मकवानपुर । २०८२ फागुन २१ गतेकाे लागि ताेकिएकाे प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरकाे क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएका महेश कुमार बर्तौलाले चुनावी अभियान सुरु गरेका छन् । बर्तौलाले १०४ वर्षीया जेष्ट नागरिक कालिमाया मोक्तानको हातबाट टिका र आर्शिवाद लिएर चुनावी अभियान सुरु गरेका हुन् ।
बर्तौलाले सोमबार हेटौंडा उपमहानगरपालिका वडा नं. ३ बसामाडी स्थित जम्बु चौतारीमा कालिमायाको हातबाट आर्शिवाद ग्रहण गरेर चुनावी अभियान सुरु गरे । १०४ वर्षकी कालिमायाले बर्तौलालाई टीका, माला र खादा लगाउँदै जीतको शुभकामना दिइन् । राक्सिराङ गाउँपालिका स्थायी घर भएकी कालिमाया र उनका परिवार अस्थायी रुपमा बसामाडीमा बस्दै आएका छन् ।
जिउँदो भगवानको रुपमा रहेको जेष्ठ नागरिक आमाको हातबाट आर्शिवाद ग्रहण गरेर पार्टीको औपचारिक चुनावी कार्यक्रमको अभियान जम्बु चौतारीबाट सुरु गरिएको बर्तौलाले बताए । उनले २०७९ को निर्वाचनमा विजयी गराएर पठाएपछि निर्वाचन क्षेत्र र सिंगो मकवानपुरको लागि विभिन्न विकासका योजनाहरु ल्याउन सफल भएको बताए । सांसद निर्वाचित भएर काम गरिरहँदा ३२ महिनामै संसद विगठन भएपश्चात् काम गर्न बाँकी योजनाहरु पूरा हुन नसकेको बताए । ती योजनाहरु पूरा गर्नका लागि दोस्रो पटक अवसर दिनु बर्तौलाले आग्रह गरे । औपचारिक उद्घाटन पश्चात् अब चुनावी भेटघाटलाई तीव्रता दिइने बर्तौलाले बताए ।
कार्यक्रमा नेकपा एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले देश जलाउनेहरु विरुद्धको चुनाव भएको कारण सोचेर देश बनाउनेहरुलाई मतदान गर्नुपर्ने बताए । देश बनाउने एमाले भएकाेले बहुमतको साथ विजय गराउनैपर्ने चुनाव भएको बताए । ‘पछिल्लो समय गाउँ बस्तीमा नकारात्मक भ्रमहरु सिर्जना भैरहेका छन्,’ लामाले भने, ‘राज्यको सम्पत्तिमा आगो लगाएर, राज्यको सम्पत्ति खर्च हुनेगरी ३२ महिनामै प्रतिनिधि सभालाई विघठन गर्ने काम भयो । त्यसैले मत दिनुअघि सोचेर मात्रै मतदान गरौँ ।’
नयाँ दल भनेर मतदातामा भ्रम फैलाए पनि विकासका कामहरु सबै पूराना दलले गरेको लामाले बताए । एमालेका युवा, शिक्षित, शालिन र देशभक्त युवा उम्मेदवारलाई जिताएर मकवानपुर–२ मा आफ्नो अधिकार सुनिश्चित गर्न लामाले अनुरोध गरे । नेकपा एमालेकी केन्द्रीय सदस्य भारती पाठकले बर्तौलाले गत निर्वाचनमा निर्वाचित भएर गएपछि गरेका कामहरु, सदनमा उठाएका आवाजलाई आधार मानेर मतदान गर्नुपर्ने बताइन् । मकवानपुरका समस्यालाई संघीय संसदमा उठाएर केन्द्रीय स्तरमै ध्यानाकर्षण गराउन सक्ने सक्षम उम्मेदवार एमालेले अघि बढाएको कारण यो पटक मकवानपुर–२ मा बर्तौला बाहेक अरुलाई मत दिन नहुने बताइन् ।
निर्वाचन आचार संहिताका कारण फागुन ४ अघि कुनै सभा, समारोह, आमसभा लगायतका कार्यक्रम भने नगरिने एमाले मकवानपुरले जनाएकाे छ । बर्तौलाले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा यसै क्षेत्रबाट गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई ४ हजार मतान्तरले पराजित गरेका थिए ।
