मकवानपुर । तराई मधेस लोकतान्त्रिक पार्टीको अध्यक्षमा वृषेशचन्द्र लाल चयन भएका छन् । लाल लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरी केही दिन पहिले तमलोपामा प्रवेश गरेका थिए ।
आइतबार जनकपुरमा भएको पार्टीकाे केन्द्रीय भेलाले लाललाई अध्यक्ष चयन गरेको हो । लालको अध्यक्षतामा ५५ सदस्यीय कारेय समिति गठन भएको छ । कार्यसमितिकाे वरिष्ठ नेतामा डा.विजय कुमार सिंहलाई चयन गरिएकाे छ । यसैगरी सदस्यहरूमा अञ्जना दत्त, अर्चना ठाकुर, इन्दुदेवी, वीरेन्द्र यादव, ईश्वर पण्डित, उमेश कुमार मण्डल, गुरुशरण यादव, गौरीशंकर सिंह, जगन्नाथ चौधरी, जयनन्दन सहनी, जयनाथ नायक, जयनाथ मण्डल, जहीर अहमद, दिलीप कुमार पाण्डेय, धीरेन्द्र सिंह, नवरतन मुरारका, नवीन कुमार सिंहलगायतका छन् ।
एमाले नेता भीम रावलले राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयलाई यस्तो होहल्ला र गञ्जागोल वातावरणमा छलफलका लागि पेश गरिनु आपत्तिजनक भएकाे बताएका छन् । उनले संसदमा राखेकाे मन्तव्यकाे पूर्ण पाठ यस्ताे छ :
सम्माननीय सभामुख महोदय !
राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयलाई यस्तो होहल्ला र गञ्जागोल वातावरणमा छलफलका लागि पेश गरिनु आपत्तिजनक छ । सम्झौता नेपालको संविधानको धारा २७९ विपरीत प्रतिनिधि सभामा पेश भएको छ । कम्प्याक्ट सम्झौतासम्बन्धी अरु एक दर्जन सम्झौता समेत यहाँ वितरण गरिनुपर्छ । नेपालको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको रक्षा एवं सुरक्षाको गहन दायित्व प्रतिनिधि सभामा छ । प्रतिनिधि सभाले यस अनुरुप निर्णय गर्छ वा राजनीतिक दलका केही नेताहरुको सत्ता स्वार्थ, गुटबन्दी र दम्भको लागि राष्ट्रघाती प्रावधान रहेको एमसीसीसंगको सम्झौतालाई अनुमोदन गर्छ भनी नेपाली जनता चासोका साथ हेरिरहेका छन् । सम्झौतामा रहेका नेपालको स्वाधीनता, हित र आत्मनिर्णयको अधिकार विपरीतका धारा, दफा, उपदफा र अनुसूची समय सीमाको कारण यहाँ पेश गर्न सम्भव भएन । तर त्यस्ता प्रावधानहरुबाट प्रष्ट निम्नलिखित तथ्यको आधारमा सम्झौता प्रतिनिधि सभाबाट अस्वीकार गरियोस् भनी सम्पूर्ण देशभक्त नेपालीहरुको तर्फबाट आव्हान गर्दछु:
१. मूल सम्झौता र यसको आधारमा गरिएका दर्जन सम्झौता असमान छन् र यसमा रहेका कतिपय प्रावधानले नेपालको समार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पुर्याउँछन् ।
२. सम्झौताको एउटा प्रावधानमा आयोजनाको अवधि पाँच बर्ष भनिएपनि अरु प्रावधानले अनिश्चित कालसम्म रहने देखिन्छ । सो अवधिमा विद्युत प्रसारण लाइन र त्यसले चर्चेको जग्गा एमसीसीको अधीनमा रहनेछ ।
३ नेपालले अमेरिकाको वर्तमान र भविष्यमा बन्ने कानून समेत मान्नु पर्ने छ र अमेरिकाको राष्ट्रिय सुरक्षा स्वार्थ अनुरुप नेपाल सरकारले काम गर्नुपर्ने अवस्था कायम भई नेपालको संविधानमा उल्लेखित स्वतन्त्र परराष्ट्र नीति र असंलग्नतामा आघात पुग्नेछ ।
