मकवानपुर/विषम परिस्थितिमा मानव अधिकारको अवस्था झन् झन् नाजुक रहेको मकवानपुरमा रहेर मानव अधिकारको क्षेत्रमा क्रियाशिल व्यक्तिहरुले बताएका छन् । जब मानव अधिकारको रक्षार्थ सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्ने बेला आउँछ, तब झन् झन् सरकारी निकायहरुबाट नै जिम्मेवारी बहनमा कमजोरी देखिने गरेको अधिकारकर्मीहरुले दाबि गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौंडाले प्रदेशको समसामयिक मानव अधिकारको अवस्थाबारे छलफल गर्न आयोजना गरेको कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । इन्सेकले मकवानपुरको हेटौंडामा बुधबार छलफल कार्यक्रम गरेको थियो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख यज्ञप्रसाद अधिकारीले कोरोना संक्रमणको बेलामा स्थानीय निकायहरुले राहत वितरण कार्यक्रम गरेको तर त्यो विभेदकारी भएको औल्याउनु भयो । “सरकारले नागरिकको सम्मान पुर्वक बाँच्न पाउने अधिकारको रक्षा गर्न पनि जानेन, स्थानीय तहहरुले नै राहत वितरणमा असह्य हुने गरी विभेद गरे” उहाँले भन्नुभयो ।
“लकडाउन गरेर जो जहाँ छ त्यही बस्न निर्देशन दिने सरकार, अनि आफ्ना आफ्ना मान्छे छानेर राहत दिने, बाहिर नागरिकलाई राहत नदिने सरकारका निकायहरु यो कहाँको न्याय हो, कहाँको सम्मान हो नागरिक प्रति” उहाँले भन्नुभयो । स्थानीय तहहरुले आफ्ना नागरिकहरुलाई आफ्ना मतदातालाई छानेर राहत दिंदा अभरमा परेकाहरुमाथि अन्याय भएको उहाँले बताउनु भयो ।
कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले कोरोना संक्रमणको समयमा शिक्षा, स्वास्थ्य, खाद्य, आवाससँगै नागरिकको आर्थिक सामाजिक सास्कृतिक अधिकारको सम्मान हुन नसकेको बताउनु भयो । मानव अधिकारको निगरानीको लागि विभिन्न स्थलहरुमा स्थलगत अनुगमनको क्रममा जाँदा मानव अधिकारको अवस्था नाजुक रहेको पाइएको संयोजक गौतमले बताउनु भयो । “हामीले हाम्रो तर्फबाट सरकारलाई दिने सुझाव दिइरहेका छौ” गौतमले भन्नुभयो, “अवस्था नाजुक बनिरहेको छ ।”
कार्यक्रममा माइती नेपाल मकवानपुर संयोजक माया लामा कोरोना संक्रमणपछिको लकडाउनले महिलाहरुमाथि घरेलु हिंसा धेरै भएको बताउनु भयो । “महिलाको लागि लकडाउनुको पिरियर्ड झनै हिंसात्मक भएको पाइयो” उहाँले भन्नुभयो, “परिवारबाट हुने हिंसात्मक व्यवहार बढ्ने र उजुरी गर्न जान समस्या हुने, महिला तथा बालबालिकाको पीडा झन् बढे, सम्बोधन गर्न सकिएन ।” लकडाउनपछि वैवाहिक बलात्कारलगायतको घरेलु हिंसा बढेको उहाँले बताउनु भयो । यसैगरी बालहेल्प लाइन मकवानपुरका प्रमुख झविन्द्र ज्ञावलीले बाल विवाह बढेको, लकडाउनपछि अनलाईक कक्षा सुरु भएको तर त्यसभित्र पनि अनलाईबाट बालबालिकामाथि हुनसक्ने दुव्र्यवहारप्रति ध्यान दिन नसकिएको उहाँले बताउनु भयो ।
यसैगरी अधिवक्ता अप्सरा बस्नेतले लकडाउनको समयमा भएको हिंसाको दर लकडाउन खुलेपछि अदालतमा दर्ता हुन आएको केशहरुले देखाउन थालेको बताउनु भयो । हाल दैनिक ५ वटासम्म केश महिला हिंसाको बारेमा आउने गरेको उहाँले बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्टलगायतले मानव अधिकारको समसामयिक बिषयमाथि टिप्पणी गरेका थिए ।
मकवानपुरमा ५३ जना कोरोना संक्रमित, विश्वमा प्रति १५ सेकेण्डमा कोरोनाको कारण १ जनाको मृत्यु
Tags: No Comments
