मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले आगमी स्थानीय तह निर्वाचनकाे लागि चैत्र २५ गतेसम्म उम्मेद्वारकाे टुंगो लगाउने भएको छ ।
एमाले मकवानपुरको सचिवालय बैठकले स्थानीय तह निर्वाचन कार्यतालिका निर्माण गरी वडा समितिलाई उम्मेदवार सिफारिस गर्न सर्कुलर समेत जारी गरेकाे छ । पार्टी वडा कमिटीले निर्णय गरी वडा अध्यक्ष सहित सदस्यको उम्मेद्वार जिल्ला कमिटिलाई सिफारिस गर्ने छ भने पालिकाले निर्णय गरी जिल्ला कमिटीलाई प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षको उम्मेद्वारकाे सिफारिस गर्ने एमाले मकवानपुर सचिव नविन सिग्देलले बताए ।
पार्टीकाे निर्वाचन कार्यतालिका अनुसार गाउँपालिका वडा कमिटिको बैठक आगामी चैत्र २३ र २४ गते तथा पालिका बैठक २५ गते तय भएको छ । त्यसैगरी जिल्ला कमिटी बैठक चैत्र २९ गते बस्ने तय गरेकाे सचिव सिग्देलले जानकारी दिए । जिल्ला कमिटिले प्रदेश कमिटिलाई उक्त नाम अनुमोदनको लागि सिफारिस गर्ने भएकाे छ ।
बैठकमा पार्टीलाई स्थानीय तहमा विजयी बनाउनको लागि सबै जनसंगठनहरुलाई निर्वाचन केन्द्रीत कार्यक्रमहरुमा परिचालन गर्ने, मतदाता नामवलीको अध्ययन गर्ने, मतदाता शिक्षा कार्यक्रमलाई प्रत्येक वडामा लागु गर्ने लगाएको निर्णय भएकाे सचिव सिग्देलले बताए ।
नेपाली कांग्रेसका अधिकांश शीर्ष नेता आगामी स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी तालमेलका पक्षमा प्रस्ट छन् । उनले गठबन्धन आबद्ध दलबीच आवश्यकताको सिद्धान्तका आधारमा तालमेल हुने बताउँदै आइरहेका छन् । यो विषयमा शीर्ष नेताले जारी केन्द्रीय समिति बैठकमा मुख खोल्दै गएका छन् ।
सभापति देउवासँगै नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइराला पनि सत्ता गठबन्धन आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् ।
तर, कांग्रेसको गत मंसिरमा सम्पन्न १४औं महाधिवेशनबाट संस्थापन इतर पक्षको नेतृत्व सम्हाल्दै आएका नेता डा. शेखर कोइराला भने कांग्रेस कसैसँग तालमेल नगरी एक्लै निर्वाचनमा अघि बढ्नुपर्नेतर्फ जोड दिँदै आइरहेका छन् । उनले कांग्रेसले अरूको साथ खोजेर अघि बढ्ने हो भने भारतीय कांग्रेस पार्टी कांग्रेस आईको जस्तो अवस्थामा खुम्चिन पुग्ने चेतावनीसमेत दिँदै आएका छन् ।
यसैगरी १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर मैदानमा होमिएका नेता विमलेन्द्र निधिसमेत तालमेलको विपक्षमा छन् । उनले कांग्रेसले कसैसँग तालमेल नगरी एक्लै निर्वाचनमा अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
सभापति शेरबहादुर देउवासँगै नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइराला सत्ता गठबन्धनमा आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा उभिँदा शेखर कोइराला पक्षले भने कसैसँग तालमेल नगरी एक्लै निर्वाचनमा अघि बढ्नुपर्ने धारणा राख्दै आएको छ । विमलेन्द्र निधि पनि तालमेलको विपक्षमा उभिएका छन् ।
स्थानीय तह निर्वाचनको तयारी, दलबीच तालमेल, संसदीय समिति गठनलगायतका विषयमा कांग्रेसले गत शुक्रबारबाट केन्द्रीय समिति बैठकमा छलफल गर्दै आइरहेको छ ।
बैठकमार्फत नै कांग्रेसले आगामी निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लामा पार्टीका तर्फबाट खटिएका केन्द्रीय प्रतिनिधिसँग पनि राय लिइरहेको छ ।
