मकवानपुर । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेका हुन् ।
अलमुताइरी २०७७ चैतमा नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको अल्मुताइरीले फेसबुकमार्फत जानकारी दिएका छन् ।

मकवानपुर । चीनकी याङ किएनले जापानमा जारी टोकियो ओलम्पिकको पहिलो स्वर्ण जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल स्पर्धामा स्वर्ण जितेकी हुन् । २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पारिन् ।
चीनकी याङले स्वर्ण जित्ने क्रममा २५१.८ को ओलम्पिक रेकर्ड स्कोरसमेत बनाइन् । पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी चीनकी याङलाई टोकियो २०२० को पहिलो स्वर्ण जितेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकले मेडल प्रदान गरेका थिए ।
यसै स्पर्धामा नेपाली खेलाडी कल्पना परियारले व्यक्तिगत कीर्तिमान सुधार गरेकी छन् । तर उनी पहिलो चरणबाटै बाहिरिइन् । यसैगरी नेपाली जुडो खेलाडी सोनिया भट्ट टोकियो ओलम्पिक-२०२० मा पहिलो खेलमै पराजित भएकी छिन् ।
ओलम्पिकको दोस्रो दिन अर्थात शनिबार बिहान भएको भएको राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी इरिना डोल्गोभासँग पराजित भएकी हुन् ।
१९ वर्षीय सोनिया वाइल्डकार्ड मार्फत ओलम्पिकमा छनोट भएकी हुन् । सोनिया २०७६ मा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा महिला ४८ केजीमुनि कास्य जितेकी थिइन् । उनी विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी हुन् ।
मकवानपुर । नेपाली राष्ट्रिय टोली क्रिकेटका बलर सोमपाल कामीले चितवन टाइगर्सको कप्तानी गर्ने भएका छन् । चितवन टाइगर्सले एक प्रेस विज्ञप्ति जारी गर्दै आगमी असोजमा हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा तीव्र गतिका बलर सोमपाल कप्तान र मार्की प्लेयर घोषणा गरेको छ ।
यसअघिका संस्करण सोमपालले काठमाडौंबाट खेलेका थिए । सोमपालले पहिलोपटक चितवनबाट खेल्दै छन् । यसअघि चितवनको कप्तानी पृथु बाँस्कोटाले गरेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा सोमपाल फ्रेन्चाइज लिगमा कप्तानीको राम्रो अनुभव छ ।
सोमपालले नेपाली फ्रेन्चाइज लिगमा पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर र धनगढी प्रिमियर लिगमा टिम चौराह धनगढीको कप्तानी गरिसकेका छन् । सोमपालसँग टी–१० लिग आबुधाबी र टी–२० क्यानडा अनुभव छ । सोमपाल तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।
ईपीएल असोज ९ देखि २३ सम्म (सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म) त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान काठमाडौंमा हुने तालिका छ । कोरोना महामारी अघि ईपीएल चौथो संस्करण सर्दै आएको थियो । चितवन टाइगर्सले गतवर्ष विदेशी खेलाडीमा अफगानिस्तानका मोहम्मद शाहजाद, पल स्टिर्लिङ, सिंगापुरका टिम डेविड र इंग्लयान्डका अलराउन्डर जेम्स फुलरको नाम सार्वजनिक गरेको थियो । चितवनमा सोमपाल कामी, सन्दीप सुनार, साहब आलम, दीलिप नाथ, ललित भण्डारी, कमल सिंह ऐरी, भीम सार्की, सागर ढकाल, आदिल खान, ईशान पाण्डे र खड्क बोहरा स्वदेशी खेलाडीका रूपमा छन् ।
मकवानपर । इटलीले ५३ वर्षपछि युरोकप २०२० काे उपाधी जितेकाे छ । साेमबार भएकाे युराेकपकाे फाइनलमा इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप उपाधि हात पारेकाे हाे । फाइनलमा इटलीले इंग्ल्याण्डलाई घरेलु मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो ।
लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउट भएको हो । खेलको दोस्रो मिनेटमै इंगल्याण्डले अग्रता लिएको थियो । युरो फाइनलमा भएको यो सबैभन्दा छिटो गोल थियो ।
पहिलो हाफमा इंग्ल्याण्डले अग्रता कायमै राख्यो । इटलीले दोस्रो हाफ ६७औं मिनेटमा बराबरी गोल फर्कायो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थपियो । अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउट धकेलिएकाे थियाे ।
सुटआउटमा इटलीका लागि डोमेनिको बेरार्डी, लियोनार्दो बोनुीची र फेडेरिको बर्नाडेसी गोल गरे । इटलीका आन्द्रे बेलोट्टी र जर्जिन्होको पेनाल्टी इंग्लिस गोलकिपर पिकफोर्डले बचाए ।
इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वायरले मात्र गोल गरे । जाडोन सान्चो र बुकायो शाकाको बचाउ इटलीका गोलकिपर डोनारुम्बाले बचाए । मार्कुस रासफोर्डको प्रहार भने पोष्टमा लागेर फर्कियो ।इंग्ल्याण्डका लागि अन्तिम पेनाल्टी प्रहार गरेका साकाले गोल गर्न नसकेपछि इटली विजयी भयो ।
५३ वर्षपछि पहिलो पटक युरोकप जितेको इटलीले १५ वर्षपछि ठूलो प्रतियोगिताको उपाधि जितेको हो । सन २००६ मा इटलीले विश्वकप उपाधि जितेको थियो । सन् १९६८ मा युरोकप जितेको इटलीले २००० र २०१२ मा पनि युरो फाइनल खेलेको थियो । तर उपविजेतामै सीमित भएको थियो ।
उता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको इंग्ल्याण्डले पहिलो पटक युरोकपको फाइनल खेलेको थियो । तर पेनाल्टी सुटआउटमा सफल हुन नसक्दा पहिलो युरो जित्ने सपना पूरा हुन सकेन ।
युरोकप फुटबलको सेमिफाइनल चरणमा इङल्याण्ड, इटली, स्पेन र डेनमार्क पुगेका छन् । याे सँगै युराेकपकाे सेमिफाइनल समीकरण पूरा भएको हाे । गए राति इङ्ल्याण्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
गए राति भएको खेलमा युक्रेनलाई ४–० गोलले पराजित गर्दै इङल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ । चेक रिपब्लिकलाई २–१ गोलले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको हो ।
सेमिफाइनलमा इटली र स्पेन बुधवार राति पौने १ बजे भिड्ने छन् भने डेनमार्कले इङल्याण्डसँग बिहीवार राति पौने १ बजे प्रतिस्पर्धा गर्ने छ । युरोपका विभिन्न ११ शहरमा १६ औं संस्करणको युरोकप फुटबल भइरहेको छ ।