मकवानपुर । बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडामा मेयर कप रेपिड चेस प्रतियोगिता सुरु भएको छ । नेपाल खेलकुद महासंघ (नेकोस) र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा हेटौंडा मेयर कप रेपिड चेस प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन शुक्रबार चार चरणका खेल सम्पन्न भए । चार चरणको समाप्तिमा फिडेमास्टर क्षितिज भण्डारी र प्रकाश नेपाल शतप्रतिशत नतिजा निकाल्दै संयुक्त अग्रता बनाउन सफल भएका छन् । उनीहरूको समान चारचार अंक भएको छ । चार खेलमा तीनमा जीत र एकमा बराबरीमा गरेका फिडेमास्टर रुपेश जयसवाल ३ दशमलव ५ अंक बनाउँदै अंकतालिकाको दोस्रो स्थानमा रहेका छन् ।
त्यस्तै वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौंलागाई, पूर्व राष्ट्रिय च्याम्पियन फिडेमास्टर मनिष हमाल, मकवानपुरका क्यान्डिडेटमास्टर कृष्ण थापा, झापाका राजन सुवेदी तथा सुश्रुत दाहाल, दोलखाका आशिष फुयाँल, धनुषाका सुशील चौधरी, धनकुटाका सुमन श्रेष्ठ, मकवानपुरका नवीनकुमार श्रेष्ठ, चितवनका सन्तोष गौतम र रुपन्देहीका चमन गाहा मगर समान तीन–तीन अंक बनाउन सफल भए ।
पहिलो चरणमा पूर्व राष्ट्रिय महिला च्याम्पियन सिन्दीरा जोशीमाथि जित हात पारेका क्षितिजले दोस्रोमा सर्लाहीका कमल श्रेष्ठ, तेस्रोमा सुशील चौधरी तथा चौथो कृष्ण थापालाई हराए । त्यसैगरी प्रकाशले पहिलो चरणमा सुदेश श्रेष्ठ, दोस्रो चरणमा सर्लाहीका रवीन्द्र बहादुर थापा, तेस्रो चरणमा मनिष हमाल तथा चौथो चरणमा सुश्रुत दाहालमाथि विजय प्राप्त गरे । शनिबार हुने पाँचौं चरणको खेलमा क्षितिज र प्रकाश आमनेसामने हुनेछन् ।
तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले शुक्रबारका चार खेल मध्ये एकमा हार र एकमा बराबरीमा रोकिएपछि २ दशमलव ५ अंक बनाएका छन् । तेस्रो चरणमा कृष्ण थापासँग हार व्यहोरेका बद्रीलाल चौथो चरणमा पुरुषोत्तम चौंलागाईंसँग बराबरीमा रोकिएका हुन । बद्रीसँगै काभ्रेका खोमप्रसाद तिमिल्सना, मकवानपुरका बलराम श्रेष्ठ र सुदेश श्रेष्ठ समान २ दशमलव ५ अंक बनाउन सफल भएका छन् ।
हेटौंडा उपमहानगर पालिकाका प्रमुख हरिबहादुर महत तथा नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले चेस गोटी चालेर औपचारिक उद्घाटन गरको प्रतियोगितामा ५२ जना खेलाडीको सहभागिता रहेको छ । विभिन्न विधामा गरी नगद २ लाख ५ हजार पुरस्कार रहेको दुई दिने प्रतियोगिता फिडेको स्विस लिग प्रणाली अनुसार ७ चरणसम्म प्रतिस्पर्धा हुनेछ ।

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ ले तेक्वान्दो खेल सामग्री वितरण गरेको छ । शुक्रबार सुरसा ढुङ्गना डोजाङलाई तेक्वान्दो खेलकुद सामग्री वितरण गरेको हो ।
