मकवानपुर । आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी कमजाेर नभएकाे मकवानपुर क्षेत्र नम्बर १ प्रदेश सभा ख का उम्मेदवार गुञ्जन बहादुर न्यौपाने बताएका छन् । राप्रपा कमजोर छैन प्रदेश सभा र प्रतिनिधि सभा दुवै जित्छौ हेटौडा उपमहनागरपालिकामा भएकाे चुनावी प्रचार प्रसारमा न्यौपानेले भने ‘मकवानपुरे जनताको आशा र भराेसा भएकाे पार्टी राप्रपा हाे । जनताका इच्छा र आकाङक्षा पूरा गर्न राप्रपा प्रतिबद्व छ ।’
‘न भ्रष्टाचार गरिन्छ न भ्रष्टाचार गर्न दिईन्छ’ भन्दै न्यापानेले भने ‘सके प्रदेश खारेज गरेर स्थानीय तह र केन्द्रीय सरकार बलियो र लोककल्याणकारी बनाईन्छ । नसके जनताको रगत, पसिनाको राजस्व र करको दुरुपयोगमा खबरदारी गरिन्छ ।’ आफ्नाे पार्टीकाे स्पष्ट बिचार रहेकाेले लप्पन छप्पन नभएकाे उनले बताए । उनले सरकार र व्यबस्थाको नाममा लुट धन्दा मच्चाउनु र परिवार पोस्न राजनीतिमा नआएकाे बताए । उनले भने ‘राजनीति मेरो सेवा हो मलामी कमाउने भन्दा माथिको स्वार्थ छैन ।’
‘जनतामा गएको छु जनजनको पिर, मार्का र व्यथा बुझेको छु । कहिले काहि देशको स्थिति देखेर एकान्तमा भक्कानिएर रोएको पनि छु’ उनले भने ‘हेटौडाकाे हुप्र चाैरमा १३ तले भ्युटावर बनाउनु सट्टा हेटौडा अस्पतालमा १३ तल्ले भवन (अस्पताल) हेटौंडा उप-महानगरपालिकाले बनाइनु पर्छ ।’ न्याैपानेले मकवानपुरको लागि सपना देखेको र साकार पार्ने संकल्प बोकेरे हिडेको बताए ।
जनतालाई भेडा भन्ने एक जमात र जनतालाई दास ठान्ने राजनीतिक दलहरुलाई बिवेक पुर्याउने बेला निर्वाचन आएको भन्दै उनले मकवानपुरको जनता जाग्ने बेला भएकाे बताए । नयाँ ईतिहासको उदय हुनेमा ढुक्क छु जनताको सेवक बनेर काम गर्नेछु उनले भने ।
मकवानपुर । कृषि क्षेत्र र पशुपालनकाे लागि मकवानपुर जिल्लाकाे हाडीखाेलाले प्रसिद्धि पाएकाे छ । त्यस क्षेत्रबाट हेटौडा बजारमा दैनिक कृषिजन्य उत्पादन तरकारी फलफुल लगायत आउने गरेका छन् । हेटौडा बजार क्षेत्रकाे तरकारी आपूर्तिमा हाडिखाेला लगायतकाे स्थानबाट हुँदै आएकाे छ । पशुपालनकाे लागि समेत पर्याप्त क्षेत्र र सम्भावन भएकाेले पशुजन्य उत्पादन समेतकाे विकास गर्न सकिन्छ हाडिखाेलामा ।
यसै क्षेत्रलाई मकवानपुरका प्रदेशसभा सदस्य पदका उम्मेदवार इन्द्र बहादुर बानियाले कृषि र पशुपालनकाे हब बनाइने बताएका छन् । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले हाडिखाेलालाई कृषि र पशुपालनकाे हब बनाइने चुनावी सभामा बताएका हुन् । नेपाली काँग्रेस बागमती प्रदेश सभापति बानियाँले गठबन्धनको सरकार बनेपछि हाडिखाेलामा बीउबीजन तथा रसायनिक मल समयमा उपलब्ध गराउने, कृषिउपजको भण्डार र उचित बजार व्यवस्थापन गरिने बताए ।
यसैगरी मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्रको विकासले तीव्रता दिइने मनहरि बसन्तपुरमा आइतबार गठबन्धनले आयोजना गरेको चुनावीसभा तथा घरदैलो कार्यक्रममा बताएकाे छन् । बानियाँले पूर्व पश्चिम राजमार्गसँग हाँडीखोलालाई जोड्न राप्तीखोलामा पक्की तथा झोलुङ्गे पुल निर्माणलाई निरन्तरता दिइने बताएका हुन् ।
