मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजित विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकता माथिको छलफल सकिएको छ । जेष्ठ ९ गते बसेको प्रदेश सभामा सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले प्रस्तुत गरेको उक्त विधेयकमाथि छलफल विहीबार सकिएको हो ।
उक्त विधेयकमाथि जेठ ९ गतेबाट सुरु भएकाे सभाकाे दाेस्राे अधिवेशनकाे तेस्राे वैठकसम्म नियमित चलेकाे छलफलमा प्रदेश सभाका सदस्यहरुले आ–आफ्नो धारणा व्यक्त गर्दै सरकारलाई विभिन्न सुझावहरु दिएका थिए । छलफलमा प्रदेश सभाका सदस्यहरुले विनियोजित बजेटको सिन्द्धान्तलाई केवल प्रचारमूखी मात्र नगरी जनताको जीवन स्तरलाई माथि उठाउन सक्नेखालको विकासको पूर्वाधार, गुणस्तरीय स्वास्थ्य उपचार र मेडिकल शिक्षालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।
विहीबार बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री लामाले उक्त विनियोजित बजेटमाथिको छलफलमा उठेका विभिन्न राष्ट्रिय सरोकारको विषयहरुमा जवाफ दिए । उनले विनियोजित विधेयको सौद्धान्तिक र प्राथमिकतामा सदस्यहरुले उठाएका भावनात्मक मर्मलाई आत्मसात गरी सबै जिल्लालाई सडक सञ्जालमा जोड्ने, जिल्लाको भौगोलिक अनुसार बाढीपहिरोबाट प्रभावित हुने क्षेत्रलाई सम्बन्धित निकायमार्फत तटबन्धनको निर्माण गर्न, पीडित परिवारलाई उद्धार गरी पुर्नस्थापन गर्न कार्यलाई तीब्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए । यसैगरी उनले प्रदेशमा सुशासनको रणनीतिलाई व्यापकता बनाउने, भ्रष्टाचार नियन्त्रणको लागि उच्च प्राथमिकतामा राखेर सरकारको संयन्त्र परिचालन गर्ने बताए ।
नीति तथा कार्यक्रम जेठ १४ गते सार्वजनिक हुने
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेष्ठ १४ गते सार्वजनिक हुने भएको छ । प्रदेशकाे आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश प्रमुखले जेठ १४ गते प्रस्तुत गर्ने भएका छन ।
प्रदेश सभाको जेष्ठ १४ गते अपराह्न २ बजे बस्ने बैठकमा बागमती प्रदेश सरकारको तर्फबाट बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सभामुख भुवनकुमार पाठकले विहीबारकाे बैठकमा जानकारी दिए ।
सभामुख पाठकले नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन प्रदेश सभाका सदस्यहरुलाई औपचारिक वोशकसहित उपस्थित हुन आह्वान समेत गरेका छन् ।
मकवानपुर । बागमती प्रदेश सभाको बुधबारकाे बैठकमा विनियोजित विधेयक माथि छलफल भएको छ । बुधबार बसेकाे दोस्राे अधिवेशनकाे दोस्राे वैठकमा विनियोजित विधेयक २०८०।०८१ को सिद्धान्त र प्राथमिकतामा दफाबार छलफल भएकाे हाे ।
बुधबारकाे बैठका शुन्य समय नरहेकाे जानकारी दिदै सभामुख सानु कुमार पाठकले विशेष समयकाे प्रारम्भ भएकाे घाेषणा गरि विनियोजित विधेयक २०८०।०८१ को सिद्धान्त र प्राथमिकतामा दफाबार छलफल भएकाे जानकारी गराएका थिए ।उक्त विधेयक मंगलबारको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङले प्रदेश सरकारको तर्फबाट दफावार छलफल गरियोस् भन्ने प्रस्ताव टेबुल गरेका थिए ।
बैठकमा विनियोजित विधेयक माथि कृष्ण प्रसाद सिलवाल, तारानाथ श्रेष्ठ, मायादेवी शर्मा, आनन्द मोहन श्रेष्ठ, कुमारी तामाङ, डा. दिनेशचन्द्र देवकोटा, भरतबहादुर केसी, रामप्रसाद ढुंगानालगायतका सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
