सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बिहीबारको बैठक बिनानिष्कर्ष टुंगिएको छ । विगत चार दिनदेखि निरन्तर छलफलमा रहेका नेताबीच सहमति हुन सकेको छैन । तर, उनीहरूले वार्ता सकारात्मक भन्दै कृत्रिम अभिव्यक्ति दिइरहेका छन् ।
नेताहरूको यस्तो कार्यशैलीले एमाले एकजुट बन्न कठिन हुन सक्ने भन्दै आमकार्यकर्ताहरूमा आक्रोश छाउन पुगेको छ । कुनै सहमति हुन सकेको छैन । एमाले एकतामा सहमति हुने हो कि विग्रह आउने हो भन्नेमा अझै अन्योल छ । यस्तो अन्योलता बढ्न थालेपछि कार्यकर्ता तहमा आक्रोश छाउन पुगेको हो ।
सिंहदरबारमा बिहीबार कार्यदलको बैठक एकै दिन दुईपटक बसे पनि कुनै सहमति जुट्न सकेन । पार्टी एकताका लागि गम्भीर छलफल भए पनि अझै कुनै सहमति हुन नसकेको कार्यदलका सदस्यहरूले जनाएका छन् । छलफल जारी रहेको र शुक्रबार पुनः छलफल हुने नेताहरूले बताए । वार्ता निष्कर्षविहीन भए पनि सधैं सहमति हुने क्रममा छ भन्दै नेताहरूले झुट बोल्न थालेकाले उनीहरू ‘पेन्डु्लम’ बन्दै जान थालेको आमकार्यकर्ताको निष्कर्ष छ ।
नेकपा स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले कार्यदलले सहमति जुटाएरै छोड्ने विश्वास व्यक्त गरे । छलफल जारी रहेको र शुक्रबार पुनः कार्यदलको बैठक बस्ने सहमति भएको उनले बताए । ‘छलफल जारी नै छ, हामी विश्वस्त छांै कि कार्यदलले सहमतिका साथ पार्टी एकतालाई उचित निष्कर्षमा पु¥याउनेछ, हामी भोलि (शुक्रबार) पुनः बैठक बस्नेछौं,’ नेम्वाङले भने ।
यसअघि बिहीबार नै बसेको पहिलो बैठकपश्चात् साँझ बस्ने अर्को बैठकबाट सहमतिका साथ निष्कर्षमा पुग्ने जानकारी नेम्वाङले गराएका थिए । तर कार्यदलको बैठक निरन्तर जारी रहेको भए पनि सहमति जुट्न सकेको छैन ।
एमालेका उपमहासचिव एवं कार्यदलका सदस्य घनश्याम भुषालले कार्यदलभित्र कुनै सहमति हुन नसकेको बताए । विगत १० दिनअघि एमालेमा जुन विवाद थियो त्योभन्दा अघि थप कुनै प्रगति नभएको उनले बताए । बिहीबार साँझ बसेको बैठकमा कार्यदलका सदस्य रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित भएपछि थप छलफल अगाडि बढ्न सकेन । एमाले उपमहासचिव समेत रहेका उपप्रधानमन्त्री पौडेल मन्त्रिपरिषद्को बैठकमा सहभागी हुनुपर्ने कारणले कार्यदलको बैठकमा सहभागी हुन नसकेको बताइएको छ ।
‘हामी १० दिनअघि जहाँ थियांै, आज पनि त्यही छौं । १० दिन अघि केही एजेन्डाहरू तय गरेका थियौं । विभिन्न कारणले हामी ठोस र मूर्त योगदान गर्न सकेका छैनौं । कुनै प्रगति भएको छैन,’ भुषालले भने ।
बिहीबारसम्म आइपुग्दा पार्टीभित्र देखिएको विवाद समाधान उन्मुख भएको र त्यसलाई मूर्तरूप दिनुभन्दा अघि शीर्ष नेताबीचसमेत छलफल भएको थियो । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार राति छलफल भएको थियो । ओली र नेपालबीच भएको छलफलमा समेत कुनै सहमति जुट्न नसकेपछि कार्यदलको बैठक बिहीबार पुनः बस्यो । तर, कार्यदलबीच समेत सहमति जुट्न नसको बैठक लम्बिँदै गएको छ ।
ओली सर्वोच्च अदालतको फैसला अघि नै नेपाल समूहले गरेको हस्ताक्षर फिर्ता हुनुपर्ने अडानमा छन् । हस्ताक्षर फिर्ता नभए अदालतको फैसला स्वीकार गर्दै त्यसपछि पनि आफू नेतृत्वकै सरकारको निरन्तरता हुनुपर्नेमा नेपाल समूहको प्रतिबद्धता आउनुपर्ने ओलीको अडान छ ।्
