मकवानपुर । सत्ताधारी गठबन्धनमा चित्त बुझाउन नसकेको नेपाली कांग्रेसले एकै वडामा एकै पदमा एकभन्दा बढी उम्मेदवार खडा गरेपछि विवाद झनै बढेको छ ।
एकातिर गठबन्धनमा गरेको सहमतिमा विवाद भएपछि पार्टीमा तिक्तता बढेको छ भने, यहि तिक्तताको कारण नेताहरू बिच शक्ति देखाउने होड चलेको छ । यो विवाद र तिक्तता उम्मेदवारी दर्ताका छरपस्ट भएको छ ।
पार्टी सभापति बुद्ध लामा र संघीय सभापति दामोदर खनालवीचको विवादका कारण एकै वडामा एकै पदमा एकभन्दा बढी उम्मेदवार खडा गराएर नेताहरूले आफ्नो हैसियत देखाउने प्रयत्न गरेका हुन् । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर –२, १० र १९ नम्बरमा दुई/दुई जनालाई वडा अध्यक्षको टिकट दिएपछि यस्तो उम्मेदवार आफै समस्यामा परेका छन् ।
हेटौंडा–२ मा विष्णुगोपाल महर्जन र रविन्द्र घिमिरेलाई कांग्रेसले टिकट दिएको थियो । महर्जनले एक्लै सुटुक्क उम्मेदवारी दर्ता गराएका थिए । घिमिरेले भने यसविषयमा छानविन हुनुपर्ने माग गर्दै पत्रकार सम्मेलन नै गरेका छन् । ‘पार्टीले टिकट दिने उम्मेदवारी दिन नपाउने यो कस्तो विडम्बना हो । पार्टीले छानविन गर्नुपर्छ । गलत गर्नेलाई हदैसम्मको कारबाही होस् ।’, घिमिरेले भने । यहि वडामा नेपाली कांग्रेस कै सुदीप राजवाहकले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
हेटौंडा–१० मा युवराज लामा र रमेशध्वज कार्कीलाई टिकट दिएपछि विवाद सिर्जना भएको थियो । कार्कीले उम्मेदवारी दर्ता गराउँदा लामा भने गठबन्धनको वैठकमा नाराबाजी गर्दै उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयतर्फ आउँदै थिए । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउन खोज्दा नमिल्ने भएपछि उनी चुपचाप फर्किन बाध्य भए ।
हेटौंडा–१९ मा पार्टी सभापतिले शालिकराम अधिकारीलाई टिकट दिएपनि रामकुमार थापाले आधिकारीक पत्रभन्दै उम्मेदवारी दर्ता गराएका थिए । अधिकारीले निर्वाचन अधिकृतको कार्यालय पुग्दा थापा दलबलसहित वडामा भोट माग्न थालिसकेका थिए ।
मकवानपुर । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा २ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
नकेपा एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेकी वडा नम्बर १ की लक्ष्मी दमाई र वडा नम्बर ४ की सावित्री सुनार निर्विरोध निर्वाचित भएकी हुन ।
दमाई र सुनारको उक्त वडामा एकल उमेद्वार परेको स्थानीय तह सदस्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।
इन्द्रसरोवरमा ५ वटा वडाको ५ अध्यक्षका लागि २२ जनाको उमेद्वारी परेको छ भने १० वडा सदस्यका लागि ३५ जना ५ जना महिला सदस्यको लागि १८ र दलित महिला सदस्य पदको लागि ११ जनाको उमेद्वारी परेको जारी सूचनामा उल्लेख छ ।
मकवानपुर । सत्तासिन दल जनता समाजवादी पार्टी (जसपा) ले मकवानपुर जिल्लाको १० वटै स्थानीय तहमा ५ दलीय गठबन्धन तोडेर प्रमुख तथा उपप्रमुख सहित वडाध्यक्षहरुमा उम्मेद्वारी दर्ता गरेको छ ।
सोमबार राती ११ बजेसम्म चलेको उम्मेदवारी दर्तामा जसपाले गठबन्धनबाट बाहिरिदै आफ्नो उम्मेदवारी दर्ता गरेको हो ।
