मकवानपुर । आज मन्त्री मण्डल बिस्तार गरिने तयारी रहेपनि कांग्रेस भित्र आकाक्षिमध्येमा सहमति गराउन सकिएको छैन ।
बागमती प्रदेशमा नेपाली कांग्रेसले मन्त्रीहरुको नाम टुङ्गो नलगाउँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको छ ।
कांग्रेसको केन्द्रमा मन्त्रीहरु पठाउन किचलो भएसंगै बागमती प्रदेशमा पनि मन्त्रीहरुका आकांक्षिहरु धेरै भएपछी मन्त्रीहरुको नाम टुङ्गो लगाउनका लागि ढिलाई भएको हो । अब छिट्टै मन्त्रीहरुको नाम टुङ्गो लगाएर पठाउने तयारी भएको नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता बहादुर सिंह लामाले बताए ।
केन्द्रको कारण प्रदेशमा पनि मन्त्रीहरुको टुङ्गो लगाउन समस्या भएको उनले बताए । केन्द्रमा सत्ता गठबन्धनमा परिवर्तन भएसँगै बागमती प्रदेशमा भएको सत्ता समीकरणपछि सरकार विस्तारमा ढिलाइ भएको छ। फेरिएको गठबन्धनमा रहेका दलबीच भागबन्डा नमिल्दा सरकार विस्तारमा केही दिन ढिलाइ हुने भएको छ।
सरकार विस्तारमा ढिलाइका कारण प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आठवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । एक महिनाभन्दा लामो समयदेखि चारवटा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्कट्टेलमाथि गत शुक्रबार थप चारवटा मन्त्रालयको बोझ पनि थपिएको छ । यो सहित मुख्यमन्त्रीको नेतृत्वमा आठवटा मन्त्रालय छ ।
प्रदेशमा सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकार विस्तारमा भएको ढिलाइबारे एक–अर्काका कारण भन्दै आरोप लगाउँदै आएका छन्। माओवादी केन्द्रका नेता एवं प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले कांग्रेसले मन्त्री बनाउनेको नाम दिन ढिलाइ गरेका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको बताए ।
मन्त्री दुलालले भन्नुभयो, “कांग्रेसले मन्त्रिमण्डलमा सहभागी हुनेको नाम दिन ढिलाइ गरेको छ, आन्तरिक समस्या वा कसलाई पठाउने भन्नेबारे सहमति नभएकाले हुन सक्छ। केन्द्रमा भागबन्डामा सहमति भएपछि यहाँ पनि मन्त्रिमण्डल विस्तारमा सहज होला जस्तो छ।” गत पुस २५ गते नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित प्रदेशमा रहेका पाँच दलको समर्थनमा मुख्यमन्त्री बन्नुभएका माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेललाई दिएको समर्थन फिर्ता लिँदै राप्रपा सरकारबाट बाहिरिएको थियो।
गत फागुन १३ गते राप्रपाले सरकार छाडेपछि राप्रपाले पाएको तीनवटा मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलले कै जिम्मेवारीमा छ । यस्तै गत शुक्रबार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि एमालेले सत्ता भागबन्डामा पाएको मन्त्रालयको जिम्मेवारीसमेत पछिल्लो समय मुख्यमन्त्री जम्कट्टेल अरूलाई दिएका छैनन् ।
एमाले र राप्रपा सत्ताबाट बाहिरिएसँगै सत्तामा सहभागी हुन लागेको कांग्रेसमा मन्त्री हुनेको सङ्ख्या बढेपछि कांग्रेसलाई व्यवस्थापनमा समस्या भएको देखिएको छ। कांग्रेसभित्रको समूह र गुट मिलाउन समस्या भएपछि कांग्रेसले प्रदेश सभा सदस्यको सङ्ख्याका आधारमा मन्त्री पाउनुपर्ने भन्दै धेरै मन्त्रालयको दाबी गर्दै आएको छ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले कांग्रेसले मन्त्री भागबन्डा गर्दा छवटा पाउनुपर्ने दाबी गरेको जानकारी दिए । माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित चार, कांग्रेसले छवटा माग गरेको, नेकपा ९एकीकृत समाजवादी०ले दुईवटा र हाम्रो नेपाली पार्टीले एउटा माग गरेअनुसार भागबन्डा गर्दा अहिले रहेको मन्त्रालय पुग्ने देखिँदैन।