तर, नेपाल समूहले हस्ताक्षर फिर्ता नलिने भन्दै अदालतको फैसलाअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् । नेपाल पार्टी एकतापश्चात् आफू निकटका नेताहरूको अवस्था सुरक्षित होस् भन्ने रणनीतिमा छन् । एक व्यक्ति एक प्रमुख जिम्मेवारी हुनुपर्ने अडानमा नेपाल छन् । साथै पार्टीको आधिकारिक पत्र एवं निर्णय सहमतिमा हुनुपर्ने र त्यस्तो पत्रमा आफ्नो पनि हस्ताक्षर हुनुपर्ने सर्त नेपालले राखेका छन् । त्यसमा ओली सहमत हुन सकेका छैनन् ।
अन्य विषयमा कार्यदल सहमतिनजिक पुगे पनि ओली र नेपालले हस्ताक्षरसहित घोषणा गर्ने पार्टी एकताको वक्तव्यमा उल्लेख हुने साझा भाषाको खोजीमा रहेको एमाले स्रोतले जनाएको छ । ओली र नेपाल अदालतको फैसलाअनुसार अघि बढ्ने, २ जेठ २०७५ कै अवस्थाबाट पार्टी र जनवर्गीय संगठनहरूको सञ्चालन गर्ने विषयमा सहमत छन् । यस्तै केन्द्रीय कमिटीको संख्या र एमाले प्रवेश गरेका पूर्वमाओवादी केन्द्रका नेताहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अझै सहमति हुन नसकेको कार्यदलका एक सदस्यले बताए ।
पार्टी नेताकार्यकर्ताको दबाबमा शीर्ष नेता कार्यदललाई सक्रिय बनाउँदै पार्टी एकता जोगाउनमा सक्रिय हँुदै आइरहेका छन् । कार्यदलमा ओली समूहबाट संयोजक नेम्वाङ, सदस्यमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । यस्तै, नेपाल समूहबाट भीम रावल संयोजक र सदस्यमा घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त रहेका छन् ।
राजधानी दैनिकमा प्रकाशित समाचार साभार गरिएकाे
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधान भई पार्टी एकजुट हुने संकेत देखिएको छ । बुधबार विवाद समाधान गर्न गठित उच्चस्तरीय कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो संवाद र कुराकानी भएको छ ।
होटल मेरियटमा भएको छलफलमा दुई नेताबीच मन माझामाझ भएपछि एमाले अब एकजुट हुने संकेत देखिएको हो । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विचार र सिद्धान्तमा मतभेद नभए पनि उनीहरू दुईमा देखिएको व्यक्तिगत टकरावका कारण पार्टी फुटको सँघारमा पुगेको थियो ।
तर दुवै पक्षको सहमतिमा बनाइएको युवा नेताहरू सम्मिलित कार्यदलले ओली र नेपाललाई विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन उच्च दबाब दिएपछि ओली र नेपाल पार्टीको विवाद समाधान गर्न तत्पर देखिएका हुन् । कार्यदलका सदस्यसँग दुवैको सामूहिक भेटघाट र छलफल भएपछि ओली नेपाल ‘वान टु वान’ वार्तामा बसेका थिए ।
वार्ताबाट सहमति गरी पार्टी एकजुट भएको सन्देश दिने गरी वक्तव्य निकाल्ने प्रयास भए पनि त्यसलाई बिहीबार अन्तिम रूप दिने सहमति भएको जनाइएको छ । ओली र नेपालबीच विभिन्न विषयमा छलफल भए पनि बुधबार नै सहमति भने जुट्न सकेन । यद्यपि, विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन दुवै नेताहरू लचक देखिएको एमालेका दोस्रो तहका नेताहरूको भनाइ छ ।
पार्टीभित्रको विवाद समाधानका लागि बुधबार बसेको कार्यदलको बैठक सहमतिनजिक पुगेको र पार्टी शीर्ष नेतासँग छलफल गरेर बिहीबार अन्तिम रूप दिने भएका छन् । यसअघि सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवादित विषयमा सहमति जुटाउने सार्थक प्रयास गरेको थियो ।
विवादित सबै विषयमा कार्यदलका सदस्य सहमतिनजिक पुगेको र त्यसलाई अन्तिम रूप दिनुभन्दा अघि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग कार्यदलका सदस्यले छलफल गरेका हुन् ।
