मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाका मेयरका उम्मेद्वार अनन्त पौडेलले आहा ! हेटाैडा भन्ने गरी विकास गर्ने बताएका छन् । मगलबार नेकपा एमाले हेटाैडा ७ नम्बर वडा कमिटिले स्थापना गरेको चुनाव प्रचारप्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै मेयर पदका उम्मेद्वार पौडेलले उक्त कुरा बताएका हुन् ।
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा हेटौंडालाई प्रदेशको राजधानी बनाउन सफल भएको दाबी गर्दै फेरिपनि एमालेकै नेतृत्वमा हेटौडाको समग्र क्षेत्रको विकास गरी जिल्लाबासीले नै आहा ! हेटौंडा भन्ने बनाउने बताए । प्रदेशको राजधानी भएर पनि हेटौंडामा राजधानीको लागि आवश्यक पूर्वाधार, फराकिलो सडक, राजमार्गमा आकाशेपुल, ट्राफिक लाईटको व्यवस्था, खेलकुद, खुल्ला स्थान लगायतको क्षेत्रमा काम गर्न बाँकी भएको उनले बताए ।
अबकाे निर्वाचनमा एमालेका सबै उम्मेदवारलाई विजयी गराउन मतदाताहरुमा आग्रह गर्दै पाैडेलले भने एमालेले चुनाव जिते हेटाैडाकाे विकासले राजधानीकाे सुनिश्चितता दिने गरी बाँकी रहेका भाैतिक निर्माणकाे कार्यले समेत पूर्णता पाउने छ । ‘एमाले सुखी नेपाली समृद्ध नेपालको नारालाई लक्ष्य बनाई अघि बढेको छ’ उनले भने– ‘हेटौंडाको समग्र क्षेत्रलाई विकास गरी साँच्चै नै हेटौंडालाई प्रदेशको राजधानी बनाउने प्रतिवद्धता व्यक्त गर्दछाैं ।
यसैगरी उपमेयर पदका उम्मेद्वार सुमित्रा काफ्लेले हेटौंडा उपमहानगरपालिका लगायत सबै वडाहरुमा एमालेको आफ्नो बर्चश्व कायम राख्न जरुरी रहेको बताइन् । अघिल्लो स्थानीय तहको निर्वाचनपछि एमालेले जितेको सबै वडाहरुमा अन्य पार्टीको तुलनामा अत्याधिक विकासका काम भएको दावी गर्दै उनले विकास र एमाले एकअर्कामा पुरक रहेको समेत बताइन् ।
यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ वडा अध्यक्षपदका उम्मेद्वार राजन थापाले आफ्नो नेतृत्वमा विगत पाँच वर्षमा वडामा जनताले महशुस गर्नेगरी काम भएको बताए । अघिल्लो कार्यकालमा कर्राखोलामा पक्की पुल निर्माणको लागि आवश्यक स्थान र बजेट पहिचान भएकोले आगामी कार्यकालमा पक्की पुल निर्माण गरिने बताए ।
यस्तै कार्यक्रममा नेपाली काँग्रेस, राप्रपा लगाएतका विभिन्न् पार्टीपरित्याग गरि एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई मेयर, उपमेयरका उम्मेद्वार, वडा अध्यक्षका उम्मेद्वारले टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।
नेकपा एमाले ७ नम्बर वडा कमिटिका अध्यक्ष कुल प्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य तथा पार्टी प्रचार विभाग प्रमुख ध्रुव चौलागाई, जिल्ला सदस्य सुबोध रिमाल, वडासदस्यका उम्मेद्वारहरु देवराज रिमाल, नरबहादुर भ्लोन, तुलसा अधिकारी, सपना बि.क लगायत पार्टीका नेता कार्यकर्ता तथा वडाबासीको उपस्थिती रहेको थियो ।
मकवानपुर । हेटाैडामा गठबन्धनकाे पहिलाे चुनावी सम्पर्क कार्यालय उद्घाटन गरिएकाे छ । आसन्न स्थानीय तह निर्वाचनको लागि गठबन्धन दलकाे सम्पर्क कार्यालय हेटौंडा १ चाईनाक्वाटरमा उद्घाटन गरिएको हाे ।