जिल्ला तेक्वान्दो कार्यसमिति मकवानपुरको पहलमा डोजाङलाई करिब ३० हजार रुपैयाँ बराबरको खेल सामग्री प्राप्त भएको अध्यक्ष राजकाजी बज्राचार्यले जानकारी दिए । ढुङ्गनाले बालज्योति मावि र पिप्लेमा तेक्वान्दो प्रशिक्षण दिदै आएकी छिन् । उनले दैनिक ५० जना खेलाडीलाई प्रशिक्षण दिने गरेको बज्राचार्यले बताए ।
हेटौंडा–५ का वडाध्यक्ष राजेश बानियाँले खेल सामग्री हस्तान्तरण गरेका हुन् । खेल सामग्री हस्तान्तरण कार्यक्रममा तेक्वान्दोका केन्द्रीय सदस्य दिपेन्द्र चन्द ठकुरी, जिल्ला कार्यसमिति सदस्य विमल विक लगायतको उपस्तिथि रहेको थियो ।
मकवानपुर । सर्लाहीमा जारी छैठौं संस्करणको राजर्षी जनक गोल्डकप प्रतियोगितामा मकवानपुरको पिप्ले युवा क्लब फाइनल प्रवेश गरेको छ । विहीबार भएको पहिलो सेमीफाइनल खेलमा आयोजक बागमती युवा क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले स्तब्ध पार्दै पिप्ले फाइनलमा प्रवेश गरेको हो ।
खेलकाे निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमामा धकेलिएको थियो । पेनाल्टीमा पिप्लेका ४ जना खेलाडीले गोल गरेका थिए । यसैगरी बागमती युवा क्बलका २ खेलाडीले मात्रै गोल गरेका थिए । बागमतीकाे एक पेनाल्टी पोष्ट बाहिर प्रहार भएकाे थियाे । पिप्लेका गोलरक्षक अनिष देउलाले एक बल बचाउ गरेसँगै पिप्लेले फाइनल यात्रा तय गरेको हो । पिप्लेका गोलकिपर देउला म्यान अफ द म्याच चयन हुँदै १० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।
खेलाडीको मिहिनेतका कारण फाइनल यात्रा तय गर्न सफल भएको पिप्ले युवा क्लबका प्रशिक्षक सुविन घिमिरेको भनाइ छ । प्रशिक्षक घिमिरेले लगातार दोस्रो पटक उपाधि उचाल्ने लक्ष्य नजिक पुगेको बताए ।
प्रतियोेगिताको फाइनल खेल आइतबार हुनेछ । यसअघि पिप्ले युवा क्लब ‘ए’ डिभिजन हिमालय शेर्पालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्नेछन् ।
मकवानपुर । राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको छैटौँ संस्करणमा साविक विजेता पिप्ले युवा क्लब हेटाैडा र आयोजक बागमती युवा क्लब सर्लाही आज विहीबार सेमिफाइनलमा भिड्ने भएका छन् ।
साविक विजेताको हैसियतले सिधै क्वाटरफाइनल खेलमा प्रवेश पाएको पिप्लेले आइतबार भएको खेलमा एडिभिजन टोली हिमालय शिर्पा क्लबमाथि ३–० गोल अन्तरकाे जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकाे हाे ।मंगलबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरको संघर्षपूर्ण नतिजाका साथ बागमतीले पिप्लेसंगको भेट पक्का गरेको थियो । फेरी पनि उपाधि रक्षा गर्ने लक्ष्यसहित सर्लाहीको मैदानमा उत्रिएको पिप्लेले अब सेमिफाइनलमा गतसिजनको चिरपरिचित प्रतिद्वान्दी आयोजक बागमतीसंग भिड्नु पर्ने भएको हाे ।
