मकवानपुर । बागमती प्रदेशको हेटौंडामा २ दिनसम्म चलेको प्रथम प्रदेश स्तरीय युवा सम्मेलन ११ बुदे घोषणा पत्र जारी गर्दै सकिएको छ । सम्मेलनले एक शिक्षण संस्था एक उद्यम र उत्पादन कार्यक्रम सञ्चालन गर्न माग गरेको छ ।
घोषणापत्र प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई हेटौंडा घोषणा पत्र हस्तान्तरण गरे ।
युवाहरुका सुझाबलाई समेटेर तयार पारिएको घोषणापत्र लागू गर्न पनि उनले प्रदेश सरकार समक्ष आग्रह गरे ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले युवाहरुको सिप र क्षमतालाई प्रदेश सरकारले उच्च मुल्याङकन गर्ने बताए ।
युवाहरु निरास नहुन आग्रह गर्दै उनले भने “सिप सिकाएर रोजगारी दिनेगरी प्रदेश सरकारले काम गर्न लागेको छ, अब क्षमता अनुसारको रोजगारी दिनेगरी काम गर्ने योजना बनाउँदै छौं ।”
कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले यो दुइ दिने कार्यक्रमको उदेश्य पुरा भएको बताइन् ।
युवाहरुको क्षेत्रमा प्रदेश सरकारले राम्रो काम गरेर देखाउने बताइन् । कार्यक्रममा विभिन्न बिधाका उत्कृष्ट पाँच जनालाई २५ हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिएको छ ।
बागमती प्रदेशका युवालाई सक्षम र सशक्त बनाउँदै युवासँग सम्बन्धित पाँच विविध विषयमा आधारित भएर छलफल गरी ती विषयलाई घोषणापत्रको रुपमा तयार गरीएको कार्यकारी उपाध्यक्ष चौलागाईले बताए ।
प्रदेश तथा संघीय सरकार समक्ष प्रस्तुत गरी ती विषयहरुलाई सरकारको नीति तथा कार्यक्रमहरु मार्फत सुनुवाई गर्न पैरवी गर्ने उद्देश्यले प्रदेशका १३ जिल्लाबाट समावेशीरुपमा छनौट भई आएका १५० भन्दा बढी युवाको सक्रिय सहभागितामा ११ बुँदे घोषणापत्र जारी जारी गरिएको उनले बताए ।
११ बुँदे हेटौंडा घोषणापत्रमा समावेश गरिएका बुँदाहरु यस्ता छन्ः
१। युवालाई आयआर्जनसँग जोड्न बागमती प्रदेशका १३ जिल्लाका ११९ वटा पालिकाहरुमा सीप विकास तालिम केन्द्रहरुको स्थापना गरी रोजगारीका लागि युवालाई सक्षम बनाउन प्रदेश तथा संघीय सरकार समक्ष पैरवी गर्ने ।
२। युवाद्वारा उत्पादन गरिएका सामग्रीको बजार, उत्पादन, रोजगार, अन्य अवसर तथा युवासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुको जानकारी गराउने युवा बजारको अवधारणा विकास गरी कार्यान्वयन गर्ने ।
३। शैक्षिक कार्यक्रमहरु युवाको वृत्तिविकासमा प्रत्यक्ष परिवर्तन देखिने शैक्षिक पाठ्यक्रम निर्माण गर्न र इच्छा अनुसारको जीवनउपयोगी सीप सिकाउने र प्रत्यक्ष रुपमा आम्दानी हुने उमेर लक्षित सीप र काम भन्ने कार्यक्रमहरु निर्माण गर्ने ।
४। देशका शैक्षिक संस्थाहरुलाई उत्पादनसँग जोड्न र नागरिकमा उद्यम भावनाको बिजारोपण गर्ने उद्देश्यले बागमती प्रदेशका १३ जिल्लाका ११९ पालिकाहरुमा रहेका ७०३१ वटै सामुदायिक विद्यालयहरुमा एक शिक्षण संस्था एक उद्यम र उत्पादन को नाराका साथ कार्यक्रम सञ्चालन गर्न पहल गर्ने ।
५। प्रदेश युवा परिषद्ले सम्बन्धित मन्त्रालय मार्फत् जीवनउपयोगी सीप सिकाउने र प्रत्यक्ष रुपमा आम्दानी हुने उमेर लक्षित सीप र काम भन्ने नाराका साथ नीति तथा कार्यक्रम तर्जुमा गर्न पहल गर्ने ।