सांसदहरुले प्रदेशको १३ वटै जिल्लालाई समेटिने गरी कृषि उत्पादन, फलफुल, मौसमी तरकारी खेतीलाई आत्मनिर्भर तुल्याउन दीर्घकालिन गुरुयोजना तर्जुमा गर्नुपर्ने सुझाएका थिए । उनीहरुले विनियोजित बजेटको सिन्द्धान्तलाई केवल प्रचारमूखी मात्र नगरी जनताको जीवन स्तरलाई माथि उठाउन सक्ने बजेट निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनीहरुले ग्रामीण बस्तीमा विद्युतीकरण, खानेपानी, कृषि सडक, स्वास्थ्य चौकीको निर्माण गर्न र शैक्षिक गुणस्तरीय दक्ष जनशक्ति उपलब्ध गराउने, सुकुम्बासी र अवस्थित बसोबासीहरुलाई लालपुर्जा, रोजगारीको अवसर र विपन्न कृषकहरुलाई अनुदान, पशुपालन, कृषि उत्पादनको लागि ऋण उपलब्ध गराउन पनि सरकारले छुट्टै कार्यक्रम ल्याउनुपर्ने बताए । यस्तै प्रदेशको १३ जिल्लाको ११९ वतै स्थानीय निकायलाई अझ प्रभावकारी ढंगबाट परिचालन गरी सर्वसाधारणहरुलाई सेवा सुविधा सहज ढंगबाट उपलब्ध गराउनेखालको बजेट निर्माण गर्न सुझाव दिएका छन् ।
यस्तै सभामुख पाठकले विशेष समय सकिएकाे घाेषणा गर्दै कार्य व्यवस्था परामर्श समितिका सदस्य प्रदेश सांसद रामकृष्ण चित्रकार मन्त्री नियुक्ति भएकाले उनकाे ठाउँमा श्रीराम लामिछानेलाई र कुमारी तामाङ र गिरी बहादुर तामाङलाई कार्य व्यवस्था परामर्श समितिकाे सदस्यमा मनाेनयन गरेका थिए । पाठकले कार्य व्यवस्था परामर्श समितिमा भएकाे हेरफेर तथा नयाँ सदस्य मनोनयमा सहमती जनाउन अनुराेध गरेका थिए । उक्त मनोनयनमा संसदले सहमती जनाएका थिए ।
प्रदेश सभाको अर्को बैठक जेष्ठ ११ गते बिहीबार विहान ८ बजे बस्ने गरी बुधबारकाे बैठक स्थगीत भएकाे प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईँले जानकारी दिइन् । विहीबारकाे बैठकमा विनियोजित विधेयक २०८०।०८१ को सिद्धान्त र प्राथमिकतामा सम्बन्धमा कर प्रस्ताव बाहेका बाँकी विषयमा छनफल हुने चापागाईले संसदमा जानकारी गराइन् ।
मकवानपुर । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले बागमती प्रदेशका सांसदहरुलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
हालै प्रस्तुत प्रदेस सरकारको सिदान्त र प्राथमिकतामा प्रस्तुत गरिएका बुदाँहरुमा सिमान्तकृत र पछाडि पारिएका वर्ग भनि गोलमटोल शव्दहरुको प्रयोग गरि प्राथमिकतामा राख्नुपर्ने अपाङ्गता भएका व्यक्तिहरुको वर्गलाई सम्वोधन नगरिएको प्रति राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेसको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ।
अपाङ्गता भएका ब्यक्तिको हक, हित र अधिकार संरक्षण, सम्बर्धन र प्रवर्धनको लागि आफूहरले २०५० सालदेखि निरन्तर लागिपर्दै आएको तर अझैसम्म पनि भौतिक संरचनालगायतको धेरै पाटोमा असहजता भोग्नु परेको महासंघका अध्यक्ष अश्विन लम्सालले बताए । महासंघले ६० जना प्रदेश सभा सदस्यहरुलाई ध्यानाकषर्ण पत्र बुझाएकाे लम्सालले बताए ।

“आर्थिक विकासका लाभहरुको समन्यायिक वितरण र उत्पादनका साधनमा सीमान्तीकृत समूह तथा समुदायको पहुँच अभिवृद्धि गर्ने नीति अवलम्बन गरिनेछ,अपाङ्गता भएका वर्ग, पिछडिएको क्षेत्र वर्ग र समुदायलाई आर्थिक गतिविधिमा मूलप्रवाहीकरण गरी समावेशी आर्थिक विकासको आधार तयार गरिनेछ” भनिएको प्रति महासंले ध्यानाकर्षण जनाएको हो ।
महासंघले “प्रदेशको संस्थागत विकास र सबलीकरणको लागि प्रदेशका संरचनाहरुको पुनरावलोकन गर्ने, कार्यालयहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने, प्रदेश मन्त्रालय निकाय र कार्यालयहरुको पहुँचयुक्त भौतिक संरचना निर्माण गर्ने, प्रदेश कानून तर्जुमा गर्ने, प्रदेश सरकारको जनशक्ति व्यवस्थापन गर्ने, प्रदेशको सेवा प्रवाहलाई थप व्यवस्थित गर्न एकीकृत सेवा कार्यालय स्थापना गर्ने” भन्ने सिद्धान्त पछ्याउन माग गरेको छ ।
