मकवानपुर । संविधान दिवस २०७८ को अवसरमा खुल्ला दाैड प्रतियाेगिता सम्पन्न भएकाे छ । असाेज २ गते शनिवार विहान भएकाे ५ किलोमिटर खुल्ला दौड प्रतियोगितामा महेश मोक्तान प्रथम भएका छन् ।
संविधान दिवस, मुल आयोजक समिति बागमती प्रदेशको आयोजना तथा मकवानपुर जिल्ला खेलकुद विकास समिति र जिल्ला एथलेटिक्स संघ, मकवानपुरको संयोजनमा भएको प्रतियोगितामा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका सुरेश साह र श्यामकुमार राई क्रमश द्वितीय र तृतीय भएका छन् ।

प्रथम भएका मोक्तानले निर्धारित ५ किमीको दुरी १६ मिनेट २१.८८ सेकेण्डमा पुरा गरेका थिए । यस्तै द्वितीय भएका साहले उक्त दुरी १७ मिनेट ४२ मिलिसेकेण्ड र तृतीय भएका राईले १७ मिनेट १६.५३ सेकेण्डमा उक्त दुरी पुरा गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमैसंग १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्ने जिल्ला एथलेटिक्स संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलले जानकारी दिए । पुरस्कार भाेली असोज ३ गते संविधान दिवसको दिन हुने विशेष कार्यक्रममा प्रदान गरिने पनि पोखरेलले बताए ।
मकवानपुर । भारतसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ। त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको नेपाल भारतकाे दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
भारतले खेलको ६२ औँ मिनेटमा फारुक चौधरीको गोलबाट अग्रता लिएको थियो। त्यसपछि भारतका कप्तान सुनिल क्षेत्रीले खेलको ८० औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। खेलको ८७ औँ मिनेटमा नेपालका तेज तामाङले एक गोल फर्काए।
साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो। यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी भएको थियो।
यसै बीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गरेका छन् ।
मकवानपुर । झापा र मकवानपुरकाे रजैया बिच मैत्रीपुर्ण फुटबल प्रतियाेगिता भएकाे छ । सी डिभिजन लिग छनोटका लागि बन्द प्रशिक्षणको क्रममा हेटौंडामा रहेको झापा एफसी र पश्चिम मकवानपुरको रजैया फुटबल क्लबबिच शनिबार मैत्रीपुर्ण फुटबल प्रतियोगिता भएको हाे ।
भदौ ६ गतेदेखि हेटौंडामा बन्द प्रशिक्षण गरिरहेको झापा एफसीले रजैया एफसीसँग हेटौंडामा पहिलो पटक मैत्रीपुर्ण खेल खेलेको हो । क्लबले सी डिभिजन लिग छनोट अन्तर्गत पहिलो चरणको खेलमा भदौ २५ गते सहभागिता जनाउँदैछ ।
मकवानपुरका २ खेलाडीलाई समेत समेटेर मैदानमा उत्रिएको झापा एफसीले रजैया एफसीलाई ७–० को फराकिलो गोल अन्तरले पराजित गरेकाे छ । हेटौंडाको बनबिज्ञान अध्ययन संस्थानको फरेष्ट्रि मैदानमा भएको निर्धारित ९० मिनेटको खेलमा झापाका लागि रबिन राईले २ गोल गरे । यस्तै मकवानपुरे खेलाडी माझन लामासहित गोकुल राजवंशी, दिपेश श्रेष्ठ, राजेश तामाङ र सुरेश राईले समान १/१ गोल गरे ।
मकवानपुर । हेटौंडाको फ्रेन्डसिप भेट्रान्स र सिमरा भेट्रान्सबिच शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । सिमरा भेट्रान्सको निमन्त्रणामा बाराको सिमरा रंगशालामा प्रतियोगिता भएको हाे । ९ ए साइड मैत्रीपूर्ण फुटबल प्रतियोगितामा हेटौंडाले सिमरालाई ४–३ गाेल अन्तरल पराजीत गरेकाे छ ।
निर्धारित ६० मिनेटको खेलमा फ्रेन्डसिप भेट्रान्स हेटौंडाले सिमरा भेट्रान्सलाई पराजित गर्दै जीत हात पारेको हो । जीत दिलाउनका लागि फ्रेन्डसिप भेट्रान्स हेटौंडाका कृष्ण गुरुङ र मनोज लामाले २/२ गोल गरेका थिए । सिमराको तर्फबाट हरि चौधरी, बिनोद परियार र रुपेन्द्र लालचन्दले समान १/१ गोल गरेपनि टिमलाई हारबाट जोगाउन सकेनन् ।

युनाल मल्लको कप्तानीमा मैदानमा उत्रिएको हेटौंडाको टिम र सिमराको टिमले मायाको चिनो समेत आदानप्रदान गरेका थिए । २ स्थानका भेट्रान्स खेलाडीहरु बिच आपसी चिनजान बढाउन तथा मित्रतालाई प्रगाढ बनाउनका लागि प्रतियोगिता भएको हेटौंडाका खेलाडी सुविन घिमिरेले बताए । फ्रेन्डसिप भेट्रान्स हेटौंडाको आयोजनामा सिमरा भेट्रान्सले हेटौंडा आएर केही दिन पछी मैत्रीपूर्ण खेल खेल्ने बताइएकाे छ ।
पोर्चुगिज कप्तान तथा सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन् । पाँच पटकका बालोन डी’अर विजेता रोनाल्डो सन् २००३ देखि २००९ सम्म युनाइटेडमा बिताएर स्पेनिस क्लब रियाल मड्रिड गएका थिए ।
सन् २०१८ मा स्पेन बसाई टुङ्ग्याउँदै इटालियन क्लब युभेन्टस गएका रोनाल्डो म्यानचेस्टर सिटी आउने चर्चाले शिखर चुमेको थियो । तर, अन्तिम समयमा सम्झौता हुन नसकेपछि रोनाल्डो युनाइटेडसँग अनुबन्धित भएका हुन् ।
युनाइटेडले पनि वक्तव्य जारी गर्दै रोनाल्डोलाई क्लबमा भित्र्याएको पुष्टि गरिसकेको छ भने उनी आफैँले पनि सामाजिक सञ्जालमार्फत युभेन्टस छाडेका जानकारी दिइसकेका छन् ।