मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा क’ की उम्मेदवार कुमारी मोक्तानले गठबन्धनको सरकार बनेमा तेब्बर बजेट ल्याउने बताएकी छिन् । नेकपा माओवादी केन्द्रकी मकवानपुर इन्चार्ज माेक्तानले भीमफेदी गाउँपालिकाकाे चुनावी कार्यक्रममा गठबन्धनले बोलेको पुरा गरेर बिकास गर्नेमा मतदातालाई ढुक्क हुन आग्रह समेत गरिन् ।
‘हामी (प्रदेश सरकार)ले यो गाउँपालिकामा २ अर्ब ८८ करोड बजेट हालेका छौ,’ बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहेकी उनले भनिन्, ‘अब फेरी हाम्रो गठबन्धनको प्रदेश सरकार बन्यो भने डबल हैन, तेब्बर बजेट गाउँपालिकामा आउँने छ ।’ लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधिलाई अबिश्वास गर्नुपर्ने कुनै ठाउँ नभएको भन्दै गठबन्धन सरकारले आमनागरिकको समस्या समाधानमा पहल गरेको उनको दाबी छ ।
यसैगरी चुनावी कार्यक्रममा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलले गठबन्धनको सबै प्रतिनिधिले जनतालाई विश्वासघात नगर्ने भन्दै ढुक्क भएर गठबन्धनलाई मतदान गर्न आग्रह गरिन् । ‘हाम्रो गठबन्धनका उम्मेदवारले विश्वासघात गर्नुहुन्न, तपाईहरु ढुक्कले गठबन्धनलाई भोट हाल्नुहोस्,’ उनले भनिन् । मकवानपुरकै मुख्यमन्त्री भएरपनि एमालेका डोरमणि पौडेलले ३ बर्षमा आफ्नै वडा हेटौंडा ११ मा एउटा पुलबाहेक कतै बजेट नहालेको भन्दै उनले लोकतान्त्रिक बाम गठबन्धनले जितेमा विकास र आर्थिक समृद्धीका लागि भूमिका खेल्ने दावी गरिन् ।
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर-२ को प्रदेशसभा (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँले गरिब निमुखा जनतालाई सुरक्षित आवासको व्यवस्था गर्न १० हजार घर बनाउने प्रतिवद्धता जनाएका छन् । नेपाली काँग्रेस बागमती प्रदेश सभापती तथा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका बानियाँले गठबन्धनकाे सरकार बनेमा ५ वर्षमा १० हजार घर बनाइने बताएका हुन् ।
भीमफेदी गाउँपालिका–९ बाघमारामा गठबन्धनकाे चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले प्रदेशमा गठबन्धनको सरकार बनेपछि गरिब, निमुखा तथा पिछडिएका वर्गलाई सुरक्षित आवास बनाइदिने बताएका हुन् । ‘आर्थिक अवस्था कमजोर भएकै कारण नाना, छाना र खानाबाट आम प्रदेशवासी बञ्चित हुनुपर्ने छैन । निर्वाचनपश्चात बागमती प्रदेशमा गठबन्धनको सरकार बन्छ । हामी ५ वर्षको अवधिमा १० हजार घर बनाउने योेजनमा छौं ।’ उनले भने ।
नेकपा एमाले सरकारमा छँदा पूर्वाधार विकासको कामलाई उपेक्षा गरे पनि गठबन्धनको सरकार आएसँगै १० महिनाको अवधिमा अर्बौं बजेट क्षेत्र नम्वर २ कै लागि विनियोजन गरिएको उनले बताए । उनले विश्व स्वास्थ्य संगठनले गाँजालाई लागूऔषधको सूचीबाट हटाइसकेको अवस्थामा गठबन्धनको सरकारले नेपालमा उत्पादित गाँजालाई औषधिका रुपमा विदेश निर्यात गर्ने र गाँजा ओसारपसारको मुद्धामा परेकाहरुलाई विधेयक बनाएर जेलबाट निकाल्ने बताए ।
कांग्रेस भीमफेदी–९ का सभापति राजकुमार पुडासैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा, नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देल, गठबन्धन अनुगमन समितिका जिल्ला संयोजक माईकल रामचन्द्र अर्याल, माओवादी केन्द्रका जिल्ला सदस्य आत्माराम मोक्तान, कांग्रेस क्षेत्रीय प्रवक्ता मिलन पुडासैनीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । मकवानपुरमा आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाकाे निर्वाचन लक्षित प्रचार प्रसार कार्यक्रम तीव्रताका साथ भइरहेका छन् । मकवानपुरका प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारहरुले चुनावी कार्यक्रममा मतदातालाई रिझाउन विभिन्न आश्वासन दिदै आएका छन् ।
लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ ले मकवानपुरकाे विकासका लागि गठबन्धनका उम्मेदवारलाई भाेट मागि रहेकी छिन् । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री समेत रहेकी डिनाले मकवानपुरको विकासमा कुनै योगदान नपु¥याएका, आन्दोलनमा दमन गरेका र चुनाव आएपछि अर्को पार्टीबाट टिकट लिएर आश्वासन मात्रै बाँड्न आउनेहरुलाई मतदाताले चिन्न जरुरी रहेको बताएकी छिन् ।