६। सहज र सहुलियत कर्जा, बजारको सुनिश्चितता र दिगो उद्यमशीलता तथा उत्पादनको निश्चितता हुने गरी सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरुमा परिमार्जन गर्दै युवा लक्षित व्यापारमैत्री उत्पादन लाई जोड दिन जोखिम हुने उद्यममा व्यावसायिक सुरक्षाको जोखिम लिन सक्ने वातावरण तयार गर्न पहलकदमी लिने ।
७। देशप्रतिको सम्मानभाव प्रकट गर्दै असल जिम्मेवार नागरिकको भावना विकास गर्ने अभिप्रायले कक्षा ११ र १२ को औपचारिक अध्ययन पश्चात् हरेक युवालाई अनिवार्यरुपमा युवाको रुची तथा विषयगत क्षेत्रमा न्युनतम ३ महिना स्वयम्सेवकका रुपमा कार्य गर्ने अवधारणालाई अवलम्बन गर्न नीतिगत निर्णय गरी अगाडि बढ्न पहल गर्ने ।
८। सरकारको नीति, कार्यक्रम र योजना निर्माणको प्रक्रियामा युवाको सहभागिता र विकास परियोजनाहरुमा प्रत्यक्ष संलग्नता सुनिश्चित गर्न योजना प्रक्रियालाई युवामैत्री बनाउन जोड दिने ।
९। सूचना प्रविधिको प्रभावकारी प्रयोग र उपायोगिताको र सुरक्षित इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगका लागि युवा परिषद्को अगुवाइमा प्रदेशका सबै जिल्लामा सूचना प्रविधिको समुचित र उपयोगी प्रयोग केन्द्रित अभियान सञ्चालन गर्ने ।
१०। युवाको नवीनतम सोच र प्रयोगका साथै आविष्कार गरिएका प्रविधि, उत्पादन र विशेष खालको खोज, अनुसन्धानहरुमा राज्यको सहयोग र प्रवद्र्धनमा साझेदारी भई कार्य गर्न जोड दिने । उद्यमशीलता तथा व्यवसायमा युवालाई प्रेरित गर्ने गरी कानुनी प्रक्रियालाई सरलीकृत गर्ने ।
११। जलवायु परिवर्तन र वातावरण प्रदूषण लगायतका समस्याहरुको विषयमा छलफल पैरवी गरी वातावरण संरक्षणमा युवा सहभागिता बढाई अन्तर्राष्ट्रिय अभ्यास अवलम्बन गर्ने ।
मकवानपुर । बागमती प्रदेश सभाको बैठक असार १३ गते बुधबारसम्मकाे लागि स्थगित भएको छ । मंगलबार साँझ ६ बजे बस्ने भनिएको बैठक विशेष कारण स्थगित गरी भोलि असार ३ गते बिहान ११ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
मंगलबारकाे पहिलाे बैठक ५ वटा विषयगत समिति बनाएर दाेस्राे बैठक समेत मंगलबार नै हुने गरी स्थागित गरिएको थियो । दोस्रो बैठकमा प्रतिपक्षले विरोध गरेका हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेपछि प्रदेशसभा मंगलबारकाे दाेस्राे बैठक अवरुद्ध भएको थियाे । एमाले र राप्रपाले विरोध गरेपछि सभामुख भुवन पाठकले साँझ पौने ६ बजेसम्मको लागि बैठक स्थगित गरेका थिए ।
विनियोजित बजेट २०८०/०८१ कोे सम्बन्धमा सत्तापक्ष र प्रतिपक्ष बीच बैठक संचालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भएपनि सहमति हुन नसकेपछि बैठक स्थगित गरिएकाे प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । सचिवालयले सूचना सार्वजनिक गरेर बैठक स्थगित भएको जनाएकाे हाे ।
प्रदेश सरकारले ल्याएको बजेट एक पक्षीय भएको, सरकारको मन्त्री रहेको जिल्ला र क्षेत्रलाई मात्र प्राथमिकता दिएको भन्दै एमाले र राप्रपाले विरोध गरेका हुन् । प्रमुख प्रतिपक्ष दलका नेता जगन्नाथ थपलियाले बजेट पुनर्लेखन गरेर समावेशी बनाएरमात्र पास गर्न प्रदेश सरकारलाई अनुरोध गरेका छन् ।
मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेपछि बागमती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध भएको छ ।