एमाले नेता तथा कार्यदल सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको छलफल सकारात्मक भएको बताए । ‘अब छिटै निकास निस्कनेमा आशावादी छौं,’ पाण्डेले भने ‘संयुक्त विज्ञप्ति आउने विषय धेरै अघि बढेको छ, सम्भवत छिटै आउनेछ ।’
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विवाद भएपछि पार्टी एकताका लागि दुवै पक्षका नेताहरू रहेको कार्यदल गठन भएको थियो । कार्यदलबीच केन्द्रीय कमिटीको संख्या, पार्टी २ जेठ २०७५ मा फर्किने, एमाले प्रवेश गरेका पूर्वमाओवादी केन्द्रका नेताहरूको व्यवस्थापन, सर्वोच्च अदालतमा दायर रिटलगायतका विवादित विषयमा सहमति जुटेको एमाले स्रोतको दाबी छ ।
यी विषयमा भाषा मिलाउने विषयमा ओली र नेपालसँग कार्यदलका सदस्यले छलफल गरेको बताइएको छ । ओली र नेपालबीच भएको छलफलमा धेरै विषयमा सहमति जुटेमा केही विषयमा सहमति जुट्न बाँकी रहेको बताइएको छ ।
नेकपा एमालेका नेता एवं कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले बैठकमा गम्भीर र सकारात्मक छलफल भएको बताए । बिहीबारसम्ममा सबै विवादित विषयमा सहमति जुट्ने बताउँदै उनले अहिलेसम्म भएको प्रगतिबारे शीर्ष नेताहरूसँग समेत छलफल भएको र छिट्टै टुंगो लगाइने बताए ।
‘विवादित सबै विषयमा गम्भीर र सकारात्मक रूपमा हामी छलफल ग¥यौं । शीर्ष नेताहरूसँग छलफलपश्चात् बिहीबार अन्तिम रूप दिनेछौं । मलाई विश्वास छ हामी एकताको विषयमा चाँडै निष्कर्षमा पुग्नेछौं,’ नेम्वाङले भने ।
कार्यदलका सदस्यहरू विगत तीन दिनदेखि निरन्तर छलफलमा छन् । सोमबार, मंगलबार र बुधबार गरी तीन दिन निरन्तर छलफलपश्चात् पार्टी एकताको खाका तयार गर्न कार्यदलबीच सहमति जुटेको हो ।
नेकपा नेता एवं कार्यदलका सदस्य गोकर्ण विष्टले पार्टी एकताका लागि सबैबीच गम्भीर रूपमा छलफल भएको र आफूहरू सहमतिनजिक पुगेको बताए । अविश्वासको खाडल कम हँुदै गएको बताउँदै उनले विवादित विषयमा एकमत रूपले अगाडि बढ्ने सहमति भएको बताए ।
‘हामी सहमतिनजिक पुगिसकेका छौं । अविश्वासको खाडल कम हँुदै गएको छ । एमाले प्रवेश गरेका पूर्वमाओवादी केन्द्रका नेताहरूको सही रूपमा व्यवस्थापनदेखि पार्टीका सम्पूर्ण कमिटी २ जेठमा फर्काउनेलगायतका विषयमा हामी गम्भीर रूपमा छलफल गरेका छौं,’ विष्टले भने ।
पार्टी नेताकार्यकर्ताको दबाबमा शीर्ष नेता कार्यदललाई सक्रिय बनाउँदै पार्टी एकता जोगाउनमा सहमत भएका हुन् । कार्यदलमा ओली समूहबाट संयोजक नेम्वाङ, सदस्यमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । यस्तै, नेपाल समूहबाट भीम रावल संयोजक र सदस्यमा घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त रहेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता हुनुपर्ने अडान ओलीको छ । नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । हस्ताक्षर फिर्ता गर्न सोमबार (२१ असार) साँझ ५ बजेको समय नेपाल समूहलाई दिइएको थियो ।
गत शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले हस्ताक्षर फिर्ता लिन अल्टिमेट दिएको हो । तर, नेपाल समूहले हस्ताक्षर फिर्ता लिएको छैन । नेपाल समूहले पार्टी २ जेठ २०७५ मा फर्किनुपर्ने अडानमा लिँदै आएको छ । राजधानी दैनिकमा प्रकाशित समाचार साभार गरिएकाे
मकवनपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले आफ्नो संगठनलाई असार महिनाभित्र विस्तार गर्न निर्देशन दिएको छ । एमाले मकवानपुरले आफ्नो संगठनलाई असार महिनाभित्र जिल्ला कमिटि, गाँउ तथा घटक संगठनहरु विस्तार गर्न भनेकाे हाे ।