गत संस्करणको फाइनलिस्ट टोलीको खेल आज विहीबार दिउँसो ३ बजे हुनेछ । बागमती घरेलु मैदानको साथमा गत संस्करणको हार बदला लिने लक्ष्यसहित मैदानमा उत्रने छ । यता पिप्ले उही मैदान पुरानै नजिता सहज तरिकाले दोहो¥याउने लक्ष्यसहित मैदान उत्रनेछ । पराजित भएपछि प्रतियोगिताबाटै बाहिरिने भएकोले दुबै टोलीमाथि जित्नै पर्ने दबाब छ । उपाधि होडमा रहेको दुई टोलीबिचको खेल निकै प्रतिस्पर्धात्मक हुने बताइएकाे छ ।
प्रतियोगितामा दुबै टोली एडिभिजन टोलीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको बागमती भन्दा तुलनात्मक रुपमा पिप्ले केही बलियो देखिन्छ । पहिलो खेलमा जित निकाल्न बागमतीलाई निकै संर्घष गर्नु परेको थियो भने पिप्लले शानदार नतिजा निकालेको थियो । तर, कुन टोली प्रतियोगिताको फाइनलमा स्थान बनाउछ, त्यो विहिबारको खेलले नै निर्धारण गर्नेछ ।
राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको अघिल्लो पाँचौ संस्करणमा हेटौंडाको पिप्ले युवका क्लब र आयोजक बागमती युवा क्बलबिच फाइनल खेल भएको थियो । २०७७ चैत ३० गते भएको फाइनल खेलमा आयोजक टोली बागमतीलाई घरेलु मैदानमा हराउँदै उपाधि चुमेको थियो । प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको पिप्लेले उपाधि चुम्न फाइनल खेलमा निकै संर्घष गर्नु परेको थियो । फाइनलमा पिप्लेले निर्धारित समय, ट्राइब्रेकर हुँदै सडनडेथसम्मको संर्घष गुर्नु परेको थियो । सडनडेथमा ५–४ गालेको संर्घषपुर्ण जित निकाल्दै पहिलो सहभागितामै पिप्लेले उपाधि हात पारेको थियो ।
१२ टिमको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल चैत १३ गते फाइनल हुनेछ । प्रतियोगिताको विजेताले राजर्षि जनक कपसहित १० लाख एक हजार र उपविजेताले पाँच लाख पाँच सय, सिल्ड र मेडल प्राप्त गर्नेछन्।
मकवानपुर । प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलतर्फ मकवानपुर सेमिफाइनल प्रवेश गरेकाे छ । काभ्रेस्थित धुलिखेल खेलमैदानमा भएको खेलमा रामेछापलाई ५–० गोलको फराकिलो अन्तर पराजित गर्दै सेमिफाइनल प्रवेश गरेकाे हाे ।
मकवानपुरलाई जित दिलाउनका लागि सञ्जिता बोम्जन र पुजा लामाले २–२ गरिन् भने लक्ष्मी गोलेले १ गोल गरिन् । मकवानपुरले खेलको तेस्रो मिनेटमा संञ्जिताको गोलबाट अग्रता बनाएको थियो । खेलको १५ औँ मिनेटमा पुजाले गोल गर्दै अग्रता दोब्बर बनाइन् ।
पहिलो हाफमा २ गोल गरेको मकवापनुरले दोस्रो हाफमा ३ गोल गरेको थियो । मकवानपुरका लागि खेलको ५५ औँ मिनेटमा पुजाले ब्यक्तिगत दोस्रो गोल गरिन् । त्यस्तै लक्ष्मीले खेलको ६५ औँ मिनेटमा गोल गर्दै ४–० को फराकिलो अन्तरमा पुर्याइन् । खेलको अन्तिम मिनेटमा सञ्जिताले गोल गर्दै मकवानपुरलाई ५–० को शानदार जित दिलाइन् ।
याेसँगै रामेछापविरुद्ध शानदार जित निकाल्दै मकवानपुर महिला फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । अब मकवानपुरले फाइनल प्रवेशको लागि चैत ११ गते शुक्रबार सिन्धुलीसंग खेल्नेछ ।