मकवानपुर/ प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दिन पनि पर्खन नसकेकाले देश दुर्घटनातिर गएको केन्द्रीय सदस्य केदार न्यौपानेले बताएका छन् ।
मनहरी गाउँपालिकामा आयोजित गाउँ कमिटी बैठक तथा बिस्तारित भेलालाई सम्बोधन गर्दै न्यौपानेले पुस १० गते केन्द्रीय कमिटीको बैठकसम्म पुग्न पाएको भए संसद विघटन नहुने ठोकुवा गरे । ‘ओली कमरेडले हत्तारिएर संसद विघटन गर्नुभयो’, नेता न्यौपानेले भने ‘पुस १० गते बस्ने बैठकले सबै गाँठाहरु फुकाएर लैजानेमा हामी विश्वस्त थियौँ।’
५ वर्ष ओलीकै नेतृत्वमा सरकार चलाउने र अध्यक्ष पनि कायमै राख्ने अनि प्रचण्डलाई दिइएको कार्यकारी अध्यक्षको अधिकारको सूचि टुङ्ग्याउने गरी केन्द्रीय सदस्यहरुबीच सल्लाह भइरहँदा ओलीले अकस्मात संसद बिघटन गरेर तानाशाही प्रबृत्ति हाबी गरेको न्यौपानेको आरोप थियो । ‘हुन त बैठकबाट कुरा
मिल्ला भन्ने डर पनि होला उहाँनलाई’, न्यौपानेले ब्यंग्य गर्दै भने ‘कुरा मिल्यो भने संसद भंग गर्ने सपना त पूरा हुने थिएन ।’
उनले भागवत गीताको प्रसंग उठाउँदै राजालाई बलवानहरुले पाता फर्काएर गुरुकोमा पछारेको सुनाए । उनले भने ‘चुनाव जितेर हैसियत बिर्सेकाहरुलाई हैसियत देखाइदिने भनेको पाता फर्काएरै हो ।’ कार्यक्रमलाई सम्बोधन गर्दै कानूनविद् समेत रहेका नेकपा नेता सूर्यचन्द्र न्यौपानेले विधि, विधान, पद्धति, बैठक नमान्ने ओली प्रबृत्तिले देश बर्बादितिर धकेकोलेको बताए ।
प्रदेश कमिटी सदस्य ललित घलानले ओलीका हावादारी योजना र भाषणले जनता वाक्क दिक्क भएको बताए । गाउँपालिका कमिटी अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको बैठकमा जिल्ला कार्यालय सदस्य श्रीधर पोखरेल, सचिवालय सदस्यहरु राजाराम स्याङ्तान, बनस्तम थिङ,रेखा पुलामीमगरले ओलीको असंवैधानिक कदमको विरोध गरे ।
मकवानपुर /नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–मावध समुहले जिल्लाको बकैया गाउँपालिकामा अगुवा कार्यकर्ताहरुको लागि प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
बुधबार मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीमा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिरोध खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीको टिमको चुरिफुरी धेरै दिन नटिक्ने बताए ।
‘अहिले उहाँहरुको चुरिफुरी सत्ताको आडमा हो । प्रतिगमनको बाटो समाउनेहरुलाई जनताले माफ गर्ने छैनन्’, उनले भने । नेकपाका जिल्ला सचिव तथा प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी (छिन्तु) ले नेता कार्यकर्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीको गलत कदम बिरुद्ध एक जुट हुँदै वडा र टोल टोलमा संघर्षका कार्यक्रमहरु गर्न निर्देशन दिए । ‘हामीले जनतालाई बुझाउनु छ र असम्बैधानिक कदम खारेजीको लागि आन्दोलन बिकल्प छैन’, उनले भने, ‘राजा न नटिकेको देशमा तानाशाह बन्नेहरुको सपना पनि टिक्न सक्दैन ।’
बकैया गाउँपालिका पार्टी अध्यक्ष नारायण तिमल्सिनाको अध्यक्षतामा भएको प्रशिक्षणमा जिल्ला पार्टी कार्यालय सदस्य बद्रि लम्साल, सचिवालय सदस्य लक्ष्मी पाख्रिन, लक्ष्मी माझी, जिल्ला सदस्यहरु कृष्ण प्रसाद चौँलागाई, सिर्जना थिङ, लोकनाथ गौतम, परर्शुराम गौतम, प्रेम डिमडुङ, अमर स्याङ्तान लगायतको आतिथ्यता रहेको थियो ।
प्रशिक्षणमा गाउँ कमिटि र वडास्तर ससम्मका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको नेकपा मकवानपुरका सचिवालय सदस्य कमान सिं पाख्रिन (पृथक)ले बताए ।
मकवानपुर/नेपाल कम्युनिष्ट पाटी (प्रचण्ड–माधव) समुह मकवानपुरको बागमती गाउँपालिकामा प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम भएको छ ।
आज मंगलबार भएको प्रशिक्षण कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी, नेपाली काँग्रेस र राप्रपाबाट दुई दर्जन बढि नेता कार्यकर्ता नेकपा प्रवेश गरेका छन् । नेकपा क्रान्तिकारी माओवादी मकवानपुरका सचिवालय सदस्य माधव घोरसाइनी, जिल्ला सदस्य जित बहादुर भ्लोन सहित बागमती गाउँ कमिटि नेकपामा प्रवेश गरेको छ । त्यस्तै नेपाली काँग्रेस बागमती गाउँपालिका ५ का पूर्व सभापति केदार थापा, ४ नम्बर वडाबाट कमल रसाइली, निसान भोम्जन, आसाराम थिङ, ७ नम्बर वडाबाट निर्मला तिमल्सिनाको नेतृत्वमा नेकपा प्रवेश गरेको हो ।