जसपा मकवानपुरका सचिवालय सदस्य सुबोध घलानका अनुसार मकवानपुरमा ५ दलीय गठबन्धनले जसपालाई समावेश नगरेपछि १० वटै स्थानीय तहमा उम्मेद्वारी दर्ता गरेको र चुनावी प्रचारप्रसारमा अघि बढेको हो ।
बैशाख १७ गतेसम्म पनि मकवानपुरमा गठबन्धनले जसपालाई चासो नदिएमा जसपा पूर्ण रुपमा गठबन्धनबाट बाहिरिने र सबै दलहरुसंग मितव्ययी रुपमा चुनावी प्रतिस्पर्दामा जाने तयारी रहेको घलानको भनाइ छ ।
यता नेपाली कांग्रेसले पनि जिल्लाको विभिन्न स्थानीय तहमा गठबन्धनबाट बाहिरिदै आफ्नो उम्मेदवारी दर्ता गराएको छ । राती अबेरसम्म मनोनयन दर्ता चलेकोले यसबारे जानकारी संकलनको क्रममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका अध्यक्षमा सर्केश घलान र उपाध्यक्षमा फणिन्द्र तिमल्सिनाले उम्मेदवारी दिएका छन् । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका घलान र उपाध्यक्षमा नेपाली कांग्रेसका तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
सोमबार बागमती गाउँपालिकाकाे निर्वाचन अधिकृतकाे कार्यालयमा उपस्थित भएर घलान र तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । घलान गाउँपालिकाका २०७४ सालमा निर्वाचित अध्यक्ष हुन् भने तिमल्सिना कांग्रेस गाउँपालिका सभापति छन् ।
यसैगरी पालिकाको ९ वटै वडाका वडाध्यक्षहरुले भने आ–आफ्नो पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट बागमती गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा यहुना राई, २ मा जनक पहरी, ३ मा कमान सिंह पाख्र्रिन, ४ मा किरण माझी, ५ मा विजय भोलन, ६ मा छेवाङ स्याङ्तान, ७ मा टिकालाल श्रेष्ठ, ८ मा पुर्ण बहादुर थिङ र ९ नम्बरमा अशोक न्यासुरले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, नेपाली काङ्ग्रेसको तर्फबाट १ नम्बरमा काजीमान ब्लोन, २ मा छविलाल बोम्जन, ३ मा सरोज योञ्जन, ४ मा सोम घिसिङ, ५ मा तिलक माझी, ६ मा मणिराज राई, ७ नम्बरमा उक्तर भोलन, ८ मा शुक्र पाख्रिन र ९ नम्बर वडामा नरबहादुर पुलामीले उम्मेदवारी दर्ता गराएका छन् ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त पार्टी नेपाल मकवानपुरले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवारी दिएकाे छैन । केन्द्रीय स्तरमा एमाले र राप्रपा नेपालबीच भएको सहमति अनुसार एमालेको चुनाव चिन्हमा सूर्यमा मतदान गर्न राप्रपा नेपाल मकवानपुरले भनेकाे छ ।
राप्रपा मकवानपुरका जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले एक प्रेस विज्ञप्ती जारी गर्दै केन्द्रीय स्तरमा एमाले र राप्रपा नेपालबीच भएको सहमति अनुसार एमालेको सूर्य चिन्हमा मतदान गर्न लागिएको बताएका छन् ।
उनले राप्रपाका कार्यकर्ता,शुभेच्छुक र शुभचिन्तकहरुमा सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन् । अध्यक्ष सापकोटाद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ आसन्न स्थानीय तह सदस्य निर्वाचनका लागि चैत ३० गते भएको सहमति बमोजिम उक्त सहमतिलाई कार्यान्वयन गर्दै सुर्य चिन्हमा मतदान गर्न सम्पुर्ण कार्यकर्ता,शुभेच्छुक,शुभचिन्तकमालाई हार्दिक अपिल गर्दछाैं ।