महोत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका -३ भटौलियामा सशस्त्र प्रहरीले प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ ।
८ असोज गते राति ११ बजेको समयमा सशस्त्र प्रहरी बल, नेपाल एकडारा चेकपोष्टबाट सइ राम गणेश महतोको कमाण्डमा खटिएको मोबाइल गस्तीले चार वटा पोकामा प्याक गरिएको ६०.८ किलोग्राम गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरीको टोलीलाई देखी उक्त प्रतिबन्धित गाँजा भारततर्फ लैजाँदै गरेका ४ जना व्यक्तिहरू गाँजा छाडी भागेका छन् । फरार व्यक्तिहरूको खोजी भइरहेको जलसागर स्थित सशस्त्र प्रहरी बल,नेपाल नं ९ गण हेडक्वार्टर महोत्तरीको जनाएको छ ।
बरामद गरिएको गाँजा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीले जानकारी दिएका छन् ।
मकवानपुर । बागमती प्रदेशका २ जिल्लाका विभिन्न घटनामा ३ जनाकाे मृत्यु भएकाे छ । प्रदेशकाे काभ्रेपलाञ्चोक र चितवन जिल्लाका घटनामा ३ जनाकाे ज्यान गएकाे प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएकाे छ ।
काभ्रेपलाञ्चोककाे मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा १ जना महिला बेहोस भई लडी मृत्यु भएको हाे । स्थानीय ५३ वर्षीय दुर्गादेवी दुलाल बिहीबार बिहान आफनै घरको आगनमा चक्कर लागि लडि बेहोस भएकाेमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे । उनलाई उपचारको लागि मण्डनदेउपुर नगर अस्पताल लगिएकाेमा चिकित्सकले बाटोमा नै मृत्यु भएको भनि घोषणा गरेका थिए ।
यसैगरी चितवन जिल्लाकाे भरतपुर महानगरपालिका वडा नम्बर ४ शिवघाटमा १ जना पुरुष व्यक्ति मृत फेला परेको प्रदेश प्रहरीले जनाएकाे छ । बिहीबार नारायणी नदिको बिच टापुमा ४/५ दिन अघिको जस्तो देखिने अन्दाजी ३५/४० वर्षीय पुरुष व्यक्ति मृत फेला परेकाे हाे । प्रहरीका अनुसार मुचुल्का पश्चात पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएकाे छ ।
यस्तै चितवनकाे भरतपुर १० नगरपालिका अगाडी सवारी दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ । बिहीबार चौबिसकोठीबाट पुलचोकतर्फ जादै गरेको बाप्र ०३ ००१ प ४७६० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बाटो बन्द गर्न राखेको सडकको डिभाईडरमा ठक्कर खाई दुर्घटना भएकाे हाे ।
दुर्घटनामा माेटरसाइकल चालक नवलपरासी (पुर्व) गैडाकोट बस्ने ५० वर्षीय प्रेम परियारकाे मृत्यु भएकाे हाे । दुर्घटनामा टाउकोमा चोटलागि घाइते भएका परियारलाई भरतपुर अस्पताल लगिएकाेमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ । दुर्घटनामा घाइते माेटरसाइकल पछाडि सवार चितवन ईच्छाकामना गाउँपालिका ५ बस्ने ३३ वर्षीय पुर्ण बहादुर परियारकाे भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।
मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामाले नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपालसँग कार्य सम्पादन करार सम्झौता गरेका छन् । मुख्यमन्त्री लामाले बुधबार उपाध्यक्ष नेपालसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन् ।
प्रदेश नीति तथा योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ बमोजिम मुख्यमन्त्री लामाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमहरुको कार्य सम्पादनलाई प्रभावकारी र नतिजामुखी बनाउन आयोगका उपाध्यक्ष नेपालसंग कार्यसम्पादन सम्झौता गरे ।