प्रदेशमा रहेको ११ वटा मन्त्रालयलाई भागबन्डाका लागि मन्त्रालय फुटाएर विवादमा आउने पक्षमा मुख्यमन्त्री जम्कट्टेल नदेखिएपछि सरकार विस्तारमा सकस भएको हो।
मन्त्रालय भागबन्डामा सकस भएपछि सहमति निर्माण गर्न कार्यदल गठन गरिएको छ। कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सरकार विस्तारलगायतका विषयमा सहमति निर्माण गर्न कार्यदल गठन गरिएको जानकारी दिए ।
उपनेता चित्रकारका अनुसार कार्यदलमा उनीसँगै कांग्रेसका ३ जना, माओवादी केन्द्रका २ जना, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका १/१ जना रहेका छन्। उपनेता चित्रकारले भने “कांग्रेसका कारण सरकार विस्तारमा ढिलाइ भएको होइन, छवटा मन्त्रालय माग गरेका छौँ। माओवादी केन्द्रसमेत सुरुमा सहमत थियो। सहमति जुट्नेबित्तिकै सरकारले पूर्णता पाउनेछ।”
मन्त्रिमण्डल विस्तारमा सहमति जुट्न नसकेपछि काठमाडौँमा मुख्यमन्त्री जम्कट्टेल, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामासहितका नेता बसेर सरकार विस्तारलगायतका विषयमा सहमति निर्माण गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो।
कांग्रेसले केन्द्रमा सत्ता गठबन्धनमा हुने सहमतिलाई कुर्दासमेत सरकार निर्माणमा ढिलाइ भएको हो। सातै प्रदेशको एकमुष्ट भागबन्डा हुने र केन्द्रमा समेत मन्त्रिमण्डल विस्तारमा हुने सहमतिलाई प्रदेशमा कांग्रेसले कुरेर बसेको छ। कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता लामा केन्द्रमा सातै प्रदेशको भागबन्डाबारे छलफल भएर सहमति भएपछि प्रदेशमा सरकारको काम हुने बताए ।
एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले गत शुक्रबार प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत पाएका थिए । मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ।
मकवानपुर । आइतबार बागमती प्रदेश सरकार बिस्तार हुने भएको छ । बागमती प्रदेशमा आईतबार साँझसम्म मन्त्रीमण्डल बिस्तारको तयारी भएको बताइएको छ ।
बागमती प्रदेशमा ७ वटा मन्त्रालय रिक्त रहेको छ । रिक्त रहेको ७ मन्त्रालयमा मन्त्री नियुक्तिको तयारीमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तयारी सुरु गरेका छन ।
सत्ता गठबन्धन दल बिछ प्रदेशमा नेपाली कांग्रेसलाई ५ मन्त्रालय दिने गरि सहमति हुने भए पछि मन्त्रीपरिषद विस्तार गरिने मुख्यमन्त्री कार्यलयले जनाएको छ ।
कांग्रेसलाई ५, एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई १/१ मन्त्रालय दिनेगरि तयारी सुरु गरिएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए । ११ मन्त्रालय रहेको प्रदेशमा मन्त्रालय नबढ्ने गरि मन्त्रालयको भागवण्डा मिलाउने तयारीमा मुख्यमन्त्रीले पहल गरेपछि कांग्रेसले माग गरेको ६ मन्त्रालयबाट घटाएर ५ दिनेगरि सहमति हुन लागेको हो ।
मन्त्रालय भागवण्डाको लागि निर्माण गरिएको कार्यदलले कुन मन्त्रालय कस्ले पाउने भन्नेबारे आज बेलुका वा भोली बिहानसम्म टुंगो लगाउने तयारी गरेको छ । सरकारमा कांग्रेसको तर्फबाट संसदीय दलका नेता बहादुर लामाले नेतृत्व गर्ने बताइएको छ । सम्भवत लामाले आर्थिक मामिला मन्त्रालय लिएर सरकारको नेतृत्व गर्ने छन् ।
मकवानपुर । आजबाट शुरु भेको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले अनुगमन गरेका छन् ।
