मकवानपुर । नेकपा एमालेप्रति देशीविदेशी प्रतिक्रियावादीकाे घेराबन्दीमा रहेकाेले कार्यकर्ता पंक्तिले एकजुट भएर सामना गर्नुपर्ने नेकपा एमाले केन्द्रीय स्थाई कमिटीका सदस्य तथा बाग्मती प्रदेश कमिटी ईञ्चार्ज काशिनाथ अधिकारीले बताएका छन् ।
नेकपा एमाले, मकवानपुरकाे पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट, पार्टी संगठन तथा सुदृढीकरण अभियान-२०७९ काे समीक्षा बैठकमा अधिकारीले बलियाे संगठन र जनताकाे समर्थनमा सबै एमालेप्रतिका षडयन्त्रलाई चिर्दै राष्ट्र र जनताकाे हितमा दृढ भएर नेकपा एमाले उभिने बताए । अबकाे हरेक निर्वाचन र प्रतिस्पर्धामा पहिलाे र बहुमतमा आउनकाे लागि अभियान सञ्चालन गरेकाे उनले प्रष्ट पारे ।
अभियानले पार्टी पंक्तिलाई जिल्लाव्यापी चलायमान गरेकाे, पार्टीकाे जिल्ला, पालिका र विशेष ईलाका कमिटी, वडा कमिटी र जनसंगठनकाे जिल्ला कमिटीकाे वैठक बस्ने, अभियानसम्बन्धी याेजना बनाउने, अवधि पुगेका कमिटीकाे अधिवेशन र पुन:गठन भईरहेकाे, पार्टी सदस्यता नवीकरण , नयाँ पार्टी सदस्यता विस्तार कार्य सञ्चालन भईरहेकाे, तहगत संगठन र कार्यकर्ताबीचका अन्तरविराेधहरू न्यूनीकरण भएकाे, नेता र कार्यकर्ता, कार्यकर्ता र जनताबीचकाे सम्बन्ध सुदृढ भएकाे, पार्टी संगठनलाई बलियाे र व्यवस्थित बनाउन बल पुगेकाे बैठकले निष्कर्ष निकालेकाे जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए ।
पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट, पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान-२०७९ बैठकमा अभियानका केन्द्रीय प्रतिनिधिहरू देवि ज्ञावली (मनहरी, राक्सिराङ्ग, कैलाश र पेशागत ईलाका), पार्वत गुरूङ्ग (हेटाैँडा उपमहानगरपालिका), खेम लाेहानी (ईन्द्रसराेवर र थाहा), बालिका गिरी (गढी र भीमफेदी), कमलजंग राई (बकैया र बाग्मती), प्रदेश कमिटीका सदस्यहरू, पालिका ईन्चार्ज तथा अध्यक्षहरूले बैठकमा समीक्षात्मक रिपाेर्टिङ्ग गरेका जिल्ला सचिव सिग्देलले जानकारी दिए ।
देशभरका युवाहरु एमालेको साथमाः पार्वत गुरुङ
यसैबीच नेकपा एमालेका केन्द्रीय पोलिटब्युरो सदस्य पार्वत गुरुङले देशभरका युवाहरु एमालेको साथमा रहेको बताएका छन् ।
गुरुङले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन परिणामबाट सबै दलहरु एकतातिर मिल्दा पनि एमाले निकट अनेरास्ववियु प्रथम स्थानमा रहनुले एमालेमा युवाहरुको क्रेज बढेको देखिएको बताएका हुन् ।
एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नंबर ११ को वडा अधिवेशनमा बोल्दै उनले भने ‘ हामीलाई एक्लो पार्नको लागि दुई महिनाको अन्तरालमा गठवन्धन टुटाउने काम भयो, यसकाे असर स्ववियु निर्वाचनमा पनि देखिने होकि भन्ने डर थियो, तर देशभरका युवाहरुले एमालेलाई देखाएको विश्वासको कारण घेराबन्दी तोडदै प्रथम बन्न सफल भयौँ, यस्ले के प्रमाणीत गर्छ भने देशभरका युवाहरुमा एमालेको क्रेज बढ्दो क्रममा छ ।’
स्ववियु निर्वाचनमा स्वतन्त्र भनिएकाहरु नराम्रोसँग पराजित भएको भन्दै एमालेप्रति जनविश्वास थप बढेको बताए । मिसन ग्रासरुटले एमालेप्रतिको उर्जा थप गर्ने बताउँदै गुरुङले देश बनाउने भिजन एमाले बाहेकको अरु कुनै दलसँग नभएको दाबी गरे । हामिले सरकारमा रहँदा जहिलेपनि जनताको हित, देशको विकासको लागि मात्र सोच्ने गरेका छौँ, गणितले कहिलेकाँही साथ नदिनपनि सक्छ तर यो देश बनाउने भिजन एमाले बाहेक अरुसँग छैन, एमालेसँगको भएको भिजनलाई साथ दिनेको जमात दिनानुदिन बढदै गाएको छ –उनले भने ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् ।