गठबन्धनकाे तर्फबाट हेटौंडा उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार मिनाकुमारी लामा र राजेश बानियाँले नरिवल फुटाएर सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद मुनु सिग्देलले गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन सवैलाई आग्रह गरिन् ।
कार्यालय उद्घाटनमा मेयर पदका उम्मेदवार लामाले नगरको बिकासका लागि गठबन्धनबाट बनेका उम्मेदवारले काम गर्नेमा बिश्वास गर्न आग्रह गरिन् । १ नम्बरबाट कार्यालयको उद्घाटन गर्न पाउनु सुनौलो मौका भएको भन्दै जनताले चाहेको परिवर्तन र सेवा एमालेबाट नहुने दावी गरिन् । कार्यक्रममा उपमेयरका उम्मेदवार बानियाँले शिक्षा, स्वास्थ, पुर्वाधार निर्माण र खेलकुदको क्षेत्रमा काम गर्ने बिश्वास दिलाए । उनले समाजको सकारात्मक बिकासमा काम गर्ने मौका दिन जनतान आग्रह गरे ।
नेपाली कााग्रेस १ वडा इकाई समितिका सभापति हरिकृष्ण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा कााग्रेस बागमती प्रदेश समितिका सदस्य जानकी गिरीसहित वडा अध्यक्षका उम्मेदवार सबिन न्यौपाने लगायतकाे आतिथ्यता रहेको थियो ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रवक्तामा अर्जुनप्रसाद चौलागाईं मनाेनित भएका छन् । जिल्ला सभापति बुद्ध लामाले मंगलबार चौलागाईंलाई प्रवक्तामा मनाेनित गरेका हुन् ।
काग्रेस जिल्ला सदस्यमध्येबाट एक जनालाई प्रवक्ता नियुक्त गर्ने व्यवस्थाअनुसार जिल्ला सदस्य चौलागाईंलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको हो । प्रवक्तामा नियुक्त भइपछि चौलागाईंले पार्टीको नीति विधि र पद्धतीमा रहेर प्राप्त जिम्मेवारीलाई पूरा गर्ने प्रतिवद्धता जनाए ।
लामाे समय शिक्षण पेशामा आवद्ध भएका चाैलागाई २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा हटौंडा उपमहानगरपालिका ६ मा वडाअध्यक्ष पदमा विजयी भएका थिए ।
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचन -२०७९ को लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा ५ गुणाबढी उम्मेदवारी दर्ता भएको छ ।
बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकामा आवश्यक ९७ पदमा ४ सय ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यो ४ दशमलव ५ गुणा बढी हो । यसैगरी मकवानपुरको थाहा नगरपालिकामा पनि ५ गुणाबढी उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उल्लेख्य रूपमा उम्मेदवारी दर्ता गराईएको हो। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यक्रम अन्तर्गत आइतबार र सोमबार उम्मेदवारी दर्ताको बिवरण मंगलबार अबेर मात्रै सार्वजनिक गरिएको थियो । मंगलबार बिहानैसम्म दर्ता तथा इन्ट्रीको काम भैरहेकोले ढिलोगरि तथ्यांक सार्वजनिक गरिएको हो ।
हेटौंडाको मेयरमा २१ जना, उपमेयमारमा ११ जना र १९ वटा वडाका अध्यक्षका १ सय ११ जनाको उम्मेदवारी परेको छ । हेटौंडाको उम्मेदवारीबापत २ लाख ६० हजार पाँचसय रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।
हेटौंडाको मेयरमा विभिन्न राजनीतिक दलको तर्फबाट १२ जना र स्वतन्त्र तर्फबाट ९ जना गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । मेयर पदका लागि आइतबार ७ जनाले र सोमबार १४ जनाले मनोनयन दर्ता गराएका थिए ।
