेल्ने क्रममा हेटौंडा–१७ का १४ वर्षीय युकेश राई डुबेर बेपत्ता भएका थिए । सुरक्षाकर्मीले स्थानीयकाे सहयोगमा खोजीपछि युकेशलाई डुबेको स्थानमै फेला पारी उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले मकवानपुर सहित अधिकांश जिल्लामा वर्षा भइरहेकाे छ । विभिन्न स्थानमा बाढी र पहिरोकाे कारण बाटो अबरुद्ध छ । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश स्थानमा बदली भएकाे छ । यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली भएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका धरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ।महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिकांश भूभागमा बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरण बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना समेत रहेकाे छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई , कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई तथा लुम्बिनी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार मंगलबार राति देशभर साधरण बदली हुनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केहि स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी साधान चलाउन रोकियो
लगातारको वर्षापछि नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएकोले जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्ड हुँदै सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको जनाएको छ।
प्रशासनले सोमबार सूचना जारी गर्दै काठमाडौं उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रुपन्देही, नवलपरासीलगायत पश्चिम क्षेत्रबाट काठमाडौंतर्फ आउँदै गरेका यात्रुहरूलाई चितवनभन्दा अगाडि नबढ्न अनुरोध गरेको छ। लगातारको वर्षा र पहिरोका कारण सडक खुलाउने कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।
आपत्कालीन सहयोगका लागि नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल ११४४, जिल्ला आपत्कालीन केन्द्र १२३४ तथा पायक पर्ने स्थानका प्रहरी कार्यालय र स्थानीय तहमा सम्पर्क गर्न सकिने छ ।