मकवानपुर । ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । शुक्रबार राप्रपा केन्द्रीय कार्यालय, धुम्बाराहीमा आयोजित कार्यक्रममा सामाजिक अभियन्ता भनेर चिनिएका शाही पार्टी प्रवेश गरेका हुन् । यससँगै शाहीले नेतृत्व गरेको ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ राप्रपामा समाहित भएको छ ।
उनलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले झण्डा दिएर पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रवेश भएसँगै शाहीलाई राप्रपाको प्रवक्ताको जिम्मेवारी दिईएको छ । योसँगै राप्रपामा ५ जना प्रवक्ता भएका छन् । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति रहेकोले शाहीलाई पार्टीमा ल्याइएको बताए ।
मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद नियमावली संशोधन गरेकाे छ । नियमावली संशोधन गरेसँगै जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा पदमुक्त भएका छन् ।
खेलकुद नियमावली संशोधन गरेर प्रदेश सरकारले समिति अध्यक्षको पधावधी २ वर्षमात्रै कायम गरेसँगै लामा पदमुक्त भएका हुन् । अघिल्लाे सरकारले खेलकुद नियमावली बनाउँदा समिति अध्यक्ष र सदस्यकाे पदावधी उल्लेख गरेकाे थिएन् । ‘अघिल्लो सरकारले पदावधी नै कायम नगरी नियुक्त दिएकाले त्यसलाई व्यवस्थित गर्न नियमावली संसोधन गरेर २ बर्षको पधावधी कायम गरिएको हो ।’ प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले भने ।
लामालाई तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार कायम रहँदा २०७६ माघ २२ गते समितिको अध्यक्षमा नियुक्त गरिएको थियो । प्रदेश सरकारको खेलकुद नियमावली संशोधनकाे निर्णयअनुसार लामासँगै नियुक्त भएका प्रदेशका अन्य जिल्लाका खेलकुद विकास समिति अध्यक्ष पनि पदमुक्त भएका छन् ।
मकवानपुर । प्रदेश सरकारले बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमुक्त गरेको छ । चौलागाईलाई गत जेठ २७ गते तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीपरिषद्को निर्णयबाट युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका थिए ।
विहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, सोधिएको स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नदिएको,पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको उपाध्यक्ष चौँलागाईलाई पदमुक्त गरेको हो ।
चौलागाईले परिषद्को स्विकृति वेगर लोगो तथा स्लोगन सार्वजनिक गरेको, ऐन कानुनको बर्खिलाप गर्दै स्वेच्छाचारी गतिविधिहरु गर्दै गएको भन्दै चौलागाईलाई बर्खास्त गरीएको बागमती सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले बताए ।
मकवानपुर । निर्वाचन आयोगले विहीबारदेखि दल दर्ता आह्वान गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि विहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने छ । यस अघी आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन् ।
दर्ता भएका दलहरुले फेरि निर्वाचनको लागि दर्ता गर्न आयोगले आह्वान गरेको हो । दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइटको विवरण खुलाउनु पर्ने हुन्छ ।
त्यस्तै दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्यासमेत निवेदनमा खुलाउनु पर्ने हुन्छ । यसभन्दा अघिको स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिह्नको सट्टा अर्को निर्वाचन चिह्न लिन चाहने दलले आफूले प्राप्त गर्न चाहेको तीन वटा निर्वाचन चिह्न प्राथमिकता क्रमअनुसार उल्लेख गर्नु पर्ने हुन्छ ।
निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, दलको विधान, नियमावली तथा घोषणापत्र, निर्वाचन चिह्नको नमूना समेत आयोगमा दल दर्ताको क्रममा पेस गर्नु पर्ने हुन्छ ।
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आगामी फागुन १६ गते बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले बुधबार आव्हान गरेको सर्वदलिय वैठकमा प्रदेशसभाको बैठक राख्ने विषयमा सहमति भएको हो ।
सभामुख श्रेष्ठको सक्रियतामा बसेको सर्वदलिय वैठकमा फागुन १५ गते पुनःसर्वदलिय बैठक राख्ने र १६ गते प्रदेशसभाको बैठक बोलाउने विषयमा सहमति भएको हो । बैठकमा सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो । पछिल्लो समय प्रदेशसभा बैठककाे विषयमा सरकार र सत्तापक्षवीच मतभेद रहदै आएकाे थियाे ।