मकवानपुर । नेकपा एमाले मकवानपुरले २ हजार २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेकाे छ । एमाले मकवानपुरकाे बैठकले मकवानपुर ईञ्चार्ज तथा प्रतिनिधिसभाका उम्मेदवार रामेश्वर रानाकाे संयाेजकत्वमा २ हजार २५ सदस्यीय प्रतिनिधिसभा निर्वाचन परिचालन समिति गठन गरेकाे हाे ।
आगामी २१ फागुनकाे लागि ताेकिएकाे प्रतिनिधि सभा निर्वाचनकाे लागि गठन गरिएङ्काे परिचालन समितिमा केन्द्रीय कमिटी सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी, प्रदेश निकाय सदस्य, जिल्ला कमिटी सदस्यहरू, जिल्ला लेखा कमिटीका सदस्यहरू, जिल्ला सल्लाहकार सदस्यहरू, जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरू, पालिका तथा ईलाका कमिटीका सदस्यहरू, पालिका लेखा कमिटीका सदस्यहरू, वडा कमिटीका पदाधिकारीहरू, निर्वाचित जनप्रतिनिधि सबै,जनसंगठनका केन्द्र, प्रदेश, जिल्ला, पालिकाका पदाधिकारी, स्ववियुमा निर्वाचित पदाधिकारी र सदस्यहरू रहेका छन् ।
निर्वाचन परिचालन कमिटीकाे सचिवमा पार्टी जिल्ला उपाध्यक्ष हिदम लामा रहेका छन् । यस्तै ७७ सदस्यीय निर्वाचन परिचालन कमिटीकाे सचिवालय समिति समेत गठन गरिएकाे जिल्ला उपाध्यक्ष लामाले जानकारी दिए । पूर्व मूख्यमन्त्री डाेरमणि पाैडेलकाे संयाेजकत्वमा निर्वाचन परिचालन अनुगमन समिति, प्रतिनिधिसभा १ नं. क्षेत्र निर्वाचन परिचालन समितिकाे संयाेजक एकालाल श्रेष्ठ, सहसंयाेजक नवीन सिग्देल र कमल विष्ट, सचिव अनिल बानियाँ रहेका छन् ।
यसैगरी प्रतिनिधिसभा २ नं. क्षेत्र निर्वाचन परिचालन समितिकाे संयाेजक भारती पाठक, सहसंयाेजक बलराम बल र राजाराम स्याङ्तान र सचिव मेम्मर लाेलाई जिम्मेवारी दिईएकाे छ । निर्वाचन परिचालनकाे प्रचार समिति संयाेजकमा नवीन सिग्देललाई जिम्मेवारी दिइएकाे छ भने अनन्त पाैडेलकाे संयाेजकत्वमा निर्वाचन घाेषणा पत्र निर्माण समिति गठन भएकाे छ । आर्थिक व्यवस्थापन संयाेजक गाेपाल श्रेष्ठ, प्रशासनिक संयाेजन हिदम लामा, जनसाँस्कृतिक संयाेजक देवराज रिमाल, प्रचार सामग्री व्यवस्थापन संयाेजक सीता विष्टलाई जिम्मेवारी दिइएकाे एमाले मकवानपुरले जनाएकाे छ ।
यस्तै कार्यालय सञ्चालन व्यवस्थापन आरती पाठक, भूगाेल बाहिर रहेका मतदाता समन्वय समिति फूर्वादाेर्जे लामा, कानूनी परामर्श संयाेजक मदन दाहाल, उम्मेदवार फाेकल पर्सन १ नं. क्षेत्र दिलु घर्ती, २ नं. क्षेत्र आशिष अस्लामीलाई ताेकिएकाे पार्टीले जनाएकाे छ । बैठकले १० वटा पालिका, २ ईलाका कमिटी र १ सय २ वटा वडामा समेत निर्वाचन परिचालन समितिकाे संयाेजक, सहयाेजक र सचिव ताेकेकाे छ । माघ महिनाभित्र सबै जनसंगठनकाे जिल्ला र पालिकास्तरमा निर्वाचन सहयाेग समिति बनाउने तथा १० पालिका, २ ईलाकामा र १ सय २ वडामा निर्वाचन परिचालन समितिकाे कार्यालय स्थापना गरि कार्य अगाडि बढाउने निर्णय गरेकाे उपाध्यक्ष लामाले बताए ।