४. एमसीए-नेपाल एमसीसी प्रति पूर्णरुपमा उत्तरदायी हुने र त्यसलाई एमसीसीले नीति, निर्देशन दिने, नेपाल सरकारले एमसीए-नेपाललाई असीमिति अधिकार दिने र कुनै नीति, निर्देशन दिन नपाउने, आयोजनाको सुरपरिवेक्षण गर्ननपाउने, एमसीए बोर्ड नेपाल सरकारबाट स्वतन्त्र हुने र त्यसले एमसीसीको स्वीकृतिमा बोर्ड नियम र संचालनसम्बन्धी दस्तवेज संशोधन र परिवर्तन गर्नसक्ने, सम्झौतामा संशोधन र परिवर्तन गर्न संसद र नेपाल सरकारको परामर्श वा भूमिका आवश्यक नरहने, आयोजना कार्यान्वयन, ठेक्का-पट्टा, निर्देशिका हेरफेर, आदेश, नियमावलीमा एमसीसीको पूर्व लिखित स्वीकृति हुुनुपर्ने, आयोजनाको लागि आवश्यक सामग्रीको आपूर्ति अमेरिकी कानून अनसार हुने तथा एमसीसीले दिने सुझाव सल्लाह नेपाल सरकारले मान्नै पर्ने, नेपाल सरकारले आयोजनामा कुनै निकायलाई संलग्न गराउनु पर्ने भए एमसीसीको स्वीकृति लिनुपर्ने जस्ता प्रवाधानले नेपाललाई उपनिवेशकरणको बाटोमा धकेल्ने छ । त्यस्तै नेपालले १३ करोड एमसीसीलाई अुनदानको रुपमा दिनुपर्ने तर सबै रकमको व्यवस्थापन, नियन्त्रण र निकासासम्बन्धी अधिकार एमसीसीमा रहने, बैंकमा रहने रकमको ब्याजमा एमसीसीको अधिकार रहने, बौद्धिक सम्पत्तिमा एमसीसीको एकलौटी अधिकार हुने, एमसीसीका सबै कर्मचारीले, गर्नु पर्ने काम नगरी क्षति पुग्न गएमा पनि दायित्वबाट मुक्त हुने र तिनको कुन देशको नागरिकता हो भनी सरकारले हेर्न नपाउने, एमसीसी सन्तुष्ट हुने गरी भारतको समर्थनमा नेपालले आयोजना छनौट गर्नुपर्ने र आयोजनामा संलग्न हुने नागरिक समाज र गैरसरकारी संस्थाका प्रतिनिधिहरुको छनौट नेपाल सरकारले गर्ननपाउने प्रावधानहरुले नेपालको स्वतन्त्रता, स्वाधीनता र हितमा आघात पुर्याउँछन् ।
५. अमेरिकी सुरक्षा रणनीतिसम्बन्धी विभिन्न दस्तावेजहरु तथा दुई जना अमेरिकी मन्त्रीका सार्वजनिक भनाईले एमसीसी आयोजना अमेरिकी राष्ट्रिय सुरक्षा रणनीति, जसमा हिन्द-प्रशान्त रणनीति पनि पर्दछ, को अंग भएको र त्यसमा सामेल हुनुभनेको नेपालको स्वतन्त्र परराष्ट्र नीति र असंलग्नता परित्याग गरी अर्को देशसँग सामरिक गठजोडमा सामेल भई संविधानको नै उल्लंघन गरेको ठहर्छ । यसतर्फ साझेदारी सम्झौता मार्फत समेत नेपाललाई धकेलिएको छ ।
६. सन् २००३ मा एमसीसीसम्बन्धी अमेरिकी कानून तथा एमसीसीको सहयोग प्राप्त गर्नको लागि निर्धारित योग्यतामा उल्लेखित कथित उदारवादी अर्थतन्त्र र राजनीति नेपालको संविधानको समाजवाद उन्मुख प्रणाली र सार्वजनिक, नीजी र सहकारीले योगदन गर्नुपर्ने अर्थनीतिको विरुद्धमा छन् ।
७. एकातर्फ विकास अनुदानको कुरा गरिएको छ भने अर्कातर्फ एमसीए–नेपाल र विभिन्न मन्त्रालय र सरकारी निकायसंग गरिएका सम्झौतामा अमेरिकाको राष्ट्रि सुरक्षा स्वार्थ र आर्थिक नीति विपरीत कुनै काम गर्ननपाइने प्रावधान राखेर नेपाललाई अमेरिकी सुरक्षा छाता मुनी राख्ने र विदेशी कम्पनीले समानान्तर सरकार चलाउने बाटो खोलिएको छ । लैङ्गिक र सामाजिक एकीकरणको नाममा नेपाली समाजमा हस्तक्षेप गरी विदेशीको प्रभावमा राख्ने योजना तय गरिएको छ ।
८. नेपालले संसदबाट अनुमोदन गरी अनुदान लिनै पर्ने भनी एमसीसी र अमेरिकी सरकारका विभिन्न अधिकारीहरुले नेपालका राजनीतिक नेताहरुलाई प्रत्यक्ष र परोक्षरुपमा दिएको दवाव तथा तत्सम्बन्धमा दिएका अभिव्यक्तिबाट मैले उल्लेख गरेका तथ्यहरुको थप पुष्टि हुन्छ ।
९ मैले उल्लेख गरेका सत्यतथ्यप्रति गम्भीर ध्यान दिई नेपाल र नेपाली जनताको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा समर्पित हुने भनी खाएको शपथको स्मरण गरी एमसीसीसंगको सम्झौता अनुमोदनका लागि पेश हुँदा त्यसको विरुद्धमा मतदान गर्न सबै माननीय सदस्यहरुलाई सम्पूर्ण देशभक्त नेपालीहरुको तर्फबाट पुनः हार्दिक अनुरोध गर्दछु ।
१०. नेपालको हित र नेपाली जनताको आवाजप्रति वेवास्ता गर्दै विदेशी दवाव र हस्तक्षेपका सामु लम्पसार परेर देशको स्वाधीनताका लागि उठेको आवाजलाई क्रुरतापूर्वक दमन गर्ने कार्य निन्दनीय छ । यस्तो देश र जनविरोधी दमन तत्काल बन्द गरियोस् ।
११. राष्ट्रिय सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा दीर्घकालिनरुपमा आघात पु¥याउने प्रावधानहरु र नेपाली जनताले देशव्यापीरुपमा उठाएको आवाजप्रति वेवस्ता गर्दै निहित सत्ता स्वार्थका लागि जबर्जस्ति सम्झौता अनुमोदन गराउन खोज्ने नेपाली कांग्रेसको नेतृत्वको सरकारको गैरजिम्मेवार कार्यको म भत्र्सना गर्दछु । सत्ता र कुर्सीका लागि राष्ट्रिय स्वाधीनता र हितलाई गौण ठान्ने सोच र व्यवहार निन्दनीय छ । “संकल्प प्रस्ताव” वा “व्याख्यात्मक टिप्पणी” बाट सम्झौताका राष्ट्रघाती प्रावधानहरु सच्याइने कुरा गर्नु जनतालाई ठग्नु हो । यस्तो कुरा महाकाली सन्धि अुनुमोदन गर्ने बेलाको निरर्थक “संकल्प प्रस्ताव” जस्तै हो । अतः राष्ट्रिय स्वाधीनता र हितको पक्षमा सशक्तरुपमा उठ्न देशभक्त नेपाली जनतालाई हार्दिक आव्हान गर्दछु । सम्झौताको अनुमोदनको पक्षमा उभिने नेताहरुलाई इतिहासले राष्ट्रप्रति गद्दारी गर्नेहरुको रुपमा अंकित गर्नेछ । rajdhanidaily.com बाट
मकवानपुर । अमेरिकी सहायता परियोजना एमसीसी) काे व्याख्यात्मक घोषणा मन्त्रिपरिषद्को बैठकले पारित गरेकाे छ ।संसद् भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद्को बैठकले व्याख्यात्मक घोषणा पारित गरेको हो ।
मन्त्रिपरिषद्बाट पारित व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा पेस गर्नेछन् । आइतबारकाे बसेकाे संसद्काे पहिलाे बैठक सकिए लगत्तै संघीय संसद्को प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठक कक्षमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।
यसै बीच प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठक सुरु भएको छ । पहिलो बैठकमा अमेरिकी सहयोग संझौता, मिलेनियम चयालेञ्ज कर्पाेरेशन (एमसीसी) माथि सांसदहरुले सैद्धान्तिक छलफल गरेका थिए ।दोस्रो बैठकले एमसीसीलाई संसदबाट अनुमोदन गर्नेछ । एमसीसी आजै ससदबाट पास गर्ने सरकारको तयारी छ ।
यस्तो छ व्याख्यात्मक घोषणा
१. कम्प्याक्टको पक्ष भएको कारण नेपाल संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणाीति (Indo-Pacific Strategy) लगायतको कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आवद्ध भएको मानिने छैन भन्ने घोषणा गर्दछ ।
२. देशको मूल कानुनमा रहेको नेपालको संविधान कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरु भन्दा माथि रहेको छ भनि घोषणा गर्दछ ।
३. कम्प्याक्टको दफा २.७, दफा ५.२ (ख) (३), दफा ५.२ (ख) (४) को सम्बन्धमा कम्प्याक्टको ती दफाहरूको उद्देश्य एमसीसी अनुदान तथा परियोजनाको सम्पत्ति उपयोगका सन्दर्भमा मात्र लागू हुनेछ भन्ने बुझाइ नेपालको रहेको छ । ती प्रावधानले एमसीसी अनुदानको प्रयोग बाहेक अन्य कुनै पनि उद्देश्यका लागि हाल विद्यमान वा भविश्यमा निर्माण हुने अमेरिकी कानून वा नीतिहरूको पालना गर्न नेपाल बाध्य छैन भन्ने घोषणा गर्दछ ।
४. कम्प्याक्टको दफा ३.२ (ख) को सम्बन्धमा मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले सञ्चालन गर्ने क्रियाकलाप नेपालको कानूनद्वारा निर्देशित र कम्प्याक्ट अनुसार नियमित हुनेछ भन्ने घोषणा गर्दछ ।
५. कम्प्याक्टको दफा ३.२ (च) को सम्बन्धमा कम्प्याक्टको उपयोगबाट सिर्जना हुने बौद्धिक सम्पत्तिमाथि एमसीसीको स्वामित्व रहने छैन । कम्प्याक्ट कार्यक्रम अन्तर्गत सिर्जना हुने सम्पूर्ण बौद्धिक सम्पत्तिहरू उपर नेपालको स्वामित्व रहनेछ र त्यसको पूर्ण उपभोग नेपालले गर्नेछ भन्ने घोषणा गर्दछ ।
६. कम्प्याक्टको दफा ३.५ को सम्बन्धमा कार्यान्वयन पत्रहरू कम्प्याक्टको दायराभित्र लागू गरिनेछन् भन्ने घोषणा गर्दछ ।
७. कम्प्याक्टको दफा ३.८ (क) को सम्बन्धमा एमसीए–नेपालको सबै क्रियाकलाप तथा कोषको लेखा परीक्षण प्रचलित नेपाल कानून बमोजिम महालेखा परीक्षकबाट पनि गरिनेछ भन्ने घोषणा गर्दछ ।
८. कम्प्याक्टको दफा ५.१ (क) को सम्बन्धमा नेपालले तीस (३०) दिनको पूर्व लिखित पूर्वसूचना दिइ विना कुनै कारण कम्प्याक्ट अन्त्य गर्न पाउने अधिकारका अतिरिक्त कम्प्याक्ट अन्तर्गतका क्रियाकलाप/कार्यक्रम सञ्चालन गर्दा नेपालको कानून वा नीति उल्लङ्घन भएकोमा समेत तीस (३०) दिनको पूर्व लिखित पूर्वसूचना दिइ कम्प्याक्ट अन्त्य गर्न पाउने अधिकार राख्दछ भनि घोषणा गर्दछ ।
९. कम्प्याक्टको दफा ५.५ (ग) को सम्बन्धमा कम्प्याक्टको समाप्ति, निलम्बन वा अन्त्य पश्चात् पनि लागू हुने भनिएका प्रावधनहरू कम्प्याक्ट अन्तर्गतका परियोजनाहरूको मूल्याङ्कन, लेखा परीक्षण र करको फर–फारकको हदसम्म मात्र प्रासङ्गिक हुने घोषणा नेपाल गर्दछ ।
१०. कम्प्याक्टको दफा ७.१ को सम्बन्धमा, नेपालको संविधान कम्प्याक्टभन्दा माथि रहनेछ भन्ने घोषणा गर्दछ । साथै, कम्प्याक्ट र कम्प्याक्ट अन्तर्गतका कार्यक्रमहरू/परियोजनाहरूको कार्यान्वयन नेपालको कानून र कम्प्याक्ट बमोजिम गरिनेछ भन्ने घोषणा गर्दछ ।
११.कम्प्याक्टको दफा ८.१ को सम्बन्धमा विद्युत प्रसारण आयोजना (electricity transmission project) लगायतका सबै चल तथा अचल सम्पत्ति र परियोजनासँग सम्बन्धित जग्गाहरू नेपाल सरकार वा नेपाल सरकारका निकायहरूको स्वामित्वमा रहनेछ भनी घोषणा गर्दछ ।
१२. कम्प्याक्टमा रहेका प्रावधानहरूको आशय र प्रयोगका बारेमा मिलेनियम च्यालेन्ज कर्पोरेशबाट २०७८ भदौ २३ -सेप्टेम्बर ८, २०२१) मा नेपालले प्राप्त गरेको स्पष्टीकरणले कम्प्याक्टको व्याख्या तथा कार्यान्वनमा मदत गर्ने बुझाई नेपालको रहेको छ ।
मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटिले शनिबार हेटौंडामा पद तथा गोपनीयताको सपथ लिएको छ । ८१ सदस्यीय कमिटिलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मानकुमारी नेपालीले पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् ।
सपथ लगत्तै भएको नगर कमिटिको प्रथम पूर्ण बैठकले नगर अधिवेशनबाट चयन हुन बाँकी दुई उपाध्यक्ष र सचिव चयन गरेको छ । बैठकले उपाध्यक्षमा प्रदिप अर्याल र गुणराज घिमिरे (शंकर) र सचिवमा भुवन खनाललाई चयन गरेको हो ।
