मकवानपुर । बागमती प्रदेशमा नेपाली काँग्रेसबाट मन्त्री बनेका ४ जनाले राजिनामा दिएका छन् । प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री बहादुर सिं लामालाई संसदीय दलको नेताबाट हटाएर उनलाई मुख्यमन्त्रीबाट समेत पदमुक्त गर्ने गरी नेपाली काँग्रेस भित्र कसरत सुरु भएकाे बुझिएको छ । शुक्रबार नै नेपाली काँग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसबाट हाल प्रतिनिधित्व गरिरहेका ४ मन्त्रीसहित २१ सांसदहरूले हस्ताक्षर गरेका छन् । संसदीय दलको कार्यालयमा कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा सांसदहरूको बैठक बसेको थियो । बैठकपछि अविश्वास प्रस्ताव दर्ता भएको हो । मुख्यमन्त्री लामा नेतृत्वको सरकारले आव २०८२/८३ का लागि ल्याएको बजेटमा कांग्रेसभित्र चर्को विवाद भएको थियो । बजेट विवाद उत्कर्षमा पुग्दा कांग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेको एक सांसदले दाबी गरे ।
कांग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ । यसै अनुसार लामालाई मुख्यमन्त्रीबाट हटाउनको लागि संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।
पछिल्लो समय बागमतीको मुख्यमन्त्री परिवर्तनका लागि कांग्रेसभित्र अन्तरसंघर्ष चलिरहेको छ । बहादुर सिंह लामाको बहिर्गमन पश्चात मुख्यमन्त्री बन्न इन्द्रबहादुर बानियाँ अगाडि सरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व परिवर्तन हुने स्पष्ट निर्देशन दिएपछि बानियाँ पक्ष अगाडि बढेको सांसदहरू बताउँछन् ।
देउवाले गत बुधवार मुख्यमन्त्री लामालाई बोलाएर छलफल गरेको थिए । उनले राजीनामा दिएर बानियाँलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएको समाचारबाट बाहिरिएपछि केही समय सम्पर्क विहीन भएका लामाले आफूलाई त्यस्तो केही दबाब नआएको प्रतिक्रिया दिएका थिए ।
लामाले मुख्यमन्त्री पद नछोड्ने अडान लिएपछी मन्त्रीहरुले सामूहिक राजिनामा दिएका हुन् । नेतृत्व हस्तान्तरण गर्न नसकिने धारणापछि बानियाँ पक्ष अविश्वासको प्रस्ताव लैजाने मनस्थितिमा पुगेको जनाइएको छ । १३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामासँग बागमती प्रदेश सभापति बानियाँ ५ मतले पराजित भएका थिए । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाएका थिए ।
बागमतीमा अहिले नेपाली काँग्रेसकै नेतृत्वमा सरकार सञ्चालनरत थियो । ११० प्रदेश सभा सदस्यहरुमा नेपाली काँग्रेसबाट ३७ जना सांसदहरु छन् ।
मकवानपुर । बागमतीका ४ मन्त्रीले राजिनामा दिएका छन् । यससंगै अविश्वासको प्रस्ताव दर्ता हुँदैछ ।
युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।
मकवानपुर । नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएकाे छ । माधव कुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियानबिच शुक्रबार एकता भएको हाे ।
राष्ट्रिय सभागृहमा भएको समारोहमा दुई पार्टीबिच एकता भएको घोषणा गरिएकाे छ । समारोहमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरेका थिए ।
मकवानपुर । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको छ । बैठकमा पार्टीको विधान महाधिवेशनको एजेण्डामाथि छलफल हुँदै छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीका लागि सचिवालय बैठक बोलाइएको हो ।
एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । त्यसैको तयारीका लागि सचिवालय, पोलिटव्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पेस भएको छ । राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने एमालेले जनाएको छ ।
मकवानपुर । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । ७८ लाख घुस काण्डमा मुछिएका उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाइसकेको उनले बताए । ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ’ उनले फेसबुकमा लेखेका छन् ‘कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ । म अहिले त्यसैको सिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु ।’
उनले प्रविधिको प्रयोग गरेर आफूलाई फसाइएको समेत दाबी गरेका छन् । उनले राजीनामा दिएसँगै अब फेरि देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पुरा गर्ने समेत फेसबुक मार्फत भनेका छन् ।
यसअघि सोमबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार मन्त्री गुप्ता आज राजीनामा बुझाएर हिँडेकाे बालुवाटार स्राेतले जनाएकाे छ ।
केही हप्ता पहिले मन्त्री गुप्ता र भूमी सम्बन्धी एक विचौलीयाकाे लेनदेन भएकाे सम्वाद वाहिरिएकाे थियो । एक जिल्लामा भूमि आयोगकाे अध्यक्ष बनाउन र साेही जिल्लामा मालपोत कार्यालयकाे प्रमुख परिवर्तनकाे लागि रकम लेनदेनकाे लागि भनिएकाे सम्वाद बाहिरिएकाे थियाे । उक्त सम्वाद बाहिरिए पछि मन्त्री गुप्ताकाे विषयले प्रतिनिधि सभामा समेत प्रवेश गरेकाे थियाे ।
नेकपा एमालेका राजकुमार गुप्ता प्रतिनिधिसभा अन्तर्गत पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई झिनो मतान्तरले पराजित गरेका थिए । गुप्ताले २४ हजार २६० मत प्राप्त गर्दा चौधरीले २४ हजार १०९ मत प्राप्त गरेका थिए ।
