मकवानपुर । आगामी २१ फागुनकाे लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनकाे लागि निर्वाचन आयोगमा ८० वटा दल दर्ता भएका छन् । आयोगका अनुसार मंगलबार साँझसम्म ८० वटा दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका छन् ।
मंगलबार नेकपा एमाले, राप्रपा नेपाललगायतका १६ वटा दल निर्वाचनकाे लागि दर्ता भएकाे छ । सोमबार नेपाली काँग्रेसलगायतका दल दर्ता भएका थिए । आयोगमा कुल १३४ दल दर्ता रहेका छन् । तीमध्ये ८० दलले दल दर्ता गराएका हुन् । आयोगले निर्वाचन प्रयोजनकाे लागि १ मंसिरबाट १० मंसिर बुधाबारसम्म दल दर्ताको समय ताेकेकाे थियाे ।
आयोगका अनुसार १ मंसिरमा १२ वटा दल दर्ता भएका थिए । मंसिरमा २ गते ५ वटा, ३ गते ८ वटा, ४ गते ८ वटा, ५ गते ७ वटा, ७ गते १६ वटा, ८ गते ८ वटा दल दर्ता भएका छन् । निर्वाचन प्रयोजनकाे लागि दर्ता हुने दलहरुकाे संख्या बढ्न सक्ने आयोगले जनाएकाे छ ।



दुर्गा प्रसाई थुनामुक्त भएका छन् । आइतबार सर्वोच्च अदालतका न्यायाधिस डा. नहकुल सुवेदी र श्रीकान्त पाैडेलकाे संयुक्त इजलासले प्रसाईलाई थुनामुक्त गर्न आदेश दिएकाे हाे ।
उनका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । अभिव्यक्तिलाई लिएर मात्र प्रसाईँलाई पक्राउ गरिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लङ्घन हुने अदालतको आदेशमा भनिएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाई मंसिर २ गते मध्यराती भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।
मकवानपुर । श्रम संस्कृति पार्टीले कैलाश गाउँपालिकामा समिति विस्तार गरेको छ। पार्टीका मकवानपुर जिल्ला संयोजक युनेश लामा, सह–संयोजक किशोर राना, दिलबहादुर गुरुङलगायत नेताहरूको उपस्थितिमा भएको भेलाले पालिकामा समिति गठन गरिएको हो ।
भेलाले दुर्गराज घलानलाई कैलाश गाउँपालिका संयोजकको जिम्मेवारी दिएको छ। घलानको संयोजकत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरिएको हो । समिति सचिव देबिका राई (तितुङ), कोषाध्यक्ष बिमला थोकर, सदस्यहरू दिलप्रसाद गुरुङ, प्रतापसिंह वाइबा, विजय सिन्तानलगायत रहेका छन्।
मकवानपुर । संघीय सरकारले ७ लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि उक्त थान हालको आपूर्तिकर्ता कम्पनीसँग खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हाे ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार राहदानीको अभाव देखिएपछि सरकारले सम्झौता रद्द भइसकेको फ्रान्सेली कम्पनीसंगै अन्तरिम अवधिका लागि भेरियसन आदेशबाट राहदानी खरिद गर्न लागेकाे हाे । यसैगरी बंगलादेशको ढाकामा मंसिर १० र ११ गते हुने नेपाल–बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्य गठन गठित संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालन समितिको सातौं बैठकमा सहभागी हुन ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत नेतृत्वको टोलीलाई स्वीकृति दिने निर्णय गरेको छ ।
यस्तै लुम्बिनी विकास कोष, लुम्बिनी विकास परिषद्को सदस्य सचिवमा दीपक श्रेष्ठलाई मनोनीत गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए । बैठकले नेपाली सेनाका एकजना महासेनानीलाई सहायक रथीमा बढुवा र एक जना सहायक रथीलाई उपरथी दर्जामा विशेष बढुवा गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए । त्यस्तै उपभोक्ता अदालत र बाल अदालतको संगठन संरचना दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय समेत भएकाे छ । मंसिर ८ देखि १२ सम्म चीनको ल्हासामा आयोजना हुने महिला सेमिनारमा आदिवासी जनजाति आयोगका सदस्य रिना रानालाई सहभागी भइ जान स्वीकृत प्रदान गरेको छ ।
मकवानपुर । मंसिर ३ गते बुधबार रातको ११ः५९ बजेदेखि वर्षे अधिवेशन अन्त्य गर्न बागमती प्रदेश सरकारले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ ।
बागमती प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको हो । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो सिफारिस गरेको हो । बैठकले प्रदेश सभाको चालु वर्षे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।
नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम मंसिर ३ गते बुधबार रातको ११ः५९ बजेदेखि अधिवेशन अन्त्य हुने गरी सिफारिस गर्ने निर्णय गरेको उनले बताए । सरकारले अब छिट्टै विधेयक केन्द्रित हिउँदे अधिवेशन बोलाउने तयारी गरेको उनले बताए ।