जिल्ला उपाध्यक्ष हिदम लामाकाे अध्यक्षतामा बसेकाे बैठकमा पार्टी केन्द्रीय सचिव महेश बस्नेतकाे प्रमुख आथित्यता, केन्द्रीय सदस्यहरू रामेश्वर राना, महेशकुमार बर्ताैला, भारती पाठक, एकालाल श्रेष्ठ, केन्द्रीय लेखा आयाेगका सदस्य नवीन सिग्देल, प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेल, प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामा, प्रदेश कमिटीका सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशबाट गीता देवकोटा र प्रेमप्रसाद दंगाल निर्वाचित भएका हुन्।
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। महिलातर्फ कांग्रेसकी देवकोटा र अन्य समूहबाट एमालेका दंगाल विजयी भएका हुन् ।
महिलातर्फ निर्वाचित देवकोटाले प्रदेश सभाबाट ६० मत प्राप्त गर्दै ३ हजार १ सय ८० मतभार हासिल गरिन्। स्थानीय तहबाट १६१ मतसहित ३ हजार ५९ मतभार पाएपछि उनले कुल ६ हजार २ सय ३९ मतभारसहित विजय हासिल गरिन्।
अन्य समूहबाट निर्वाचित दंगालले प्रदेश सभातर्फ ५९ मत प्राप्त गरी ३ हजार १ सय २७ मतभार पाए। स्थानीय तहतर्फ १६२ मतसहित ३ हजार ७८ मतभार प्राप्त गरेपछि उनको कुल मतभार ६ हजार २ सय ५ पुगेको थियो ।
निर्वाचनमा नेकपा र नेपाल मजदुर किसान पार्टी नेमकिपाका उम्मेदवारसहित कुल ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । महिलातर्फ नेकपाकी उम्मेदवार सरोजकुमारी झाले २ हजार ५ सय २२ मतभार प्राप्त गरिन् भने नेमकिपाकी कविता महर्जनले १ सय ९७ मतभार पाइन्। अन्य समूहमा नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५ सय ४१ मतभार तथा नेमकिपाका विक्रम ढुकुछुले १ सय ९७ मतभार प्राप्त गरे। बागमती प्रदेश सभाका ८९ जना प्रदेश सभा सदस्य र स्थानीय तहका २२९ जना प्रमुख तथा उपप्रमुख गरी कुल ३१८ मतदाताले मतदानमा सहभागिता जनाएका थिए। प्रदेश सभातर्फ ४ हजार ७ सय १७ मतभार र स्थानीय तहतर्फ ४ हजार ३ सय ५१ मतभार खसेको थियो। कुल खसेको मतभार ९ हजार ६८ रहेको निर्वाचन कार्यालयले जनाएको छ।
मकवानपुर । बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन तालिका अनुसार आज मतदान कार्य भइरहेको छ । निर्वाचन आयोगले तोकेकाे तालिकाअनुसार बिहान ९ बजेदेखि मतदान सुरु भएको छ भने दिउँसो ३ बजेसम्म मतदान गर्न सकिनेछ।
बागमती प्रदेशका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ। उक्त मतदानस्थलमा २ वटा मतदान केन्द्र राखिएको निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन्।
देशभर राष्ट्रिय सभामा रिक्त हुने १८ सदस्यका लागि आज निर्वाचन हुँदैछ। बागमती प्रदेशमा फागुन २० गते पदावधि सकिन लागेका तत्कालीन माओवादी केन्द्रकी गंगाकुमारी बेलवासे र तत्कालीन एकीकृत समाजवादीका वेदुराम भुसालको स्थानमा नयाँ सदस्य चयन हुन लागेको हो।