मकवानपुर/ पछिल्लो चौबिस घण्टामा मकवानपुर जिल्लामा ३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै मकवानपुर जिल्लामा कोरोना संक्रमितको संख्या ५३ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मकवानपुरगढी गाउँपालिका–५ भालुखोलाका स्थानीय ७० वर्षीय पुरुषलाई बुधबार कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले आफ्नो क्षेत्रभित्रको विद्यालयहरु बन्द गरेको छ । यस अघि केही सातादेखि भौतिक दुरी कायम गर्दै जोर विजोर रोल नम्बरका विद्यार्थीहरुलाई आलोपालो गर्दै विद्यालयहरुमा पठनपाठन सुरु गरिएको थियो ।
यसैगरी बुधबार हेटौंडा–९ की ४६ वर्षीया महिला र हेटौंडा–२ का २२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनु भयो ।
देशभर पछिल्लो २४ घन्टामा थप ३ सय ८१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यस्तै १ सय ३० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा २४ घन्टामा ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनु भएको हो । नेपालमा संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । नयाँ संक्रमितमध्ये सबैभन्दा बढी पर्सा जिल्लाको रहेका छन ्। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पर्सा जिल्लामा १ सय ५१, काठमाडौंमा ५७ जनामा संक्रमण देखिएको छ ।
यसैबीच विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । प्रत्येक १५ सेकेन्डमा एक जनाको मृत्यु भएको विज्ञहरुले बताएका छन् । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोनाभाइरस रिसोर्स सेन्टरका अनुसार बुधबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख ६ सय ४७ पुगेको छ ।
कोरोनाबाट अमेरिका, ब्राजिल, मेक्सिको, बेलायत र भारतमा सबैभन्दा बढी मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी १ लाख ५६ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म ४७ लाख ७१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २ हप्ताको तथ्यांक हेर्दा प्रत्येक २४ घण्टामा कोरोना भाइरसबाट करिब ५ हजार ९ सय जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
त्यस्तै एक घण्टामा २ सय ४७ जना र प्रत्येक १५ सेकेन्डमा एक जनाको मृत्यु भएको देखिन्छ । पछिल्लो समय अमेरिका र ल्याटिन अमेरिकी देशहरु कोरोना भाइरसको इपिसेन्टर बनेका छन् । सुरुमा ल्याटिन अमेरिकी देशहरुमा संक्रमण कम भए पनि पछिल्लो समय ब्राजिललगायतका देशमा संक्रमण तीव्र गतिमा बढिरहेको छ । हालसम्म विश्वभर संक्रमितको संख्या १ करोड ८५ लाख नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी निको भएका छन् ।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस विरुद्धको खोप निर्माणमा विभिन्न मुलुकले गरेका अनुसन्धानहरुमा आशा गर्ने ठाउँ भए पनि कहिले बन्छ भनेर भन्न नसकिने बताएको छ । डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस अडहानोम गेहब्रेयससले कोरोनाको खोप निर्माण ‘जादुको छडी’ नभएको बताएका छन् ।
उनले कोरोनाविरुद्धको खोप कहिल्यै नबन्ने सम्भावना पनि रहेको उल्लेख गर्दै मास्कको प्रयोग र आवश्यक दूरी कायम गर्नु नै संक्रमण रोकथामको उत्तम विकल्प भएको बताएका छन्
।
मकवानपुर / मकवानपुरको भिमफेदी कारागारबाट नौ महिना अगाडि भागेका कैदीलाई प्रहरीले आज आइतबार पक्राउ गरेको छ । सुरक्षा घेरा भित्र रहेको कारागारबाट गत कातिकमा ३० गते फरार कैदी सुनसरी रामधुनी नगरपालिका– ७ का वर्ष २५ कुलदिपराज धामीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।