आज भएको दोस्रो बैठकमा प्रतिपक्षले विरोध गरेका हुन् । प्रदेश सरकारले ल्याएको बजेट एक पक्षीय भएको, सरकारको मन्त्री रहेको जिल्ला र क्षेत्रलाई मात्र प्राथमिकता दिएको भन्दै उनीहरुले विरोध गरेका हुन् ।
प्रदेश सरकारले बजेटलाई समावेशी ढंगबाट वितरण नगरेको, हुदै नभएको वडामा बजेट विनियोजन गरेको, गैससलाई नाम नै तोकेर अनुदान वितरण गरिएकोलगायतको विषयको कारण प्रमुख प्रतिपक्ष एमाले र राप्रपाले बैठक अवरुद्ध गरेका हुन् ।
बागमती सरकारले असार १ गते आर्थिक वर्ष २०८०।०८१ को बजेट सार्वजनिक गरेपछि १२ दिनपछि आज सुरु भएको छलफलको प्रारम्भमै प्रमुख प्रतिपक्ष दलका नेता जगन्नाथ थपलियाले आफ्नो भनाइ राखेपछि एमाले सांसदहरुले उठेर बैठक बहिष्कार गरेका हुन् ।
थपलियाले प्रदेश सरकारले ल्याएको बजेट किसान, युवा, निमुखा जनताको पक्षमा नरहेकाले यस्तो बजेट कुनै पनि हालतमा पास गर्न नदिने बताए । बागमती प्रदेश सरकारले ल्याएको बजेटमध्ये २१ प्रतिशत मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृह जिल्ला धादिङसहित नुवाकोट र सिन्धुपाल्चोकमा मात्र केन्द्रित रहेको भन्दै उनले यस्तो बेथितीको अन्त्य जरुरी भएको बताए ।
बजेटमा मकवानपुर, काभ्रे, रामेछाप, काठमाडौंमा वडा नै नभएको स्थानमा बजेट विनियोजन भएको छ । यसप्रति उनले सरकारले लज्जाजनक काम गरेको आरोप लगाए । बजेट पुनर्लेखन गरेर समावेशी बनाएरमात्र पास गर्न उनले प्रदेश सरकारलाई अनुरोध गरेका छन् ।
एमाले र राप्रपाले विरोध गरेपछि सभामुख भुवन पाठकले साँझ पौने ६ बजेसम्मको लागि बैठक स्थगित गरेका छन् । यस अघि बसेको बैठक ५ वटा विषयगत समिति बनाएर स्थागित गरिएको थियो । अहिले फेरी साझ ६ बजेसम्मको लागि स्थागित गरिएको हो ।
मकवानपुर । बागमती प्रदेशसभाको पाँचवटा विषयगत समिति निर्माण भएको छ । प्रदेश सभा नियमावली २०७४ को नियम १६ बमोजिमको विषयगत समितिहरु गठन गरिएको हो ।
आर्थिक वर्ष २०८०र०८१ को बजेट ल्याएपछि स्थागित गरेर आज छलफलको लागि बसेको बैठकले विषयगत समिति गठन गरेको हो । प्रदेशसभा बैठकमा प्रदेशसभा सभामुख भुवन पाठकले समितिमा रहने सभासदहरुको नाम पढेर सुनाएका थिए ।
समितिको विषयमा सबै दलले समर्थन गरेका छन् । देशसभामा रहने प्रदेश मामिला समिति, उद्योग पर्यटन वन तथा वातावरण समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति निर्माण गरिएको हो ।
बजेट माथि छलफल गर्न आज पुन बैठक बस्ने छ ।
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज असार १२ गते बस्दैछ । गत असार १ गतेको प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले आगामी आवको अनुमानित बजेट सार्वजनिक गरेका थिए । सोही दिन बसेकाे दोस्रो बैठकमा आर्थिक विधेयकसहित विभिन्न ६ वटा विधेयकहरु टेबुल गरिएलगतै सभामुख भुवन कुमार पाठकले अर्को बैठक असार १२ गते बस्ने गरी बैठक स्थगित गरेका थिए ।
आजकाे बैठक प्रदेश सभाकाे सभाहल हेटौंडामा अपराह्न १ बजे बस्ने भएको हो । आजकाे बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आव २०८०–०८१ को अनुमाति बजेटमाथि पूर्ण छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार, प्रदेश सभा सचिवालयमा साेमबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेकाे हाे ।