मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रका नेता शालिकाराम जमकट्टेल बन्ने भएका छन् । उनी यस अघि पनि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् र हाल प्रदेशको आर्थिक मन्त्री हुन् ।
सत्ता साझेदार दलको भागवण्डा अनुसार आलोपालो हुने बागमती प्रदेशमा माओवादी केन्द्रले नेतृत्व लिने भएसंगै अबको मुख्यमन्त्री जमकट्टेल हुने लगभग पक्का भएको हो ।
माओवादीका नेता तथा धादिङबाट प्रदेशसभामा निर्वाचित भएका जम्कट्टेलले सोमबार एमाले र राप्रपाको सहयोगमा मुख्यमन्त्रीको दाबी पेश गर्ने भएका छन् ।
सरकारमा गठबन्धनका तीनवटै दलले दाबी गरेका थिए । गठबन्धनमा भएको सहमतिअनुसार बागमतीको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाएको छ । बागमतीमा यसअघि एमालेबाट डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री थिए ।
१ सय १० सिट रहेको बागमती प्रदेशमा एमालेका २७, माओवादी केन्द्रको २१ तथा राप्रपाको १३ सिट रहेको छ बागमतीमा सरकार बनाउन ५६ सिट आवश्यक रहन्छ । तीन दल मिल्दा यहाँ ६१ सिट पुग्दछ ।
माओवादी केन्द्रबाट संसदीय दलको नेता रहेका उनले आफ्नो नेतृत्वमा प्रदेश सरकारले हालसम्म कै उत्कृष्ट काम गरेर देखाउने दाबी गर्दै आएका छन् ।
मकवानपुर । बागमती प्रदेशमा सरकार गठनको लागि आह्वान भएको छ ।
बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २५ गते सोमबार दिउँसो ४ बजे भित्र दावी पेश गर्न प्रदेश प्रमुख यादव चन्द्र शर्माबाट आव्हान भएको हो ।
शर्माले सरकार गठनको लागि आज यस्तो आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिए ।
नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त नभएको अवस्थामा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने हुन्छ ।
यसै अनुसार आफ्नो दाबी पेश गर्न आह्वान गरिएको हो ।
प्रदेश प्रमुख यादबचन्द्र शर्मासमक्ष निर्वाचन आयोगबाट प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणाम सहितको प्रतिवेदन, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम निर्वाचन आयोगले मंसिर २९ को निर्णयानुसार मिति पुस २ गते पेश भएको थियो ।

मकवानपुर । मंसिर ५ को निर्वाचन पछि गठन भएको बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबारबाट सुरु भएको छ । सरकार की सदन पहिले भन्ने सम्बन्धमा स्पष्ट ब्यबस्था नहुदा प्रदेश सरकार गठनको आव्हान भने भएको छैन ।
मुख्यमन्त्रीमा दावी गर्दै आएका दलहरु केन्द्रीय सहमतिको पर्खाइमा रहेका कारण सरकार गठनमा ढिलाइ भएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले प्रदेश सरकारको दावी गरेका छन । ति दलका संसदीय दलका नेताहरू जगन्नाथ थपलिया, शालिकराम जम्मकट्टेल र उद्धब थापाले आ-आफ्नै दावी मुख्यमन्त्रीमा गरे पनि सत्तारुट दलहरुले बागमती प्रदेशमा कस्को नेतृत्वमा सरकार बनाउने टुंगो लगाउन सकेका छैनन् ।
३७ सदस्य भएको नेपाली काग्रेस प्रतिपक्षमा रहदा नेकपा एमालेले आफूले प्रदेशको नेतृत्व गर्न पाउनु पर्ने बताउदै आएको छ । एमाले संसदीय दलको नेता थपलिया आफू मुख्यमन्त्रीको दाबेदार रहेको बताउँछन । तर केन्द्रीय सहमति जे हुन्छ त्यही अनुसार अघि बढ्नु पर्ने बाध्यता रहेको समेत स्वीकार गर्छन ।
यस्तै माओबादी केन्द्रका संसदीय दलका नेता जम्मकट्टेल प्रदेशको पहिलो कार्यकालमा आफूहरूले एमालेलाई सहयोग गरेकोले यो पटक माओवादीको सरकार बन्नु पर्ने बताउछन् । प्रदेशको मन्त्रीको जिम्मेवारीमा रहिसकेको अनुभवले समेत आफू मुख्यमन्त्री बन्नु पर्ने उनको भनाइ छ ।
यता अन्य प्रदेशमा दावी नगरी बागमती प्रदेशमा राप्रपाले मुख्यमन्त्री दावी गरेको छ । संसदीय दलको नेता थापा सरकार गठनको लागि राप्रपा निर्णायक रहेकोले समेत आफ्नो पार्टीको नेतृत्वमा प्रदेश सरकार गठन हुनु पर्ने दावी गर्छन् । ३ दलका ३ नेताले मुख्यमन्त्रीको दावी गरिरहे पनि बदलिएको राजनैतिक परिवेशमा केन्द्रीय तहमा सहमति र भागबन्डा जसरी बन्छ बागमती सरकार पनि त्यहि अनुसार गठन हुने नेताहरू बताउँछन ।