आज बसेको बागमती प्रदेशसभाको बैठकमा जम्कट्टेलले ६७ मत पाएका हुन् । उनले आफ्नो कार्यकालमा दोश्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् ।
विश्वासको मतका लागि भएको मत बिभाजनमा जम्कट्टेलको पक्षमा ६७ मत परेको थियो भने बिपक्षमा १७ मत परेको थियो । त्यस्तै ७ सांसद तटस्थ रहेको वागमती प्रदेशका सभामुख भुवन पाठकले जानकारी दिए ।
जम्कट्टेललाई कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली दलले मत दिएको थियो भने विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी रहेको थियो ।
एमालेका चार मन्त्री आजै राजिनामा दिएका छन् । प्रदेश सभा बैठकमा आफूहरूको धारण राख्दै एमाले सरकारबाट बाहिरिएको हो ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन् । ८ गते लिने भनिएको विश्वासको मत गठबन्धनमा कुरो नमिलेपछि आजलाई प्रदेश सभा बैठक बोलाइएको छ ।
आज १ बजे बस्ने भनेको बैठकमा काँग्रेसका सांसदहरु उपस्थित हुने जनाइएको छ । अघिल्लो बैठक काँग्रेसका सांसदहरु सबै उपस्थित नभएकै कारण सारिएको थियो । प्रदेश सभा सचिवालयले बुधबार बस्ने भनिएको बैठक विशेष कारणवश भन्दै २ दिनपछि बैठक सरेकाे सूचना टाँसिएकाे थियाे।
आज १ बजे बस्ने बैठकमा मुख्यमन्त्री जम्कट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा वागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ ।
यता नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । संघीय सरकारमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको राजनीतिक समीकरणका आधारमा बागमती प्रदेश सरकारमा हेरफेरको तयारी भइरहँदा सत्तामै रहेको एमालेले राजीनामाको तयारी गरेको बुझिएको छ । आज बस्ने प्रदेश सभा बैठकमा एमालेले आफ्नो धारणा राखेर राजिनामा दिने तयारी गरेको छ ।
आफूहरु प्रदेश सरकारबाट हट्न तयार रहेको तर प्रदेशसभा बैठकमा आफ्ना धारणा राखेरमात्र राजीनामा दिने बागमती प्रदेशसभा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले यस अघि नै बताएका छन् । बागमती प्रदेश सरकारमा नेकपा एमालेका ४ जना मन्त्रीहरु सहभागी छन् ।
नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने मुख्यमन्त्री जम्कट्टेललाई सरकारबाट एमाले हटेपछिमात्र विश्वासको मत दिने र अन्य प्रक्रिया अघि बढाउन दबाब दिएको बुझिएको छ ।
नेकपा एमालेको मिसन ग्रासरुट अभियानको मुख्य कार्यक्रम रहेकोले चैत १० र ११ गते प्रदेश सभामा उपस्थित हुन नसक्ने भएकोले १२ गते प्रदेश सभा बैठक राख्न लिखित अनुरोध गर्ने निर्णय एमाले बागमती प्रदेश संसदीय दलले गरेको थियो । यद्यपि आजको बैठकमा एमालेले उपस्थिती जनाउने स्रोतको दाबि छ ।
जम्मकट्टेलले यसअघि पहिलो पटक गत माघ ३ गते विश्वासको मत लिएका थिए । त्यतिखेर उनलाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टी गरी ६ वटा दलका सांसदहरुले समर्थन गरेका थिए ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिनको लागि आज बस्ने भनेको बैठक अहिलेसम्म बस्न सकेको छैन ।
नेपाली कांग्रेस वागमती प्रदेश कार्यसम्पादन समितिको हिजो मंगलबार बसेको बैठकले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेपनि आज सबै सांसदहरु हेटौंडामा छैनन् । आज ३ बजेको लागि बोलाइएको बैठक अहिलेसम्म सुरु भएको छैन । आज वागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश समिति बैठकले गरेको निर्णयको आधारमा मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको थियो।
आज बैठक बस्ने संभावन साह्रै न्यून रहेको बताइएको छ । ३ बजेलाई बैठक बोलाइएकोले २ घण्टा म्याद हुन्छ । “सायद बैठक बसेन भने साँझ ५ बजे सूचना प्रकाशन गरेर बैठक सारिनेछ” प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले भने ।
यता नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिन शर्त राखेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको राजनीतिक समीकरणका आधारमा बागमती प्रदेश सरकारमा हेरफेरको तयारी भइरहँदा सत्तामै रहेको एमालेले राजीनामाका लागि शर्त अघि सारेको बुझिएको छ ।
आफूहरु प्रदेश सरकारबाट हट्न तयार रहेको तर प्रदेशसभा बैठकमा आफ्ना धारणा राखेरमात्र राजीनामा बागमती प्रदेशसभा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए ।
केन्द्रमा बनेको समीकरण अनुसार नै हामी चल्छौ, तर हामी राजीनामा दिनु अघि प्रदेशसभा बैठकमा आफ्नो कुरा राख्छौ” थपलियाले भने । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने मुख्यमन्त्री जम्कट्टेललाई सरकारबाट एमाले हटेपछिमात्र विश्वासको मत दिने र अन्य प्रक्रिया अघि बढाउन दबाब दिएको बुझिएको छ ।
यता एमालेले प्रदेशसभा बैठक जहिले बोलाउँछन्, त्यही बेला आफूहरुको कुरा राखेर राजीनामा दिने तयारी गरेको छ । प्रदेशसभा बैठक आजै बसेमा आजै राजीनामा दिन तयारी एमालेको मन्त्रीहरुको छ ।
आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूचीसहित प्रदेशसभा बैठक आह्वान गरिएको छ । तर उक्त बैठकमा नेपाली कांग्रेसका सांसद भने अनुपस्थित हुने भएका छन् । आफूहरुसँग सल्लाह नै नगरी मुख्यमन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेको भन्दै कांग्रेसले प्रदेशसभा बैठकमा अनुपस्थित हुने जानकारी मुख्यमन्त्री जम्कट्टेललाई गराइसकेको छ । बागमती प्रदेश सरकारमा नेकपा एमालेबाट ४ जना मन्त्री छन् ।
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्रीको लागि विश्वासको मत पाएको ६८ दिनपछि उनले फेरि विश्वासको मत लिनुपरेको हो ।
बागमती प्रदेश सभाको आज बस्ने बैठकमा उनले विश्वासको मत लिने भएका हुन् । बैठक आज अपराह्न ३ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
उक्त बैठकमा जम्मकट्टेले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभाका सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछी मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सभामार्फत पुनः विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री जम्मकट्टेलले यसअघि पहिलो पटक गत माघ ३ गते विश्वासको मत लिएका थिए । त्यतिखेर उनलाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टी गरी ६ वटा दलका सांसदहरुले समर्थन गरेका थिए ।