उपमेयरमा ९ जना र स्वतन्त्र तर्फबाट २ जना गरी ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।
यता मकवानपुर पर्यटकीय क्षेत्र थाहा नगरपालिकामा ६२ पदका लागि २ सय ४४ जनाको मनोनयन दर्ता भएको छ ।
थाहा नगरपालिकाको प्रमुख पदमा ६ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुख पदमा २ जनाको मात्र उमेद्वारी दर्ता भएको छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्रसहित १२ जना वडा अध्यक्ष पदका लागि ५८ जनाले उम्मेदवारी दिएका छन् । यो संख्या आवश्यक भन्दा करिब ५ गुणा बढी हो ।
वडा अध्यक्ष पदमा ४ जनाको सवतन्त्र उम्मेदवारी दर्ता भएको छ । वडा नम्बर ३, ४, ८ र ९ मा १/१ जनाले अध्यक्ष पदमा उम्मेवारी दर्ता गराएका हुन् । थाहानगरका १२ वडा सदस्यका लागि १२ पदमा ४६ जनाको उमेद्वारी छ । त्यस्तै १२ दलित महिला सदस्यका लागि ३८ जनाको र २४ जना वडा सदस्य पदका लागि १ सय ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
कार्यालयले जनाए अनुसार जिल्लाको गाँउपालिकाहरूमा पनि तेब्बर भन्दा माथी उम्मेदवारी देर्ता भएका छन् । राजनीतिक चेत र सशक्तीकरणको कारण उम्मेदवारी हुनेको चासो बढेको हुनसक्ने मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले बताए ।
मकवानपुर। नेपाली कांग्रेस मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ख सचिव समाजवादीबाट वडाध्यक्षका उम्मेदवार बनेका छन् । कांग्रेस प्रदेश ‘ख’का सचिव नवराज पौडेल उम्मेदवारी मनोनयनका दिन नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरी वडाध्यक्षमा उम्मेदवारी मनाेनयन गराएका छन् ।
मनहरी गाउँपालिका वडा नम्बर १ का बासिन्दा पौडेलले कांग्रेस परित्याग गरी एकीकृत समाजवादीबाट वडाध्यक्षका उम्मेदवार बनेका हुन् । कांग्रेस प्रदेश सभापति रञ्जन कालाखेती मनहरी गाउँपालिका अध्यक्षको उम्मेदवार हुँदा सचिव पार्टी परित्याग गर्ने अवस्थामा पुगेका हुन् । ‘म समाजवादी यात्राकै यात्री थिएँ, पहिला कम्युनिष्ट थिएँ, कांग्रेसमा भूलवश पुगेँ तर समाजवादी यात्रामा फेरि जोडिएको छु,’पौडेले भने, ‘समाजवादी यात्रा जनताको जीवन र दैनिकीसँग जोडिनु पर्छ, बाटो, भ्युटावर, पिचले मात्रै समाजवादी यात्रासँग सरोकार राख्दैनन् ।’
पौडेलले भने, ‘मनहरी वडा नम्बर १ मा म सबै घरमा स्वास्थ्य वीमा कार्यक्रम पु¥याउने छु, राज्यले नसके अन्य स्रोतहरु खोजेर भए पनि वडा नम्बर १ मा सबै घरमा स्वास्थ्य सेवा पु¥याउन पहल गर्नेछु ।’ पौडेलले वडा नम्बर १ मा २०११ सालदेखि बसेकाहरुले जग्गाको लालपूर्जा नपाएकाले लालपूर्जाका लागि काम गरिने बताए । ‘म आफैँ पनि अव्यवस्थित बसोबासी हुँ, मेरै परिवारले ६० वर्ष प्रयोग गर्दा पनि लालपूर्जा पाएका छैनन्, मेरो वडाध्यक्षको कार्यकाल लालपूर्जा वितरणमै केन्द्रित हुनेछ ।’
पौडेलले आफ्नो सेवासुविधाको रकम सबै नागरिकको सेवामा लगानी गर्ने र १० प्रतिशत सामाजिक क्षेत्रमा लगाउने साथै कुनै सेवासुविधा नलिने बताए ।
‘वडामा काठको पोल अन्त्य भएको छ, पानीका समस्या टर्दै गएका छन्,’ पौडेलले भने, ‘चकरीमा टि हाउस, गोगनपानीमा भ्यु टावर र मकरी उकालोमा मोडर्न युवा पार्क निर्माणको काम हुँदैछ, वडाको मुहार फेर्न अरु ५ वर्ष सक्रिय भएर लाग्नेछु ।’