मकवानपर प्रहरीले पुर्वि नवलपरासिको रजहर पुलबाट पक्राउ गरेको प्रहरी उपरिक्षक सुशिलसिंह राठोरले बताउनु भयो । सुनसरी जिल्लाका धामी २०७१ सालमा चितवन जिल्लाका रोजिन गुरुङको हत्यामा संलग्न रहेको ठहर गर्दै जन्मकैद सजाय तोकिएका कैदी हुन् । नेपाल प्रहरी र शसस्त्र प्रहरीको सुरक्षा घेरालाई तोडेर फरार भएका धामीको खोजी जारी राखेको प्रहरीले कञ्चनपुरबाट चितवन तर्फ आउँदै गर्दा रजहरबाट पक्राउ गरेको मकवानपुरका प्रहरी उपरिक्षक राठोरले बताउनु भयो । प्रहरीले धामीलाई साउन १६ गते पक्राउ गरे पनि ३ दिनपछि आज सार्वजनिक गरेको हो ।
पक्राउ परेका धामीलाई सजाय भुक्तानको लागि भिमफेदी कारागार पठाइने प्रहरीले जनाएको छ । कैदजीवन बाँकी नै रहँदा फरार भएका धामीले अब भुक्तान गर्न बाँकी कैदको डेढ गुणा बढी सजाय भोग्नुपर्ने प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो ।
इन्सेक बागमती प्रदेशद्वारा भीमफेदी कारागारलाई पुस्तक सहयोग
Tags: 2 Comments
मकवानपुर / अनौपचारिक क्षेत्र सेवा (इन्सेक) का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २८ औँ स्मृति दिवसमा इन्सेक बागमती प्रदेश कार्यालयले मकवानपुरको भीमफेदी कारागारलाई मानव अधिकारसँग सम्बन्धित पुस्तकहरु सहयोग गरेको छ ।
इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमलगायतले शुक्रबार कारागारमा पुगेर सन् २०१० देखि २०२० सम्म इन्सेकले प्रकाशन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक, मानव अधिकारका ठूला नौ महासन्धि, नेपालको संविधानमा भएका मौलिक हकहरुको संगालो, महिला, दलित र अपाङ्गतासम्बन्धी विद्यमान कानुन तथा नीति र कार्यान्वयनको अवस्था, खाद्य, शिक्षा र स्वास्थ्यसम्बन्धी विद्यमान कानुन तथा नीति र कार्यान्वयनको अवस्था बाल अधिकार शिक्षा, प्राचीलगायतका पुस्तक कारागार प्रशासन प्रमुख प्रकाश खनाललाई हस्तान्तरण गर्नु भएको हो ।

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा थाई एयरबस दुर्घटनामा मृत्यु भएको थियो । उहाँको स्मृतिमा प्रत्येक वर्ष इन्सेकले साउन १६ गते रचनात्मक कार्यक्रम गर्दै आएको छ । यसै अवसरमा इन्सेक बागमती प्रदेश संयोजक गौतमले कारागार प्रमुख खनाललाई पुस्तक हस्तान्तरण गर्दै काराकारलाई सुधार गृहका रुपमा लिनु पर्ने र कैदीबन्दीलाई मानव अधिकार मैत्री व्यवहारको आवश्यकता रहेको बताउनु भयो । ‘कारागारलाई सुधार गृहको रुपमा विकास गर्न पटक पटक विभिन्न समितिहरु बने, तर ति समितिहरुले बुझाएको प्रतिवेदन गृह मन्त्रालय पुगेर थन्किने गरेको छ’ गौतमले भन्नु भयो ‘यस कारण पनि कैदीबन्दीहरुको मानव अधिकार संरक्षणमा समस्या छ ।’
कार्यक्रममा कारगार प्रशासन प्रमुख प्रकाश खनालले कारागारको भौतिक सुधार गर्नुका साथै स्वास्थ्य उपचारको लागि दुई बेडको कक्ष कारागार भित्रै स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले कारागारका दुई ओटा ब्लकमा पुस्तकालय रहेको पुस्तकहरु प्रयाप्त मात्रमा नभएको अवस्थामा मानव अधिकारसँग सम्बन्धित पुस्तक इन्सेकले उपलब्ध गराइ दिएकोमा धन्यवाद आभार व्यक्त गनुभयो । कारागारका कैदीबन्दीलाई मानव अधिकार मैत्री शिक्षाका लागि पुस्तकले सहयोग पु-याउने उहाँले बताउनु भयो ।

नेपालको कानुनमा धेरै राम्रा व्यवस्था भएपनि व्यवहारीक कार्यान्वयन पक्ष फितलो भएको उहाँले बताउनु भयो । भौतिकलगायतको स्रोत साधनको अभावमा एक पक्षको मानव अधिकार रक्षा गर्न खोज्दा उल्लङ्घन भएको भान आफूलाइृ हुने गरेको उहाँले बताउनु भयो । कारागार ऐन, नियम तथा कार्यविधि अनुसार आफूहरुले जिम्मेवारी वहन गर्दै आएको बताउँदै उहाँले भन्नुभयो ‘कारागारबाट सजायँ भुक्तानि गरेर छुटेरकाहरु केही समयमा पुनः आउने गरेका छन्, यसले नै देखाउँछ कि नेपालको कारागार सुधारगृह जस्तो छ कि छैन भनेर ।’