हेटौंडास्थित आधुनिक राष्ट्रिय मावि र भुटनदेवी मावि दुईवटा परीक्षा केन्द्र पुगेर मन्त्री श्रेष्ठले विद्यार्थीहरूलाई परीक्षाको सफलता र उनीहरूको सुखद भविष्यको शुभकामना दिएका छन् ।
मन्त्री श्रेष्ठले परीक्षा अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित रहेकोमा खुसी व्यक्त गर्दै परीक्षा केन्द्राध्यक्षलगायत टीमलाई धन्यवाद दिएका छन् । साथै, परीक्षालाई अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन बागमती प्रदेश सरकारले सम्बन्धित सबै निकायलाई आवश्यक निर्देशन दिएको कुरा पनि बताएका छन् ।
त्यस्तै मन्त्री श्रेष्ठले विशेष अवस्थाका परिक्षार्थीलाई समेत हौसला प्रदान गर्दै बिध्यालयका नर्सलाई परिक्षार्थीहरुलाई कुनै पनि बेला आवश्यक पर्ने स्वास्थ्य सेवाका बारेमा अलर्ट रहन सम्बन्धित केन्द्राध्यक्ष मार्फत निर्देशन दिए ।
चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी भएका र त्यसमध्ये करिब २० प्रतिशत परीक्षार्थी बागमती प्रदेशमा सहभागी भएका छन ।
त्यस्तै एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्रमध्ये सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा रहेको शिक्षा विकास निर्देशनालयका शाखा अधिकृत बिजय बिडारीले जानकारी दिए ।
बागमती प्रदेशका १ लाख १ हजार ७३३ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र रहेको अधिकृत बिडारीले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानूनमन्त्री गंगा नारायण श्रेष्ठलाई दिइएको छ । बागमती प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
प्रदेश मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाको स्थानमा श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिएको हो। नेकपा एमाले सरकारबाट बाहिरिएपछि सरकारको प्रवक्ता तोकिएको थिएन ।
बुधबारको मन्त्रिपरिषद् बैठकले विभीन्न निर्णय समेत गरेको छ । बैठकले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षमा सिन्धुलीका प्राध्यपक डाक्टर नरविक्रम थापालाई नियुक्त गरेको छ।
यस्तै बैठकले चेपाङ समुदायका न्वागी र माझी समुदायका लदी पर्वमा समुदायगत विदा दिने पनि निर्णय गरेको छ। बैठकले वैशाख १ गते देखि बागमती प्रदेशका सरकारी कार्यालयहरुमा विद्युतिय हाजिर गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
मकवानपुर। बागमती प्रदेशका पत्रकारलाई दुर्घटना बिमा गरिएकाे छ । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका पत्रकारलाई सामूहिक दुर्घटना बीमा गरिदिएको हाे ।
सन्चारको समेत कार्यक्षेत्र रहेको मन्त्रालयले प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ जना पत्रकारको लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेड मार्फत् प्रति व्यक्ति ४ लाख रुपैयाको दुर्घटना बीमा गरिएको मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीका अनुसार ६३ करोड ४० लाख रुपैया बराबरको बिमाङ्क रकमको बीमा गरिएको हो ।
२०७९ चैत्र ५ बाट लागू हुने बीमालेख अनुसार बीमीत पत्रकारको मृत्यु भएमा कुल ४ लाख रुपैया र दुर्घटना भएमा १ लाख बराबरको औषधी उपचार खर्च भुक्तानी दाबी लिन सकिने कार्कीले बताए । आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले जिम्मेवारी सम्हालेपछि पत्रकारको बीमाको काम छिटो कार्यान्वयन गर्न निर्देशन दिएपछि पत्रकाहरुको सामूहिक दुर्घटना बीमा लागू भएको हो ।
यसैगरि मन्त्री श्रेष्ठले नेपाल पत्रकार महासंघ बागमती प्रदेशलगायत अन्य ५ वटा संस्थाहरुलाई समेत पत्रकाहरुको क्षमता अभिबृद्धि गर्न सहयोग गरिएको बताए ।