यसैगरी, कांग्रेसले सातै प्रदेशका पार्टीका प्रदेश सभापतिसँग समेत स्थानीय तहको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा राय लिएको छ ।
महानगरमा केन्द्रबाटै तालमेल, अन्यमा तलैबाट
नेपाली कांग्रेसले स्थानीय तहको सबैभन्दा ठूलो संरचना महानगरपालिकामा केन्द्रबाटै चुनावी तालमेल’काे निर्णय गर्ने तयारी गरेको छ । कांग्रेस केन्द्रीय समितिलाई विधानले समेत त्यो अधिकार दिएको छ ।
यसैगरी, उपमहानगरपालिका, नगरपालिका तहमा पनि केन्द्रीय नेतृत्वसँगको रायबाट उम्मेदवार तय गर्ने विषयमा कांग्रेस अघि बढेको छ भने गाउँपालिका तहमा स्थानीय राजनीतिक नेतृत्वसँगको सहमतिका आधारमा तालमेल’ निर्णय गर्ने कांग्रेसको तयारी छ ।
कांग्रेस विधानअनुसार महानगरपालिका प्रमुख–उपप्रमुखको केन्द्रीय संसदीय समितिले, नगरपालिका र उपमहानगरपालिका प्रमुख–उपप्रमुखको प्रदेश संसदीय समितिले, गाउँपालिका प्रमुख–उपप्रमुखको जिल्ला संसदीय समितिले र वडाध्यक्ष तथा सदस्यको प्रतिनिधिसभा क्षेत्र संसदीय समितिले उम्मेदवारको टुंगो लगाउनुपर्छ ।
विधानअनुसार संसदीय समितिले गर्ने निर्णयलाई सम्बन्धित कार्यसमितिले अनुमोदन गर्नुपर्छ । संसदीय समितिमा सम्बन्धित कार्यसमितिका पदाधिकारीका साथै सभापतिको प्रस्तावमा निश्चित संख्यामा सदस्य मनोनित गर्ने व्यवस्था छ ।
कांग्रेसले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उम्मेदवार छान्न संसदीय बोर्ड बनाउँदै छ । विधानले १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्रमा संसदीय समितिको परिकल्पना गरेको छ । कांग्रेस विधानअनुसार निर्वाचनका लागि उम्मेदवार छान्ने सबैभन्दा शक्तिशाली संरचना संसदीय समिति नै हो । यी विभिन्न तहमा गठन हुने समितिले तहगत रूपमा निर्वाचनका लागि उम्मेदवार छान्ने अधिकार राख्छन् ।
कांग्रेस विधानको धारा ३३ मा संसदीय समितिको गठन’ उल्लेख छ । सो धाराको (१)मा कुनै पनि तहको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता हुने मितिभन्दा एक महिनापूर्व उम्मेदवारको अन्तिम निर्णय गरिसक्नुपर्ने उल्लेख छ । ती समितिले निर्वाचनका लागि उम्मेदवारी दर्ता हुनु एक महिनापूर्व नै अन्तिम निर्णय गरिसक्नुपर्ने विधानमा उल्लेख छ ।
कांग्रेस विधानअनुसार संसदीय समितिमा पुग्नुअघि तल्लो तहको कार्यसमितिले प्रत्येक पदमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्छ । कांग्रेसका तल्ला तहबाट प्रक्रियागत रूपमा सिफारिस भएर आएका नाममध्येबाट उम्मेदवार चयन हुने व्यवस्था विधानमा छ । राजधानी दैनिकबाट
मकवानपुर । हाम्रो नेपाल, हामी नेपाली अभियान मकवानपुर राप्रपा मकवानपुरमा समायोजन भएकाे छ । ज्ञानेन्द्र शाहीको नेतृत्वमा रहेको अभियान राप्रपा मकवानपुरमा शनिबार समायाेजन भएकाे हाे । अभियानका जिल्ला अध्यक्ष राजु सन्जेल सहितकाे मकवानपुर नेतृत्व राप्रपा मकवानपुरमा समायाेजन भएकाे राप्रपा मकवानपुर जिल्ला प्रवक्ता बिशभ अधिकारी जनाकारी दिए ।
