मकवानपुर । बागमती प्रदेशसभाको बर्खे अधिवेशन वैशाख ३१ गतेकाे लागि आह्वान गरिने भएको छ । बिहीबार बसेको बागमतीकाे मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजेका लागि बर्खे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हाे ।
बजेट अधिवेशन समेत भनिने बर्खे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमका साथै आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गरिने छ । मन्त्रिपरिषदकाे सिफारिसमा प्रदेश प्रमुखबाट गत वैशाख १२ गते राती १२ बजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको थियो ।
मन्त्रीपरिषद्ले बिहीबार गरेका निर्णयहरुः
१. २०८१ वैशाख ३१ गते दिनको १ वजे लाइ प्रदेश सभाको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने
२. प्रदेश नीति तथा योजना आयोगको सदस्यमा श्री दिपेन्द्र श्रेष्ठलाइ नियुक्त गर्ने
३. नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८०को पहिलो संशोधन स्वीकृत गर्ने
४. लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण मापदण्ड, २०८१ स्वीकृत गर्ने
५. प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद स्थापना हुने स्थान, सङ्गठन तालिका, दरवन्दी तेरिज, कार्यविवरण, छाप र साइन बोर्ड स्वीकृत गर्ने
६. वन क्षेत्र प्रयोग तथा रुख कटान गर्ने
७. कार्यालय स्थानान्तरण गर्ने
८. खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम संचालन (पहिलो संशोधन) कार्यविधि, २०८१ स्वीकृत गर्ने
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) मकवानपुरले जिल्लाका पालिकाहरुमा इन्चार्ज तथा सहइन्चार्ज ताेकेकाे छ । पार्टीकाे नवौं जिल्ला अधिवेशनपछि बुधबार बसेको बैठकले विभिन्न पालिकामा इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ ।
एसले हेटौंडा उपमहानगरपालिकाको इन्चार्जमा पार्टी सचिव धुव भुजेललाई ताेकेकाे छ । यस्तै उनले पार्टी संगठन विभागको समेत जिम्मेवारी पाएका छन् । उपमहानगरपालिकाकाे सहइन्चार्जमा उपसचिव कविन पन्त, सदस्यहरुमा राजु अधिकारी, ज्ञानेन्द्र देवकोटा, देवराज गौतम र शुक्रदेवी बललाई ताेकिएकाे छ ।
यसैगरी थाहा नगरपालिकाको इन्चार्जमा सानुकाजी गोपाली, सहइन्चार्जमा वीरबहादुर तामाङ र सर्मिला जिम्बालाई जिम्मेवारी ताेकिएकाे छ ।मनहरी गाउँपालिकाको इन्चार्जमा उपसचिव किशोर बर्तौला, सहइन्चार्जमा शिवकुमार काशी र देवीमाया तामाङलाई ताेकिएकाे छ । इन्द्रसरोबर गाउँपालिकाको इन्चार्जमा कुन्छान लामालाई जिम्मेवारी ताेकिदा राक्सिराङ गाउँपालिका इन्चार्जमा ज्ञानेन्द्र तामाङ र सहइन्चार्जमा कृष्णबहादुर तामाङलाई जिम्मेवारी दिइएकाे छ ।
कैलाश गाउँपालिकाको इन्चार्जमा उपसचिव टंक मोक्तान र सहइन्चार्जमा कालु ढकाल रहेका छन् । मकवानपुरगढी गाउँपालिका इन्चार्जमा दुर्गा दहाल र सहइन्चार्जमा शिवराज देवकोटा रहेका छन् । बैठकले तिलक अधिकारीलाई कार्यालय सचिवको जिम्मेवारी प्रदान गरेको छ भने रामकुमार एलनलाई सूचना तथा सञ्चार विभाग प्रमुखको जिम्मेवारी ताेकिएकाे छ ।
यसैगरी पार्टीले मनोज कुमार वाइवालाई जनजाति महासंघ, अरुण बर्तौलालाई विद्यार्थी, शान्तिप्रिय बन्दनालाई राष्ट्रिय जनसांस्कृतिक महासंघ, दीपक बस्नेतलाई एकीकृत ट्रेड युनियन इन्चार्ज र अलि हुसेनलाई मुस्लिम इत्तेहाद संगठनको इन्चार्जको जिम्मेवारी दिएको छ ।
मकवानपुर । बागमती प्रदेश सरकारले २ वटा निर्णय गरेकाे छ । आइतबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले प्रदेश उच्च शिक्षा ऐन २०७८ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने तथा आगलागीमा परेर निधन भएका परिवारलाई एक लाख रुपैया दिने निर्णय गरेकाे हाे ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार उक्त ऐनको दफा १३ को (५) लाई संशोधन गर्न अनुकूल देखिएकाले अध्यादेश ल्याउने निर्णय गरिएको हो । उक्त दफामा रहेकाे प्रदेश विश्वविद्यालयको संरक्षक समिति (बोर्ड अफ ट्रष्टी) को पदावधि निर्धारणका विषयलाई स्पष्ट पार्न अध्यादेश जारी गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