बुधबार नेकपा एमाले मकवानपुरको पार्टी कार्यलयमा भएको मोर्चा संगठनको संयोजक, सहसंयोजक तथा सचिवहरुको संयुक्त बैठकमा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले असारको अन्तिम भित्र सबै मोर्चा संगठनको जिल्ला समिति विस्तार गरिसक्न निर्देशन दिएका हुन् ।
नेकपा एमालेलाई चलायमान राख्नको लागि मोर्चा संगठनको प्रमुख भूमिका हुने भन्दै अध्यक्ष श्रेष्ठले कुनैपनि विषयमा अन्योलन नपर्न समेत मोर्चा संगठनको नेतृत्वलाई सुझाव दिएका छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली नेतृतवको एमालेनै मुलधार रहेको भन्दै अध्यक्ष श्रेष्ठले मोर्चा संगठनको जिम्मेवारी बहन गर्न निर्देश गरेका हुन् ।
कोरोना महामारी तथा प्राकृतिक विपत्तीको समयमा मोर्चा संगठनले महत्वपूर्ण जिम्मेवारीको साथ काम गरिरहेको उल्लेख गर्दै उनले मकवानपुरमा क्रियाशिल करिब दुई दर्जन मोर्चा संगठन असार भित्रै विस्तार भई चलाएमान गराउन निर्देशन दिएका छन् । एमाले सरकारले गरेको विकासको कामको प्रचार गर्ने, समाजमा भएका विकृतिलाई न्यूनिकरण गर्ने अभियान सञ्चालन गर्दै पार्टीलाई थप उचाईमा पुर्याउन मोर्चा संगठनहरुको महत्वपूर्ण भूमिका हुने भन्दै उनले मोर्चा संगठन चलायमान रहे पार्टी थप बलियो हुने बताए ।
नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले पार्टीको केन्द्रमा देखिएको विवादको कारण जिल्लामा मोर्चा संगठनहरु अन्यौलमा पर्नु नपर्ने बताए । जिल्लाका मोर्चा संगठनहरुले निर्धक्क भएर कमिटि विस्तारको अभियान सञ्चालन गर्दै आफ्ना गतिविधिलाई निरन्तरता दिन समेत उनले निर्देशन दिएका थिए ।
बैठकमा अनेरास्ववियु, युवा संघ, अनेमसंघ,खेलकुद महासंघ, मुस्लिम, जनजाती, जनसास्कृतिक महासंघ, कानुन ब्यवसायी, ब्यापार संघ सहितका एमालेका मोर्चा संगठनका नेताहरुको सहभागिता थियो । कार्यक्रमको सहजिकरण एमाले मकवानपुरका सचिव लालबहादुर थापाले गरेका थिए ।
नेकपा एमालेको विवाद सुल्झने दिशातर्फ बढेको सो दलका नेताहरूले बताएका छन्। विवाद समाधान गर्न गठित कार्यदलको दुई दिनदेखि जारी बैठक सकारात्मक दिशातर्फ उन्मुख भएकाले एमाले नेताहरू उत्साहित देखिएका छन्।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलको संयोजन गरिरहेका भीम रावलले सोमबारको बैठकमा सबै विषयमा जानकारी लिने काम भएको र मंगलबार बुँदागत रूपमा छलफल सुरु भएको बताएका छन्। उनका अनुसार सहमतिका बुँदामा कार्यदलका सबै सदस्यले धारणा राख्ने काम भएको छ। ‘कसरी अघि जान सकिन्छ भन्ने विषयमा भोलि छलफल हुन्छ। टुंगो तुरुन्तै नलागे पनि समस्या समाधानका दिशामा अघि बढेका छौं,’ पार्टी उपाध्यक्षसमेत रहेका रावलले भने।
मंगलबार साढे दुई घण्टा भन्दा बढी समय चलेको बैठकमा यसअघि तयार भएको मस्यौदामाथि छलफल भएको थियो। कार्यदलका सदस्यले पार्टीका सबै तहलाई मिलाउने गरी प्याकेजमा सहमति गर्न तयार मस्यौदामा छलफल भएको बताएका छन्। ‘हिजो बैठकमात्र बसिएको थियो, आज बुँदागत छलफल भयो। छलफल जारी रहन्छ,’ बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै कार्यदलका सदस्य रघु पन्तले भने।
उनका अनुसार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालले जारी गर्ने भनिएको संयुक्त वक्तव्यको विषयमा भने मंगलबार कुनै छलफल भएन। सोमबारको तुलनामा मंगलबारको संवाद निकै सकारात्मक रहेको कार्यदलका सदस्यले बताएका छन्। बैठक बुधबार पनि बस्नेछ। बुधबारको बैठकले मूल विषयमा छलफल गरेर टुंगो लगाउने नेताहरूको दाबी छ।
