मकवानपुर । पत्रकार शुद्धिकरण अभियान भनेर आस्थाको आधारमा सदस्यता नवीकरण गरिएको भन्दै प्रदेश कार्यालयमा ताला लगाइएको छ । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले नेपाल पत्रकार महासंघ बागमती प्रदेश कमिटीको हेटौंडामा रहेको कार्यालयमा तालावन्दी गरेको हो ।
पत्रकार महासंघ केन्द्रीय समिति अन्तर्गतको सदस्यता शुद्धीकरण समितिले प्रदेश समितिबाट प्राप्त सिफारिस भनी प्रकाशित गरेको नामावलीप्रति प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण जनाउँदै तालावन्दी गरेको हो । चौतारी बागमती प्रदेश कमिटीका कार्यबाहक अध्यक्ष राधेश्याम खतिवडाको नेतृत्वमा प्रेस चौतारीका केन्द्रीय सदस्य हरि हुमागाई, चौतारी बागमती प्रदेश कमिटीका महासचिब र सदस्यहरु, चौतारीका जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीलगायतकाले महासंघको कार्यालयमा अनिश्चित कालका लागि तालावन्दी गरेका हुन् ।
महासंघमा नेतृत्वमा रहनेहरु र पदाधिकारीहरुले आफ्नो संगठन निकट निष्कृय पत्रकारहरुको सदस्यता नवीकरण गर्ने तर प्रेस चौतारीमा आस्था राख्ने क्रियाशिल पत्रकारहरुको सदस्यता नवीकरण नगर्ने गरी प्रदेशबाट सिफारिस भएको नामावली क्रियाशिल पत्रकारहरुलाई सदस्यताबाट वञ्चित गर्ने मनसाय रहेको प्रेसचौतारीले ठहर गरेको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले सदस्यताको विषय टुंग्याउनु अघि संगठनहरुसँग बसेर गरेको सहमति लत्याएको छ । चौतारीसंग सहमतिको प्रयास गरिएको प्रपञ्च रचेर आफ्नो मनोगत निर्णय कार्यान्वयन गराउन सिफारिस गरेको भन्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको सिफारिसको घोर बिरोध रहेको कार्यबाहक अध्यक्ष खतिवडाले बताए ।
जिल्ला समितिबाट सर्वसम्मत सहमति भई सदस्यता नवीकरण गर्न सिफारीस गरिएका पत्रकारहरुको नामावली काटेर जिल्लाबाट सिफारिस नभएकाहरुको नाम प्रदेश समितिबाट थप्ने कार्य भएको खतिवडाले बताए । केन्द्रीय समितिबाट जारी भएको मापदण्डलाई धुलीसात बनाउँदै प्रदेश समितिले मनोगत रुपमा गरेको सिफारिस कार्यान्वयन नगर्न चौतारीले केन्द्रीय समितिको ध्यानाकर्षण गराएको छ ।
प्रेस चौतारी नेपालको सदस्य भएकै कारण क्रियाशिल पत्रकारलाई नयाँ सदस्यता नदिने र सदस्यता नवीकरण नगर्ने महासंघ प्रदेश समितिका नेतृत्वले राजनीतिक आस्थाका आधारमा खल्तीका व्यक्तिलाई नयाँ सदस्यता पनि दिने, निष्कृय पत्रकारहरुको नवीकरण पनि गर्नेगरी रचिएको षडयन्त्र प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीलाई कुनै हालतमा स्वीकार्य नभएको तालावन्दी पछी जारी बिज्ञप्तीमा उल्लेख छ ।
महासंघबाट जारी भएको १५ बुँदै मापदण्ड पूर्ण पालना नभएसम्म ताला नखुल्ने प्रेसचौतारीले जनाएको छ । महासंघले पत्रकारहरूको सदस्यता बारे हिजो शुक्रबार नामावली सार्वजनिक गरेको थियो ।

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडा कार्यालयले आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदन पेश गरेको छ । अख्तियार हेटाैडा कार्यालयले ३३ औं वार्षिक प्रतिवेदन बुधबार प्रदेश प्रमुख समक्ष पेश गरेकाे हाे ।
आयोगको हेटौँडा कार्यालय प्रमुख नरहरि घिमिरेले नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शर्मालाई पेश गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गाेविन्द प्रसाद पौडेलले जानकारी दिए ।
अख्तियारकाे वार्षिक प्रतिवेदन बुझेपछि प्रदेश प्रमुख शर्माले आयोगको सक्रियताले बागमती प्रदेशमा भ्रष्टाचार न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेलको बताए । अख्तियार हेटौडा कार्यालय प्रमुख घिमिरेले आयोगले सम्पादन गरेको प्रदेश भित्रका विषयवस्तु समेटिएको वार्षिक प्रतिवेदनको सार संक्षेप प्रस्तुति गरेका थिए ।
प्रतिवेदन अनुसार बागमती प्रदेशका स्थानीय तहहरूमा गत आर्थिक वर्षमा मात्र १ हजार ४ सय ४२ उजुरीहरू प्राप्त भएको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ३ सय ३५ उजुरी सहित कार्यालयलाई स्थानीय तहका कुल १ हजार ७ सय ७७ उजुरी मध्ये आर्थिक वर्ष २०७९।०८० मा १ हजार १ सय ७१ उजुरी फर्छ्यौट गरिएको छ ।