सम्झौता अनुसार आयोगले वार्षिक स्वकीकृत कार्यक्रम सहित प्रभावकारी र उपलब्धीमुलक नयाँ तथा फरकशैलीको कार्यक्रम पनि गर्न निर्देशन गरिएको छ । मुख्यमन्त्री लामाले २६ भदौ २०८१ काे मन्त्रिपरिषद बैठकबाट नेपाललाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका थिए ।
यसैबीच उपाध्यक्ष गंगादत्त नेपालसँग कार्यसम्पादन करार कार्यक्रममा मुख्मयन्त्री लामाले बजेट विनियोजन र योजना छनौटलाई प्रभावकारी बनाउने बताए । उनले प्रदेशमा आयोजना बैंक स्थापना गरेर प्रभावकारी कार्यान्वयनकाे लागि बजेट विनियोजन गर्ने तयारी भइरहेको जानकारी दिए । आयोजना बैंक स्थापना तथा संचालनलाई प्रभावकारी बनाउन उनले निर्देशन समेत दिए ।
मुख्यमन्त्री लामाले वार्षिक स्वीकृत कार्यक्रमका अलावा प्रदेश सरकारलाई आवश्यक तथ्यांक संकलन तथा सुझावहरु उपलब्ध गराएर नीति आयोगले प्रदेशको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए । नयाँ र फरक ढंगका उत्पादन र रोजगारीमा केन्द्रीत हुने गरी आयोगले योजना निर्माण तथा बजेट विनियोजनमा सघाउन उनले आग्रह गरे ।
उनका अनुसार प्रदेश सरकार सिस्टम बनाउन सक्रिय रहेकाेले सरकारले तयार पारेको सिस्टम अनुसार नीति आयोगले नियमित काम गर्ने र प्रभावकारी योजना निर्माणमा अग्रसर हुनेछ ।
मकवानपुर । बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबारबार आयोग अध्यक्षमा नियुक्त भएका श्रेष्ठलाई सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गराए।
रिक्त रहेको आयोगको अध्यक्षमा नियुक्तिका लागि प्रदेश सरकारले श्रेष्ठको नाम सिफारिस गरेको थियो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले आयोगको अध्यक्षमा उनलाई नियुक्त गरेका थिए ।
मकवानपुर । बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् । प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले आइतबार श्रेष्ठलाई आयोगकाे अध्यक्षमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री बहादुर सिं लामा, सभामुख भुवनकुमार पाठक र विपक्षी दलका नेता शालिकराम जम्मकट्टेलकाे ३ सदस्यीय समितिले २१ असोजमा श्रेष्ठलाई लोक सेवा आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस गरिएकाे थियो । प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (१) अनुसार गठित सिफारिस समितिको सिफारिसमा सोही ऐनकाे दफा ४ को उपदफा (२) बमोजिम श्रेष्ठलाई अध्यक्ष नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएकाे हो ।
२ मंसिर २०७६ मा गठित आयोगको अध्यक्ष सुरेशमान श्रेष्ठ उमेर हदका कारण अध्यक्ष ३ चैत २०८० बाट पदमुक्त भएका थिए । पटक–पटक सरकार परिवर्तन र सत्तारुढ दलहरुबीच सहमति हुन नसक्दा ७ महिनादेखि आयोगको अध्यक्ष नियुक्त हुन सकेको थिएन ।
श्रेष्ठलाई आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस भएपछि आयोगका सदस्य सुदर्शन ढकालले पदबाट राजीनामा दिएका थिए । कनिष्ट व्यक्तिलाई अध्यक्ष नियुक्त गर्न सिफारिस गरिएकाे भन्दै ढकालले २ कार्तिकमा प्रदेश प्रमुख देवकोटा समक्ष राजीनामा दिएका थिए । ६ माघ २०७६ मा सदस्य नियुक्त भएका ढकालले ४ वर्ष ९ महिना काम गरेर राजीनामा दिएका हुन् ।
लाेक सेवा आयोगकाे अध्यक्षमा नियुक्त श्रेष्ठ नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ निवासी हुन् । लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदमा कार्यरत श्रेष्ठ बिहीवार मात्रै सरकारी सेवाबाट अवकाश भएका थिए । उनी ११औं तह सहसचिव हुन् ।
यस अघि उनले तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको प्राविधिक सल्लाहकार पदमा रही काम गरिसकेका छन् । उनको शपथ कार्यक्रम सोमबार हुने बताइएकाे छ ।