मकवानपुर । प्रदेश सरकारले बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमुक्त गरेको छ । चौलागाईलाई गत जेठ २७ गते तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीपरिषद्को निर्णयबाट युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका थिए ।
विहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, सोधिएको स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नदिएको,पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको उपाध्यक्ष चौँलागाईलाई पदमुक्त गरेको हो ।
चौलागाईले परिषद्को स्विकृति वेगर लोगो तथा स्लोगन सार्वजनिक गरेको, ऐन कानुनको बर्खिलाप गर्दै स्वेच्छाचारी गतिविधिहरु गर्दै गएको भन्दै चौलागाईलाई बर्खास्त गरीएको बागमती सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले बताए ।
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आगामी फागुन १६ गते बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले बुधबार आव्हान गरेको सर्वदलिय वैठकमा प्रदेशसभाको बैठक राख्ने विषयमा सहमति भएको हो ।
सभामुख श्रेष्ठको सक्रियतामा बसेको सर्वदलिय वैठकमा फागुन १५ गते पुनःसर्वदलिय बैठक राख्ने र १६ गते प्रदेशसभाको बैठक बोलाउने विषयमा सहमति भएको हो । बैठकमा सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो । पछिल्लो समय प्रदेशसभा बैठककाे विषयमा सरकार र सत्तापक्षवीच मतभेद रहदै आएकाे थियाे ।
मकवानपुर । गत माघ २५ गते देखि फागुन २ गतेसम्म संचालन भएकाे पीपीआर खाेप अभियान कार्यक्रम अन्तरगत बागमती प्रदेशमा ८ लाख ३० हजार १ सय ८७ वटा भेडाबाख्रमा खाेप लगाइएकाे छ । पिपिआर रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान कार्यक्रममा प्रदेशभरका १३ वटा जिल्लामा उक्त संख्याका भेडाबाख्रामा खोप लगाइएको बागमती प्रदेशकाे कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएकाे छ ।
माघ २५ गतेबाट खोप अभियान सञ्चालन भएकाेमा ८ हजार ६ सय ९८ वटा भेडा र ८ लाख २१ हजार ४ सय ८९ वटा बाख्रामा पीपीआर खोप लगाइएको मन्त्रालयले जानकारी दिएकाे छ । पहिलो चरणमा मकवानपुरमा सबैभन्दा धेरै खोप लगाइएको थियाे । मकवानपुरमा १ लाख ६६ हजार ४ सय २३ वटा बाख्रामा खोप लगाइयो छ । नुवाकोटमा १ लाख २० हजार १९ वटा भेडाबाख्रामा खोप लगाइएको हाे । सबैभन्दा कम भक्तपुरमा ६ हजार १८१ वटामा लगाइएको मन्त्रालयका पशुपन्छी विकास महाशाखाका पशु चिकित्सक डा. सृजा वाग्लेले जानकारी दिए ।
पहिलो चरणमा काभ्रेमा ९९ हजार १ सय ८२, दोलखामा ९४ हजार ९ सय ९८, धादिङमा ८३ हजार २ सय ७०, चितवनमा ७१ हजार ४ सय १८, सिन्धुलीमा ४५ हजार ८ सय २५, रामेछापमा ४४ हजार ६ सय १०, काठमाडौंमा ३१ हजार ५ सय ५७, ललितपुरमा २७ हजार ५ सय ८७, रसुवामा २३ हजार १ सय ६५, सिन्धुपाल्चोकमा १५ हजार ९ सय ५२ वटा गरी गरि ८ लाख ३० हजार १ सय ८७ वटा भेडाबाख्रालाई खोप लगाइएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । प्रदेशका दोलखा, काभ्रे, चितवन, नुवाकोट, रसुवा र धादिङ जिल्लामा भने भेडामा पनि खोप लगाइएको छ ।

बागमती प्रदेशका स्थानीय तहका सबै वडाहरुमा खोप भ्याक्सिनेटर परिचालन र खोपकेन्द्र सञ्चालन गरि पहिलो पटक प्रदेश सरकारले खोप अभियान गरेको हो । पहिलो चरणमा १ करोड १९ लाख बजेटबाट ११ लाख ९० हजार खोपको मात्रा खरिद गरी खोप अभियान सुरु गरिएको हो । प्रदेशमा भेडाको संख्या ९३ हजार ६ सय ३९ र बाख्राको संख्या २३ लाख ५१ हजार २ सय १७ रहेको मन्त्रालयकाे तथ्याङ्कमा उल्लेख छ ।
पीपीआर खोपको मात्रा ११ लाख ९० हजार भएता पनि १ सातामा ८ लाख ३० हजार १ सय ८७ मात्रा प्रयोग गरिएको छ । भेडाबाख्राहरुमा पीपीआर राेग विरुद्ध एकचोटी खाेप लगाएपछि ३ वर्षसम्म लगाउनु नपर्ने पशु चिकित्सकहरु बताउँछन् ।



मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले सिन्धुली जिल्लाका १ सय ४० परिवारलाई नगदसहित खाद्यान्न सहयोग गरेकाे छ । जंगली हात्तीबाट प्रभावित उक्त परिवारलाई कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जिल्लाकोे विभिन्न क्षेत्रमा पुगेर बुधबार राहत उपलब्ध गराएका हुन् ।
सिन्धुलीको कमलामाइ नगरपालिका वडा नम्वर १३ र १४ अन्तरगत पर्ने रानीवास चन्दनपुरलगायत क्षेत्रका ७७ परिवार, दूधौली नगरपालिका वडा नम्वर १, २, ३, ६ र ११ को झुगा तीनतले माथिल्लो फुटेपानी, कालापानी, लवा, माथिल्लो पत्रिङ्गालगायतका स्थानका ६३ घरपरिवारलाई राहत उपलब्ध गराइएको हो । उनीहरुलाई प्रति परिवार ५ हजारसहित ब्लाङ्केट, एक बोरा चामल, नुन, तेल, दाललगायत खाद्यान्न सहयोग गरिएको हो ।
राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभापति बानियाँले कांग्रेस जनताको पीर मर्का तथा अप्ठेरो परिस्थितिमा सदैव साथ सहयोग गर्न तत्पर रहेको बताए । उनले प्रदेशवासीको समस्यालाई कांग्रेसले आफ्नो समस्या ठानेको भन्दै त्यसको सम्बोधनमा आफु निरन्तर लागिरहने प्रतिवद्धतासमेत व्यक्त गरे । ‘जंगली हात्तीबाट प्रभावित भएका जतिपनि घर परिवारहरु छन्, हामी प्रदेश सरकारसँग समन्वय गरेर यहाँहरुको भत्किएको घर पुनः निर्माण गरिने म प्रतिवद्धता व्यक्त गर्न चाहान्छु ।’ उनले भने ।
राहत वितरण कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरे, कांग्रेस बागमती प्रदेशका उपसभापतिद्वय मोहन बस्नेत र चन्द्र महर्जन, महामन्त्रीद्वय कञ्चनचन्द्र वादे र राजु श्रेष्ठ सहमहामन्त्रीहरु ऋषिराम घिमिरे, हरिशरण श्रेष्ठ र जीवन डंगोल, सिन्धुली जिल्ला सभापति उज्ज्वल बराललगायत उपस्थित थिए । सिन्धुलीमा जंगली हात्तीले केही दिन अघि स्थानीयको घर भत्काउनुको साथै बालिनालीसमेत नष्ट गरेको थियो ।

मकवानपुर । युवा तथा खेलकुद मन्त्रालयले बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष हटाउन चलखेल सुरु गरेकाे छ । मन्त्रालयले कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई माघ २५ गते स्पष्टीकरण सोधेपछि उनले आफूलाई हटाउने तयारी गरिएकाे प्रतिक्रिया दिएका हुन् ।
डोरमणि पौडेल नेतृत्वको सरकारले नियुक्ती गरेका उपाध्यक्ष चौलगाईलाई हटाउन राजेन्द्र पाण्डे नेतृत्वको सरकारका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले मन्त्रालयका कर्मचारीलाई निर्देशन नै दिएको बुझिएको छ । लामो समयसम्म परिषद बैठकले कार्ययोजना नै स्वीकृत नगर्दा परिषदले सोचे अनरुप काम गर्न नसकेको चौलागाईले बताए । २०७८ असोज ६ गते परिषद बैठकबाट योजना स्विकृत भएपछि परिषदले त्यही स्वीकृत योजना कार्यान्वयन गरेको उपाध्यक्ष सन्तोष चौलागाईले बताए ।
मन्त्रालयले राजनीतिक पूर्वाग्रह नराखी कार्यक्रम प्रभावकारी बनाउन खोजे सहकार्यको लागि आफू तयार रहेको उनको भनाई छ । मन्त्रालय र मन्त्रीस्तरको सुझाव कार्यान्वयन गर्न कुनै समस्या छैन, तर राजनीतिक पूर्वाग्रह राखेर स्पष्टीकरण सोध्नु अन्याय भएको उनको तर्क छ । सामाजिक विकास मन्त्रीको अध्यक्षतामा बसेको परिषद बैठकको निर्णय कार्यान्वयन गरिएको हो । मन्त्रालयसंग समन्वय नभएको आरोप मिथ्या हो । मन्त्रालयले मागेको प्रगति विवरण समयमै बुझाईएको उनले बताए । अहिले युवा तथा खेलकुद मन्त्रालय मातहतमा रहेको प्रदेश युवा परिषदले मन्त्रालयसंग समन्वय गरिरहेको छ । परिषदले बनाएका भावी योजनाका सन्दर्भमा मन्त्रालयले सुझाब दिने हो भने पनि ती सुझाब समेट्न सकिने उनले बताए ।
मन्त्रालय योजना फेर्नु भन्दा कार्यकारी उपाध्यक्ष फेर्ने दाउमा अघि बढेको छ । चार वर्षे कार्यकालका लागि २०७८ असार १ गते नियुक्त गरिएको कार्यकारी उपाध्यक्ष हटाएर आफू अनुकुलको कार्यकारी उपाध्यक्ष नियुक्ती गर्ने योजनाका साथ मन्त्रालय र मन्त्री अघि बढेका छन् । युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषदलाई काम गर्ने वातावरण नदिएको उपाध्यक्ष चौलागाईले आरोप लगाए । एकातर्फ काम गर्ने वातावरण नदिने अर्कोतर्फ काम भएन भनेर मन्त्री नै राजनितीक प्रतिशोध साध्न उद्यत देखिएको उनले बताए ।
परिषदले कार्यक्रम स्विकृत गरेको २ महिना भित्रै प्रदेशको लोगो र स्लोगन सार्वजनिक गरेको छ । युवा परिषदको वेभ साइट निर्माण भएको छ । दुई महिनाभित्र परिषदबाट थुप्रै काम भएको उपाध्यक्ष चौलागाईको दावी छ । बागमती प्रदेश सरकारका आन्तरिक मामीला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले एक हप्ता भित्रै अघिल्लो सरकारले गरेका नियुक्ती खारेज गर्ने बताए ।