संरक्षण समिति (बोर्ड अफ ट्रष्टी) का पदाधिकारीहरूको पहिलोपटक पदावधि कायम गर्दा २ जनाको पदावधि २ वर्ष, ३ जनाको पदावधि ४ वर्ष र ३ जनाको पदावधि ६ वर्ष गोला प्रथाद्वारा कायम गरिने व्यवस्था रहेकोमा उक्त व्यवस्थालाई संशोधन गरी समितिमा मनोनीत भएका पदाधिकारीहरूको पहिलोपटक पदावधि कायम गर्दा गोला प्रथाद्वारा ५ जनाको पदावधि ४ वर्ष र ३ जनाको पदावधि ६ वर्ष कायम गरिने व्यवस्था गर्नकाे लागि अध्यादेश जारी गर्ने निर्णय भएकाे हाे ।
यसै गरी आइतबारकाे मन्त्रिपरिषद्काे बैठकले आगलागीमा परेर निधन भएका ३ जनाकाे परिवारलाई १/१ लाख रुपैयाँ दिने निर्णय गरेकाे छ । केही दिनअघि प्रदेशको ललितपुरमा २ जना र रामेछाप जिल्लामा १ जना वनका लागेको आगो नियन्त्रणमा लिने क्रममा मृत्यु भएकाे थिए । उक्त रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन कोषमार्फत् उपलब्ध गराइने प्रवक्ता श्रेष्ठले बताए ।
मकवानपुर । राष्ट्रीय युवा संघ नेपाल भीमफेदी गाउँपालिका कमिटीको प्रथम बैठक शनिबार भएको छ ।
राष्ट्रिय युवा संघ भिमफ़ेदीका अध्यक्ष बादल सिलवालको अध्यक्षता र राष्ट्रीय युवा संघका केन्द्रिय सदस्य प्रकाश लामाको प्रमुख आतिथ्यता र राष्ट्रिय युवा संघ मकवानपुरका संयोजक राजेश नगरकोटीको उपस्थितिमा बैठक भएकाे थियो ।
बैठकले ४ वटा विभाग गठन गरी विभागीय जिम्मेवारी तोकेको छ । बैठकले बादल सिलवाललाई आर्थिक विभाग, प्रचारप्रसार विभाग प्रमुखमा सन्तोष घागामगर, खेलकूद विभाग प्रमुखमा रामहरी ठकुरी र संगठन विभाग प्रमुखमा सुदिप चिमरियालाई जिम्मेवारी दिएको हो ।
यस्तै बैठकले कमिटीलाई चुस्त र चलायमान बनाउन १५ सदस्यीय सचिवालय गठन गरेको छ । यसैगरी भीमफेदीको ९ वटै वडाहरुमा आगामी जेठ मसान्तभित्र कमिटीहरू गठन गर्ने, स्थापना दिवसको अवसरमा रक्तदान तथा अन्य सामाजिक काम गर्ने र आगामी जेठ २६ गते प्रशिक्षण कार्यक्रम गर्ने बैठकले निर्णय गरेको संगठन विभाग प्रमुख सुदिप चिमोरियाले बताए ।
युवा संघ मकवानपुरका संयोजक नगरकोटीले अहिलेका युवाहरूमा राजनीतिक विचलन देखीयकोले मकवानपुरका प्रत्यक वड़ाहरुमा राजनीतिक रूपमा प्रशिक्षित युवाहरू उत्पादन गर्ने युवा संघले लक्ष्य लिएको बताए ।
यसैगरी पार्टी नेकपा एमालेको मिसन ८४ अभियानलाई सफल बनाउन जनताको दुखसुखमा युवा संघ जोडिएर पार्टी अभियानलाई अघि बढाउन समेत निर्देशन दिए । बैठकमा नेकपा एमाले भिमफेदी गाउपालिका अध्यक्ष सानु थापा युवा संघ जिल्ला कमिटी सदस्य अनिल अधिकारीलगायतको उपस्थिति थियो ।
मकवानपुर । बागमती प्रदेशसभाको बजेट अधिवेशन वैशाख ३१ गते बोलाउन सर्वदलीय सहमती जुटेकाे छ । शुक्रबार प्रदेश सभा भवनमा बसेकाे सर्वदलीय बैठकमा यस्तो सहमति भएको हाे ।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाका अनुसार वैशाख ३१ गते बागमती प्रदेशसभाको अधिवेशन आह्वान गर्ने गरी सरकारले सिफारिस गर्ने सहमति भएको हाे । ‘जेठ १ मा प्रि बजेट छलफल, १५ गते नीति तथा कार्यक्रम पेस, असार १ गते बजेट पेस गर्ने गरी संसद्को क्यालेन्डर बनाउन पनि दलहरूबिच सहमति जुटेको थपलियाले बताए ।
त्यस्तै बजेटमाथिको विगतको कमजोरी सुधारेर सन्तुलित र व्यवहारिक बजेट बनाउन पनि दलहरू सहमत भएका छन् । यसअघिको बजेट सन्तुलित नभएको भन्दै विरोध भएको थियो ।
सर्वदलीय बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले समिति सभापतिमा मुख्य पाँच दललाई एक एक समिति सभापति दिने गरी प्रस्ताव पेस गरेका थिए । कार्यदलले यसैलाई आधार बनाएर टुङ्ग्याउने नेताहरूको दाबी रहेको छ ।
प्रदेशसभामा सात दलको प्रतिनिधित्व छ । मुख्यमन्त्रीको प्रस्तावमा सहमति जुटे हाम्रो नेपाली पार्टी र नेमकिपाले समिति सभापति पाउने छैनन् ।
बजेटमाथिको विगतको कमजोरी सुधारेर सन्तुलित र व्यवहारिक बजेट बनाउन पनि दलहरू सहमत भएको बताइएको छ। यसअघिको बजेट सन्तुलित नभएको भन्दै विरोध भएको थियो। सरकारमा सहभागिताकाे लागि नयाँ गठबन्धन जुटेपछि अब समितकाे सभापति पनि टुङ्गिने देखिएकाे छ ।