बागमती प्रदेशमा गठबन्धनको सरकार बनेकाे समयमा राप्तीखोलामा पक्की पुल निर्माणको लागि बजेट विनियोजन भइसकेको भन्दै अबको केही समयमा ठेक्का आह्वान गरी काम सुरु हुने बानियाँले बताए । नेकपा एमालेले साढे ३ वर्ष प्रदेश सरकारको नेतृत्व गरिरहँदा हाँडीखोलालाई उपेक्षा गरेको उनले आराेप लगाए ।
गठबन्धनको सरकार बनेपछि हामीले रजैया दरदरा जोड्ने पक्की पुल र बस्तीपुर– मनहरी ३ जोड्ने पक्की पुलमा बजेट विनियोजन गरेका छौं । यसले हाँडीखोलाबासीलाई धेरै राहत हुनेछ’ बानियाँले भने । नेकपा एमालेले जनताले ल्याएको उपलब्धीलाई मास्न खोज्ने, राजाबादी र देश टुक्र्याउन खोज्नेसँग तालमेल गर्ने जस्ता गतिविधि गरिरहेको भन्दै जनताले यो निर्वाचनमा प्रतिगमनकारीहरुलाई परास्त गर्ने बताए । प्रदेशका १३ जिल्लामा रहेका विपन्न र निमुखा जनतालाई आवास कार्यक्रम अन्तरगत १० हजार घर निर्माण गरी हस्तान्तरण गरिने समेत बानियाले बताए ।
चुनावी सभाकै क्रममा एमालेबाट निर्वाचित पूर्व वडाध्यक्षसहित ३६ जना कांग्रेस प्रवेश गरेका छन् । एमालेबाट मनहरी गाउँपालिका ५ नम्बरका पूर्व वडाध्यक्ष शुभराज थिङ, २०७४ मा निर्वाचित वडा सदस्य सोमनाथ रुम्बासहित ३६ जना एमालेका कार्यकर्ताले नेकपा एमाले पार्टी परित्याग गरी नेपाली कांग्रेसको सदस्यता लिएका हुन् । उम्मेदवार बानियाँले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए ।
मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले आफू सपना र आश्वासन छर्न नभई जिल्लाको विकास समग्र विकास प्रत्यक्ष तर्फ उम्मेदवार भएर आएकाे बताएकी छिन् ।
गठबन्धनको तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री डिनाले यस अघीकाे चुनावी प्रचार प्रसारमा अरुलाई गालीगलाैचमै समय खर्चने गरेकाे भए पनि आइतबारकाे चुनावी सभामा आफू सांसद् मात्रै हुनका लागि उम्मेदवार भएकाे नभइ जनतासँग सुखदुःखमा रहने र जिल्लाको विकास र समृद्धिका लागि काम गर्ने योजनाका साथ आएको बताएकी छिन् ।
चुनावी अभियान अन्तर्गत आइतबार मकवानपुरगढी संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले पटक पटक सांसद् र मन्त्री हुँदा पनि केही नगर्नेहरुले अहिले पनि नारा र सपना मात्र बाँडिरहेको समेत बताइन् ।
ऐतिहासिक मकवानपुरगढी दरबार क्षेत्र समेत मकवानपुरगढीकाे ४ वटा वडा डिनाकाे क्षेत्रमा पर्दछ । उनले भनिन् मकवानपुरगढीलाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र बनाउन आवश्यक पहल गर्नेछु । आफ्नो कार्यकालमा मकवानपुरगढीका सुकुम्बासीको समस्या समाधान गर्दै घरघरमा लालपुर्जा लिएर पुग्ने डिनाले प्रतिबद्धता जनाइन् । यसअघि जितेका प्रतिनिधि गाउँ फर्केरै नआएको गुनासो सुनिएको भन्दै उनले ५ बर्षसम्म जनताले चाहेको विकासका योजनामा जनतासंगै रहेर काम गर्ने बताइन् ।
मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ का उम्मेदवार नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’ले मकवानपुरको विकास र समृद्धिका लागि चुनावपछि पनि साझा भएर काम गर्ने प्रतिबद्धता जनाए । ‘हामी गठबन्धनको साझा उम्मेदवार हौं । चुनावपछि पनि साझा भएरै काम गर्नेछौं’, उनले भने, ‘संविधान र गणतन्त्रको रक्षा एवम् मुलुकको विकास र समृद्धिका लागि संविधान पक्षधर दलहरु गठबन्धनसहित चुनावमा आएका छौं ।
संविधान नै नमान्ने र मास्न खोज्नेहरु पनि मिलेर आएका छन् जनताले त्यस्ता तत्वलाई परास्त गर्ने बेला आएको छ ।’ छिन्तुले गढीदेखि ठिंगनको लटरम्मेश्वरसम्म आन्तरिक र बाह्य पर्यटक भित्र्याउने गरी विकास गर्ने प्रतिबद्धता जनाए । कांग्रेस मकवानपुरगढी ४ नम्बर वडा सभापति सुवास सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सर्केस घलान लगायतका नेताहरुले जिल्लाबासीको हितका लागि गठबन्धनको उम्मेदवारको जित आवश्यक रहेको धारणा राखेका थिए ।
मकवानपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकाे चुनावी प्रचार प्रसारमा उम्मेदवारहरु स्थानीयका समस्या गुनासाे तथा माग समेत सुनिरहेका छन् । उम्मेदवारहरु मतदाता आकर्षित गर्न विभिन्न प्रलाेभन दिइ रहेकाे समयमा मकवानपुरमा १ जना उम्मेदवार आफ्नाे क्षेत्र अन्तर्गत जन्मथलाे पुग्दा स्थानीयले खुसी हुँदै खानेपानी र विजुली लगायतका माग राखेका छन् ।
मकवानपुर क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार महेश कुमार बर्तौला जन्मस्थान नामटारमा पुग्दा स्थानीय वासिन्दा खुसी भएका थिए । बर्ताैलाकाे स्वागत गर्दै नामटारको इतिहासमानै पहिलो पटक स्थानीय क्षेत्रको प्रतिनिधीसभाको सदस्यका उम्मेदवार पाएकाेमा उनीहरुले खुसी व्यक्त गरेका थिए । स्थानीय क्षेत्रको युवा उम्मेदवारलाई गाउँमा पाउँदा फूल मालाले स्वागत गरे ।
स्वागत कार्यक्रममा स्थानीयले गाउँमा बर्षौअघिदेखिका खानेपानी, विजुलीसंगै शिक्षा, स्वास्थ्यका समस्याहरु खुलेर राखेका थिए । स्थानीयका समस्या सुनेपछि बर्तौलाले आफू जन्मिएकाे भूगाेल भएकाेले यस क्षेत्रको सबै समस्या बुझेको र समाधान गर्न तयार रहेको बताए । पहिलेका उम्मेदवारहरुले हरेक चुनावमा नामटारमा पुग्ने पक्की सडक निर्माणको कुरा उठाएपनि कार्यान्वयन नगरेकोमा चिन्ता व्यक्त गर्दै बतौंलाले आफूले बोलेका कुरा पुरा गरेर देखाउने स्थानीयलाई आश्वसत पारे ।
निर्वाचनमा आफ्नाे जीत सुनिश्चित रहेकाे बताउँदै उनले विकासका लागि आफू पाँच बर्ष यही क्षेत्रमा रहेर काम गर्ने वताए । सडक, खानेपानी र विजुलीका विषयमा धेरै राजनीति भएको वताउँदै उनले अब काम गरेर देखाउने पालाे आएकाे वताए । ‘अरु नेता जस्तो चुनावमा आस्वासन मात्र बाड्ने हाेइन आफू काम गरेर देखाउन उम्मेदवार भएकाे छु’ बर्ताैलाले भने ।
यसैगरी कैलाश गाउँपालिकाको कालिकाटारकाे चुनावी आयोजित सभामा बर्तौलाले जिल्लाको विकट यस क्षेत्रको हरेक विकासका काममा आफू सदैब साथमा रहने बताए । यस क्षेत्रबाट वर्षायाम लागेपछी सदरमुकाम हेटौडा ओहोर दोहोर गर्न भइरहने समस्या सधैका लागि अन्त्य गर्न सडक लगायतकाे पूर्वाधार निर्माण आफूले सक्दाे सहयाेग गर्ने उनले बताए ।
