मकवानपुर । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको संयोजकमा राजेश नगरकोटी चयन भएका छन् । बुधबार हेटौंडामा भएको भेलाबाट नगरकोटीको संयोजकत्वमा नेतृत्व चयनका लागि गरिने सम्मेलनकाे लागि ७७ सदस्यीय कमिटि चयन भएको हो । कमिटिको सहसंयोजक सबिन लामा चयन भएका छन् ।
बैठकलाई सम्बोधन गर्दै युवा संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीले नयाँ नेतृत्व चयनसँगै संगठनमा नयाँ गति पैदा हुने बताए । उनले कमी कमजोरी हटाई संगठनलाई सशक्त बनाउन र युवामा आकर्षण बढाउन सहयोग पुग्ने बताए । ‘सबल पार्टीको लागि सशक्त युवा संघ आवश्यक छ। त्यसैले यो सदस्य विस्तार, व्यवस्थापन र सदृढीकरणको अभियानमा लाग्नु पर्छ’ उनले भने ।
जनजीविकाका मुद्दा बोक्न, युवाका समस्या समाधानमा लाग्न र आत्मनिर्भर बनाउन युवालाई शिक्षा, सीप, श्रम र उत्पादनसँग जोड्ने लक्ष्य लिन समेत उनले आग्रह गरे । युवामा आशा जगाउने र नयाँ नेपाल निर्माण गर्ने अभिभारा युवाकै हो भन्दै नयाँ नेतृत्वले युवामा गति आउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल मकवानपुर अध्यक्ष लक्ष्मण उप्रेतीको सभाध्यक्षता र राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीको प्रमुख आतिथ्यतामा विस्तारित बैठक भएकाे हाे ।
कार्यक्रममा नेकपा एमाले पोलिटिकल ब्युराे सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज देवी ज्ञवाली, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपालका लेखा आयोगका प्रमुख सन्तोष चौलागाई, नेपाल खेलकुद महासंघ महासचिव धरम बहादुर लामा, राष्ट्रिय यूवा संघ नेपाल स्थायी कमिटी सदस्य मिलन पाठक, राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय सदस्य प्रकाश लामा, दिल माया घर्ती, राष्ट्रिय यूवा संघ नेपाल बागमती प्रदेशको कोषाध्यक्ष नरेन्द्र भण्डारी, राष्ट्रिय यूवा संघ नेपाल प्रदेश सदस्य विश्वराज राई, नेकपा एमाले जिल्ला कमिटि सदस्य सानुकुमार लामा, नेकपा एमाले जनसंगठन समन्वयका सहइन्चार्ज आरती पाठक लगायतको उपस्थिति थियो ।
मकवानपुर । माघ ११ गते विहीबार हुने राष्ट्रिय सभा निर्वाचन अन्तरगत हेटौडा हुने मतदानकाे तयारी पुरा भएकाे छ । आगमी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० जना सदस्यकाे पदाधवी सकिने भएपछि ७ वटै प्रदेशमा माघ ११ गते निर्वाचन हुनेछ ।
बागमती प्रदेशबाट अल्पसङ्ख्यक र अपाङ्गता, महिला, दलित र अन्य गरी चार क्षेत्र (क्लस्टर) का चार जनाका लागि राष्ट्रिय सभा सदस्यमा निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य रहेका बागमती प्रदेश तर्फका एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र सांसद खिमलाल देवकोटाको पद रिक्त हुँदैछ। जस अनुसार निर्वाचनमा महिला, अपांगता÷अल्पसंख्यक, दलित र अन्य समूहका १/१ सिटका लागि प्रतिस्पर्धा हुनेछ।
प्रदेशकाे राजधानी रहेकाे शहरमा ७ वटा मतदान स्थलका १४ मतदान केन्द्रमा मतदानकाे तयारी पुरा भएकाे निर्वाचन आयोगले जनाएकाे छ । बागमती प्रदेशमा हुने निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा १ मतदान स्थल र २ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