यस अघि भएको अधिवेशनबाट अध्यक्षमा तीर्थ थापा, उपाध्यक्ष सोनी गुरुङ, सह सचिव राजकुमार बानियाँ र कोषाध्यक्ष तारादेवी मोक्तान चयन भएका थिए । बैठकले २७ सदस्यीय नगर सचिवालय पनि गठन गरेको छ । सपथ ग्रहण तथा प्रथम पूर्ण बैठक नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य नेपालीको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटिका उपाध्यक्ष प्रेम बहादुर पुलामीको विषेश आतिथ्यतामा भएको हो । बैठकमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरका संयोजक सर्केश घलान, सचिव भीम पाख्रिन, मकवानपुर १ नम्बर निर्वाचन क्षेत्रका इन्चार्ज ललित घलानलगायत नेताहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको अधिवेशनमा पार्टी सचिव बुद्ध लामाले समेत सभापति पदमा उम्मेदवारी घाेषणा गरेका छन् । पार्टी सचिव लामाले शनिबार हेटौंडा–५ स्थित हेटौंडा रिसोर्टमा घोषणा सभा आयोजना गरेर फागुन १५ गतेदेखि हुने अधिवेशनमा सभापति पदकाे लागि आधिकारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
लामाले सभापति पदमा सहमतिको प्रयास भइरहेकोले कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको नेतृत्वमा चुनावमा जाने सहमति जुटेकाे अवस्थामा आफू ब्याक हुने समेत उम्मेदवार घाेषणा कार्यक्रममा लामाले बताए । लामाले लामिछाने लामो संघर्ष गरेर निरन्तर राजनीतिमा क्रियाशील रहेको भन्दै लामिछानेकै नेतृत्वमा आफूहरु जान तयार भएको प्रष्ट पारेका छन् ।
‘सहमतिकाे प्रयास असफल भए चुनावमा लामिछाने दाई जानुहुन्न मलाई सहयोग गर्नुहुन्छ, म पनि सभापति पदमा उम्मेदवारी दिन्छ् ।’ लामाले भने । उनले आफ्नो नेतृत्वमा निवर्तमान सभापति इन्द्रबहादुर बानियाँले जिल्लामा स्थापित गराएको कांग्रेसको गरिमालाई आँच आउन नदिने गरी काम गर्ने बताए ।
कार्यक्रममा जिल्ला कोषाध्यक्ष गोपीलाल विक, प्रवक्ता प्रदीप कोइराला, सह सचिव रामबाबु बानियाँ, महिला नेतृ जानकी लामा, नेता प्रभात दाहाल, सुनिल दाहाल, प्रतिनिधि सभा २ का प्रदेश सभा क्षेत्र ख का सभापति रन्जन कालाखेती, क्षेत्र १ प्रदेश सभा ख का सभापति राजेश बानियाँ लगायतले भनाइ राखेका थिए ।
प्रतिनिधि सभा क्षेत्र २ का सभापति लोक बहादुर मोक्तानको अध्यक्षता तथा पार्टीको कार्यबहाक सभापति विष्णु प्रसाद लामिछानेको प्रमुख अतिथ्यतामा घोषणा कार्यक्रम भएकाे हाे ।
यस अघी शुक्रबार जिल्ला सभापति पदका लागि आनन्दराम पराजुलीले उम्मेदवारी घाेषणा गरेका थिए । शुक्रबार नै सभापति पदमा जयराम लामिछानेले प्यानल र प्रतिवद्धता सहितकाे उम्मेदवारी घाेषणा गरिसकेका छन् ।
कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनकाे निर्वाचन तालिका अनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता, दावी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली सार्वजानिक गर्ने रहेकाे छ भने सोमबार विहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने नेपाली काँग्रेस निर्वाचन जनाएको छ ।
मनाेनयन दर्ता गर्ने समयसम्म सहमति कायम हुन नसकेमा कांग्रेस मकवानपुर सभापतिका लागि ३ जना उम्मेदवार बीच प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपी बागमती प्रदेश सभापति इन्द्र बहादुर बाँनिया र केन्द्रीय सह महामन्त्री महालक्ष्मी उपाध्यायले सहमतिकाे लागि प्रयास गरिरहेकाे बताइएकाे छ ।