पूर्वाधार विकास अन्तरगत प्रदेशको सन्तुलित आर्थिक विकासको लागि पहुँचयुक्त भौतिक पूर्वाधारको विकास गर्ने, प्रदेश राजधानीलाई संघीय राजधानीसँग जोड्ने सडकको निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने, प्रदेश गौरव आयोजनाहरुको निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्ने, अधुरा आयोजनाहरु सम्पन्न गर्ने, प्रदेश सडक गुरुयोजना अनसुार सडक निर्माण गर्ने, प्रदेश लोक मार्गहरुको विस्तार र स्तरोन्नति गर्ने, विद्यमान भौतिक पूर्वाधारहरुको नियमित मर्मत सम्भार गर्ने भन्ने सिद्धान्त पछ्याउन पनि महासंघले माग गरेको छ ।
यसैगरी पर्यटन क्षेत्रको विकासतर्फ मौलिक कला, संस्कृति र ऐतिहासिक सम्पदाहरुको संरक्षण र सम्वर्द्धन गर्ने, पर्यटकीय पहुँचयुक्त पूर्वाधार विकासमा लगानी गर्ने, धार्मिक तथा मनोरञ्जनात्मक पर्यटन विकास गर्ने, आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने, पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने माग गरिएको छ ।
मकवानपुर । दोश्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्समा मकवानपुरले २ स्वर्ण पदक जितेकाे छ । मगलबार भएकाे एथलेक्टिक्स तर्फकाे २ मिटर दौडमा मकवानपुरका दिना गोपाली र जिकेश सापकोटाले स्वर्ण पदक जितेका हुन् ।
प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भइरहेकाे प्रतियोगितामा २ सय मिटरको प्रतिस्पर्धामा मकवानपुरका गोपालीले महिला तर्फ र सापकोटाले पुरुष तर्फकाे दौडमा स्वर्ण पदक जितेका हुन् । हेटौंडास्थित पिप्ले–क्याम्पा रंगशालामा भएकाे दौडमा दिनाले निर्धारित दुरी २९.३७ सेकेन्ड र जिकेशले २४.६० सेकेन्ड मा पुरा गरी स्वर्ण पदक हात पारेका हुन् । महिला तर्फ भक्तपुरकी स्वागता खाइतु र चितवनकी रोजिता गुरुङले क्रमशः रजत र कांस्य पदक प्राप्त गरे भने ।
पुरुषतर्फ मकवानपुरकै सुजन राई र चितवनका शेखर उप्रेतीले कांस्य पदक जिते । महिला ८ सय मिटर दौडमा ललितपुरकी रजिना दुलालले २ मिनेट ४० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदका प्राप्त गर्दा यसै विधामा नुवाकोटकी आस्था राईले रजत र रामेछापकी भगवती खड्काले कांस्य पदक जितेका छन् । ८ सय मिटर पुरुष दौड विधामै पुरुष तर्फ चितवनका अृमत बोटले स्वर्ण हात पार्न सफल भए । उनले यो दूरी २ मिनेट ८ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदका जितेका हुन् । सिन्धुपाल्चोकका टीकाराम लोप्चन रजत र नुवाकोटका दिनेश राई कांस्य पदक जित्न सफल भए ।
५ हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिगमार सिंहले सफलता पाए । उनले १८ मिनेटमा ९ सेकेन्डमा उक्त दूरी पार गर्दै स्वर्ण पदका हात पार्दा काठमाडौंका धर्म महर्जन र सिन्धुपाल्चोकै विश्वराम कुँवरले क्रमशः रजत र कांस्य पदक मा चित्त बुझाए । यसै विधाको महिला तर्फ सिन्धुपाल्चोककै निनु तामाङले २१ मिनेट ८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण पदक जितिन् । दोलखाकी सोनु घोतानेले रजत र भक्तपुरकी रोस्टिना सितिखाले कांस्य पदक जिते ।
यसैगरी महिला लङजम्पमा चितवनकी प्रनिशा महतोले स्वर्ण जितिन् । चितवनकै आसिका गुरुङले रजत र दोलखाकी रोजिना कार्कीले कांस्य पदक जिते । पुरुषको लङजम्पमा चितवनका सुजितकुमार महतोले स्वर्ण पदक हात पारे भने चितवनकै सुदीप महतोले रजत र दोलखाका सुदीप मिजारले कांस्य जिते । पुरुषको सटसुटमा चितवनका ललित राउतले १२.७८ मिटर पर फ्याक्दै स्वर्ण पदक जिते । रामेछापका प्रचण्ड ढुंगेल रजत र चितवनका दीपेश महतो कांस्य पदक जित्न सफल भए । महिला तर्फकाे सटपुटमा चितवनकी अप्सरा श्रेष्ठले स्वर्ण जित्दा सिन्धुलीकी प्रमिला माझीले रजत र रामेछापकी अनिता कार्कीले कांस्य पदक हात पारेका छन् ।
मकवानपुर । बागमती प्रदेश सभाकाे दाेस्राे अधिवेशन सुरु भएकाे छ । मंगलबार सभाकाे दाेस्राे अधिबेशनकाे पहिलाे बैठक शुन्य समयमात्र संचालन भएर स्थगित भएकाे छ । बिशेष समय नरहेकाे मंगलबारकाे प्रदेश सभा बैठक विशेष समयमा प्रवेश नै नगरी बुधबारसम्मका लागि स्थगित भएको छ ।