मतदान अधिकृत अधिकृतको नियुक्ति, मतपत्रको व्यवस्था निर्वाचन आयोगले गरेकाे हाे । निर्वाचनका लागि बागमती प्रदेशका लागि निर्वाचन आयोगबाट कुल ४ सय ३० वटा मतपत्र प्राप्त भएको निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए । उनका अनुसार निर्वाचनमा लागि बागमती प्रदेशमा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि २ सय ९० र प्रदेशसभा सदस्यका लागि १ सय ४० वटा मतपत्र प्राप्त भएको छ ।
आयोगले निर्वाचनमा लागि २ वटा फरक मतपत्रको व्यवस्था गरे अनुसार प्रदेशसभा सदस्यहरूका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ । यस्तै पालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।
निर्वाचनकाे अन्य तयारी प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौंडाले पुरा गरेकाे निमित्त निर्वाचन अधिकारी ताराप्रसाद आचार्यले जानकारी दिए । एउटा मतदान केन्द्रमा मतदान अधिकृतसहित १० जना कर्मचारी रहने गरी निर्वाचन अधिकृतको कार्यालयले व्यवस्था मिलाएको उनले बताए । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेश सभा सदस्य र प्रदेशभित्रका स्थानीय तहका नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहेका छन् । प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षकाे लागि मतदान गर्न छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको आचार्यले बताए ।
उनका अनुसार मतदान अधिकृत र निर्वाचनमा खटिने कर्मचारीलाई सोमबार अनुशिक्षण गरिएकाे छ । निर्वाचनकाे सुरक्षा व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसी सुरक्षा व्यवस्थाको आवश्यक तयारी गरिएको उनले बताए । मतदानका लागि मतपत्र आइसकेको, प्रदेश सभा सदस्य र नगर प्रमुख एवं उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षका लागि मतदान गर्न छुट्टाछुट्टै मतपत्रको व्यवस्था रहेको मतदानका दिनकाे लागि चाहिने आवश्यक निर्वाचन सामग्रीहरूको व्यवस्था भइरहेको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशले जनाएकाे छ । निर्वाचनका लागि मतदान बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तय गरिएको छ । मतदान सकिएपछि मतदान स्थलमा नै मतगणना गर्ने व्यवस्था मिलाइएको मतगणनालगत्तै मतपरिणाम सार्वजनिक गरिने छ निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट मतदान गर्ने मतदाता ३ सय ४७ जना रहेका छन् । तीमध्ये १ सय १० जना प्रदेश सभा सदस्य र ११९ स्थानीय तहका प्रतिनिधि छन् । स्थानीय तहका मतदाता २ सय ३८ रहेकाेमा दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षको पद रिक्त हुँदा स्थानीय तहबाट २ सय ३७ मतदाता मात्र कायम भएको छ । प्रदेशमा प्रदेश सभा तर्फकाे ५ हजार ८ सय ३० र स्थानीय तहको ४ हजार ५ सय ३ मतभार गरेर कुल मतभार १० हजार ३ सय ३३ कायम रहेकाे छ।
बागमती प्रदेशमा ४ जना सदस्यका लागि नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको ४/४, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३, नेपाली कांग्रेसको २, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले १/१ जना गरी १५ जनाकाे उम्मेदवारी छ । ६ वटा राजनीतिक दलबाट उम्मदवारी दर्ता गराएका १५ जना मध्ये सत्तागठबन्धनका ४ जनाकाे जित सुनिश्चित देखिन्छ । बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको गठबन्धन छ।
निर्वाचनबाट सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवारहरूमध्ये नेपाली कांग्रेसका जितजंग बस्नेत र विष्णुकुमारी पुडासैनी, माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट धनश्याम रिजाल विश्वकर्माकै पल्लाभारी हुने बागमती प्रदेशकाे मतभारले देखाउँछ। निर्वाचन आयोगले प्रदेश सभा सांसदको ५३ मतभार र स्थानीय तहका जनप्रतिनिधिको १९ मतभार कायम गरेको छ। प्रदेश सभातर्फ कुल १ सय १० सांसदको ५ हजार ८ सय ३० मतभार रहेकाे छ। गठबन्धनका तीन पार्टीसँग मात्रै ६ हजार ७ सय ७० मत छ। कुल मतभारको बहुमत अर्थात् ५ हजार १ सय ७७ मत हुँदा जित सुनिश्चित छ। जसका लागि प्रदेश सभामा रहेका हाम्रो नेपाली पार्टीको २ सांसद बाहेक पनि ६५ सांसदको मतभारले प्रदेशतर्फ मात्रै ३ हजार ४ सय ४५ हुन आउँछ। यस्तै, स्थानीय तहतर्फका २ सय ३७ मतदाता रहेको यस प्रदेशमा सत्ता गठबन्धनदलकै मतभार बढी छ।
अंकगणित अनुसार सत्ता बाहिर रहेका एमाले, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी ४५ सांसद छन्। बागमती प्रदेश सभातर्फ ५३ मतभारले प्रतिपक्षी दलहरूको कुल मतभार २ हजार ३ सय ८८ मात्रै हुन आउँछ । यस्तै स्थानीय तहको संख्या १ सय १९ छ। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या २ सय ३८ रहेकोमा दोलखाको गौरीशंखर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको गत असार ३१ गते हृदयघातका कारण मृत्यु भएको थियो। जसका कारण एक मतदाता कम छ।
मतभार १९ रहेको स्थानीय जनप्रतिनिधिको बागमतीमा ४ हजार ५ सय ३ मतभार रहेको छ। जसमा स्थानीय तहतर्फ गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका १ सय ७ (गौरीशंखर गाउँपालिका उपाध्यक्षको मृत्यु भएको), माओवादी केन्द्रका ५७, नेकपा एकीकृत समाजवादीका ९ जनप्रतिनिधि छन्। सत्ता गठबन्धनमा आवद्ध १ सय ७३ जना स्थानीय तहका जनप्रतिनिधिको १९ मतभारले ३ हजार २८७ मतभार हुन आउँछ। यसबाहेक प्रतिपक्षमा रहेका नेकपा एमालेका ६०, र अन्य ४ दलका जनप्रतिनिधि गरी ६४ जनप्रतिनिधि छन्। जसमा प्रतिपक्षी दलहरुको १ हजार २ सय १६ मतभार हुन आउँछ ।
बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्यकाे रिक्त रहने पदकाे लागि एमालेबाट दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौँका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । चौलागाईंले महिला क्लस्टरबाट देवकोटाले अपांग क्लस्टरमा, विश्वकर्माले दलित क्लस्टरमा र पौडेलले अन्य क्लस्टरमा उम्मेदवारी दिएका छन्।
नेमकिपाबाट अपांग क्लस्टरबाट भक्तपुरका हिमालयश्वर लाल मुलले, अन्यबाट काठमाडौँका श्रीकृष्ण महर्जनले मनोनयन दर्ता गराएका छन्। यसैगरी दलिततर्फ भक्तपुरकी संगीता नेपाली र महिलातर्फबाट कृष्ण लक्ष्मी दुवालले मनोनयन दर्ता गरेकी छिन्। राष्ट्रियसभा सदस्य पदको बागमतीको ४ सिटका लागि राप्रपाबाट ३ जनाले उम्मेदवारी दिएका छन्। राप्रपाबाट अपांग क्लस्टरमा चितवनका भरतमणि भट्ट, महिलातर्फ मकवानपुरकी बालकुमारी डल्लाकोटी र अन्यमा हेमजंग गुरुङले मनोनयन दर्ता गराएका हुन्। राप्रपाले दलित क्लस्टरमा भने उम्मेदवारी दिएको छैन।
३ सय ७० प्रहरी परिचालन गरिने
बागमती प्रदेशमा हुने निर्वाचनकाे लागि विशेष सुरक्षा योजना तर्जुमा गरी सुरक्षा व्यवस्था मिलाइएको छ । सुरक्षा समितिसँगको छलफलबाट निर्वाचन स्थल, मतदान केन्द्र र निर्वाचन कार्यालयको सुरक्षाका लागि ४ वटै सुरक्षा निकायलाई परिचालन गरिने भएकाे छ । जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचनका लागि गत पुष २२ गतेदेखि नै निर्वाचन विशेष सुरक्षा योजना तयारी गरी कार्यान्वयन गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय र प्रदेश निर्वाचन कार्यालयको सुरक्षाका लागि सोही दिनबाट प्रहरी अधिकृतको कमाण्डमा ५ जना प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सुर्य सेडाइले जानकारी दिए ।
मतदानका दिन नेपाल प्रहरीका २ सय ५० र सशस्त्र प्रहरी बलका १ सय २० गरी ३ सय ७० प्रहरी परिचालन गरिने भएकाे छ । निर्वाचनका लागि नेपाल प्रहरीले भित्री घेरामा सुरक्षा तथा सहायता प्रदान गर्नेछ भने बाहिरी तथा बजार क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरी परिचालन गरिनेछ । राष्ट्रिय अनुसन्धानका जनशक्तिहरूलाई सूचना सङ्कलन तथा परिचालनमा संलग्न हुने गरी व्यवस्था गरिएको छ भने नेपाली सेनाको टोलीलाई तयारी अवस्थामा राख्न निर्देशन गरिएको प्रजिअ सेढाइले बताए ।
मतदानको दिन सुरक्षा संवेदनशीलताको आधारमा विशेष क्षेत्रमा आवश्यकता अनुसार प्रहरी राख्ने योजना रहेको र सो दिन भइपरी आउने घटनालाई मध्यनजर गर्दै एम्बुलेन्स, स्वास्थ्यकर्मीको टोली र दमकललाई मतदान स्थलमै तयारी अवस्थामा राखिने उनले बताए । मतदातासँग आउने व्यक्ति तथा सवारी साधनको व्यवस्थापनका लागि मतदान केन्द्रमा २० जना ट्राफिक प्रहरीको व्यवस्था गरिने छ ।
मकवानपुर । राष्ट्रिय सभा निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचार प्रसार गर्न नपाइने भएको छ । आगामी माघ ११ गते हुने निर्वाचनको आज मध्यरातिदेखि प्रचार प्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले विज्ञप्ती जारी गर्दै जनाएको छ ।
आयोगका अनुसार, मतदान सम्पन्न नभएसम्मका लागि दलका पदाधिकारी, उम्मेदवार, भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार तथा कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठीसहितका कार्यक्रम गर्न पाइदैन ।
त्यस्तै, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न तथा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोष्ट वा शेयर गर्न नपाइने आयोगले जनाएको छ । राष्ट्रियसभामा फागुनबाट रिक्त हुने १९ जना सदस्यका लागि निर्वाचन हुन लागेको हो । १ जना सदस्य भने राष्ट्रपतिबाट मनोनित हुने छन् । यसैबीच, आयोगले निर्वाचनको लागि आवश्यक सुरक्षा व्यवस्था सहित सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

मकवानपुर । मकवानपुरकाे हेटौडामा प्रेस चौतारी नेपाल मकवानपुर शाखाकाे कार्यालय स्थापना गरिएकाे छ । शनिबार चौतारी मकवानपुरकाे कार्यालय उद्घाटन गरिएको हाे ।
हेटौंडा ४ मा स्थापना गरिएकाे चौतारीकाे कार्यालय शनिबार प्रेस चौतारी नेपालका महासचिब हिरामान लामाले उद्घाटन् गरेका हुन् । मकवानपुरमा क्रियाशील पत्रकारहरुले प्रेस चौतारीको कार्यालयबाटै समाचार लेखनको काम गर्न सकिने लामाले बताए । प्रेस चौतारीका केन्द्रीय सचिव तथा बागमती प्रदेश इन्चार्ज बिष्णु तारुकेले कार्यालय स्थापना गरेर चौतारी मकवानपुरले छरिएर रहेका पत्रकारहरुलाई एकताबद्ध ढंगले काम गर्न सहज पुग्ने बताए ।
प्रेस चौतारी मकवानपुरअध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएकाे कार्यालय स्थापना कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाई, चौतारीका बागमती प्रदेशका महासचिव प्रकाश दाहाल, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष धुर्ब अधिकारी, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापा लगायतकाको उपस्थिति रहेकाे थियाे ।
यसैगरी चौतारी मकवानपुरको आयोजना गरेकाे ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावना विषयक दुइ दिने कार्यशाला शनिबार समापन गरिएकाे छ । समापनमा नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेश श्रम, रोजगार तथा यातायात पूर्व मन्त्री एकालाल श्रेष्ठले दुइदिन कार्यशाला निकै फलदायी रहेकाे बताए । अबको युग डिजिटल भएकाले यसलाई आत्मसात गर्दै पत्रकारले क्षमता समेत विकास गर्दै लानु पर्ने उनले बताए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिव लामा, सचिव तथा बागमती प्रदेश इन्चार्ज तारुके, केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हुमागाई, चौतारीका बागमती प्रदेशका महासचिव दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, महासंघ मकवानपुरका उपाध्यक्ष धुर्ब अधिकारी, प्रेस युनियन मकवानपुर अध्यक्ष सुवास विडारी, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठक, सञ्चारीका समुह बागमती प्रदेशका अध्यक्ष सरिता दाहाल, प्रेस सेन्टर मकवानपुर अध्यक्ष अन्जली थापा लगायतकाको आतिथ्यता रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता-चुनौती र सम्भावना’ विषयक दुइदिने कार्यशाला सुरु भएको छ ।
प्रेस चौतारी नेपाल मकवानपुरको आयोजनामा सुरु कार्यशालाको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै समयसापेक्ष रुपमा पत्रकारहरुले आफूलाई तिखार्न जरुरी रहेको बताए । ‘पहिले एउटा समाचार सुन्नका लागि दुई दिन लाग्ने भएपनि अहिले डिजिटल जमाना भएकोले तत्काल सुन्न र हेर्न पाइने अवस्था रहेको छ’ उनले भने ।
व्यावसायीक पत्रकारिता गर्न आग्रह गर्दै पौडेलले पत्रकारहरुले यो वा उ संगठन भनेर मात्रै नहिड् सुझाव दिए । उनले कार्यशालाबाट डिजिटल पत्रकारिताका बारेमा केही सिकाइ लिन र प्रयोग गर्न आग्रह समेत गरे । कार्यशालामा बागमती प्रदेश सञ्चार रजिष्टार रेवती सापकोटाले ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावनाका विषयमा प्रशिक्षण दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले अहिले प्रविधिमा नयाँ पत्रकारको पुस्ता अभ्यस्त भएको बताउदै यस्ता कार्यशालाले पत्रकारिता क्षेत्रको पुराना पुस्ताका अनुभव ज्ञान र नयाँ पुस्ताको क्षमतालाई पत्रकारितामा प्रयोगको निम्ति सकारात्मक हुने बताए ।
कार्यशालामा नेपाल पत्रकार महासङ्घ मकवानपुर उपाध्यक्ष धुर्ब अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हरि हुमागाईं, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी लगायतकाले शुभकामना व्यक्त गरेका थिए । कार्यशालामा प्रेस चौतारी नेपाल बागमती प्रदेशका महासचिव प्रकास दाहाल, पूर्व केन्द्रीय सदस्यहरु उज्वल अधिकारी, दिपेन्द्र रोक्का, चौतारीका निवर्तमान अध्यक्ष धर्मेन्द्र दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।
चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यशाला माघ ६ गते शनिबारसम्म संचालन हुनेछ । कार्यशालामा मकवानपुरका ४० जना पत्रकारहरुको सहभागिता रहेको बताइएकाे छ ।