कार्यक्रममा राप्रपाका नेता मधु अधिकारीले पार्टीको नीति अनुरुप समान बिचार भएका राजनीतिक दल, संघ-संस्था र अभियानलाई एकीकृत गर्दै राप्रपालाई बलियो राष्ट्रवादी शक्तिको रुपमा स्थापित गर्न लक्ष्यका साथ अगाडी बढ्नुपर्ने बताए। अहिले देखिएको लोकप्रियता, जनउभार र लहरलाई अब आउने स्थानीय तहको निर्वाचनमा भोटमा रुपान्तरण गर्नुपर्ने उनले बताए ।
राप्रपाको नेता मधु अधिकारीको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा अभियानको प्रदेश अध्यक्ष सुन्दर शाहीले न्यायोचित ढंगले समायोजन सम्पन्न गर्ने कुरामा आफु आशाबादी रहेको बताएका छन्।
कार्यक्रममा राप्रपा बागमती प्रदेशका सचिव गुन्जन न्यौपाने, प्रदेश सदस्य धुर्ब सन्जेल,पूर्व जिल्ला अध्यक्ष रामहरि न्यौपाने, पूर्व केन्द्रीय सदस्य बाल कृष्ण न्यौपाने, राप्रपा मकवानपुर जिल्ला सचिव सागर थापा अभियानका जिल्ला अध्यक्ष सन्जेल र अभियानका नगर अध्यक्ष यादव श्रेष्ठलगायतकाे उपस्थिति रहेको प्रवक्ता अधिकारीले बताए ।
स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने नगर्ने विषयमा नेपाली कांग्रेसभित्र दुईधार देखिएको छ । कांग्रेसको संस्थापन पक्ष सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलको पक्षमा छ भने संस्थापन इतर पक्ष तालमेलको विपक्षमा छ ।
शुक्रबारबाट सुरु केन्द्रीय समिति बैठकमा सत्ता गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल गर्ने नगर्ने’bout नेताहरूको फरकफरक धारणा आएको हो ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तहको निर्वाचनमा तालमेलको पक्षमा उभिँदै आइरहेका छन् । तर, इतर पक्षका नेता डा. शेखर कोइराला भने तालमेलको पक्षमा खुलेका छैनन् ।
देउवा पक्षमा, शेखर विपक्षमा
जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिसँग राय लिइँदै
प्रधानमन्त्रीसमेत रहेका देउवाले भने स्थानीय तहको निर्वाचनमा आवश्यकताको सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताउँदै आइरहेका छन् ।
कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिबाट जिल्लाको वस्तुगत अवस्था बुझ्ने काम भइरहेको जानकारी दिए । उनका अनुसार शुक्रबारको बैठकमा जिल्ला खटिएका २१ जना केन्द्रीय प्रतिनिधिले जिल्लामा पार्टीको अवस्था’bout जानकारी गराएका हुन् ।
महतले पार्टी सभापति देउवा गठबन्धन आबद्ध दलहरूबीच आवश्यकताको सिद्धान्तका आधारमा तालमेल गरिनुपर्ने पक्षमा रहेकोसमेत जानकारी दिए ।
‘प्रधानमन्त्री देउवा आवश्यकताको सिद्धान्तका आधारमा चुनावी तालमेल गर्ने विषयमा सकरात्मक हुनुहुन्छ, कहाँ कस्तो अवस्था छ हेरेर तालमेल गरौं भन्ने उहाँको भनाइ हो,’ कांग्रेस प्रवक्ता महतले भने ।
कांग्रेस बैठकमा स्थानीय तहको निर्वाचनका लागि ७७ जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिहरूले जिल्लाको वस्तुगत अवस्थाका विषयमा नेतृत्वलाई जानकारीसमेत गराएका छन् ।
बैठकमा केन्द्रीय सदस्यहरूबाट आवश्यकताअनुसार नेकपा एमालेसँगसमेत चुनावी तालमेल गर्नुपर्ने राय आएको छ । कांग्रेस महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित बनेकी मुक्तकुमारी यादवले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग पनि आवश्यक परे तालमेल गर्नुपर्ने राय राखेकी हुन् ।
यादवलाई स्थानीय तहको निर्वाचनका कांग्रेसले सिन्धुली खटाएको थियो । उनले सिन्धुलीमा कांग्रेसले जित्नका लागि एमालेसँग तालमेल गर्नुपर्ने धारणा राखेकी हुन् ।