उहाँले अन्य जिल्लाहरुमा रहेको कारागारको तुलनामा भिमफेदी कारागारमा धेरै राम्रो तथा पारिवारीक वाताबरण भएको उल्लेख गर्नुभयो । कारागारमा कर्मचारी, सुरक्षकर्मी, बजेट लगायतको व्यवस्थापनमा हेलचक्र्याई गर्ने गरेको गुनासो उहाँले गर्नुभयो । पुस्तक हस्तान्तरण कार्यक्रममा कारागारका सुरक्षा प्रमुख असई सन्तोष कुमारले कारागारको सुरक्षा प्रबन्ध व्यवस्थित रहेको र कैदीबन्दीको आचरण र व्यवहार सुधार गर्न लागि परेको बताउनु भयो ।
कारागार सुधार गृहको रुपमा व्यवस्था गर्ने भन्ने सरकारी नीति व्यवहारमा लागु नभएको कारागारका चौकिदार सुरेश मोक्तानको गुनासो छ । ‘कसैले पोल गरेको आधारमा सजाय तोकिनु दुखद् हो, सजायँ भुक्तानि गरेर घर फर्केकाहरुलाई समाजका रुपान्तरण गर्नै पनि समस्या भएको गुनासो चौकिदार मोक्तानको छ ।
महङ्गी बढेपछि कैदीबन्दीहरुलाई खर्चको अभाव हुने गरेको, राज्यले छुटको व्यवस्था गरेको भएपनि त्यो समान नभएको मोक्तानको भनाई छ । राज्यले कारागारमा २५ जना कैदीबन्दीलाई रेखदेख गर्न १ जना नाइके र १० जना कैदीबन्दीलाई रेखदेख गर्न १ जना सहनाइके तोकिएको कारण नाइके सहनाइकेलाई पनि रेखदेखमा समस्या भएको मोक्तानको भनाई छ । ‘अपराधिक गतिविधिमा संलग्न भएर आएका २५ जनालाई १ नाइकले कसरी कन्ट्रोल गर्न सक्छ ?’ चौकिदार मोक्तानको प्रश्न छ । कम्तिमा १० कैदीबन्दी बराबर १ नाइन र ५ कैदीबन्दी बराबर १ सहनाइके हुनु पर्ने आवश्यकता औल्याइएको छ ।
मकवानपुर जिल्लाको भिमफेदी कारागारमा हाल ६६ वर्ष नाघेका १ सय जना सहित ९ सय ३१ जना कैदीबन्दी रहेका छन् । कार्यक्रममा इन्सेक बागमती प्रदेशका कार्यक्रम अधिकृत गणेश भण्डारी, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष सरिता दाहाललगायतको उपस्थिती रहेको थियो ।
मकवानपुर / जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गर्ने १५ जना सवारी चालकहरू नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । पछिल्लो समय थप ४ जना सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिप्रका मकवानपुरका अनुसार नियन्त्रणमा लिइएको सवारी साधनका चालकहरूलाई सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान जारी राखिएको हो । प्रहरीका अनुसार साउन १४ गते राति हेटौंडा उपमहानगरपालिका–१९ स्थित ईलाका प्रहरी कार्यालय नेवारपानीको प्रहरी चेक पोष्ट तथा हेटौंडा उपमहानगरपालिका–८ स्थित ईलाका प्रहरी कार्यालय पशुपतीनगरको प्रहरी चेकपोस्टमा चेकजाँच गर्ने क्रममा प्रहरीलाई आर्थिक प्रलोभनमा पारेको आरोपमा ४ जनालाई नियन्त्रणमा लिइएको छ ।
सुरक्षा मापदण्ड विपरीत राँगा, भैसी लोड गरी ल्याउदै गरेकोले आवश्यक कागजात पु-याएर मात्र लैजान सम्झाई बुझाई गर्दा सवारी चालकले आफ्नो कमजोरी ढाकछोप गर्न अनुरोध गर्दै ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरुलाई आर्थिक प्रलोभन देखाइएको प्रहरीको दावि छ ।
प्रहरीका अनुसार ना. ७ ख ६२२४ नं. को आईचर ट्रकको चालक पर्सा जिल्ला विरगंज महानगरपालिका–३२ बस्ने ३३ वर्षिय नसुरदिन अन्सारी, ना ४ च ८३९४ नं. को पिकअप गाडीको चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–४ भेलही बस्ने २१ वर्षिय गुलाम अन्सारी, ना ६ ख ५६३६ नं. को ट्रकको चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–३२ बस्ने ३४ वर्षिय लाल अन्सारी र ना ६ ख ९४७ नं. को ट्रकको चालक सर्लाही जिल्ला बरहथवा नगरपालिका–९ मुर्तिया बस्ने २३ वर्षिय अरूण महतोलाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवत्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताउनु भयो ।