मकवानपुर । मकवानपुरमा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनकाे सन्दर्भमा उम्मेदवारहरु विभिन्न कार्यक्रममा व्यस्त रहन थालेका छन् । उद्याेगी व्यवसायी शैक्षिक युवा लगायतका संघ संस्थाहरुले निर्वाचन प्रचार प्रसारकाे समयमै उम्मेदवारहरुसँग अन्तरक्रिया समेत गर्दै आएका छन् ।
‘वर्तमान शैक्षिक समस्या समाधानमा संघ र प्रदेश सरकारको भूमिका विषयक’ कार्यक्रमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) का उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु) ले मुलुकको समृद्धिका लागि गठबन्धन निर्माण भएकाले शैक्षिक क्षेत्रमा देखिएका समस्या हल गर्न पहल गरिने आश्वासन दिएका छन् । मकवानुरकाे बकैया गाउँपालिकामा भएकाे अन्तर्क्रिया कार्यक्रममा उनले भने ‘आफू बिजयी भए प्रदेश सरकारबाट आवश्यक नीति निर्माण गरी अस्थायी शिक्षकहरुलाई स्थायी प्रक्रियामा ल्याउने पहल सहित प्रतिबद्धता व्यक्त गर्दछु ।’
यस अघी समेत साेही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका नेकपा माओवादी केन्द्रबाट गठबन्धन तर्फका उम्मेदवार छिन्तुले आफू यस अघी प्रदेश सभामा रहँदा पनि शैक्षिक क्षेत्रको विकासका उल्लेखनीय कार्य गरेकाे बताए । कार्यक्रममा बकैया गाउँपालिकाका गठबन्धनतर्फका शिक्षक संघ संगठनका प्रतिनिधिहरुले निजामती कर्मचारी र शिक्षकबीचको विभेद अन्त्य गरी समान व्यवहार हुनुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले राहत, अनुदान, निजी लगायत विभिन्न नाममा विभाजित शिक्षकहरुलाई दरबन्दीमा रुपान्तरण गर्दै आवश्यक प्रक्रिया पु¥याएर स्थायी गरिनुपर्ने उम्मेदवार छिन्तु समक्ष माग गरेका थिए । छिन्तुले शिक्षक संगठनकाे माग पछि भने दाेहाेर्याएर निर्वाचित भए तपाईहरुकाे मागलाइ सम्मबाेधन गर्दै निजामती कर्मचारी र शिक्षकबीचको विभेद अन्त्य गरि शैक्षिक क्षेत्रकाे विकृति अन्त्य गर्न नीति निर्माण तहमै काम गर्नेछु । सरकारले संघिय शिक्षा ऐन जारी गरी शिक्षा र शिक्षकको समस्या समाधान गर्न तथा शैक्षिक वर्षको सुरुवातसंगै नयाँपाठ्यपुस्तक प्रयाप्तता हुनेगरी व्यवस्था गर्न पनि संगठनले माग गरेका छन् ।
यसैबिच लोकतान्त्रिक बाम गठबन्धनतर्फका बकैया गाउँ कमिटीका शिक्षक संघ संगठनका प्रतिनिधिहरुले प्रदेशसभा सदस्य उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु) लाई शिक्षकको पेशागत हकहित र समस्या समाधानमा पहल गर्न ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । शनिवार नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संगठन र प्रगतीशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधिले गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने र उपाध्यक्ष भक्त बहादुर खत्रीको रोहवरमा उम्मेदवार छिन्तुलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन बकैया गाउँ कमिटी अध्यक्ष मदन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य विजय गौतम, गठबन्धनतर्फका क्षेत्र नम्बर १ प्रचारप्रसार संयोजक दामोदर खनाल, माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार लक्ष्मी पाख्रिन लगायतको उपस्थिती रहेको थियो ।