बागमती प्रदेश सरकार पुस महिना भित्रै गठन भइसक्ने दावी नेताहरूको छ ।
१ सय १० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३, हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।
सभामुखको निर्वाचन तालिका सार्वजनिक
यसैबीच बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकले सभामुखको निर्वाचन मिति तय गरेको छ । नेपालको संबिधानको धारा १८२ को उपधारा १ मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ्स भएको मितिले १५ दिन भित्र प्रदेश सभा सदस्यहरुले आफू मध्येबाट सभामुख गर्नु पर्ने प्राबधान छ ।
संबैधानिक प्राबधान अनुसार निर्वाचन मिति तय भए संगै प्रदेश सभाका सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । सोमबार बसेको प्रदेश सभाको पहिलो बैठकले सभामुखको निर्वाचनको लागि पुस २९ को मिति तय गरेको हो ।
प्रदेश सभा सचिवालयले पुस २९ गते शुक्रबार बिहान ११ बजे निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो । प्रदेश सभा सचिवालयका सचिव कृष्ण हरि खड्काका अनुसार सभामुखको निर्वाचनका लागि २८ पुसमा मनोनयन दर्ताको लागि बिहान १०ः३० देखि दिउँसो २ बजेसम्म, मनोनयन फिर्ताको समय सोहि दिन दिउँसो २ः३० देखि ३ः३० बजेसम्म रहने छ ।
यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन अपराह्न ४ बजे गरिने कार्यतालिका रहेको छ । सभामुखको निर्वाचन पुस २९ गते शुक्रबार ११ बजे बस्ने प्रदेश सभाको बैठकमा हुनेछ ।

मकवानपुर / बागमती प्रदेशसभाको ११ औँ अधिवेशन भोलि पुस १८ गते दिनको १ बजे बस्ने भएको छ ।
प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा बैठकमा प्रस्तुत हुने कार्यसूची तयार गरीने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभा सदस्यको लागि दोस्रो कार्यकालको ११ औँ बैठक सुरु हुन लागेको हो ।
बागमतीको प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नेमकिपा, हाम्रो नेपाली पार्टी समेत गरी ७ दलका ११० जना प्रदेशसभा सदस्य रहेका छन् ।
मकवानपुर । बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको नेतामा शालिकराम जमकट्टेल चयन भएका छन् ।
माओवादी केन्द्रले सर्वसम्मत नेता चयन गर्न शुक्रबारबाट पहल थालेको थियो । शुक्रबार सहमति नभएपछि संसदीय दलको आज शनिबार बसेको बैठकले जमकट्टेललाई सर्वसम्मत नेता चयन गरेको हो। बैठकले सर्वसम्मत रुपमा जमकट्टेललाई नेता चयन गरेको भने पनि पार्टीको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले असन्तुष्टी जनाएका छन् ।
संसदीय दलको नेतामा माओवादीबाट पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल र पार्टी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको पनि दाबी रहेको थियो। संसदीय दलको बैठकले पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री र हाल आर्थिक मामिला मन्त्री समेत रहेका जमकट्टेललाई संसदीय दलको नेता चयन गरेको हो।
संसदीय दलको नेतामा जमरकटेलको नाम प्रस्तुत भएपछि सरल सहयात्री बैठक कक्ष छोडेर बाहिरिएका थिए ।
संसदीय दलको नेता बनाउन चुनाव नगर्ने, सर्वसहमतिबाट टुङ्गो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका थिए । प्रचण्डको निर्देशन पछि सहमति जुटाउनका लागि माओवादी नेताहरू हितमान शाक्य, नारायण दाहाल लगायत खटिएका थिए ।
सहमति भनिएको नाममा पौडेलले अहमति जनाएका छन्। संसदीय दलको नेताका लागि चुनाव हुनुपर्ने उनको माग थियो। उनले सामाजिक सन्जाल मार्फत असन्तुष्टि प्रकट गरेका हुन् । बागमतीमा तेस्रो पार्टी बनेको माओवादी केन्द्रका २१ सांसद छन् ।