चुनावी अभियान अन्तर्गत आइतबार बकैया ११ मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् ‘अहिले यही क्षेत्रबाट उम्मेदवार भएकाहरु कति पटक मन्त्री भए ? यहाँको विकासमा के योगदान पु¥याए ? त्यो सम्झिएर मत हाल्नुहोला । ‘यो पटक गठबन्धनलाई जिताएर पठाउनुहोस् यस क्षेत्रको समस्या समाधान गर्ने जिम्मेवारी हाम्रो भयो’ उनले भनिन् ‘नेकपा एमालेको झुटा आश्वासन र फोस्रो नारामा नअल्मलिनुहाेस् । प्रतिगमनकारी र व्यवस्था विरोधीहरु मिलेर घरघरमा झुटो आश्वासन र भ्रम बाँड्न आएको भन्दै उनले त्यस्तालाई परास्त गर्ने बेला आएको बताइन् ।
डिनाले आफ्नो कार्यकालमा मकवानपुर क्षेत्र नम्बर १ लाई पूर्ण बिजुलीयुक्त बनाउने, हात्तीसुँढे–शिखरपुर–मन्थली सडक कालोपत्रे गर्ने र शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाइन् ।
चुनाव चिन्ह किनेर आएकालाई भोट नदिऔं
यसै गरी गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ का उम्मेदवार माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’ले अर्काको पार्टीको चुनाव चिन्ह किनेर आएका व्यवस्था विरोधीहरुलाई परास्त गर्ने बेला आएको बताएका छन् । यस क्षेत्रको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने उनले बताएका छन् ।
बकैया ११ मा भएको चुनावी सभामा एमालेकाे चुनाव चिन्ह लिएर उम्मेदवार भएका कमल थापालाई इङ्गित गर्दै उनले व्यवस्था र संविधान विरोधी तत्वलाई चिन्नुपर्ने र साइजिङ गर्नुपर्ने बेला आएको बताएका हुन् । ‘हामीले यहाँको माटो, भूगोल र समस्या बुझेका छौं । हामी व्यवस्था परिवर्तनका लागि हातेमालो गरेको नेपाली कांग्रेस लगायतका दलसंग सहकार्य गरेर अब अवस्था परिवर्तनका लागि आएका छौं’, छिन्तुले भने, ‘गठबन्धन महिलामैत्री, आदिवासी जनजातीमैत्री रहेको छ । सबै खाले उम्मेदवार हामीसंग रहेको छ । तपाईंहरुले अब ठीक र बेठीक छुट्याउनुपर्ने समय आएको छ ।’
चुनाव चिन्ह समेत अर्काको किनेर आएका व्यवस्था र संविधान विरोधीहरुलाई ठेगान लगाउने बेला आएको छ’ उनले भने । जनआन्दोलनका दमनकारीसँग विकासका कुनै एजेण्डा नै नरहेको भन्दै उनले व्यवस्थालाई परिवर्तनमा एक भएका गठबन्धनका उम्मेदवारलाई अब जनताको अवस्थालाई परिवर्तनका लागि मतदान गर्न अनुरोध गरे । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रित सदस्य विजय गौतम, नेकपा (एस)का केन्द्रीय सदस्य घनप्रसाद गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगले प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत कुल ८ करोड ३ लाख ९४ हजार ५ सय थान मतपत्र छापिएको जनाएको छ ।
प्रतिनिधिसभा तर्फ प्रत्यक्ष निर्वाचनका लागि १ करोड ९८ लाख ७१ हजार थान र प्रदेश सभातर्फ प्रत्यक्षका लागि १ करोड ९९ लाख १८ हजार ५ सय थान मतपत्र छापिएको आयोगले जनाएको छ । यसैगरी, प्रतिनिधिसभा समानुपातिक निर्वाचनको लागि २ करोड ४ लाख २१ हजार थान र प्रदेशसभा समानुपातिकका लागि २ करोड १ लाख ८४ हजार थान मतपत्र छपाइ भएको हो ।
निर्वाचनका लागि कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० कायम भएका छन् । जसमा पुरुष मतदाता ९१ लाख ४० हजार ८ सय ६ तथा महिला मतदाता ८८ लाख ४७ हजार ५ सय ७९ कायम भएका छन् । अन्य मतदाता १ सय ८५ जना छन् ।
आयोगले निर्वाचनका लागि स्थायी मतदानस्थल १० हजार ८ सय ९२ र मतदान केन्द्र २२ हजार २ सय २७ निर्धारण गरेको आयोगका सहायक प्रवक्ता ऋषीराम भुषालले जानकारी दिए । उनका अनुसार जिल्ला निर्वाचन कार्यालयबाट अस्थायी मतदानस्थल १ सय ५४ सिफारिस भएर आएको तर आयोगबाट स्वीकृत भने भइसकेको छैन ।
मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश बनाउन र बचाउन निर्वाचन पछि केपी ओलीको नेतृत्वमा सरकार बन्नु पर्ने बताएका छन ।
मकवानपुर क्षेत्र नम्बर–१ मा एमालेको तर्फबाट उम्मेदवार रहेका पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले हेटौंडामा आयोजित चुनावी कार्यक्रममा उक्त कुरा बताएका हुन।
नेकपा एमाले हेटौंडा–४ वडा कमिटीले आयोजना गरेका अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मंसिर ४ गतेको चुनाव पछी ओलीको नेतृत्वमा सरकार निर्माण हुने बताए । उनले भने गठवन्धन सरकारकै कारण मुलुक संकलमा परेको छ । देशलाई संकटमुक्त गर्न समेत ओली नेतृत्वको सरकार बन्नु पर्नेमा उनले जोड दिएका थिए ।