यसैगरी, बैठकमा कर्णाली प्रदेश सभापति ललितजंग शाहीले कांग्रेसले एक्लै उम्मेदवार उठाउँदा सहज रूपमा जित्न सकिने नभए सो प्रदेशमा माओवादीसँग भन्दा एमालेसँग तालमेल गर्दा सहज हुने धारणा राखेका छन् ।
चुनावी तालमेलका विषयमा कांग्रेसका प्रदेश सभापतिहरूसमेतको फरकफरक राय आएको छ । बैठकमा सहभागी भएका कांग्रेसका चारवटा प्रदेशका सभापति गठबन्धनको विपक्षमा देखिएका छन् । मधेस प्रदेशका कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही गठबन्धनबीच चुनावी तालमेलको विपक्षमा देखिएका हुन् ।
बैठकमा सुदूरपश्चिमका वीरबहादुर बलायर भने सहभागी थिएनन् । यस्तै, प्रदेश १ का सभापति उद्धव थापा र बाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ गठबन्धनको पक्षमा छन् । राजधानी दैनिकबाट
मकवानपुर । नेपाली कांग्रेस हेटौडा नगर समितिमा १७ जना सदस्य मनाेनित गरिएकाे छ । हेटाैडानगरमा कोषाध्यक्षसहित १७ जना सदस्य मनोनीत गरिएको हाे ।
कांग्रेस हेटौडा नगर समितिको शुक्रबार भएकाे तेस्रो भेलाले नगर कोषाध्यक्षमा कुलप्रसाद चौलागाईं सहित १७ सदस्य मनाेनित गरिएकाे हेटौंडा नगर सचिव सविन न्यौपानेले जानकारी दिए । त्यसैगरी भेलाले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट हेटौंडा उपमहानगरमा क्षेत्रमा पर्ने विकास निर्माण र अन्य योजनाहरू समेटेर निर्वाचन घोषणापत्र तयार गर्न कृष्ण प्रसाद दाहालको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरेकाे छ । नगर सभापति उत्सव इटेनीको संयोजकत्वमा ८ सदस्यीय व्यवस्थापन समितिमा गठन गरिएकाे छ ।
शुक्रबारको भेलाले आगामी स्थानीय तहको निर्वाचनको हेटौंडा नगरमा निर्वाचन सम्बन्धी कार्यको अनुगमन तथा सहजीकरण गर्न सभापति उत्सव इटेनीलाई हेटौंडाकाे ११, १३, १९, ७, ९ नम्बर वडा, उपसभापति रामकृष्ण कोइरालालाई वडा नम्बर १६ र १७, उपसभापति डोल्मा स्याङ्बोलाई वडा नम्बर ५ र ६ सचिव सविन न्यौपानेलाई वडा नम्बर १ र १०, सचिव हर्क रत्न लामालाई वडा नम्बर ८, १३, १४, १५, सहसचिव विकास बानियाँलाई वडा नम्बर २ र १८ र सह-सचिव निगमलाल श्रेष्ठलाई वडा नम्बर ४ र १२ को प्रतिनिधि चयन गरेको नगर सचिव न्यौपानेले बताए ।
त्यसैगरी भेलाले कांग्रेसको बिधान बमोजिम २४ सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको छ । हेटौंडानगरको तेस्रो भेलाले सल्लाहकारमा महेन्द्र राउत, विजेन्द्र अग्रवाल र प्रेस सल्लाहकारमा प्रेस युनियन मकवानपुरका महाधिवेशन प्रतिनिधि सुनिल शिवाकोटीलाई मनोनीत गरेको सचिव न्यौपानेले जानकारी दिए ।
त्यसैगरी बैठकमा सहभागि वडा सभापति तथा प्रतिनिधिले आगामी निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाका साथै वडा तहमा उम्मेदवार टुङ्ग्याउदा जनताको माझमा भिजेका, जनतासँग नजिक रहेर काम गरेका तथा कांग्रेसमा क्रियाशील रहेका व्यक्तिहरुलाई टिकट दिन पार्टीका शीर्षस्थ नेताहरू आग्रह गरेका छन् । भेलामा सहभागी वडा सभापति तथा प्रतिनिधिले आगामी स्थानीय तह निर्वाचन अन्तर्गत कांग्रेस हेटौंडा नगरमा जनलहर सृजना गरी नगरमा विजयको झण्डा फहराउन वडा तहबाट सकृय भूमिका निभाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।