बागमती प्रदेशको मतदाता संख्या ९ जना घटेर ३३८ कायम भएको छ। बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार प्रदेश सभा सदस्य ६ जना तथा स्थानीय तहका मेयर ३ जनाले पदबाट राजीनामा दिएपछि मतदाता संख्या घटेको हो। यसअघि प्रदेश सभा ११० सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २३८ जना गरी कुल ३४८ जना मतदाता हुनुपर्नेमा अन्तिम सूचीमा ३४७ जना मतदाता सार्वजनिक गरिएको थियो। तर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन प्रदेश सभा सदस्य ६ जना र स्थानीय तहका ३ जना प्रमुखले राजीनामा दिएपछि अब ३३८ जनाले मात्र मतदान गर्ने छन्।
राजीनामा दिने प्रदेश सभा सदस्यहरूमा काँग्रेसका १, राप्रपाका १, तत्कालिन माओवादी केन्द्रका १, तत्कालिन एकीकृत समाजवादीका १ र एमालेका २ जना रहेका छन्। त्यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र धुलिखेल नगरपालिकाका मेयरले पनि पदबाट राजीनामा दिएका छन्।
बागमती प्रदेशबाट राष्ट्रिय सभामा एक महिलासहित दुई सदस्य चयन गरिनेछ। यसका लागि महिला समूह र अन्य समूहबाट गरी ६ जनाले उम्मेदवारी दिएका छन्। महिला समूहतर्फ नेपाली कांग्रेसकी गीता देवकोटा, नेकपा की सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीकी कविता महर्जन उम्मेदवार छन्। अन्य समूहतर्फ एमालेका प्रेमप्रसाद दंगाल, नेकपाका प्रेमप्रसाद सापकोटा र नेमकिपाका विक्रम डुकुछे उम्मेदवार रहेका छन्।
प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ तोकिएको छ। बागमती प्रदेशमा कुल मतभार ९ हजार ९५८ रहेको छ। मतभारका आधारमा कांग्रेस पहिलो, नवगठित नेकपा दोस्रो र एमाले तेस्रो स्थानमा रहेका छन्।
मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ उम्मेदवार रामेश्वर रानाले पार्टी उत्साहपूर्वक निर्वाचनमा जुटेकाले जीत सुनिश्चित रहेको बताएका छन् ।
नेकपा एमाले हेटाैँडा ४ नं. वडाकाे कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै रानाले भने ‘हामी उत्साहित छाैँ, हामी जित्छाै ।’ हेटौंडाको ४ सहित ६ ७ र १४ नम्बर वडा काे अगुवा कार्यकर्ता भेलाबाट आफू निकै उत्साहित भएकाे र एमालेकाे जीत सुनिश्चित रहेकाे उनले बताए । उनले राष्ट्रियता, लाेकतन्त्र र संविधानकाे रक्षा र विकास र समृद्विकाे नेकपा एमाले कै शासनकालमा भएको दावी गरे । नेकपा एमालेको बहुमत आउँदा मुलुककाे आवश्यकता थप पूरा हुने उनले बताए । ‘हामी सबै प्रतिस्पर्धीसंग स्वस्थ प्रतिस्पर्धा गर्छाै, निष्पक्ष जीत निकाल्छाै’ राना भने ।
पार्टीका केन्द्रीले लेखा आयाेगका सदस्य नवीन सिग्देलले विकास र समृद्विकाे लागि निर्वाह गरेकाे भूमिकाकाे मकवानपुरमा नेकपा एमालेले दुवै सिट जित्ने निश्चित रहेकाे बताए । सबै पार्टीपङ्ति एकजुट भएर निर्वाचनमा लाग्नुपर्ने बताउदै उनले भने ‘बलियाे संगठनकाे बल र कार्यकर्ता परिचालनद्वारा पार्टीमाथी देखिएकाे चाैतर्फी आग्रमणकाे प्रतिराेध गर्नुपर्छ ।’
कार्यक्रममा जिल्ला सदस्य तथा ४ नं. वडा ईञ्चार्ज शिवहरी दाहालले निर्वाचनकाे तयारीबारे जानकारी गराएका थिए ।