मकवानपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशन सकिए लगत्तै देउवाले केन्द्रीय सदस्यमा विधान बमाेजिम मनाेनित गरेका हुन् ।
कांग्रेस पार्टी विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ । सोही प्रावधान अनुसार, सभापति देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् ।
देउवाले पौडेलसँगै विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनित गरेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । महाधिवेशनबाट १ सय ३४ जना निर्वाचित भएका हुन् भने सभापतिका निकटम प्रतिस्पर्धी स्वतः केन्द्रीय सदस्य हुने विधानको व्यवस्था छ ।
मकवानपुर । सवारी दुर्घटनाका घाइतेहरुको प्राथमिक उपचारका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले उपकरण सहयोग गरेको छ । मन्त्रालयमा शुक्रबार भएको कार्यक्रममा बागमती प्रदेशका ५ वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण हस्तान्तरण गरिएको हो ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा र राज्यमन्त्री कल्पना नेपालीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मकवानपुरको मनहरी, धादिङको गजुरी, काभ्रेको पाँचखाल, सिन्धुपाल्चोकको मेलम्ची र रामेछापको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई सामग्री सहयोग गरेको छ ।
उपकरण सहयोगका लागि ५० लाख रुपैंया बजेट विनियोजन भएको केन्द्रका निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटाले जानकारी दिए । निर्देशनालयले प्यासेन्ट मोनिटर, अक्सिजन कन्सर्नट्रेटर, इसिजि मेसिन, व्हिल चियर, बेड, स्टेचर, अक्सिमिटर लगायतका उपकरण सहयोग गरिएको छ ।
सहयोग सामग्री हस्तान्तरण गर्दै मन्त्री निमा लामाले प्रदेशका ग्रामिण भेगसम्म सडक पूर्वाधारको विस्तार भईरहेको र दुर्घटनाको दर समेत बढेकाले दुर्घटनामा घाइतेहरुको जीवन रक्षाका लागि सहयोग गरिएको उपकरण उपयोगी हुने विश्वास व्यक्त गरे । उनले दुर्घटनाका घाइतेहरुलाई समयमै उद्धार र प्राथमिक उपचारका लागि मन्त्रालयले उपलव्ध गराएको उपकरणको सदुपयोग गर्न समेत सुझाव दिए ।
उनले आगामी दिनमा प्रदेशका सवारीको बढि चाप हुने सडकको प्रत्येक ५० किलोमिटरमा स्वास्थ्यकर्मीहरुको टिमसहित एम्बुलेन्सको व्यवस्था गरिने बताए । उनले प्रदेशको स्वास्थ्य क्षेत्रको सुधार र सुदृढिकरणका लागि सबैको सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई सबल बनाउन निरन्तर सहजीकरण एवं सहयोगका लागि काम गरिरहेको र यसलाई निरन्तरता दिने बताउँदै सेवा प्रवाहलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिईन् ।
स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ, निक साइमण्ड इष्टिच्युटका कार्यकारी अधिकृत अनिलबहादुर श्रेष्ठ, विभिन्न स्थानीय तहका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । बागमती प्रदेश नीति तथा योजना आयोगमा अध्यक्ष सहित ३ जना नियुक्त भएका छन । प्रदेश सरकारले आयोग उपाध्यक्षमा चितवनका डा. कृष्णराज पन्तलाई नियुक्त गरेको छ भने सदस्यद्वयमा मकवानपुरका प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाललाई नियुक्त भएका छन ।
मुख्यमन्त्री राजेन्द्र पाण्डेले उनीहरुलाई बुधबार पद तथा गोपनीयताको सपथग्रहण गराएका छन् । मुख्यमन्त्री अध्यक्ष रहने प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष र ४ सदस्य गरी पाँच सदस्यीय मनोनित पदाधिकारी रहने व्यवस्था रहेको छ । आयोगमा एक महिलासहित दुई सदस्य नियुक्त गर्न बाँकी रहेको छ ।
नीति तथा योजना आयोगको नियुक्तिसँगै आवधिक योजनाको समिक्षा तथा आगामी वर्ष २०७८/७९ को योजना तर्जुमा प्रक्रिया अघि बढने छ ।
मकवानपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को दोस्रो पूर्ण बैठक पुष १४ गते बुधबारबाट बागमती प्रदेश राजधानी हेटौंडामा हुने भएको छ ।
मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु बागमती कमिटीका अध्यक्ष सन्तोष राना क्षेत्रीले पुष १४ र १५ गते हुने अनेरास्ववियुको दोस्रो पूर्ण बैठक हेटाैडा हुने जानकारी दिए । बैठकमा प्रदेश कमिटिको शपथ ग्रहण, प्रदेश कार्यलय उद्घाटन र २ दिवसीय आवसीय प्रशिक्षण कार्यक्रममा १० जिल्लाबाट ६५ जना प्रदेश सदस्यहरु सहभागिता रहने क्षेत्रीले बताए । उनले २ दिने प्रशिक्षण कार्यक्रमको तयारी पुरा भएको समेत जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष रानाले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डले भागबन्डाको नाममा मन्त्रालयहरु फुटाएर जनतामाथि व्ययभार थप्ने मात्र काम गरेको टिप्पणी गरे । उनले भने,‘समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा विरोधी पाँचदलीय अपवित्र गठबन्धनबाट बनेको राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको प्रदेश सरकारले राज्यमाथि अर्बो रुपैयाँको व्ययभार थपिने गरी मन्त्रालयको विभाजन र भागबण्डा संघीयता मूलमन्त्र विपरित छ ।’
यसैगरि,पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियु स्थायी कमिटी सदस्य एवं अनेरास्ववियु बागमती प्रदेश कमिटी सह–ईन्चार्ज सन्तोष पौडेलले राज्यले अर्बो लगानी गरेको सामुदायिक विद्यालयहरु नजिकै निजि लगानीका बोर्डिङहरुले अंग्रेजी शिक्षाको नाममा चर्को शुल्क अशुल्ने काम गरिरहेको बताए । उनले सामुदायिक विद्यालयको माध्यमिक शिक्षा तह सम्ममा सबैको निशुल्क पहुँच हुने भनिएता पनि निजि विद्यालयहरुको कारण धनिहरु निजि विद्यालय बोर्डिङ र पैसा नहुनेहरु सामुदायिक विद्यालयमा जानुपर्ने अवस्था रहेको बताए ।
उनले शिक्षामा सबैको समान पहुँच नभएको बताउँदै अनेरास्ववियुले शिक्षाको अवस्थाको अध्ययन,अुसन्धान गर्दै समान शिक्षाको लागि रचनाआत्मक आन्दोलनको कार्यक्रमहरु गर्ने बताए । उनले यसको लागि प्रदेशको सबै जिल्लाहरुमा अध्ययन,अनुसन्धान र तथ्याङ्क विवरणको संकलनको कामहरु भईरहेको बताए ।
अनेरास्ववियुको प्रदेश बैठक र प्रशिक्षण कार्यक्रममा अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बराल,एमाले केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे,एमाले केन्द्रीय सदस्यहरु ईश्वरी रिजाल,माधव ढुंगेल,रचना खड्का लगाएत नेताहरु सहभागिता रहने बताईएको छ ।
पत्रकार सम्मेलनमा अनेरास्ववियु केन्द्रीय सदस्य आषिष अस्लामी मगर,नितेस लामिछाने, अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेल, अनेरास्ववियु मकानपुरका उपाध्यक्ष भुवन मैनाली,सचिव पुष्कर तिमल्सिना,सहसचिव प्रमोद फुँयाल,दिनेश हुँमगाई लगाएत अनेरास्ववियु मकवानपुरका पदाधिकारीको उपस्थिति रहेको थियो ।
मकवानपुर । हेटाैडा उपमहानगरपालिका वडा नं. ८ का २४ जना एमालेमा प्रवेश गरेका छन् । मंगलबार नेकपा एमाले पार्टी कार्यलय हेटाैडामा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्यहरु सहित स्थानीन तहमा वडा अध्यक्षका उम्मेद्वार, वाईसिएल नेपालका जिल्ला सदस्य सहित एमाले प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका जिल्ला सदस्य तथा वडा अध्यक्षका उम्मेद्वार धर्मराज पुडासैनी, जिल्ला सदस्य परमानन्द मिश्र, माओवादी केन्द्रका नगरकमिटि सदस्य सादुराम राउत, होमनाथ खनाल, माओवादी केन्द्र हेटौँडा ८ का वडा सचिव सुजन कार्की, वडा कमिटि सदस्यहरु साधुराम ग्यावा, सुर्य खनाल, रिता अधिकारी, वाईसियल जिल्ला सदस्य विराज गौतम, सन्तोष डंगोल लक्षु उप्रेती, अमृत डिडमडुम, प्रदिप मिश्र लगाएतका दुई दर्जन माओवादी नेता कार्यकर्ता छन् ।
पार्टी प्रवेश गर्नेहरुलाई एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल सहितका टोलीले स्वागत गरेका थिए ।