त्यस्तै बागमती प्रदेशका कार्यालयमा ४ सय ७७ उजुरी गत आर्थिक वर्षमा दर्ता भएकाे थियाे भने अघिल्लो आर्थिक वर्षबाट ७२ वटा उजुरी जिम्मेवारी सरेर आएको थियो । जसमध्ये कार्यालयले ३ सय ५ वटा उजुरी फर्छ्यौट गरेको छ । संघीय सरकारी निकाय विरुद्ध ३ हजार ४ सय ४१ उजुरी प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । संघीय निकायहरू विरुद्धको १ हजार ४० सहित गत आर्थिक वर्षमा कुल ४ हजार ४ सय ८१ वटा उजुरीहरू प्राप्त भएको थियो । जसमध्ये २ हजार ८ सय ९० उजुरी फर्छ्यौट गरिएको आयाेगले बुझाएकाे प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।
कार्यालयमा प्राप्त कुल २ हजार ३ सय २६ उजुरीमध्ये १ हजार ४ सय ४६ उजुरी प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएका छन् । यस्तै १ सय ११ वटा उजुरी उपर विस्तृत अनुसन्धान गर्ने निर्णय भएकाे प्रतिवेदनमा छ । ६ सय १३ उजुरी तामेली, ३ सय ५८ उजुरी एकीकरण गरिएको छ । प्रतिवेदन अनुसार १ सय ३१ उजुरी आयोगको केन्द्रिय कार्यालयकाे सम्बन्धित महाशाखामा पठाइएको र २ सय ३३ उजुरी उपर कानून बमोजिम आवश्यक कारबाहीका लागि विभिन्न निकायमा पठाइएकाे छ ।
मकवानपुर । बागमती प्रदेशसभा बैठक मंगलबार मध्यरातदेखि अन्त्य हुने भएकाे छ ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको १२औँ वर्षे अधिवेशन बैठक आज मध्यराति १२ बजेदेखि अन्त्य गरेका हुन् । बागमती प्रदेश मन्त्रिपरिषदकाे मंगलबारकाे बैठकले प्रदेश सभाको १२औँ वर्षे अधिवेशन अन्त्यकाे सिफारिस गर्ने निर्णय गरेकाे थियाे । प्रदेश प्रमुख शर्माले मन्त्रिपरिषदबाट सिफारिस भई आए बमाेजिम प्रदेश सभाकाे अधिवेशन अन्त्य गरेका हुन् ।
मन्त्रिपरिषदबाट मंगलबार सिफारिस भइ आएअनुसार, प्रदेश प्रमुख शर्माले संवैधानिक प्रक्रिया अनुसार प्रदेशसभाको बैठक अन्त्य गर्नुभएको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । बागमती प्रदेशसभाको वर्षे अधिवेशन (दोस्राे अधिवेशन) काे पहिलो बैठक २०८० जेठ ९ गते बसेको थियो ।

मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को मंगलबारको बैठकका निर्णय सार्वजनिक गरेको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले खरको छाना मुक्त बागमती प्रदेश कार्यक्रम सन्चालन कार्यबिधी २०८० स्वीकृत गर्नेलगायतका ४ वटा निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता गङ्गा नारायण श्रेष्ठले बताए ।
बागमती प्रदेश मन्त्रीपरिषद्ले गरेको निर्णयहरु:
१.खरको छाना मुक्त बागमती प्रदेश कार्यक्रम सन्चालन कार्यबिधी २०८० स्वीकृत गर्ने ।
२.चेपाङ बनकरिया माझी बोटे एकीकृत बस्ती तथा आवास कार्यक्रम ( मकवानपुर, चितवन र धादिङ ) सम्बन्धि कार्यबिधी २०८०, स्वीकृत गर्ने ।
३. प्रदेश सभाको बर्षे अधिवेशन आज असोज २३ गते राती १२ बजे देखि अन्त्य गर्नको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने ।
४. प्रहरी भवन निर्माणका लागि सम्बन्धित कार्यालयलाई अख्तियारी दिने ।
मकवानपुर । बागमती प्रदेश सभाकाे साेमबारकाे बैठकबाट २ वटा विधेयक पारित भएकाे छ । प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ ।
बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारितका लागि सभामा प्रस्तुत गरेका थिए । सभामुख भुवनकुमार पाठकले विधेयक निर्णयार्थ प्रस्तुत गर्दा सभाबाट सर्वसम्मत पारित भएको हाे ।
आइतबारको बैठकमा प्रदेश मामिला समितिका ज्येष्ठ सदस्य शिवराज अधिकारीले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न विधेयक समितिको प्रतिवेदनसहितको विधेयक संसदमा पेश गरेका थिए ।
यसैगरी संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले संसदमा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सोमबारकाे प्रदेशसभा बैठकमा पारितका लागि प्रस्ताव सभामा पेश गरेका थिए । विधेयकलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मत पारित भएको हाे । यसअघि सोमबार नै बसेको पहिलो बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिकी ज्येष्ठ सदस्य यांकिला शेर्पाले समितिको प्रतिवेदनसहितको विधेयक सभामा पेश गरेकी थिईन् ।
उक्त २ वटा विधेयक पारित भएसँगै सभामुख पाठकले प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएकाे जानकारी गराएका थिए ।