कार्यदलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। यस्तै वरिष्ठ नेता नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण बिष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्। नेताहरूले धेरै विषय कार्यदल तहबाटै टुंगो लगाउने र त्यहाँबाट टुंगो नलाग्ने विषयलाई ओली–नेपालबीच कुराकानी गराएर सुल्झाउने जनाएका छन्।
नेपाल पक्षले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर सर्वोच्च अदालतसम्म पुगेको र हस्ताक्षर फिर्ता लिनुपर्ने केपी ओलीको सर्त अस्वीकार गरेपछि एमाले विभाजनको डिलमा पुगेको थियो। तर दोस्रो पुस्ताका नेताहरूको निरन्तर प्रयासपछि निष्कृय कार्यदललाई ब्युँताएर विवाद निरूपणका लागि काम सुरु गरिएको छ। दुवै पक्षका नेताले सर्वोच्च अदालतमा बहस सकिएपछि हस्ताक्षर फिर्ता लिनु र नलिनुको कुनै औचित्य नभएको र सर्वोच्चबाट आउने आदेश पालना गरेर जानुपर्ने बाध्यता रहेको महसुस गरेका छन्। उनीहरूले सर्वोच्चबाट आउने आदेशलाई पार्टीहितमा उपयोग गर्नेगरी विवाद निरूपण गर्ने जनाएका छन्।
दाहाल–नेपाल भेट
सिंहदरबारमा एमाले विवाद निरूपण कार्यदलको बैठक बसिरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। माओवादी नेता महादेव यादवको श्रद्धाञ्जली सभामा सहभागी हुन मंगलबार बिहान जनकपुर गएका दाहाल त्यहाँबाट फर्केपछि सीधै नेपाललाई भेट्न पुगेका थिए। सोमबार साँझ शेरबहादुर देउवा निवासमा नेपाल, देउवा र दाहालको भेट्ने कार्यक्रम भए पनि नेपाल नगएपछि दाहाल मंगलबार उनको निवासमै पुगेका हुन्। प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुका साथै विपक्षी दलको कसिलो मोर्चा बनेको छ। सो मोर्चामा नेपालको पनि सहभागिता छ।
निर्वाचन आयोगले सोमबार नै निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशन गरेपछि तीन नेताबीच छलफल कार्यक्रम राखिएको थियो तर नेपाल सहभागी नभएपछि दाहाल पनि देउवा निवासमा आधाघण्टा मात्रै बसेर फर्केका थिए। दाहाल र नेपालबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ। एमाले विवाद मिलेमा गठबन्धनको भविष्य के हुने भन्नेबारेमा पनि उनीहरूबीच छलफल भएको स्रोतको दाबी छ। नागरिक दैनिकमा प्रकाशित समाचार साभार गरिएकाे
मकवानपुर । मकवानपुरकाे जिल्ला शिक्षा कार्यालयमा जिल्ला शिक्षा अधिकारी पदमा काम गरेका खड्गबहादुर कमाल मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा नियुक्त भएका हुन् । लामाे समय सरकारी सेवामा रहेका कमाल गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन्।
त्रिभुवन विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर गरेका उनले काठमाडौं विश्वविद्यालयबाट एमफिल गरेका छन्। मुख्यमन्त्रीले ५ जनासम्म विज्ञ नियुक्त गर्न पाउने प्रावधान छ। राजनीतिक सल्लाहकारले प्रदेश राज्यमन्त्री सरह सुविधा पाउने छन्।
नवलपुर (नवलपरासी) बुलिङटारका कमाललाई गत आइतबारको प्रदेश मन्त्रिपरिषद बैठकले राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हाे। निजामति सेवा अन्तर्गत शिक्षा सेवामा लामो समय क्रियाशील कमाल पछिल्लाे पटक क्षेत्रीय शिक्षा निर्देशकबाट अवकाशप्राप्त भएका हुन्। अवकाशपछि उनी राजनीतिमा सक्रिय छन्।