राप्रपाबाट एमध्वज बल, धनबीर स्याङ्तान लगायत पार्टी प्रवेश गरेका थिए । उनीहरुलाई नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला अध्यक्ष मुनु सिग्देलले स्वागत गरेको नेकपा मकवानपुरका सचिवालय सदस्य कमान सिं पाख्रिन ९पृथक० ले बताए । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य न्यौपानेले प्रधानमन्त्री गलत कदम चाल्दै दुई तिहाई जनमतको अपमान गरेको बताए ।
पार्टी अध्यक्ष सिग्देलले प्रधानमन्त्रीको असम्बैधानिक कदमको बिरुद्ध वडा तहसम्म संघर्षको कार्यक्रम अघि बढाउन कार्यकर्ताहरुलाई निर्देशन दिइन् । पौष महिनाभित्र वडा कमिटि बैठक, प्रशिक्षण र जनवर्गीय संगठनहरुको बैठक सकाउने र गाउँपालिका स्तरीय बृहत्त कार्यकर्ता भेला प्रशिक्षण गरिने उनले बताइन् ।
कार्यक्रममा नेकपा बागमती प्रदेश कमिटि सदस्य सर्केश घलान, जिल्ला पार्टी सचिवालय सदस्य भगवती पुडासैनी, ज्ञान सागर भ्लोन, जिल्ला सदस्यहरु सर्मिला बिक,जनक पहरी, दिलदोर्जे पाख्रिन, दन्तलाल माझी, मंगल रखाल लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर/ बागमती प्रदेश प्रदेश सभाको बैठक आगामी माघ ७ गते बस्ने भएको छ । आज शुक्रबार बसेको बागमती मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रीपरिषद्को बैठकले प्रदेश प्रमुखको कार्यालयलाई प्रदेश सभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमणको भयले लामो समयदेखि बस्न नसकेको प्रदशे सभा बैठक आगामी माघ ७ गते भने प्रदेश सरकारले बाध्य भएर बस्दैछ । प्रदेश सभाको नियमावली अनुसार चलेको देखाउन मात्रै प्रदेशसभाको बैठक आह्वानको लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको देखिन्छ । प्रदेश सभा नियमावली अनुसार संसद अधिवेशन सकिएको ६ महिना भित्रमा अर्को अधिवेशन बोलाउनु पर्ने व्यवस्था रहेको छ ।
बागमतीमा प्रदेश सभाको बैठक गत साउन ८ गतेदेखि बसेको छैन । गत साउन ८ गते प्रदेशसभा सचिवालयको छैटौं अधिवेशन अन्त्य भएको घोषणा गरेको थियो । माघ ८ गते घोषणाको ६ महिना पुग्दैछ । ६ महिना पुग्न एक दिन मात्रै अगाडी संसद बैठक आह्वान गरिनुले पनि प्रदशे सरकारकारले प्रदेश सभाको नियमावलीको मात्रै सम्बोधन गर्न लागेको प्रष्ट देखिन्छ ।
सदनको अधिवेशन अन्त्य भएर अर्को अधिवेशन बोलाउनका लागि मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले आह्वान गर्ने प्रावधान रहेको छ । बागमती प्रदेश सरकार गठनदेखि नै विवादमा रहेको नेकपा संसदीय दलभित्रको विवाद केन्द्रमा भएको विवादले झन बढेपछि प्रदेश सरकारले संसद छल्दै आईरहेको थियो ।
यता बागमती प्रदेश सभाको बैठक चल्ने मिति तोकिएता पनि संसदमा विधेयक माथि भने खासै छलफल नहुने देखिएको छ । बागमती प्रदेश सभा सचिवालयका अनुसार सचिवालयमा ‘विजनेस’को रुपमा हालसम्म जम्मा दुईवटा मात्रै विधेयक रहेको छ । भौतिक मन्त्रालयको सिफारिमा आएको सडक विधेयक र नेकपाका प्रचण्ड–नेपाल समुहले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धमा गरेको अविश्वास प्रस्ताव दुइ वटामात्रै विषय छलफलका लागि तयार छन् ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशका तीन जना मन्त्री सहित ४६ जना सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्रीका विरुद्धमा अविस्वासको प्रस्ताव प्रदेश सभा भबन हेटौंडामा शुक्रबार दर्ता गरिएको हो । नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल प्रस्तावक र सांसद अरुण नेपाल समर्थक रहि अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

त्यस्तै बागमती प्रदेश सरकारका ३ मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल रहेका छन् ।
प्रचण्ड माधव नेपाल समुहले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको प्रस्ताब गरेको छ । नेकपाको विभाजन पुर्व नेकपा बागमती प्रदेशकी इन्चार्ज समेत रहेकी शाक्यलाई संसदीय दलको नेता सहित मुख्यमन्त्रीको लागि प्रस्ताब गर्दै आज बागमती प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव पेश भएको सांसद जम्कट्टेलले बताए । पार्टीको सिनियर नेता अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता सहित मुख्यमन्त्रीको प्रक्रिया अघि बढाएका छौ उनले भने ।

बागमती प्रदेशसभा ११० सदस्यीय छ । सरकार सन्चालनका लागि ५६ सिट चाहिन्छ । नेकपाका सांसद मात्रै ८० जना छन् । तीमध्ये प्रचण्ड–माधव नेपाल पक्षीय सांसदको संख्या ४६ छ । केपी शर्मा ओली निकट सांसद ३४ जना छन् । कांग्रेस २२, विवेकशील साझा ३ र अन्य ५ जना सांसद बागमती प्रदेशमा छन् ।
अविश्वासकाे प्रस्ताव र हस्ताक्षर गर्ने सांसदहरू