मंगलबारकाे प्रदेश सभा बैठकमा सभामुख सानु कुमार पाठकले प्रदेश प्रमुखकाे कार्यालयबाट प्राप्त विधेयक फिर्ता र सन्देशको पत्र तथा प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यस लगतै सभामुख पाठकले बैठकमा विशेष समय नरहेको जानकारी गराउँदै शुन्य समयको प्रारम्भ गरेका थिए । संसदमा शुन्य समयमा सांसदहरुले देशकाे जल्दाेबल्दाे समस्याका बारेमा आफ्नाे धारणा राख्ने गर्दछन् ।
मंगलबारकाे प्रदेश सभाकाे शुन्य समयमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले राष्ट्रिय सरोकारको साथै बाढीपहिरोबाट प्रभावित क्षेत्रलाई समय मै सरकारको तर्फबाट निगरानी र उद्दार कार्यको लागि सजकता अपनाउनुपर्ने धारणा व्यक्त गरे ।सभामा नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्ले, नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन प्रसाद पौडेल, राप्रसा संसदीय दलका नेता उद्धब थापा, बागमती प्रदेश नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्र राज बज्राचार्यल लगायतले धारणा व्यक्त गरेका थिए ।
प्रदेश सरकारले जनताको लागि पूर्वाधार विकास, आर्थिक समृद्धिलाई अग्रसर तुल्याउन जनमुखी कार्यक्रम ल्याउनुपर्ने सु्झाव दिएका थिए । उनीहरुले प्रदेशको सबै जिल्लाहरुलाई सदरमुकामसम्म जोड्ने सडक सञ्जाल, खानेपानी, विद्युतको विस्तार र स्वास्थ्य उपचार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बजेटलाई कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे ।
उनीहरुले प्रदेशमा सुशासन ल्याउन र बढ्दै गएको भ्रष्टाचारलाई न्यूनिकरण गर्नका लागि सबै राजनीतिक दलहरुमा दलगत स्वार्थ त्यागेर कठोर कलम चाल्न आग्रह गरे । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी जुनसुकै दलका नेता भएपनि कानूनी कठघरामा उभिनु पर्ने बताउँदै सांसदहरुले त्यस्ता व्यक्तिहरुलाई राजनीतिक दलका उच्च नेताहरुले संरक्षण दिन नहुनेतर्फ सबैले आत्मसमिक्षा गर्नुपर्ने समय आएको स्पष्ट पारेका थिए ।
प्रदेश सरकारले प्रदेशको सबै जिल्लामा सुशासनलाई कार्यान्वयन गर्न र जनतालाई आधारभुत रुपमा विकासको पूर्वाधार, प्रत्यक्ष रोजगारीको अवसर, उच्च शिक्षा र गुणस्तरीय शिक्षालाई प्रभावकारी रुपमा परिचालन गर्ने गरी बजेट ल्याउनुपर्ने उनीहरुले माग गरे ।

यस्तै, बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङ्ले प्रदेश सरकारको तर्फबाट विनियोजन विधेयक २०८० को सिद्दान्त र प्राथमिकताको सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि प्रदेशभित्र गुणस्तरीय स्वास्थ्य सेवाको प्रवाह साथै शिक्षालाई दक्ष उत्पादनमुलक बनाउने र रोजगारीलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्दै लैजाने उद्देश्य रहेको उनले जानकारी दिए ।
उनले प्रदेशका विपन्न नागरिकहरुलाई आर्थिक आयआर्जनतर्फ कृषि उद्यमी र उत्पादनको लागि प्याकेज कार्यक्रम सञ्चालन गर्ने र साना उद्यमीहरुलाई उद्योग सञ्चालनको लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेतर्फ जोड दिए । उक्त बैठकमा उनले विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकताको सन्दर्भमा दफावार छलफल गरियोस् भनी प्रस्ताव टेबुल गरे । उक्त विधेयकमाथि अर्काे बैठकमा दफावार छलफल हुने प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
सभाकाे शुन्य समयमा सभाका सदस्यहरुले धारणा राखे पछि प्रदेश सभाको सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको दोस्राे अधिवेशनकाे दाेस्राे बैठक जेष्ठ १० गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए ।