मकवानपुर । नेकपा एमालेले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी हेरफेर गरेको छ। एमालेले फरक-फरक भूगोलमा कार्यक्षेत्र रहने गरी जिम्मेवारी हेरफेर गरेको हो।
गत जेठ १९ गते गरेको पार्टी सचिवालयको निर्णयलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत उसले सर्कुलर गरेको हो। एमालेका सात उपाध्यक्षहरूले विभागहरूको कामको संयोजनको जिम्मा पाएका छन्। सचिवहरू प्रदेशको इन्चार्ज तोकिएका छन्।
बाँकी पदाधिकारीहरूले विभागीय प्रमुखको जिम्मेवारी पाइरहँदा स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले जिल्लाको इन्चार्जको जिम्मेवारी पाएका छन्। एमालेले यसपटक सह इन्चार्ज हटाएर केन्द्रीय सदस्यहरूलाई महानगर, उपमहानगर, नगर र गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिएको छ।
स्थायी कमिटी सदस्य यामलाल कँडेल दैलेखको इन्चार्ज तोकिएका छन्। सीता पौडेल महिला फाँटको इन्चार्ज बनेकी छिन्। बिन्दा पाण्डेले अर्थ तथा योजना विभागको प्रमुखको भूमिका पाउँदा गोरखबहादुर बोगटी सुर्खेतको इन्चार्ज तोकिएका छन्।
कर्णबहादुर थापा युवा खेलकुद विभागको प्रमुख बनेका छन्। थममाया थापा कास्कीको इन्चार्ज बनेकी छिन्। शेरबहादुर तामाङ ललितपुरको इन्चार्ज बनाइएका छन्।
शिवमाया तुम्बाहाङ्फे इलामको इन्चार्ज बनेकी छिन्। हिक्मतकुमार कार्की मोरङको इन्चार्ज चयन भएका छन्। अरुण नेपाल नुवाकोटको इन्चार्ज बन्दा देवी ज्ञवालीलाई मकवानपुरको जिम्मा दिइएको छ भने परशुराम मेघी गुरुङ उदयपुरको इन्चार्ज बनाइएका छन्।
मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र २ (ख) को आयोजनामा जेठ २९ गते सोमबार हुने क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न महामन्त्री थापा मकवानपुर आउन लागेका हुन् ।
करिब १ हजार जनाको सहभागिता रहने सम्मेलनमा महामन्त्री थापाले मकवानपुर कांग्रेसमा देखिएको समस्या हल गराउन समन्वयकारी भुमिका खेल्न सक्ने क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सभापति रञ्जन कालाखेतीले बताए । ‘चुनावसम्म हामी कुनै नेताको समूहसँग निकट थियौं होला । चुनाव सक्कियो अब हामी कुनै गुट उपगुट होइन नेपाली कांग्रेस हौं भनेर हिड्न जरुरी छ ।’- कालाखेतीले भने ।
सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै क्षेत्र नम्बर २ का संघीय सभापती लोकबहादुर मोक्तानले उक्त सम्मेलनमा कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र २ (ख) का सबै वडाका पदाधिकारी, वडाका प्रतिनिधि र क्रियाशील सदस्यहरुको सहभागितामा रहने बताएका छन् ।
नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीको सभाध्यक्षतामा पत्रकार सम्मेलन आयोजना भएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने उद्घोष गरेका छन् ।
शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रममा उनले सभापतिको रुपमा यो आफ्नो अन्तिम कार्यकाल रहेको स्पष्ट पारे । उनले भने, ‘पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन ।’
आफूले नेतृत्व लिएर पार्टीलाई र पार्टी निकट भातृ संगठनलाई बलियो बनाएको सभापति देउवाले दाबी गरे । उनले थपे, ‘अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठूलो पार्टी भएको छ ।’
नेतृत्वलाई गाली गरे संगठन बलियो नबन्ने बताउँदै देउवाले सबै नेता र कार्यकर्तालाई एकजुट भएर काम गर्न निर्देशन दिए । देउवाले आफ्नो कार्यशैलीप्रति असन्तुष्टलाई लक्षित गर्दै भने, ‘काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउने जनसम्पर्क नै हो । जनतामा जानुपर्छ ।’
उनले आपसी लडाइँले पार्टी दुर्घटनामा जान सक्ने भएकाले यसतर्फ सचेतसमेत गराएका थिए । राजधानी
मकवानपुर । आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै संघीय सरकारका अर्थमन्त्री प्रकाश शरण महतले केहि निकायहरु खारेजी तथा गाभ्ने उल्लेख गरे । सार्वजनिक खर्च कटौतीका लागि प्रभावकारी भूमिका नभएको भन्दै सरकार मातहत २० वटा निकायहरूलाई खारेजी तथा गाभ्ने भएको हो ।
अहिले रहेको जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरी जिल्ला प्रशासन कार्यालयमा नै निर्वाचन इकाई राख्ने भएको छ । त्यस्तै जिल्ला तथ्याङ्क कार्यालयलाई पनि खारेज गरी स्थानीय तहबाटै सङ्कलन गरिने र समन्वयका लागि प्रादेशिक स्तरमा कार्यालय खोलिने बजेटमा उल्लेख छ ।
बजेट भाषणमा सरकारले २०३७ सालमा स्थापित कपास विकास समिति पनि खारेज गरिने उल्लेख छ । यस्तै ताल संरक्षण विकास समिति, भूमिगत जलस्रोत विकास समिति, जलस्रोत अनुसन्धान तथा विकास समिति, रेल्वे बोर्ड, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र विकास समिति, राष्ट्रिय सूचना प्रविधि केन्द्र, रेडियो नेपाल र नेपाल टेलिभिजन, नेपाल इन्टरमोडल यातायात तथा विकास समिति, पर्वतीय प्रशिक्षण विकास समिति खारेज गरिने छ ।
त्यसैगरी सरकारले खारेजी र गाभ्ने भनिएका निकायमा राष्ट्रिय दुग्ध विकास बोर्ड, फिलाटेलिक तथा टिकट व्यवस्थापन कार्यालय, केन्द्रीय धानेश कार्यालय, अतिरिक्त हुलाक कार्यालय, बूढीगण्डकी जलविद्युत् आयोजना, वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाई, महिला तथा बालबालिका विभाग, नेपाल विश्वविद्यालय पूर्वाधार तयारी विकास समिति, विभिन्न मेडिकल कलेज पूर्वाधार विकास समितिहरू रहेका छन् ।
सुची हेर्नुहोस
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले नेपाली कांग्रेसबाट बागमती प्रदेशमा नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा शुभकामना दिएको छ । कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले सोमबार एक कार्यक्रमका बीच कांग्रेसबाट बागमती प्रदेशमा नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा शुभकामना दिएका हुन ।
कांग्रेस बागमती प्रदेश सभापति बानियाँ तथा पदाधिकारीहरुले आर्थिक मामिला तथा कानुनमन्त्री बहादुरसिंह लामा, स्वास्थ्यमन्त्री उत्तम जोशी, ऊर्जा तथा जलस्रोत मन्त्री तीर्थ लामा, वन तथा वातावरणमन्त्री मसिना खड्का, पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जन र मन्त्री रामकृष्ण चित्रकारलाई बधाई तथा शुभकामना दिएका छन् । कांग्रेस बागमती प्रदेशको मुख्य कार्यालय हेटौंडामा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सभापति बानियाँले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा आमजनताको आवश्यकतालाई ध्यानमा राखी जनप्रतिनिधिहरुले ल्याएको माग सम्बोधन गर्न आग्रह गरे ।
अहिले आर्थिक मन्दीले विश्वलाई नै आक्रान्त र प्रभाव पारिरहेको बताउँदै नेता बानियाँले प्रदेशमा परेको प्रभावलाई न्युनीकरण गर्दै बजेटले प्रदेशका जनताको विकास निर्माणको आकांक्षालाई परिपूर्ति गर्दै त्यसमा दत्तचित्त भएर लाग्न आग्रह समेत गरे । कार्यक्रममा कांग्रेस बागमती प्रदेशका महामन्त्रीद्वय राजु श्रेष्ठ र कञ्चनचन्द्र बादे, सहमहामन्त्री हरिशरण श्रेष्ठ, प्रदेश सदस्यहरु चम्फुरत्न लामा, प्रज्वल दवाडी, प्रभातकुमार तामाङ, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, कांग्रेस बागमती प्रदेश कार्यसमितिका मुख्य सचिव राजु नेपाल, नेपाली कांग्रेसबाट बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।